ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार (सूचीसहित)
काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन थप स्पष्ट हुँदै गएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारको सूची लगभग टुंग्याएको छ भने अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिष्पर्धामा उत्रिने तयारी पनि औपचारिक रूपमा सार्वजनिक भइसकेको छ ।
ईश्वर पोखरेल समूहका अनुसार अध्यक्ष पदमा पोखरेल आफैं उम्मेदवार बन्ने निश्चित भएको छ । महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ भने उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय भएको नेताहरूले बताएका छन् । उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने पक्का भएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवको प्रतिष्पर्धामा रहने सूचीमा छन् । सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेललगायत नेताहरूको नाम लगभग अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ । यसै सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि समावेश गरिएको छ । यद्यपि छलफल अझै जारी रहेकाले केही नाममा हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन् । आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाका लागि नभई पार्टीलाई थप व्यवस्थित, विधिसम्मत र सामूहिक नेतृत्वको दिशामा अघि बढाउनका लागि भएको उनको दाबी छ । उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको पुनर्गठन र पुनव्र्यवस्थापनको पक्षमा उभिन आग्रह गर्दै नेतृत्वको नयाँ अभ्यास आवश्यक भइसकेको संकेत गरे । यससँगै पोखरेल र ओली दुवै पक्षले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेर प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ ।
यता, उपमहासचिवका प्रत्याशी योगेश भट्टराईले भने आफूहरू प्यानल बनाएर निर्वाचनमा नजाने स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्देशनअनुसार सबै उम्मेदवारले व्यक्तिगत रूपमा उम्मेदवारी दिने उनले बताए । पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन हुनु दुर्भाग्यपूर्ण भए पनि बन्द सत्रले त्यसलाई स्वीकार गरेपछि निर्वाचन प्रक्रियामा सहभागी हुन आफूहरू तयार भएको उनको भनाइ छ । भट्टराईले वर्तमान नेतृत्वले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई सम्हाल्न नसकेको टिप्पणी गर्दै पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुनर्गठन र नयाँ टिमसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । एमाले महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व, विधान र कार्यदिशालाई लिएर उठेका यी बहसहरूले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई अझ तीव्र बनाएको छ । अब महाधिवेशन प्रतिनिधिहरूको निर्णयले एमालेको आगामी नेतृत्व र राजनीतिक दिशा कुन मोडमा जाने भन्ने स्पष्ट गर्नेछ ।
