`

देउवासँगको भेटबारे ओली : बकुल्लाको बीउ रोपेका छौं, तोरी जस्तो भोलि नै उम्रिँदैन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् । देउवासँगको भेटमा विभिन्न विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग राखेको अन्तरक्रियामा ओलीले देउवासँग भएको भेटको नतिजा देखिन समय लाग्ने बताए ।

‘देउवाजीसँग अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोलि देखिन्छ । तोरीको बीउ आज छरे भोलि उम्रिन्छ, बकुल्लाको बीउ उम्रिन समय लाग्छ,’ ओलीले भने, ‘बकुल्लाको बीउ रोपेका छौं, तोरी उम्रे जस्तो भोलि नै उम्रिँदैन । अब बिग्रिएछ कि भनेपछि बल्ल उम्रिन्छ । देउवासँग भएको भेटको नतिजा प्रकट हुन टाइम लाग्छ ।’ कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच मंसिर १९ गते महाराजगञ्जमा लामो छलफल भएको थियो । ओलीसँगको भेट लगत्तै प्रतिनिधि सभा पुनः स्थापनाको रिट लिएर कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

ओलीले देउवासँग कयौं विषयमा कुरा भएको बताएका छन् । ‘दुई पार्टीका प्रमुख नेताहरू भेट हुँदा देशको कुरा गरेनन् होला ? देशको चिन्ता गरेनन् होला ? नागपञ्चमीमा गोबरले टाँसेको जस्तो यो सरकारको बारेमा कुरा गरेनन् होला ?’ ओलीले प्रतिप्रश्न गरे । ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा माहोल बनाउन आफू संवादमा रहेको बताएका छन् । ‘हैसियत विनाको व्यक्तिले विना विधि–प्रक्रिया, अनधिकृत ढंगले गरेको सिफारिस असंवैधानिक भएकाले विघटन खारेज हुनु पर्दछ । जुन बाटोबाट विघटन भयो, त्यही बाटोबाट पुनःस्थापना गर्न सकिन्छ । सर्वोच्चबाट पनि पुनःस्थापित हुन्छ नै, अर्को बाटै छैन,’ ओलीले भने, ‘सर्वोच्चका विगतका तमाम फैसला र संविधानले अन्यथा फैसलाका लागि बाटो दिँदैन । म संवाद गरिरहेको छु भन्ने कुरा सत्य हो । उपाय के–के छन् पनि भनिरहेको छु ।’

एमाले महाधिवेशन भाँड्न सरकार षड्यन्त्रमा : पदम गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी–विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ती रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ । आज फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

ती देशी–विदेशी शक्ति को हुन् र उनीहरुले एमाले महाधिवेशन भाँड्न कस्तो खालको षडयन्त्र गरिरहेका छन् भन्ने गिरीले खुलाएका छैनन् । उनले लेखेका छन्, ‘एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाँड्न देशी–विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ती रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ । वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ ‘साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जोकोहीलाई पनि इतिहासले माफी दिने छैन,’ गिरीले लेखेका छन् ।

एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने (भिडियो)

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा शुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । उनले लाखौंको संख्यामा नेता–कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताए । असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए । महाधिवेशनमा १०८ जना मनोनितसहित २,२६८ कुल प्रतिनिधि रहने जानकारी दिए । बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताए ।

उनले भने, ‘आजको बैठकमा कतिपय बाँकी रहेका कामहरु तत्काल सम्पन्न गर्ने, आर्थिक पाटोको व्यवस्थापन गर्ने सम्बन्धमा पनि केही समितिसँग जोडिएका कामहरु छन्, त्यो व्यवस्थित गर्नुपर्नेछ । मुख्यतया हामीले २७ गतेको उद्घाटन समारोहलाई असाध्यै विशाल र भव्य जनमासका साथ सम्पन्न गर्ने उद्देश्य राखेका छौँ । जन परिचालनलाई मुख्य प्राथिमकता दिनेकुरा आजको बैठकमा छलफल भएको छ ।’ उनले सुनाए, ‘यो पटकको महाधिवेशनमा वाह्य देशबाट विदेशी पाहुनाहरुको हकमा भौतिक रुपमा उहाँहरुलाई आमन्त्रित गरेका छैनौं । उहाँहरुबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ । उहाँहरुलाई त्यसरी पत्राचार गरेका छौँ । विभिन्न देशका हाम्रो पार्टी संवद्ध रहेका २६ वटा पार्टीहरु, र ननकम्युनिष्ट पार्टीहरुलाई निमन्त्रणा पठाएका छौं । नेपालका १६ वटा दलहरुलाई पत्राचार गरेका छौँ ।’

नेता बतौंलाले भने, ‘जनपरिचालनमा लाखौंको संख्यामा आम नागरिकहरु आउने क्रम जारी छ । २७ गतेको उद्घाटन सत्रमा सहभागी मानिसको जनसागरको सन्देश संवैधानिक लोकतान्त्रिक फ्रन्टमा उभ्याउनका लागि नेकपा एमालेमार्फत नेपाली जनताहरु यसका पक्षमा छन् । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येय राखेका छौँ । १०८ जना मनोनितसहित २२ सय ६८ कुल प्रतिनिधि हुनुहुनेछ । लाखौँ नेपाली जनताहरुको सहभागितामा यो महाधिवेशन भव्यताकासाथ सम्पन्न हुनेछ ।’
उनले नेकपा एमालेले युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताएका छन् । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको बताए ।

 

 

 

 

ईश्वरपछि आज ओेलीले सम्पादकहरूसँग छलफल गर्दै

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग भेटघाट गर्दैछन् । प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे कार्यक्रम तय भएको हो । शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्दैछन् ।

एक एमाले नेताका अनुसार उनी आमअपेक्षा भन्दा फरक विषय सार्वजनिक गर्ने मनस्थितिमा छन् । अध्यक्षका अर्का प्रत्यासी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादक भेटघाट गरेका थिए ।

ओली आयोगमा बयान दिन जानुपर्छ, म भए पहिल्यै जान्थें : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको आयोगमा बयान दिन जानुपर्ने बताएका छन् । आज (बुधबार) पोखरेलले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आफू भएको भए आयोगमा बयान दिन जाने बताए । ‘केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ ।’ आयोग अध्यक्ष गौरीबहादुर कार्की आफूप्रति पूर्वाग्रही भएको भन्दै आफू उनी नेतृत्वको आयोगमा बयान दिन नजाने अडान ओलीले लिइरहेका छन् ।

उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि प्यानलबारे छलफलमा रहेको बताएका छन् । उनले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताएका छन् । उनले भने, ‘प्रतिष्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ । जित्दा मात्रै खुशी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीर्कान सक्नु पर्छ । भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिष्पर्धा गर्छौँ, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौं ।’ उनले वाम एकताको पक्षमा आफूहरू रहेको भन्दै पार्टी छाडेर जाने कुरा आफूहरूले नसोचेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका छन् । उनले संविधान, विधान र अन्तर्राष्ट्रिय अभ्यासले पनि भण्डारीको सदस्यता रोक्न नमिल्ने भएकाले अवधारणामै ल्याएको बताए । उनले भने, ‘यो एजेण्डा यतिमाथिसम्म ल्याउनु पर्ने थिएन । तर अब आउने दिनका लागि पनि ओपन भयो ।’

 

झोंक–झोंकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय पार्टी नेतृत्वको कार्यसम्पादन शैली त्रुटीपूर्ण हुँदै गइरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले राष्ट्रिय महाधिवेशन विचार र नेतृत्वबारे फैसला गर्ने थलोको रूपमा लिनुपर्ने बताएका छन् ।

उनले भने, ‘महाधिवेशनमा प्यानल बनाउने–नबनाउने भन्ने कुरा होइन, उम्मेदवारी दिने कुनै झोंक–झोंकमा गरेको पनि होइन । हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका हो । हामी कुनै अस्वाभाविक र अचानक ढङ्गले प्रस्तुत भएको होइन, अवधारणाबारे अध्यक्षसँग औपचारिक कुरा गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको हो ।’

 

महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विधान महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशनको उद्देश्य भिन्न भएकाले दुवै चरणमा अलग–अलग बहस हुनु पर्ने बताएका छन् ।

ज्ञवालीका अनुसार, विगतमा नीति र नेतृत्वबारे एउटै मञ्चबाट निर्णय गर्दा नीतिगत बहस ओझेलमा पर्ने, नेतृत्वको पक्षधरता हावी हुने जस्ता समस्या देखिएका थिए । उनले लेखेका छन्, ‘यही अनुभवका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन छुट्टै आयोजना गर्ने संरचना बनाएका हौं । तसर्थ, विधान महाधिवेशनमा नेतृत्व विषयक बहस र नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक हुँदैन ।’

उनले दुई महाधिवेशनबीच नीति परिमार्जन आवश्यक परे केन्द्रीय समितिलाई संशोधन गर्ने अधिकार नै महाधिवेशनले दिएको स्मरण गराएका छन् । हरेक घटनामा महाधिवेशन बोलाउनु वा महाधिवेशनको मञ्च प्रयोग गर्नु सम्भव र व्यावहारिक दुवै हुँदैन भन्ने ज्ञवालीको भनाइ छ । सातौं महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक बनेको उल्लेख गर्दै उनले सो विषय केन्द्रीय समिति बैठकमार्फत संशोधन गरिएको र त्यही बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गरेको उल्लेख गरे । ज्ञवालीले नेतृत्वमाथि गम्भीर चुनौती रहेको वर्तमान परिस्थितिमा वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि मनोवैज्ञानिक दूरी र पक्षधरताले ग्रसित वातावरणमा हुने समीक्षा निष्पक्ष नहुने तर्क गरेका छन् ।

‘महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछ’

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरुले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताए । तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिष्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उनको भनाई छ । उनले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताए ।

संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उनको भनाई छ । देशमा संकट छ भने यो संकटको पछाडिको कारण के हो ? यसको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समीक्षा गर्न आवश्यक रहेको उनले बताए । उनले वर्तमान संकटको सामना गर्नका लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताए । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको उनको भनाई छ । कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उनले बताए । उनले देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे । देशका चुनौतीहरुलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उनको भनाई छ ।

उनले भने, ‘आज आम कार्यकर्ताहरु, आम जनताहरु र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको छ । आज कुनै अमुक व्यक्ति, एउटा शक्तिशाली व्यक्ति अथवा अधिकारको केन्द्रियकरण निर्णयको केन्द्रियकरण भन्दा आज सामुहिक नेतृत्व समयको माग हो । सामुहिक नेतृत्व पार्टीको आवश्यकता हो । अर्थात पार्टीभित्र छलफल बहस गर्दै सामुहिक ढंगले निष्कषमा पुग्ने र त्यसलाई कार्यन्वयन गर्नको लागि निर्णयलाई अपनत्व महसुस गरेर कार्यन्वयनमा एकताका साथ अगाडि बढ्ने परिस्थिति आज आवश्यक छ । यसरी नै पाटी अगाडी बढ्छ, यसरी नै पार्टी हामी अगाडि बढाउन चाहेका छौँ ।’

उनले भने, ‘देशभरबाट आउनु भएका प्रतिनिधि साथीहरु सार्वभौम हुनुहुन्छ, उहाँहरुले पार्टीभित्रको परिस्थितिलाई यथास्थितिमा कायम राख्नको लागि उहाँहरु आउनु भएको छैन । उहाँहरुले देशका चुनौतीहरुलाई सम्बोधन गर्नेगरी, आम जनताको अपेक्षा पूरा गर्नेगरी र संविधानमा जुन प्रकारको संकट देखापरिरहेको छ, यसलाई फेरि संवैधानिक संकटलाई समाधान गरेर खासगरि निवार्चनको माध्यमबाट, जनताको जनादेशको माध्यमबाट संविधानलाई लिगमा ल्याएर मुलकको लोकतन्त्रलाई जोगाउने, संविधानलाई जोगाउने, उपलब्धीलाई जोगाउने र नेकपा एमालेलाई समृद्ध बनाउने, एमालेलाई अग्रनी पार्टीको रुपमा स्थापित गर्नेगरि यो महाधिवेशनले भूमिका खेल्नेछ । हामी यसरी नै जान्छौँ ।’

विष्टले थपे, ‘हामीले पार्टीभित्र स्वच्छ प्रतिष्पर्धा गर्छौ, हामी पार्टीभित्र अमर्यादित ढंगले प्रतिष्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्दा संकटमा प्रतिष्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित चाहेका छैनन् कि भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजिँदैछ, संकटले परिवर्तन ल्याउने हो । संकटले नयाँ नेतृत्व निर्माण गर्ने हो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने हो । यसकारण कहि देशमा संकट छ भने यो संकटका पछाडिको कारण के हो ? यो संकटको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? यो सब चिजको हामी गम्भिरताका साथ समीक्षा गर्छौँ । यो संकटको सामना गर्नको लागि हामीले नेतृत्व रुपान्तरण गर्छौं या हस्तान्त्रण गर्छौं । नयाँ तागतका साथ पार्टीलाई एकतावद्ध गर्दै नयाँ उर्जाका साथ अगाडि बढ्छौँ ।’ उनले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गरे । ४० वर्षमुनीका युवाहरुलाई पार्टीको केन्द्रिय समितिमा ल्याउनका लागि आफूहरुले पहल गर्ने उनको भनाई छ । उनले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको पनि बताए । ११ औं महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्ने पनि उनको भनाई छ ।

एमाले महाधिवेशन : मित्रवत कि कटुतापूर्ण ?

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर पार्टीभित्र ‘गर्मागर्मी’ बढ्दै गएको छ । तर महासचिव शंकर पोखरेलले प्रतिष्पर्धा बढे पनि त्यसले पार्टीभित्र कटुता होइन, ‘मित्रवत्’ वातावरण नै बनाउने दाबी गरेका छन् । उनका अनुसार अहिले देखिएको प्रतिष्पर्धा भीम रावल वा माधव नेपालको जस्तै असन्तुष्टि, अस्वीकारवाद र विभाजनतिर जाने छैन ।

पोखरेलले वर्तमान राजनीतिक अवस्था ‘अत्यन्त जटिल’ रहेको र यस्तो अवस्थामा एमालेलाई अनुभवी, स्थापित र संकट–व्यवस्थापनमा सक्षम नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनैपर्ने धारणा दोहोर्‍याएका छन् । १० औं विधान महाधिवेशनमा ओलीसम्बन्धी निर्णय कार्यकर्ताले लगभग सर्वसम्मत रूपमा अनुमोदन गरिसकेको स्मरण गर्दै उनले अहिले नेतृत्व परिवर्तनको कुरा ‘असामयिक’ भएको टिप्पणी गरेका छन् ।

उता पूर्व राष्ट्रपति विद्या भण्डारीको ‘ब्याकअप’ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिन तयार रहेको चर्चा चुलिए पनि महासचिव पोखरेलले वर्तमान असामान्य परिस्थितिमा ईश्वर पोखरेल ‘विश्वसनीय विकल्प’ बन्न नसक्ने दावी गरे । ईश्वर पोखरेलले आफू उत्तराधिकारी होइन भन्ने संकेत पहिले नै दिएको भन्दै अहिलेको क्षणमा उनी प्रभावशाली चुनौतीकर्ता बन्न नसक्ने पोखरेल बताउँछन् ।

पोखरेलका अनुसार पार्टीभित्र शीर्ष तहमा ४०–५० जनासम्म नेतृत्व आकांक्षा देखिए पनि व्यवस्थापन कठिन हुँदैन । प्रतिष्पर्धा सहमति नबनेको अवस्थामा स्वाभाविक हो तर त्यसले असन्तुष्टि बढाउने, हार स्वीकार नगर्ने वा पार्टी–विरुद्ध जाने व्यवहारमा रूपान्तरण हुनु हुँदैन भन्ने उनको चेतावनी छ । भीम रावल र माधव नेपालको विगतको अभ्यासले पार्टीलाई क्षति पुर्‍याएको भन्दै उनले यस पटक कोही पनि नेताले त्यस्तो गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गरे ।

जेन–जेड आन्दोलनबारे बोल्दै पोखरेलले त्यसलाई राजनीतिक वैकल्पिक आन्दोलन नभई स्वार्थी शक्तिहरूले युवाको असन्तोषलाई दुरुपयोग गर्न खोजेको प्रकरण भने र भूराजनीतिक स्वार्थ सक्रिय भएको संकेत गरे । उनका अनुसार यस्तो संवेदनशील अवसरमा पार्टीभित्र स्थिर र अनुभवयुक्त नेतृत्व अपरिहार्य छ । चुनावको सम्भावनासम्बन्धी प्रश्नमा उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमै विचाराधीन रहेको, शान्ति–सुरक्षा कमजोर भएको र मतदाताले निर्भय वातावरण पाउन नसकेको कारण निकट भविष्यमै चुनाव ‘यथार्थवादी’ नदेखिँएको टिप्पणी गरे ।

संवैधानिक परीक्षण टुंगिएर राजनीतिक विश्वासको वातावरण बनेपछि मात्र निर्वाचनको मार्ग खुल्ने उनले बताएका छन् । महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र प्रतिष्पर्धा तीव्र देखिए पनि महासचिव पोखरेलले संस्थापन नेतृत्वलाई निरन्तरता दिनुपर्ने, प्रतिष्पर्धा निष्ठा र एकताको दायराभित्र सीमित रहनुपर्ने र पार्टीलाई अस्थिरताबाट जोगाउन अनुभवी नेतृत्व नै उचित विकल्प भएको पोखरेल बताउँछन् ।

विद्या भण्डारीलाई अपशब्द प्रयोग गर्दै ओलीले समग्र महिलाको अपमान गर्नुभयो : शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैं अपमान गरेको आरोप लगाएकी छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्व राष्ट्रपतिलाई पटक–पटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनै पनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भए पनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गरिन् । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनु पर्ने बताइन् ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता नभएको उनको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्व राष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएकी थिइन् । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘एउटा पूर्व राष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ । सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ ।’

उनले भनिन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नु पर्छ। यस्तो नेतृत्व अवको आवश्यकता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यकता होइन । महिलालाई अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनु पर्छ, उठ्नु पर्छ ।’ उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन्। उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन् । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने बताइन् । ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको भनाई छ ।

 

 

 

 

 

 

 

एमाले महाधिवेशनमा २,६१३ जना सहभागी हुने, यसरी छानिए प्रतिनिधि

काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै गर्दा प्रतिनिधिमण्डल टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टोलीले निरन्तर रूपमा प्रतिनिधिहरूको विवरण अभिलेखीकरण गरिरहेको छ ।

संगठन विभागका प्रमुख अधिकारीका अनुसार २,१५४ जना प्रतिनिधि विभिन्न संरचनाबाट निर्वाचित भएर आउने छन् भने केन्द्रबाट थप १०८ जना मनोनित गरिने छन् । यसरी महाधिवेशनमा जम्मा २,२६२ जना प्रतिनिधि रहने छन् । ‘घर फर्क’ अभियानमार्फत पूर्व नेकपा एकीकृत समाजवादीबाट फर्किएका तीन जनाले पनि प्रतिनिधि भएका आधारमा सहभागी हुन निवेदन दिएका छन्, जसको टुंगो सचिवालयले गर्ने विभागले जनाएको छ ।

प्रतिनिधि छनौटसम्बन्धी विवाद धनकुटा र ओखलढुंगामा देखिएको थियो । ती जिल्लामा पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१३ अनुसार प्रक्रिया नचलाकै कारण केन्द्रले छनौट रद्द गरी पुनः मापदण्डअनुसार चयन गर्न निर्देशन दिएको थियो । अहिले दुबै जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि आएको अधिकारीले जानकारी दिए । अन्य तीन जिल्लामा परेका उजुरीको छिनोफानो पनि भइरहेको छ । मापदण्ड नपुगेका केही निर्वाचित प्रतिनिधिका बारेमा समेत छानबिन चलिरहेको र मापदण्ड पूरा नगर्ने कसैलाई पनि कार्ड नबनाइने अधिकारीको भनाइ छ । उनका अनुसार करिब ७० प्रतिशत प्रतिनिधि प्रमाणीकरण भइसकेका छन् ।

महाधिवेशनमा प्रतिनिधिबाहेक सल्लाहकार परिषद्को सहभागिता समेत रहनेछ । परिषद्का ३७६ सदस्यमध्ये २५ जना प्रतिनिधि भएर आइसकेका छन् भने बाँकी ३५१ जना सहभागीका रूपमा बन्द सत्र हलमा प्रवेश पाउने व्यवस्था मिलाइएको छ । यसरी प्रतिनिधि र सहभागीसमेत गरी महाधिवेशनमा जम्मा २,६१३ जना उपस्थित हुनेछन् । उता, प्रतिनिधिमण्डलका लागि परिचयपत्र छाप्ने काम पनि तीव्र गतिमा भइरहेको छ । केन्द्रीय कार्यालयका अनुसार अहिलेसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको छ र आगामी २५ गतेभित्र सबै कार्ड तयारी पूरा गरिनेछ ।

महाधिवेशनको चार दिनअघि एमालेमा किन हुँदैछ विधान संशोधन तयारी ?

काठमाडौं । नेकपा (एमाले) को आगामी ११ औं महाधिवेशन आउन चार दिन बाँकी रहँदै गर्दा पार्टीभित्र दुई ठूला बहस एकसाथ तीव्र बनेका छन्–विधान संशोधनमार्फत शीर्ष नेतृत्व संरचना पुनर्गठन गर्ने र युवाहरूलाई सशक्त रूपमा पार्टी नेतृत्वमा उकास्ने नीति । दुवै विषयले च्यासलस्थित एमाले मुख्यालयदेखि विभिन्न प्रदेशका पार्टी निकायसम्म ठूलो चर्चा र मतभेद पनि जन्माइरहेका छन् ।

मंसिर २७ देखि २९ गतेसम्म हुन लागेको ११ औं महाधिवेशनमा पदाधिकारमा ६० जना भन्दा बढी आकांक्षी देखिएका छन् । अध्यक्ष ओलीतर्फ नै आकांक्षीहरूको संख्या बढेकाले व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको हो । एमालेको मौजुदा केन्द्रीय कमिटी ३५५ सदस्यीय छ । गत भदौ २० देखि २२ गतेसम्म चलेको विधान महाधिवेशनले त्यसलाई घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

विधान महाधिवेशन सम्पन्न भएको तीन महिना नबित्दै अध्यक्ष केपी शर्मा ओलीले फेरि विधान परिमार्जनको संकेत दिएपछि एमालेभित्र नेतृत्व संरचना कस्तो हुने भन्ने प्रश्न फेरि चर्चामा छ । ओलीका अनुसार चार तहको केन्द्रीय संरचना बनाउने, केन्द्रीय सदस्य संख्या विस्तार गर्ने र १५ बाट घटाइएको पदाधिकारी संख्या पुनः बढाएर १९ कायम गर्ने सुझावहरू पार्टीभित्र व्यापक रूपमा आएका छन् ।

उनका अनुसार, सबैलाई समेटेर लैजान विधानकै केही प्राविधिक पक्ष फेरबदल आवश्यक छन् । पदीय आकांक्षा बढेपछि व्यवस्थापन कठिन बनेको भन्दै ओलीले महाधिवेशनमै संरचना विस्तार गर्ने निर्णय हुन सक्ने बताएका छन् । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह यसमा स्पष्ट रूपमा असन्तुष्ट छ । उपाध्यक्ष सुरेन्द्र पाण्डेको तर्क छ–भदौमा आठ करोड रूपैयाँ खर्चेर विस्तृत बहसपछि तय गरिएको संरचना महाधिवेशन नहुँदै उल्टाउन मिल्दैन । खासगरी पदाधिकारी संख्या घटाउने निर्णय तत्कालै फेरबदल गर्न खोजिनु सही नठहरिने उनको भनाइ छ ।

गत विधान महाधिवेशनले स्थायी कमिटीको प्रावधान हटाएर सचिवालय, पोलिटब्युरो र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाएको थियो । त्यस्तै, एमालेमा विगतदेखि रहेको ७० वर्षे उमेर सीमा र नेतृत्वमा दुई कार्यकालको सीमा जस्ता प्रावधान पनि क्रमशः निलम्बन र खारेजी हुँदै आएका मुद्दाहरू हुन् । यी सबै पुनर्जीवित हुने कि नहुने भन्ने बहस पनि विधान संशोधनसँगै पुनः उठेको छ ।

महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र अर्को ठूलो चर्चा युवाहरूको उपस्थिति र भूमिकाका विषयमा छ । जेनजी आन्दोलनपछि युवाहरूको असन्तुष्टि व्यवस्थापन र उनीहरूलाई पार्टी संरचनामा ठोस प्रतिनिधित्व दिने दबाब यस पटक तीव्र छ । च्यासल मुख्यालयमा देखिने युवा समूहहरूको चर्चा पनि यही विषयमा केन्द्रित छ । ‘हामीले संगठनमा मौका नपाएका धेरै युवाहरू आज मुख्यधार मिडियामा उभिइरहेका छन्, तर पार्टीभित्रै उदाउनु कति गाह्रो छ !’

एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई सुनिश्चित प्रतिनिधित्व दिन ‘युवा क्लस्टर’ बनाउने तयारी भइरहेको छ । सम्भावित प्रावधान अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटीमा १०–१५ प्रतिशत युवाको उपस्थिति अनिवार्य गर्न लागिएको छ, जसअनुसार कम्तिमा २५ युवा नेता केन्द्रीय कमिटीमा प्रवेश गर्ने सम्भावना देखिन्छ ।

गोरखाका आरसी लामिछाने, भोजपुरकी शशीकला रोका, दोलखाकी शान्तिमाया तामाङ पाख्रिन लगायतका युवा नेताहरूको दाबी एउटै छ–एमाले युवामैत्री पार्टी हो, अब यसको ठोस प्रमाण केन्द्रीय कमिटी र पदाधिकारी तहमा देखिनु पर्छ । युवाहरू अब केन्द्रीय सदस्यतामा मात्र सीमित रहन नचाहेको पनि प्रष्ट छ । महाधिवेशन प्रतिनिधि निरज पौडेलका अनुसार, ‘आगामी नेतृत्वमा युवालाई पुर्‍याउन विधान नै परिवर्तन गर्नु परे पनि वातावरण तयार पार्न दिनुपर्छ ।’

एकातिर अध्यक्ष ओलीले पदीय आकांक्षालाई व्यवस्थापन गर्न शीर्ष तह विस्तार गर्नुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ युवा नेतृत्व चाहने समूह विधान परिमार्जनमार्फत उच्च तहमा पुग्ने बाटो खुलाउन चाहन्छ । पुराना संरचनाको पुनर्जीवनदेखि नयाँ क्लस्टर प्रणालीसम्मका प्रस्तावमा सहमति खोजिन थालेको छ ।
महाधिवेशन नजिकिंदै गर्दा स्पष्ट छ-एमालेभित्र नेतृत्व संरचना र युवा सहभागिताका विषयमा चलिरहेको दुवै बहसले पार्टीको भविष्यगत दिशा निर्धारण गर्नेछ । अब निर्णायक घडी महाधिवेशन हो, जहाँ एमाले के कस्तो रूपमा उभिने हो-यही एक प्रश्नमा सबैको नजर अडिएको छ ।

ईश्वर पोखरेलले ओलीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पार्टी महाधिवेशनलाई लक्षित गर्दै विस्तृत वैकल्पिक अवधारणापत्र सार्वजनिक गरेका छन् । आगामी २७-२९ गते हुने महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्न तयार गरिएको यस दस्तावेजमा उनले हालको राजनीतिक जटिलता, पार्टीको कमजोरी, नेतृत्व व्यवस्था र आवश्यक संरचनागत सुधारबारे स्पष्ट धारणा अघि सारेका छन् ।

पोखरेलले ‘जेन–जी’ आन्दोलन र भदौ २४ का घटनाहरूलाई सुनियोजित विध्वंसका रूपमा अर्थ्याउँदै ती दिनहरूमा पार्टी कार्यालय, नेताहरूको निवास, सिंहदरबार र संसद भवनसमेत लक्ष्यबद्ध रूपमा आक्रमित भएको उल्लेख गरेका छन्। उनका अनुसार युवा पुस्तासँग सम्बन्ध कमजोर हुनु, उनीहरूको आकांक्षा नबुझिनु र सत्तामा हुँदा प्रभावकारी डेलिभरी दिन नसकनु एमालेको मौलिक कमजोरी बनेको छ ।

दस्तावेजको एउटा महत्वपूर्ण अंश पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय गराउने प्रस्ताव हो । पोखरेलले भण्डारीलाई पार्टी सदस्यताबाट टाढा राख्नु स्वयं एमालेका लागि घाटा भएको टिप्पणी गर्दै उनी फर्कने वातावरण अब बनाइनु पर्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिरिन रोक लगाइएको प्रसंग उठाउँदै उनले एमालेका गतिविधिमाथि सडकमार्फत नियन्त्रण गर्ने अभियान सञ्चालन भइरहेको आरोप समेत लगाएका छन् । यस परिस्थितिमा निर्वाचन नै राजनीतिक निकासको प्रमुख विकल्प बन्ने उनको निष्कर्ष छ ।

पार्टीलाई पोखरेलका सुझावहरु :-
– कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था अनिवार्य गर्ने ।
– ७० वर्ष उमेर सीमा लागू गर्ने ।
– ४० वर्षमुनिका युवालाई सबै तहका कमिटीमा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने ।
– ३० वर्षमुनिका कार्यकर्ताहरूका लागि विशेष प्रोत्साहन नीति ल्याउने ।

मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई समयानुकूल परिष्कृत गर्दै वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने आवश्यकता रहेको पोखरेलको धारणा छ । उनले विगतको नेकपा एकतालाई हतारमा गरिएको स्वीकार्दै अब विचार र विधिको आधारमा मात्रै एकता सम्भव हुने उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन तथा सुशीला कार्की नेतृत्वको सरकार गठनका विषयमा पोखरेलले आफ्नो व्याख्या पनि राखेका छन् । उनको बुझाइमा ती निर्णयहरू संविधानलाई न्यूनतम क्षतिमा जोगाइराख्ने विशेष परिस्थिति र दबाबका कारण उत्पन्न ‘आपतकालीन विकल्प’ थिए । त्यससँगै उनले अध्यक्ष ओलीमाथि लगाइएको स्थानहद तत्काल हटाइनु पर्ने माग दोहोर्‍याएका छन् ।

पोखरेलले राजनीतिक अवरोध चिर्न निर्वाचनमै जाने बाटो सही निकास भएको बताउँदा अध्यक्ष ओली भने प्रतिनिधि सभा पुनः स्थापनालाई वैकल्पिक उपायका रूपमा देखाइरहेका छन्। यी फरक धारणा बीच पोखरेलले वर्तमान जटिल अवस्थालाई ‘विशिष्ट परिस्थिति’ भन्दै अत्यावश्यक बाध्यताका कारण मात्रै पुनःस्थापनाको प्रसंग आउन सक्ने निष्कर्ष निकालेका छन् । महाधिवेशन नजिकिँदै गर्दा पोखरेलको यो दस्तावेजले एमालेभित्र नेतृत्व, मार्गदर्शन र संगठनात्मक रूपान्तरणबारे नयाँ बहसलाई तीव्र बनाएको छ ।
हेर्नुस् पूर्णपाठ

 

https://drive.google.com/file/d/17TGfQIFcCSpbVnR0kSjIu8Ii4ysgxSxn/view?usp=sharing

 

ईश्वर पोखरेलले च्यासल पुगेर बुझाए नेतृत्व परिवर्तनसहितको अवधारणापत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । पोखरेलले आफ्नो समूहका नेताहरूसहित पार्टी कार्यालय च्यासल पुगेर अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् । उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ । पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष पाण्डेले बताए । ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन् । उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन् ।

ईश्वरले तयार गरे छुट्टै दस्तावेज, च्यासलमा ओलीलाई बुझाउने

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी ओलीले आफ्नो एकल प्रस्ताव मात्र लैजाने अडान लिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मतसहित छुट्टै राजनीतिक प्रस्ताव (दस्तावेज) आज दिउँसो ३ बजे पेस गर्ने भएका छन् । अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन लागिएको हो । ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन् । उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल जाँदैछन् । पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र बुझाउन उनीहरू केहीबेरपछि पार्टी मुख्यालय च्यासल जाने तयारी भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । ‘नेताहरूले तयार गर्नु भएको छ । हामी अध्यक्ष ज्यूको समय लिएर भेट्न जाँदै छौँ,’ पाण्डेले भने । स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव समेटिएको बताएका छन् । त्यस्तै, हरेक कमिटीमा सामूहिक लोकतान्त्रिक पद्धतिको नेतृत्वलाई आत्मसात गर्नुपर्ने र व्यक्ति सर्वेसर्वा हुने पद्धतिको अन्त्यको माग अवधारणापत्रमा राखिएको छ ।

‘जेन–जी आन्दोलनपछिको बदलिएको परिस्थितिमा गाली र विरोध मात्रै गरेर हुँदैन भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यस्तो परिस्थिति आउनुमा आन्तरिक कारण मुख्य हुन् । बाह्य कारण पनि छन् भने पहिल्याउनुपर्छ भन्ने हाम्रो मुख्य कुरा छ ।’ अहिले पोखरेल पक्षका नेताहरू बागबजारको होटेल हार्दिकमा सामूहिक पत्रकार सम्मेलन गरिरहेका छन् । जसमा नेता पाण्डेसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत छन् । वरिष्ठ उपाध्यक्ष आउने टुंगो नलागेको बताइएको छ । उनी ओलीलाई बुझाउने अवधारणापत्रको अन्तिम रूप दिन लागिपरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ ।

समयको मागअनुसार ओलीको विकल्पमा ईश्वर पोखरेल : युवराज ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११ औं महाधिवेशनमा समयको मागअनुसार नेतृत्व परिवर्तनको विकल्प नभएको दावी गरेका छन् । काठमाठौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको विज्ञानको युगले नयाँ नेतृत्वको माग गरेकाले नेतृत्व फेरेर जानुपर्ने विषयमा प्रष्ट हुनुपर्ने बताएका छन् । उनले भने, ‘समयको महत्व बुझ्नु पर्छ, पुरानाको योगदानको सम्मान गर्दै नयाँलाई नेतृत्व दिनुपर्छ । जतिसक्यो छिटो नयाँले काम गर्न सक्छन् त्यो पुरानाले गर्न सक्दैनन् ।’ ज्ञवालीले पुराना पिँढीका नेताहरु कहिलेसम्म रहने ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘अरुको उदाहरण दिएर हुँदैन हामीले नयाँ उदाहरण विकास गरौं न नयाँ नेतृत्वलाई दिएर । माओवादीको हिंसात्मक अभियानलाई हामीले नयाँ ढंगले निकास दिएका थियौं नि’, ज्ञवालीले भने । ईश्वर पोखरेल व्यक्तिलाई नभएर नयाँ नेताका रुपमा अघि सारिएको ज्ञवालीले बताए । ‘अध्यक्ष केपी ओलीको विषयमा हाम्रो यही आलोचना हो । सामुहिक नेतृत्व नै उन्नत लोकतन्त्रको नमुना हो, एकल नेतृत्व सहज चल्न सक्दैन । हाम्रो पार्टीमा सामुहिक नेतृत्व भएन, नीति होइन नेता प्रधान भयो ।’ ज्ञवालीले भने ।

‘आलोचना नभई नेतृत्व सुध्रन सक्दैन भन्ने विषयमा प्रष्ट हुनुपर्छ । माक्र्सवादमा आलोचना हुन्छ, पार्टी सिद्धान्तमा आचोलना लागू भएन, त्यसैले नयाँ नेतृत्व हामीले खोजेका हौं,’ ज्ञवालीले भने, ‘यो धर्तीमा कमी नभएको मान्छे कोही हुँदैन तर हरेक कमजोरी सच्याउने प्रणाली अघि बढाउन नयाँ नेतृत्व अघि बढाएका हौं । करेक्सन बिना पार्टीको विकास हुँदैन, ओलीको नेतृत्वमा धेरै राम्रो काम भएका छन् तर कमजोरी पनि छन् ।’

‘जेन–जी आन्दोलनका क्रममा २३ गते उठेका जायज मागको समर्थन गर्नुपर्ने ज्ञवालीले बताएका छन् । उनले भने, ‘जेन–जीले उठाएका माग हाम्रा पनि माग हुन् तर २४ गते विध्वंश भयो । यो निकै ठूलो क्षतिको कारण खोजिनु पर्दछ किनकि हाम्रो नेतृत्वमा सरकार थियो, सबै दोष अरुलाई लगाएर हुँदैन । मेचीदेखि महाकालीसम्म यति ठूलो विरोध कसरी भयो ? हाम्रा कमजोरी त सच्याउन पर्‍यो नि ।’

 

 

ओलीले पञ्चायतको गाउँ फर्क शैलीमा महाविधेशन गर्न खोजिरहेका छन् : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनकाअनुसार २०३२ सालमा पञ्चायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही व्यवस्थलाई ओलीले अहिले पार्टीमा लागू गरेको उनको आरोप छ ।

उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताए । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गरे । पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेर हद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे । आठौं महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उनको भनाई छ।

१० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाए । नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए । पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनता माझ एमाले खुम्चिँदै गएको उल्लेख गरे । नेतृत्व चयनमा प्रतिष्पर्धा नहुने र माथिबाट तोकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दाबी छ । चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने ? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए ।

उनले भने, ‘उहाँ आफै (केपी ओली) ले अगुवाई गरेर नेतृत्वको लोकतान्त्रिकरण कसरी गर्ने, पार्टीको लोकतान्त्रिकरण कसरी गर्ने भनेर दुई पटक र ७० वर्षको कुरा उहाँकै प्रस्तावमा, उहाँ नै कार्यदलको संयोजक भएर पारित भएको हो । आठौँ महाधिवेशनमा हामीले सर्वसम्वत रुपमा पारित गरेर त्यसपछि निर्वाचन पनि हामीले एकदमै लोकतान्त्रिक ढंगले गर्‍यौँ । ९ औँ मा भयो, १० औँ मा गएपछि उहाँले के भन्नुभयो भने पहिला को उठ्न पाउँछ, त्यो मात्रै मान्छेले उठ्न पाउने, एउटा लिष्ट पास गर्ने र ती लिष्टमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने । यो त गाउँ फर्क शैली होइन र ?’

उनले भने, ‘२०३२ सालमा गाउँ फर्क लागू भएपछि यही कुरा गरेको थियो । गाउँ फर्कले टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे । अरुले लड्न पाउँदैनथे । अहिले उहाँले के व्याख्या गरिरहनु भएको छ भने कहाँ पूर्वको मान्छेलाई पश्चिमको मान्छेले चिन्छ, दार्चुलाको मान्छेलाई ताप्लेजुङकोले कसरी चिन्ने ? त्यो त नेताले मात्रै चिन्न सक्छ । त्यसकारण नेताले चिनेको मान्छेलाई सबैले भोट हाल्नुपर्छ । यो लोकतान्त्रिक विधि भयो र ? उहाँले धेरै पटक बोल्नु भएको छ । यस्तो विधिबाट पार्टी लोकतान्त्रिक हुँदैन । अझ उल्टो के भने लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीको रुपमा रुपान्तरित गर्ने जुन किसिमको परिस्थिति बन्दैछ, यसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आईसोलेशनमा जाने अवस्था देखा पर्दैछ । विस्तार भएर जानुपर्ने, नवपुस्ताको बीचमा पार्टी विस्तार हुँदै जानुपर्नेमा पनि नवपुस्ताले पनि भन्न थाले चुनाव नहुने पार्टीमा किन जाने आउने ? प्रतिष्पर्धा नहुने पार्टीमा किन आउने ? तोकुवा माथिबाट लिस्ट बेच्ने पार्टीमा किन आउने ? जहाँ हाम्रो कुनै सम्भावना छैन ।’ उनले कानूनमा नै राजनीतिक दलमा एक पटक भन्दा बढी नेतृत्व गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । पुरानामा मात्रै नभएर नयाँ राजनीतिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताए ।

एउटा व्यक्ति दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने कानुन ल्याउनु पर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै लेख्नुपर्ने बताएका छन् । आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना र नयाँ दल दुवैमा दुई पटकभन्दा बढी अध्यक्ष हुन चाहने अवस्था रहेको भन्दै कानुनमै नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेसनमा जाने अवस्था देखा पर्दैछ ।’ नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न पाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउने सम्भावना नरहेको उनले बताए ।

उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस गर्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जबज र आफूले भनेको जबज फरक रहेको धारणा राखे । पाण्डेले जबजको प्रष्ट बुझाउन आफूहरु सक्रिय रहेको बताए । उनले नयाँ पुस्ताको बीचमा पार्टी जानुपर्नेमा सीमित नेताको हातबाट पार्टी सञ्चालन भइरहेको आरोप लगाए । ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा एमालेका नेताहरूमा ध्रुवीकरण बढेको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई टक्कर दिन संस्थापनइतर पक्षका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईसहितका पदाधिकारीहरू सहभागी थिए ।

 

ओलीले विदा लिँदा सम्मान पनि बढ्छ : कर्ण थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने दावी गरे ।

‘केन्द्रीय कमिटीका बैठक भनेको उहाँ उभिने, भाषण गर्ने,’ थापाले भने, ‘भाषण जति मन लाग्छ त्यति गर्ने । जे मन लाग्छ त्यो कुरा भन्ने । उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज । उहाँले भनेको कुरा निर्णय । जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन । द्वन्द्ववादसँग पनि मेल खाँदैन । माक्र्सवादसँग पनि मेल खाँदैन ।’

थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेको बताउँदै अब परिवर्तन आवश्यक रहेको बताएका छन् । ‘हामी बहस गर्न चाहन्छौं । तर्क–वितर्क गर्न चाहन्छौं । देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं,’ उनले भने । उनले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जाने भन्दै ओलीले विदा लिनुपर्ने बताएका छन् । ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यलाई अगाडि बढाउनु पर्नेछ, सामुहिक नेतृत्व प्रणालीमा जाने र मूल्यांकनको सही परिपाटी स्थापित गर्ने,’ थापाले थपे, ‘यी कुरा बुझेर उहाँले विदा लिनुपर्छ । उहाँ विदा हुनुभयो भने उहाँको सम्मान पनि बढ्ने छ ।’

कसरी मिल्यो एमाले धनकुटा र ओखलढुङ्गाको महाधिवेशन प्रतिनिधि छनौंट विवाद ?

विराटनगर । नेकपा एमालेको धनकुटा र ओखलढुङ्गामा देखिएको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद अन्ततः नेतृत्वको सक्रियतामा समाधान भएको छ । दुवै जिल्लामा एकपक्षीय प्रक्रिया, असन्तुष्टि र बहिष्कारका कारण उत्पन्न विवादलाई संगठन विभाग र प्रदेश नेतृत्वले समन्वय गरी सहमतिमै प्रतिनिधि छनोट गरेको घोषणा गरिएको हो ।

धनकुटामा केही बुथमा तोडफोड र मतपत्र च्याताच्यात समेत भएपछि विवाद चुलिएको थियो । राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिष्पर्धा देखिए पनि संगठन विभागको निर्देशनपछि कोशी प्रदेश इन्चार्ज शेरधन राई र केन्दीय सदस्य राजेन्द्र राईको सहमतिमूलक पहल सफल बनेको हो । सोही अनुसार धनकुटाबाट खुल्लातर्फ निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

त्यसैगरी युवा, दलित र महिला तर्फबाट क्रमशः सरोज राई, नैन रुचाल, तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन् । साथै जिल्लाका दुई वरिष्ठ नेतालाई मनोनीत गर्ने सहमति पनि भएको छ । यसअघि प्रतिनिधि बनेका शान्तिराम गौतम र अर्जुन छाराहाङको स्थानमा यसपटक निरेन तामाङ र मनोज राई समावेश गरिएका छन् ।

यस्तै ओखलढुङ्गामा पनि एकपक्षीय घोषणा र पदाधिकारीबीचको मतभेदका कारण विवाद उत्पन्न भएपछि संगठन विभागले प्रक्रिया बदर गरी पाँच दिनभित्र सहमतिबाट वा पालिकास्तरमा चुनावमार्फत प्रतिनिधि चयन गर्न कार्यदल तोकेको थियो । कोशी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराई, जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारी सम्मिलित कार्यदलको निरन्तर छलफलपछि प्रतिनिधि छनोट सर्वसम्मत बनेको छ ।

बहिष्कार गरेको पक्षलाई चार प्रतिनिधि समावेश गर्दै कुल १२ जनाको सूची अन्तिम गरिएको छ । सहमतिअनुसार पूर्व जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारी प्रतिनिधिमा परेका छन् । साथै जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे यसअघि नै प्रस्तावित सूचीबाट कायम गरिएको छ । दुवै जिल्लामा उत्पन्न विवाद समाधान भएसँगै महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा टुंगिएको नेतृत्वले जनाएको छ ।

 

महाधिवेशन प्रतिनिधिहरुसँग ओली : अनावश्यक बहकाउमा नलाग्नुस्

काठमाडौं । नेकपा एमालेका महाधिवेशनका लागि रामेछापबाट छनोट भएका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले आइतबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर ओलीलाई भेटेका हुन् ।

भेटमा रामेछाप भूगोल भएका केन्द्र, प्रदेश तथा जिल्लाका प्रतिनिधिको सहभागिता थियो । भेटमा ओलीले प्रतिनिधिहरूलाई अनावश्यक बहकाउमा नलाग्न आग्रह गरेका छन् । उनले सहमतिबाट नै नेतृत्व चयनको लागि प्रयास भइरहेको बताउँदै महाधिवेशन बाहिर चर्चा गरिएजस्तो तिक्ततापूर्ण प्रतिस्पर्धा नहुने दाबी गरेका ओलीसँगको भेटमा सहभागी एमाले बागमती प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।

भेटका क्रममा नेताहरूले अध्यक्ष ओलीलाई जिल्लाको वस्तुस्थिति बारे संक्षिप्त जानकारी गराएका थिए । अध्यक्ष ओलीलाई भेट्न पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाई, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल तथा जिल्लाबाट प्रतिनिधि छानिएका नेताहरू गुण्डु पुगेका हुन् । एमालेको महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिष्र्धा हुने चर्चा छ । पोखरेल पक्षमा पूर्व राष्ट्रपति विद्या भण्डारी समेत खुलेपछि ओलीले महाधिवेशन प्रतिनिधिलाई आफूतिर आकर्षित गर्न विभिन्न प्रयास गरिरहेका छन् ।

ओली कुटीबारे महेश बस्नेत : ओली जोगी होइनन्, नामाकरणमा टाउको नदुखाउनुस्

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ बारे भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बस्नेतकै पहलमा नयाँ घर निर्माण गर्न लागिएको तर त्यसलाई कुटी नामाकरण गरेर भव्य बंगाला बनाउन लागिएको भन्दै भइरहेको आलोचनाप्रति बस्नेतले टाउको नदुखाउन भनेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो । उहाँ त्यसको अध्यक्ष हो । केपी ओलीका लागि २–३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङग्य हो भने—ब्यङग्य गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ । त्यसैले कृपया टाउको नदुखाउनुहोस् । कुटी वा आश्रम जे भने पनि त्यो नामाकरण मात्रै भएको त्यसलाई व्यंग्य गर्न नहुने टिप्पणी गरेका छन् ।

‘उनले थप लेखेका छन् । कुटी भन्नुस वा ‘आश्रम’ यी त नामाङ्कन मात्रै हुन् । हिजो नेकपा फुटाएर एमाले सके भनेर केपी ओली ‘बार्दली गए’ भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो । आज फेरि ‘राजनीतिबाट कुटी पुगे’ भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ । जेनजी आन्दोलनपछि ओलीको भक्तपुरको बालकोटस्थित निजी निवास क्षति भएपछि भक्तपुरकै गुण्डुमा ओलीका लागि ‘ओली कुटी’ निर्माण गर्न लागिएको छ । उक्त कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले बिहीबार मात्रै गरेकी थिइन् ।

 

ओलीको आरोप : प्रधानमन्त्री र छानबिन आयोग जसरी पनि मलाई पक्रिन लागिपरेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की र जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोग दुवै संवैधानिक सीमाभन्दा बाहिर गएर काम गरेको गम्भीर आरोप लगाएका छन् । नवयुग ई–बुलेटिनको शुभारम्भ समारोहमा बोल्दै उनले आफू र आफ्ना सहकर्मीविरुद्ध राज्य संयन्त्रलाई प्रयोग गर्न खोजिएको दाबी गरे ।

ओलीका अनुसार प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण निवारण विभागका शीर्ष अधिकारीलाई आफूलाई पक्राउ गर्ने उद्देश्यसहित मुद्दा दायर गर्न दबाब दिएका थिए । ‘विभागका प्रमुखलाई बोलाएर मुद्दा बनाऊ, प्रमाण निकाल, समात्नै पर्छ भनेर निर्देशन दिइयो,’ ओलीले आरोप लगाए, ‘तर उनले यस्तो आधारहीन काम गर्न सक्दिनँ भनेपछि तुरुन्तै हटाइयो र अर्को व्यक्तिलाई ल्याइयो ।’ सरकारले हालै गरेका राजदूत फिर्ता र अध्यादेश जारी गर्ने निर्णयहरू पनि प्रधानमन्त्रीको भूमिका सीमाभन्दा बाहिर गएको प्रमाण भएको ओलीको टिप्पणी थियो । उनले सरकारले पाएको काममा मात्र केन्द्रित हुनुपर्ने बताए ।

उता, जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोगलाई ओलीले अझ कडा भाषामा आलोचना गरे । उनका अनुसार आयोग तथ्य संकलनभन्दा बयान ‘मिलाउने’ काममा लागेको छ । च्यासलमा आयोजित कार्यक्रममा उनले आयोगका पदाधिकारी ४ दिनअघि ‘सहिद तथा घाइते परिवार’ को नाममा खोलिएको कार्यालयमै पुगेको र त्यहाँ २७ बुँदे प्रश्नावलीसहित ‘कोचिङ’ गरेको दाबी गरे ।

‘आयोगका पदाधिकारीहरू त्यहाँ गएर यसरी भन्नू, यस्तो देख्यौं भन्नू, फलानालाई समाउनै पर्छ, थुन्नु पर्छ भन्नू भनेर सिकाइरहेका थिए,’ ओलीले आरोप लगाए, ‘यस्तो राजनीतिकृत बयान तयार पारेर आयोगले निष्पक्षता गुमाएको छ ।’ ओलीले सहिद परिवारको नाममा विभिन्न समूहले राजनीति गर्ने गरेको उल्लेख गर्दै आयोग स्वयम् त्यस्ता समूहको प्रभावमा पुगेको गुनासो गरे । उनका अनुसार आयोगले अगाडि सारेको कार्यशैलीले निष्पक्ष छानबिनभन्दा आरोप लगाउने वातावरण बनाउँदै लगेको छ ।

पार्टीमा एकताको खाँचो छ, ओलीकै नेतृत्व स्वीकारौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र प्रतिष्पर्धाभन्दा एकता जरुरी रहेको बताएका छन् । उनले ११औं महाधिवेशनपछि एमाले अझ सुदृढ र एकताबद्ध भएर अघि बढ्ने दाबी गरे ।

पार्टीको ‘नवयुग ई–बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै पोखरेलले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोहलाई महाधिवेशनको उत्सव मात्र नभई प्रतिगमनविरुद्धको जनपरिचालनको रूपमा प्रस्तुत गर्ने तयारी गरिएको बताए । उनले सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण कार्यकर्तालाई अपिल पनि गरे।

उनका अनुसार एमाले मात्रै देशको विकासका लागि आवश्यक योजना बनाउन सक्षम शक्ति हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी प्रहार कुनै व्यक्तिगत विषय नभई एमालेको नीति, विचारधारा र नेपालको राष्ट्रिय हितविरुद्धको आक्रमण भएको उनको तर्क थियो ।

महासचिव पोखरेलले राष्ट्रिय राजनीति आज पनि एमाले र अध्यक्ष ओलीकै वरिपरि केन्द्रित रहेको उल्लेख गर्दै आउँदो महाधिवेशनले ओलीलाई पुनः अध्यक्ष चयन गर्ने विश्वास व्यक्त गरे । अध्यक्षमा प्रतिष्पर्धाको तयारी गरिरहेको भनिएको समूहलाई उदगृत गर्दै उनले अहिलेको आवश्यकता प्रतिष्पर्धा नभई एकता भएको स्पष्ट पारे । पोखरेलले पार्टीभित्र सबैलाई ओलीको नेतृत्वमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

महेश बस्नेतको दाबी : ओलीलाई हराउन खोज्नु मनको लड्डु घिउसँग खानु जस्तै हो

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले झापामा कसैले पनि अध्यक्ष केपी शर्मा ओलीलाई हराउन नसक्ने दाबी गरेका छन् । आज (शनिबार) फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।

‘अहिले केपी ओली ज्यूलाई आउँदो चुनावमा हराउने भनेर केही तत्व लागिपरेका देखिन्छन्,’ बस्नेतले लेखेका छन्, ‘तर उनीहरूको प्रयास माखो मार्नेवाला छैन् । यो सबै मनको लड्डु घिउसँग खानु जस्तै कुरा हो !’ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–५को अन्तिम मत परिणाम उल्लेख गर्दै उनले ओलीले उक्त निर्वाचनमा ऐतिहासिक मतान्तरसहित विजयी भएको तथ्य नै पर्याप्त रहेको दाबी गरे ।

‘उहाँले ५२ हजार ३१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई हराउनु भएको थियो । अधिकारीले २३ हजार ७४३ मत मात्र पाएका थिए,’ उनले अगाडि लेखेका छन् । यो परिणाम कुनै संयोग मात्रै नभएको बस्नेत ठहर छ । उनले अगाडि भनेका छन्, ‘यो झापाका जनताले विकास, स्थिरता र राष्ट्र निर्माणप्रतिको ओलीप्रतिको गहिरो विश्वासको प्रष्ट प्रमाण हो ।’

 

‘मधेशमा कांग्रेस–एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा सरोज र श्रीकृष्णले तोडे’

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मधेशमा कांग्रेस र एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा तोडिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सरोज यादव र श्रीकृष्ण यादवले त्यो धारणा तोडेको पोखरेलले बताएका हुन् । नेपाली राजनीतिमा देखिएको यो परिवर्तन सकारात्मक र स्वागतयोग्य रहेको उनको भनाइ छ ।

‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए’ उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ । मधेसी जनताको जनादेश अनुरूपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो ।’

 

 

देउवा भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् । देउवा निवास महाराजगञ्जमा केहीबेरअघि ओली पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता जारी छ । जेनजी आन्दोलनपछि दुई नेताहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच साढे ३ बजे भेटवार्ता गर्ने गरी कार्यक्रम तय गरिएको थियो । स्रोतका अनुसार अहिले देउवा निवासमै दुवै शीर्ष नेताबीच भेटवार्ता जारी छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच औपचारिक भेटघाट भएको थिएन । त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी कायम थियो ।

यसैबीच, आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको बेला शीर्ष नेताहरूको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन रणनीति तथा सहयोगसम्बन्धी विषयमा छलफल हुने बताइएको छ । भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा उनमाथि आक्रमण भएको थियो । उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किसकेका छन् । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । ओली–देउवाबीचको भेटमा यो विषयमा समेत कुराकानी हुनसक्ने अनुमान गरिएको छ ।

एमालेमा ओलीको विकल्प छैन : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिष्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन् । नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ ।’ अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए ।

विधानलाई संशोधन गरेर भए पनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए । उनले भने, ‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नु भएको छ । पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन । त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ ।’

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्वपूर्ण योगदान रहेको बताए । उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे । अहिलेको महाधिवेशनमा प्रतिष्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।

जेन–जी आन्दोलन प्रतिक्रान्ति हो : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जेन–जी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले जनताद्वारा जनताको निम्ति जेन–जी आन्दोलन नभएको बताए । उनले भने, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो । यो परिघटनालाई हेर्दा दुई तिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’

उनले आफूहरूले राजाको हातबाट जनताको हातमा सत्ता ल्याउनको लागि ०६२/६३ को आन्दोलन गरेको स्मरण गरे । प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको बादलले आरोप लगाए । उनले भने, ‘लोकतन्त्र स्थापना गर्न लागेका सबै राजनीतिक दलहरूको नेतृत्व विस्थापित गरेर प्रतिक्रान्तिलाई स्थापित गर्ने षड्यन्त्र अहिले भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूलाई सिध्याएर मात्रै प्रतिक्रान्तिलाई वैधानिकता दिने प्रयास हुँदैन ।’ निर्वाचनबाट जेलेन्सकीहरूको सरकार बनाउने प्रयास भइरहेको पनि बताएका छन् । अहिलेको समस्याको निकास संसद् पुनस्र्थापना नभएको बादलको भनाइ छ ।

 

 

ओली र पोखरेलबीच तीन घण्टा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज (बिहीबार) तीन घण्टा लामो भेटवार्ता गरेका छन् । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए ।

उपाध्यक्ष पोखरेलले यसअघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । महाधिवेशनको पूर्वसन्ध्या भएको यस भेटवार्तालाई चासोका साथ हेरिएको छ । बैठकमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

अहिले दुवै पक्ष टिम बनाउन सक्रिय बनेका छन् । ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केही नेता खुलेर साथ नदिँदा दुई समूहका अनुहारहरू प्रष्ट नदेखिएको स्रोतको भनाइ छ । यसअघि एक कार्यक्रममा ओलीले ‘आफूले नाम पढेर सुनाएपछि महाधिवेशन सकिने’ टिप्पणी गरेका थिए । पोखरेलको टिम भने पूर्वराष्ट्रपति विद्या भण्डारीको सपोर्टमा ओलीलाई चुनौती दिने तयारीमा छन् । मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने महाधिवशेनका लागि एमालेले मंसिर १३ गते देशभरका प्रतिनिधि छानेको थियो । प्रतिनिधि छनोटको काम सकिएसँगै एमाले नेता–कार्यकर्ताहरु आन्तरिक जोड घटाउमा व्यस्त छन् ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का जस्तै भइसकेको छ । ओली पक्षले प्रचार सामग्री (पोस्टर) मा ओलीको तस्बिर राख्दै ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ नारा तय गरेको छ भने पोखरेल पक्षले जबज प्रणेता दिवंगत मदन भण्डारीको तस्बिर पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा तय गरेको छ । ओली समूहको प्यानल बनेपछि मात्र आफ्नो प्यानल बनाउने पोखरेल समूहको रणनीति देखिन्छ । त्यसो गर्दा ओली पक्षका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्न सकिने पोखरेल पक्षको विश्वास छ ।

पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समूह र विगतको नेकपाका १० बुँदे पक्षधर नेताहरुले साथ दिने देखिएको छ । पोखरेल पक्षले सुन्धारास्थित एक होटल र थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयलाई सम्पर्क स्थल बनाएर निकटका नेता, कार्यकर्ता र प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरिरहेकव ओलीले भने अस्थायी निवास भक्तपुरको गुण्डुमै अधिकांश भेटघाट गर्ने गरेका छन् । आफू निकट नेताहरुसँगको भेटमा ओलीले छनोट भएका प्रतिनिधिहरुमध्ये ८० देखि ८५ प्रतिशत आफ्नो पक्षमा रहेको सुनाउने गरेका छन् । महाधिवेशनमा करिब २२ सय हाराहारी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

 

 

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग हुने, टेण्डर आह्वान

काठमाडौं । नेकपा एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यस पटक पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने जानकारी दिए । एमालेले यसअघि चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गरेको थियो । ‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरेका छौँ’ ज्ञवालीले भने, ‘टेन्डर आह्वान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।’

महाधिवेशनले यस पटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्नेछ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी संख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।

ओलीको टिमबाट शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने

काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए । उनले सुनाए, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकाले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’

उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरेका छन् । तपाईको उम्मेदवारी उपमहासचिवमा नै रहन्छ कि दाबी मात्रै हो भन्ने जिज्ञासामा उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौं महाधिवेशनसम्म के हुन्छ ।’ सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्री समेत भइसकेका छन् ।

कुलमानलक्षित शंकरको कटाक्ष : उज्यालो नेपाल एउटाको योजना, जस अर्कोले पायो, पार्टी तेस्रोले खोले

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय कसलाई जाने भन्ने बहस फेरि चर्किएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएको टिप्पणीले फेरि चर्चा थपेको हो । बुधबार औपचारिक रूपमा घोषणा गरिएको उज्यालो नेपाल पार्टीलाई लक्षित गर्दै पोखरेलले ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले र पार्टी खोल्यो तेस्रोले’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले योजनाको श्रेय अरूले लिएको र उपलब्धिको आधारमा अरूले राजनीतिक लाभ उठाएको आरोप लगाउँदै ‘वास्तविक श्रेय पाउनुपर्ने पक्षलाई कहिले सम्मान गरिने हो ?’ भनेर प्रश्न समेत उठाए । पोखरेलले नाम नलिएको भए पनि उनको टिप्पणी माओवादी केन्द्र र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङतर्फ संकेत भएको बुझिन्छ । लोडसेडिङ अन्त्यमा घिसिङको भूमिकालाई व्यापक रूपमा स्वीकार गरिन्छ भने माओवादी केन्द्रले पनि आफ्नो सरकारकालको पहललाई श्रेय दिने गरेको छ । तर, पोखरेलले एमालेकै योजनाबाट लोडसेडिङ अन्त्यको शुरुवात भएको बताए ।

उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् । पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनु भयो ।’

अधिवक्ता सुलभ खरेल एमालेको रिटमा नियुक्त नभएको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित केही समाचार असत्य रहेको भन्दै औपचारिक रूपमा खण्डन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा अधिवक्ता सुलभ खरेल बहसका क्रममा ‘‘न्यायाधीशको प्रश्नले इजलासमै ढलेकै’ दाबी गर्दै प्रकाशित खबरहरू पूर्णरूपमा भ्रमपूर्ण भएको नेता बर्तौलाको भनाइ छ ।

बर्तौलाका अनुसार अधिवक्ता सुलभ खरेललाई एमालेले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आफ्नो तर्फबाट बहसका लागि अधिवक्ता नियुक्त नै गरेको थिएन । उनले भनेका छन्, ‘खरेल ज्यूलाई यस रिटमा पेशीका अधिवक्ता बनाइएको थिएन, त्यसैले अनलाइनहरूमा लेखिएझैं उनी एमालेको तर्फबाट बहसका क्रममा ढले भन्ने कुरा वास्तविकतासँग मेल खाँदैन ।’

नेता बर्तौलाले स्पष्ट पारेअनुसार, सुलभ खरेल सो दिन संवैधानिक इजलासमा उपस्थित भए पनि उनी पूणरूपमा अर्को मुद्दाको बहसका क्रममा मात्र इजलासमा आएका थिए । उनले सम्बन्धित आफ्नै मुद्दाको बहस सकेपछि मात्रै एमालेको तर्फबाट दायर गरिएको रिटको बहस सुरु भएको थियो । बर्तौलाले तथ्यविपरीत प्रचार गरिएका समाचारले व्यक्तिको पेशागत प्रतिष्ठामा आघात पुग्ने भएकाले यथाशीघ्र सो समाचार सच्याउन सञ्चारमाध्यमहरू समक्ष आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अनलाइनमा देखिएका भ्रामक विवरणहरूले वास्तविक कार्यवाही र नियुक्तिबारे गलत बुझाइ फैलाएको छ । त्यसैले सत्यतथ्यको सम्मान गर्दै सञ्चारमाध्यमहरूले परिमार्जन तथा सच्याइएको समाचार प्रकाशन गर्नु आवश्यक छ ।’ एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटको बहस संवैधानिक इजलासमा निरन्तर चलिरहेको छ र पार्टीका आधिकारिक अधिवक्ताहरू निर्धारित क्रमअनुसार बहस गर्दै आएका छन् ।

एमाले जेनजी पुस्ताको रियल लिडर हो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाकाविरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे । एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उनको भनाई थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे ।

उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा, उनीहरुका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु ।’ उनले भने, ‘जहाँसम्म भदौ २३, २४ को सन्दर्भ छ । २३ गते जेनजीहरु जुन माग र मुद्दामा आएका थिए । उनीहरुले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौैं । सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरुको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीहरुले माग राखेका होइनन् । उनीहरुको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनु पर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरुको ।’ उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन् । उनले एमालेलाई अधिनायकवादी र निरंकुश छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन । हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौं । अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौं । नीतिको महाधिवेशन गरिसक्यौं ।’ उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए । उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नु भयो, म मात्रै बोल्छु भन्नु भयो भन्ने खालको कुराको सान्दर्भिकता छैन ।’

उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्वहिन ठानेको बताए । आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए । उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन । मेरो ट्रयाक रेकर्ड हेर्दा हुन्छ । मलाई यो चिज चाहियो भनेको छैन । त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ । मलाई किङमेकर भनेर तपाईहरूले बोक्न नसक्ने तक्मा दिनुभयो । मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस् ।’ उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए । अहिले एमालेभित्र कुनै संकट नरहेको बताए । पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे । ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ ।

 

 

विष्णु पौडेलको दावी : एमाले एक्लिँदैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको जिकिर गरे । उनले भने, ‘जनताले स्वीकार्दासम्म हामी एक्लिँयौं, अलग भयौं भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ ।’

उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको दाबी गरे । ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने । उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरेका छन् । संविधानलाई ट्रयाकमा ल्याउनको लागि संसद् पुनस्र्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।


 

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिट आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा मुद्दा सुनुवाइ हुने कार्यक्रम छ।

विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते दायर गरेको रिट आज दिनको अन्तिम सुनुवाइको क्रममा राखिएको छ। क्रम संख्या ‘छ’ मा परेकोले अन्य सबै मुद्दा टुंगिएपछि मात्र यसमा बहस सुरु हुनेछ। एमालेले रिटमार्फत सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति नै असंवैधानिक भएको दाबी गरेको छ । संविधानको धारा ७६ र १३२ (२) अनुसार प्रतिनिधि सभा सदस्य नभएको तथा सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश रहेको व्यक्तिलाई प्रधानमन्त्री बन्न रोकिएको तर्क रिटमा उल्लेख छ। कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको भदौ २७ गतेको निर्णय, शपथ ग्रहण तथा त्यसपछिका सबै नियुक्ति र कार्यहरू बदर गर्न माग गरिएको छ।

रिटमा अहिलेको सरकारले गरेका सम्पूर्ण निर्णय, कार्यविधि र नियुक्तिहरू कानुनी आधारविहीन ठहरिने दाबी गर्दै एमालेले ‘गैरकानुनी सरकार’का नाताले सबै कार्य शून्य हुने माग राखेको छ। साथै प्रधानमन्त्री कार्कीको निर्णयमा भएको प्रतिनिधि सभा विघटनलाई उल्ट्याई तत्काल संसद पुनर्स्थापना गर्न आदेश जारी गराउन आग्रह गरिएको छ।

‘भदौ २४ गतेपछि भएको समयलाई शून्य अवधि घोषित गरी प्रतिनिधि सभा पुनर्स्थापना गरियोस् र सो दिन कायम रहेका राज्यका सबै अंगहरू पूर्ववत् रूपमा सञ्चालनमा रहून्,’ रिटमा उल्लेख छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि परमादेश जारी गर्न तथा प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बैठक बोलाउन सभामुख र संसद सचिवालयका नाममा पनि आदेश दिन माग गरिएको छ।

कुलमानको चुनाव चिह्नबारे ओलीको कटाक्ष : फ्युज गएको चिम

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिक अवस्था सुधार्नु पर्ने बताएका छन् । एमालेको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा राजनीतिक मुहान बिग्रिएको बताएका छन् ।

उनले उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गर्दै भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ । ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम । कति साह्रो नेपाली जनतालाई यस्ता यस्ता अवस्थाबाट गुज्रिरहेका छौं । यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ ।’

ओलीले अहिलेको सरकारले देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा र आगजनी फैलाएको टिप्पणी गरे। देशलाई सही ट्रयाकमा फर्काउन संसद् पुनर्स्थापनाको विकल्प नभएको पनि दोहोर्‍याएका छन् । उनले भने, ‘अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनरीबाट ’सत्य’ भन्ने शब्द डिलिट गर्नुपर्छ ।’

कुलमान र रामेश्वरबीच पाँच अर्बको ‘सेटिङ’ रहेको महेशको आरोप

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा अकल्पनीयस्तरको नीतिगत भ्रष्टाचारको तयारी भइरहेको आरोप लगाएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत बस्नेतले पाँच हजार मेगावाट विद्युत् खरिद सम्झौताका नाममा करिब पाँच अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेल गर्न खोजिएको दाबी गरेका हुन् ।

बस्नेतका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ‘टेक अर पे’ मोडेलमा पीपीए गराउने, र त्यसवापत प्रवद्र्धकसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाउने सिन्डिकेट जस्तो योजना बनाइएको छ । उनले भने, ‘अहिले प्रवद्र्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीए गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी छ ।’

बस्नेतलेका अनुसार अघिल्लो सरकारले बजेट वक्तव्यमार्फत नै ‘टेक अर पे’ मोडेलमा पीपीए नगर्ने स्पष्ट नीति लिएको थियो । बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजारको सुनिश्चितता नभएको र ‘रन अफ दि रिभर’ आयोजनाको बाहुल्यताले ऊर्जा सुरक्षामा जोखिम बढेको भन्दै उक्त नीति रोकिएको उनले बताए ।

साथै, सुक्खायाममा बिजुली अभाव हुने तर वर्षायाममा खेर जाने अवस्था र नेपाल विद्युत प्राधिकरणको कमजोर वित्तीय स्वास्थ्यका कारण प्राधिकरणलाई थप भार नपार्न यस्तो निर्णय गरिएको उनको भनाइ छ । यी सबै कारणलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणलाई थप वित्तीय भार नपरोस् भनेर नीति रोकिने निर्णय गरिएको थियो । प्रस्तावित ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएको मुख्य उद्देश्य चुनावी खर्च जुटाउने रहेको बस्नेतको आरोप छ ।

उनले भनेका छन्, ‘पाँच हजार मेगावाटमा प्रतिमेगावाट १० लाख उठाउने हिसाबले ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।’ यो सेटिङ पूरा भएपछि मात्रै ऊर्जा मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने योजना भएको पनि उनको भनाई छ । बस्नेतले यस्तो निर्णय कार्यान्वयन भए ऊर्जा क्षेत्र मात्र होइन, नेपाल विद्युत प्राधिकरण नै आर्थिक रूपमा धरासायी हुने गम्भीर चेतावनी दिएका छन् ।

‘आफूले देशलाई स्वर्ग बनाए जस्तै कुरा गर्छन् बा, म त हाँसेरै मर्छु कि क्या हो ?’
नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले व्यंग्य गरेका छन् । मंगलबार नेता बस्नेतले ऊर्जामन्त्री घिसिङ र अर्थमन्त्री खनाल मिलेर ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएमार्फत ५ अर्ब रुपैयाँ उठाउने सेटिङ भइरहेको दाबी गरेका थिए ।

सोही आरोपसहितको पोस्टलाई साझा गर्दै मन्त्री पुनले व्यंग्यात्मक शैलीमा बस्नेत र एमाले नेतृत्वमाथि कटाक्ष गरेका हुन् । मन्त्री पुनले बस्नेतको आरोपप्रति प्रतिक्रिया दिँदै लेखे, ‘के–के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले—म त हाँसेरै मर्छु कि क्या हो ।’

एमालेमा ओलीलाई टक्कर दिने कोही छैन : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाइ गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् । उनले अहिले नै ओलीलाई बिदाइ गर्ने कुरा असम्भव रहेको दावी गरे ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, ‘विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन् । अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’

पार्टीभित्र भइरहेको ओलीविरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनको भनाइ छ । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नु पर्छ ।’

मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ थियो । यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका भीम रावलले जम्मा दुई सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपालि महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनको दाबी छ । थापाले पार्टीभित्रको मौन प्रवृत्ति घातक हुने बताए ।