अन्तिमसम्म पनि सहमति जुटेन, पार्टी निर्वाचनमा अघि बढ्यो : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सचिव पदका उम्मेदवार महेश बस्नेतले पार्टीभित्र अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास भए पनि असफल भएपछि महाधिवेशन निर्वाचनतर्फ गएको बताएका छन् । भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रसम्म पनि सहमतिका लागि पहल गरेको तर कुरा नमिलेको बताए । अध्यक्षलाई हटाएर सर्वसम्मति खोज्ने मान्यता गलत भएको उनको भनाइ छ । बरु वरिष्ठ उपाध्यक्ष दोहोर्याउने वा उपाध्यक्षको संख्या बढाउने प्रस्ताव समेत आएको भए पनि सहमति हुन नसकेको उनले बताए ।
बस्नेतले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिँदा आफ्नो राजनीतिक ‘रिटायरमेन्ट’ असहज बनाएको टिप्पणी गरेका छन् । पोखरेल वरिष्ठ उपाध्यक्षमै दोहोरिएको भए पार्टीका लागि राम्रो हुने र आन्तरिक द्वन्द्व टार्न सकिने उनको तर्क छ । अन्य नेताहरू—युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने र केशव बडाल—ले जीवनको उत्तरार्धमा ग्रासरूटमा काम गर्ने बाटो रोजेको उल्लेख गर्दै बस्नेतले पोखरेलको उम्मेदवारीले पार्टीभित्र अनावश्यक तनाव बढ्ने आशंका व्यक्त गरे ।
उनले पोखरेल समूहसँग तलदेखि संगठित गुट बनाएर अघि बढ्ने सामथ्र्य नरहेको दाबी गर्दै माधव नेपाल र झलनाथ खनाल जस्तो आधार निर्माण नभएको बताए । विदेशी शक्तिको दबाब र चौतर्फी आक्रमणबीच राष्ट्रियता, सार्वभौमसत्ता र विकासको अभियान केपी ओलीको नेतृत्वमै सम्भव हुने दाबी गर्दै बस्नेतले आफू अध्यक्षको प्रस्तावअनुसार सचिव पदमा उम्मेदवार बनेको स्पष्ट पारे । उनका अनुसार अध्यक्ष ओलीले छिट्टै प्रतिष्पर्धाका लागि मनोनयन दर्ता गर्नेछन् र एमाले अब सहमतिभन्दा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अवस्थामा पुगेको छ ।
