ओली प्यानलमा चारै महानगरका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा स्थानीय तहबाट उदाएका महिला नेतृहरू केन्द्रीय नेतृत्वमा पुग्ने प्रतिष्पर्धामा देखिएका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित एमालेबाट निर्वाचित चारै महानगरपालिकाका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।
काठमाडौं उपमेयर सुनिता डंगोल अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी हुन् । यही कोटाबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र बिना श्रेष्ठ पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यको उम्मेदवारीमा छन् । सुनिता हाल एमालेको केन्द्रीय स्थानीय तह विभागकी सदस्य समेत हुन् । स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगरपालिकामध्ये ४ वटामा उपमेयर जितेको एमालेले ती चारै निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको हो ।
अध्यक्ष ओलीको प्यानलबाट महानगरका उपमेयर उम्मेदवार बन्नेहरूमध्ये तीन जना पहिलोपटक केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ भने दोस्रो पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । यसअघि पनि उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी थिइन् । काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला भने पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन् ।
मञ्जली शाक्य बज्राचार्य हाल ललितपुर जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । शिल्पा कार्की निराला भने मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदको उम्मेदवार बनेर पराजित भएकी थिइन् । स्थानीय तहमा जननिर्वाचित भएर कार्यकारी भूमिकामा रहेका यी नेतृहरूलाई पार्टीको केन्द्रीय संरचनामा ल्याएर संगठन सुदृढ बनाउने रणनीतिका रूपमा एमालेले उम्मेदवारी अघि सारेको देखिन्छ । महाधिवेशनमा स्थानीय सरकारको अनुभव बोकेका महिला नेतृहरूको उल्लेखनीय उपस्थिति रहने संकेतसँगै केन्द्रीय नेतृत्वमा महिला सहभागिता बढाउने सन्देश पनि एमालेले दिएको छ ।
