`

झापा-५ का उम्मेदवारको पुरानो स्टाटस भाइरल, युवामाझ चर्को बहस, नेतृत्वको भाषामाथि प्रश्न

Nepal One HD १९ फागुन २०८२ १५:३८
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा-५ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह (बालेन)ले सन् २०१७ अप्रिल २१ मा लेखेकाे एउटा स्टाटस यतिबेला भाइरल बन्दा देशकाे राजनीतिक वृत्तदेखि युवामाझ तीब्र बहस सुरु भएको छ।

उनले त्यस दिन लेखेका थिए, ‘जब मनको प्यास मेटिँदैन, रगतको खोला बगाउनुपर्छ ।’

गत भदाै २३-२४ गते देशकाे विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा सरकारी सम्पत्ति आगजनीसँग बालेनकाे यो अभिव्यक्तिलाई जोडेर अनेकौं समूहले प्रश्न उठाइरहेका छन् ।

उनीहरुले हिंसात्मक भाषाभन्दा नेतृत्वले संयम, विवेक र लोकतान्त्रिक संस्कार झल्किनुपर्ने भन्दै बालेनकाे आलोचना गरिरहेका छन्।

सामाजिक सञ्जालका माध्यमहरुमा धेरै युवाले बालेनकाे उक्त हिंसाप्रेरित अभिव्यक्तिप्रति असन्तुष्टि जनाइरहेका छन् ।

‘हिंसात्मक रूपक प्रयोग गर्ने नेताले लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण आन्दोलनप्रति स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ,’ नाम खुलाउन नचाहेका दमकका एक युवाले भने।

केहीले बालेनकाे यस्ताे अभिव्यक्तिलाई राजनीतिक अपरिपक्वताको प्रकटीकरण भनेका छन् ।

राजनीतिक विश्लेषकहरूले भने सामाजिक सञ्जालमा वर्षौँअघि लेखिएका व्यक्तिगतरूपी अभिव्यक्तिहरू पनि आज नेतृत्व दाबी गर्ने जो-कसैको विश्वसनीयता र चरित्र परीक्षणको माध्यम बन्न सक्ने बताएका छन्।

‘नेतृत्व केवल आजका गतिविधिले मात्र होइन, विगतका भनाइ-मनाइले पनि मूल्यांकन हुन्छ,’ एक विश्लेषकले बताए।

निर्वाचनको मौन अवधि चलिरहँदा भाइरल भएको उक्त स्टाटसले उम्मेदवारको छवि, मतदाताको विश्वास र अन्ततः मत परिणाममा कत्तिको प्रभाव पार्नेछ, त्यो भने चुनावी परिणामले नै देखाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *