यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार (सूचीसहित)
काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारहरूको सूची अन्तिम रूप दिएको छ । ओली पक्षले सार्वजनिक गरेको प्यानलअनुसार अधिकांश पदमा पुरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ समायोजन पनि देखिएको छ । उपाध्यक्ष पदका लागि रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार रहने तय भएको छ । महासचिवका दाबेदार मानिएका प्रदीप ज्ञवालीले पनि उपाध्यक्षमै उम्मेदवारी दिने भएका छन्।
यससँगै उपाध्यक्ष पदमा ओली पक्षबाट पाँच जनाको नाम अघि सारिएको छ । महासचिव पदमा हालका महासचिव शंकर पोखरेललाई नै निरन्तरता दिइने भएको छ । ओली पक्षले पोखरेललाई दोहोर्याउँदै संगठनात्मक स्थिरता कायम राख्ने सन्देश दिएको छ । उपमहासचिव पदका लागि विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार बन्ने भएका छन् ।
सचिव पदमा भने भानुभक्त ढकाल, पद्मा अर्याल र छबिलाल विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने तयारी गरिएको छ । यस बाहेक सचिवका अन्य उम्मेदवारका रूपमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम प्यानलमा समेटिएको छ ।
ओली पक्षले पदाधिकारीको सूची सार्वजनिक गरेसँगै एमालेभित्र आन्तरिक प्रतिष्पर्धा थप तीव्र हुने देखिएको छ । महाधिवेशन नजिकिँदै जाँदा अन्य समूहहरूको रणनीति र सम्भावित गठजोडले पार्टीको नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।
