एमाले महाधिवेशनको बन्द सत्र सुरु, निर्वाचनमा विद्युतीय मतदान मेशिन {तस्वीरहरु}
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको हो । जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रगानको पंक्ति लिँदै रोचक नारा लगाएका छन् । बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने, ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले ।’
बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन हुनेछ । ओलीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्ने छन् । अध्यक्षा मण्डलले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ । एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेशिन प्रयोग गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिए । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको थियो। अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद रहने छैन । बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

