ईश्वर पोखरेल प्यानलको उपमहासचिवमा आनन्द पोखरेल थपिए
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत उपमहासचिव पदको चुनावी प्रतिष्पर्धामा अन्तिम समयमा रोचक मोड आएको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री आनन्द पोखरेल अब ईश्वर पोखरेल नेतृत्वको प्यानलमा समेटिएका छन् । यसअघि ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरी मात्र उम्मेदवार थिए । तर महाधिवेशनको निर्णायक घडीमा आइपुग्दा आनन्द पोखरेललाई सोही प्यानलमा समावेश गरिएपछि प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।
आनन्द पोखरेल र बैजनाथ चौधरी दुवै यसअघि अध्यक्ष केपी शर्मा ओली निकट टिममा रहे पनि पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता निरन्तरताको पक्षमा खुलेर उभिएका कारण उनीहरूलाई पदाधिकारीमा अघि बढ्न अवरोध गरिएको बुझाइ नेताहरूको छ । यही कारण असन्तुष्टि जनाउँदै उनीहरूले यस्तो कदम चालेको बताइन्छ । बागमती प्रदेशमा राम्रो सांगठनिक पकड बनाएका पोखरेल देशभरका कार्यकर्ता माझ परिचित र स्वीकार्य नेता मानिन्छन् ।
यही प्रभावलाई मध्यनजर गर्दै ईश्वर पोखरेल प्यानलले उनलाई उपमहासचिव पदको उम्मेदवारका रूपमा समेटेको नेताहरूको भनाइ छ । पछिल्लो समय काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेका पोखरेल र जिल्ला अध्यक्ष दीपक निरौला दुवै विद्या भण्डारी निकट मानिन्छन् । यस कारण काठमाडौंबाट आएका प्रतिनिधिमध्ये ठूलो हिस्सा उनीहरूकै धारमा रहेको आकलन गरिएको छ । दोलखा जिल्लाबाट दुई पटक सांसद निर्वाचित भइसकेका पोखरेल पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । हालसम्म पोलिटब्युरो सदस्य रहेका उनको ईश्वर प्यानलमा प्रवेशले उपमहासचिव पदको चुनावी समीकरणलाई थप रोचक बनाएको छ ।
