`

रुपन्देहीमा ६५ प्रतिशत मतदान, मतपेटिका सङ्कलन गरिँदै

Nepal One HD २१ फागुन २०८२ २१:१४
राजनीति

रुपन्देही। रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाका सबै क्षेत्रबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार उत्साहजनक सहभागिता देखिएको छ ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान रुपन्देही क्षेत्र नं ३ मा भएको छ । क्षेत्र नं १ मा कूल एक लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६.३२ प्रतिशत अर्थात् ६६ हजार ३७७ मत खसेको छ । क्षेत्र नं २ मा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ६४.०७ प्रतिशत अर्थात् ८६ हजार ५३० मत खसेको छ ।

क्षेत्र नं ३ मा कुल एक लाख ४० हजार ३५ मतदाता रहेकामा सबैभन्दा बढी ६७.८२ प्रतिशत अर्थात् ९५ हजार १३ मत खसेको छ । क्षेत्र नं ४ मा कुल एक लाख १६ हजार १७२ मतदातामध्ये ६६.६१ प्रतिशत अर्थात् ७७ हजार ३९३ मत खसेको छ । क्षेत्र नं ५ मा कूल एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ६०.२७ प्रतिशत अर्थात् ८१ हजार ३५ मत खसेको छ ।

अहिले जिल्लाका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन जारी छ । ग्रामीण तथा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउनेक्रम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

“सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भइसकेपछि आजै राति वा भोलि बिहानसम्म सर्वदलीय बैठक आह्वान गरिनेछ”, बस्नेतले भन्नुभयो, “उक्त बैठकको निर्णय र सहमतिअनुसार मतगणना सुरु हुने समय सार्वजनिक गरिनेछ ।”सुरक्षा व्यवस्था कडा पारिएको र मतगणनास्थलमा आवश्यक तयारी पूरा भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *