`

लेखराज भट्टले किन गरे सचिवमा उम्मेदवार नबन्ने घोषणा ?

Nepal One HD २९ मंसिर २०८२ १२:००
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहबाट सचिव पदका लागि तय गरिएको नाममध्ये एक लेखराज भट्टले उम्मेदवारी नदिने घोषणा गरेपछि पार्टीभित्रको पदाधिकारी समीकरण फेरिने संकेत देखिएको छ । पूर्व माओवादी पृष्ठभूमिका नेता भट्टले सचिव पदमा प्रतिष्पर्धा नगर्ने स्पष्ट गरेसँगै ओली समूहले अब उनको स्थानमा नयाँ उम्मेदवार अघि सार्नुपर्ने अवस्था आएको छ ।

महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ओलीले आफ्नो समूहबाट नेतृत्व टिमको खाका सार्वजनिक गरिसकेका थिए । सोही खाकाअनुसार उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंग्याइएको थियो । महासचिव पदमा आकांक्षा देखाएका ज्ञवालीलाई अन्ततः उपाध्यक्षमा सीमित गर्दै शंकर पोखरेललाई महासचिव बनाउने सहमति जुटेको हो । अन्तिम समयसम्म पोखरेलले दाबी नछाडेपछि ओलीको रोजाइअनुसार उनी महासचिवमा अघि सारिएका हुन् ।

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम फाइनल गरिएको छ । सचिव पदमा नौ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम यसअघि नै तय भइसकेको थियो । त्यही सूचीमा रहेका लेखराज भट्टले उम्मेदवार नबन्ने निर्णय गरेपछि सचिव पदका लागि एक स्थान रिक्त भएको छ । भट्टको निर्णयले एमालेभित्र विशेष गरी पूर्व माओवादी पृष्ठभूमिका नेताहरूको प्रतिनिधित्व र सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ । अब ओली समूहले उक्त स्थानमा कसलाई अघि सार्छ भन्ने विषयले महाधिवेशनको अन्तिम चरणमा थप चासो र चर्चा बढाउने देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *