`

एमाले महाधिवेशन: कुन-कुन पदमा उठ्दैछन् यी चर्चित युवा?

काठमाडौँ ।  नेकपा एमालेको ११औं महाधिवेशनबाट पार्टीको पहिलो पुस्ताका नेताहरूले बिदा लिने क्रम चलिरहेको छ । १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका छन् । उनीहरूबाहेक अरू पनि पुरानो पुस्ताका नेताहरू बिदा हुनसक्छन् । अर्कातिर यही महाधिवेशनबाट केही चर्चित युवाहरूले पार्टीभित्र फरकफरक भूमिका खोजिरहेका छन् । सामाजिक सञ्जाल र युवापुस्ता माझ चर्चित केही युवा अनुहारहरु पार्टी पधादिकारी देखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सुहाङ नेम्वाङ

एमालेका पूर्वउपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ युवापुस्तामाझ चर्चित अनुहार हुन् । उनले जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘नेकपा एमालेको गौरवमय आन्दोलनलाई नयाँ पुस्तासँग जोड्नु आजको प्रमुख चुनौति र कार्यभार हो । यो ऐतिहासिक कार्यभारमा म पनि योगदान गर्न सक्छु भन्ने लागेर ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निधो गरेँ । तपाईंहरूको माया, साथ र सहयोगका लागि हार्दिक अनुरोध छ।’

वकालत पेशामा रहेका सुहाङ आफ्ना पिताको निधन भएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । ईलाम क्षेत्र नम्बर दुईका सांसद रहेका सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उम्मेद्वार बन्दै विजयी भएका थिए ।

सुनिता ढंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तमाझ चर्चित छिन् । पार्टी सदस्य नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको स्थानिय निर्वाचनमा उनलाई उपमेयरको टिकट दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह निर्वाचित भएका थिए भने सुनिता उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी पार्टीभित्र केपी ओली निकट भनेर चिनिने सुनितालाई अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका हुन् । उनले अहिलेसम्म कुनै पदमा उम्मेद्वारी दिने नदिने प्रष्ट पारेकी छैनन् ।

महेश बर्तौला

२०७९सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २मा पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गर्दै सांसद बनेपछि महेश बर्तौला चर्चामा आएका थिए । एमाले सत्तामा रहेकै बेला उनलाई अध्यक्ष ओलीले उनलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । केपी ओली निकट बर्तौला यसपटक केन्द्रीय सदस्यमा दोहोरिन सक्नेछन्।

रचना खड्का

अनेरास्ववियुको महासचिव बनेकी दोलखाकी रचना खड्का बाग्मती प्रदेश सभाकी सांसद र पार्टीको केन्द्रीय सदस्य हुन् । उनी छोटो समयका लागि प्रदेश सरकारमा मन्त्री पनि भएकी थिइन् । ईश्वर पोखरेल समूहसँग नजिक रहेकी खड्काले सचिवमा उम्मेद्वारी दिने तयारी गरिरहेकी छिन् ।

सुनिता बराल

२०७९सालको निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेकी बराल ओलीनिकट नेताका रुपमा चिनिन्छिन् । अनेरास्ववियुको राजनीतिबाट उदाएकी बरालले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउने सम्भावना छ ।

उषाकिरण तिमल्सिना

पार्टीभित्र अध्यक्ष ओलीको खरो आलोचनाका कारण निलम्बन समेत भोगेकी उषाकिरण तिम्सेना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । अनेरास्वियुको राजनीतिबाट उदाएकी तिम्सेनाले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउन चाहेकी छिन् ।

राधिका खतिवडा

विद्यार्थी राजनीतिबाटै उदाएकी राधिका खतिवडा पेशाले वकिल हुन् । गरीब तथा निमुखाका मुद्धा निशुल्क लडेर चर्चा कमाएकी खतिवडालाई एमालेवृत्तमा ‘गरीबकी वकिल’ भन्ने गरिन्छ । उनले जारी ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् । साथै, अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिने कुरामा पनि उनी खुलेरै लागेकी छिन् ।

क्षितिज थेवे

युवा संघका अध्यक्ष क्षितिज थेवे जेनजी आन्दोलनपछी चर्चामा आएका थिए । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट गुण्डु आएपछी उनको सुरक्षामा थेवे खटिएका थिए । केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारी गरिरहेका थेवे स्वभाविक रुपमा केपी ओली पक्षधर हुन्।

मेनका पछाईं

विद्यार्थी राजनीतिबाट उदाएकी कर्णालीको नेतृ मेनका पछाईं पनि यसपटक केन्द्रीय सदस्यको दौडमा छिन् । १०औं महाधिवेशनबाटै केन्द्रीय सदस्य बन्ने प्रयास गरे पनि त्यतिबेला सफल नभएका कारण अहिले भने प्रतिस्पर्धामा उत्रिने उनले प्रष्ट पारेकी छिन् ।

तीन महिनामै उल्टियो एमालेको विधान, अब वरिष्ठ उपाध्यक्ष नरहने

काठमाडौं । विधान महाधिवेशनको तीन महिना नबित्दै नेकपा (एमाले) ले विधान संशोधन गरेको छ । एघारौँ महाधिवेशनको बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार विधान संशोधनगरी केन्द्रीय समितिको आकार र पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो ।

जसअनुसार अब केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने छ भने पदाधिकारी १९ जना कायम हुनेछ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्द सत्रको हलमा प्रस्तुत हुनेछ । गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जनाको बनाएको थियो ।

यसअघि दुई दिनअघि मात्रै बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधान अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो । जस अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र फेरि ३ बजेलाई सारियो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठकका कारण सरेको बन्दसत्र १२ बजे, १ बजे हुँदै दिउँसो ३ बजेका लागि सरेको हो । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खानापछि बन्द सत्र सुरु हुनेछ । काठमाडौंस्थित भृकुटीमण्डपमा हुने बन्दसत्रमा २२६२ महाधिवेशन प्रतिनिधि छन् भने सयौं कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।

केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर जाने निर्णय गरेको छ । पोलिटब्युरोको एक तिहाइ सङ्ख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिएको छ । बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा संख्या र संरचना मात्र परिवर्तन हुने र अन्य यथावत् रहने बताइएको छ ।

 

 

चुनाव नलड्ने अष्टलक्ष्मीको घोषणा : आफू विना पार्टी चल्दैन भन्ने भ्रम त्यागौं

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव लड्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ उनले भनिन्, ‘विधि र विधान सम्मत चलौं, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔं, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ । यसअघि एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । उनले आफू ७० वर्ष उमेर पुगिसकेकाले एमालेको ११औं महाधिवेशनको बन्द सत्रस्थल भृकुटीमण्डपबाट उनले सक्रिय राजनीति छोड्ने घोषणा गरेका हुन् । २०२६ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय ज्ञवाली पार्टीमा शालिन व्यक्तित्व भएका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

 

अन्तिम वैठकमा सुरेन्द्र पाण्डे प्रस्ताव : ७० वर्षे हद र दुई कार्यकालको सीमा ब्यूँताउँ

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकको सुरूमै पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेका थिए । उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्ने अडान राखेका छन् ।

विधान ‘उल्ट्याउने’ प्रयासमा ओली, रोक्ने पक्षमा पोखरेल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनबाट पारित निर्णय तीन महिनामै संशोधन गर्ने तयारी गरेपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव ल्याउने सूचना पाएसँगै केन्द्रीय सदस्यहरू पक्ष–विपक्षमा उभिँदै विरोध जनाउन थालेका छन्, यद्यपि प्रस्ताव औपचारिक रूपमा पेस भइसकेको छैन ।

यसअघि शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि ओलीले विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने प्रस्ताव राखेका थिए । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित आफ्नै समूहका नेताहरूको विरोधपछि उनी पछि हट्न बाध्य भएका थिए । त्यसपछि सचिवालयबाट असफल भएको प्रस्ताव ओलीले अब केन्द्रीय कमिटीको बहुमत प्रयोग गरी पास गराउने प्रयास गरेको बुझिएको छ ।

एमालेको दशौं महाधिवेशनबाट एक अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका थिए । तर गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । त्यसअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था गरिएको थियो ।

अब ओलीले विधानमा उल्लेखित संरचनालाई उल्ट्याउँदै दुई उपाध्यक्ष र दुई सचिव थप्ने, साथै केन्द्रीय कमिटीको आकार पनि ३०१ सदस्यीय नै कायम राख्ने प्रस्ताव ल्याउन लागेको नेताहरूले बताएका छन् । मौजुदा केन्द्रीय कमिटीमा दुई तिहाइभन्दा बढी सदस्य ओली पक्षका भएकाले बहुमतको बलमा विधान संशोधन गराउने रणनीति उनले लिएको बुझिन्छ ।

तर संस्थापन इतर मात्र होइन, ओली पक्षकै केही नेताहरू पनि यसका विपक्षमा देखिएका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले विधान संशोधन गर्नै परे ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि यथावत् राख्नुपर्ने शर्त राखेपछि ओली तत्काल पछि हटेका थिए । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले तीन दिनसम्म छलफल गरेर पारित गरिएको विधानलाई तीन महिनामै संशोधन गर्दा पार्टीभित्र गलत सन्देश जाने भन्दै तत्काल संशोधन व्यावहारिक नहुने बताएका थिए ।
यद्यपि जारी महाधिवेशनको सन्दर्भमा ओलीलाई आफ्नै पक्षका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

महासचिव र उपमहासचिवलगायत पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन कठिन देखिएको छ । महासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको दाबी छ भने ओली स्वयं शंकर पोखरेलको पक्षमा देखिएका छन्। उपाध्यक्ष र सचिव पदमा पनि दर्जनौँ नेताहरू आकांक्षी बनेका छन् । यही कारण पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएर यथास्थितिमा राख्दा भागबण्डा मिलाउन सजिलो हुने ठहर ओलीले गरेको नेताहरूको विश्लेषण छ । तर विधान महाधिवेशनको निर्णय छिट्टै उल्ट्याउने प्रयासले पार्टीको विधि, प्रक्रिया र विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै केन्द्रीय कमिटी बैठकमै विरोध चर्किदै गएको छ ।

एमालेको बन्द सत्र फेरि सर्‍यो

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र पुनः सारिएको छ । बिहानै सुरु गर्ने तयारी रहेको बन्दसत्र पहिला सवा १२ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्मका लागि सारिएको हो । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटन भएको महाधिवेशनको बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

बन्द सत्र सारिए पनि प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा पुगिसकेका छन् । उनीहरूले राजनीतिक दस्तावेजहरूको अध्ययन र प्रचारप्रसारमा व्यस्त रहेका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी रणनीति र नीतिहरू निर्धारण गर्ने अपेक्षा गरिएको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले भने–अरूका एजेण्डा बोकेर हिँड्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेण्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेण्डा बोकेको आरोप लगाएका हुन् । ‘आत्मआलोचनाका नाममा अरूका एजेण्डा बोकेर हिँठेका छन्,’ अध्यक्ष ओलीले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीले अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ भने । यो कुरा विपक्षी दलहरूले भन्न सकेका थिएनन्, मिडियाले पनि भनेको थिएन । अरूका एजेण्डा बोकेर हाम्रै साथीहरू हिँडे ।’

खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् । उनले १०औं महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने । आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा समर्थन जनाउँदै अहिले विशाल भट्टराईले आफ्नो कुरा राखिरहेका छन् ।

 

एमाले महासचिवमा चार जनाको दाबी, कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा महासचिव पद पार्टीभित्र सबैभन्दा पेचिलो र चर्चित विषय बनेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने लगभग निश्चित भएसँगै त्यसको प्रत्यक्ष असर महासचिवको दौडमा देखिएको हो । दुवै समूहबाट आकांक्षीहरू अगाडि सरेपछि महासचिवमा चार नेताको दाबी खुलेरै सतहमा आएको छ ।

ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवका सशक्त दाबेदारका रूपमा हेरिएका छन् । यसअघि महासचिवमै पोखरेलसँग पराजित भएका पाण्डे पछिल्लो समय भने उनकै नजिक देखिँदै आएका छन् । अर्थशास्त्रमा गहिरो पकड, वैचारिक प्रस्तुति र ‘डाटा क्यापिटालिज्म’ जस्ता विषयमा सार्वजनिक बहस उठाउँदै आएका पाण्डेलाई पार्टीभित्र बौद्धिक र नीतिगत नेताका रूपमा लिइन्छ । पोखरेल समूहले उनलाई अघि सार्ने तयारी गरिरहेको भए पनि औपचारिक घोषणा भने गरिसकेको छैन । अध्यक्ष ओली पक्षबाट भने वर्तमान महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ महासचिवको दौडमा छन् । यी तीनै जनाले आकांक्षा देखाएपछि ओलीलाई सहमति बनाउने काम झन जटिल बनेको छ । पछिल्लो एक सातायता ओली महासचिवको नाममा निष्कर्षमा पुग्न नसक्दा संस्थापन पक्षभित्रै अन्योल बढेको बताइन्छ ।

शंकर पोखरेल महासचिवमै दोहोरिन चाहन्छन् । उनी लामो समयदेखि जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता, माक्र्सवादका अध्येता र वैचारिक विश्लेषकका रूपमा परिचित छन् । सातौँ महाधिवेशनदेखि निरन्तर ओलीको साथमा रहेका पोखरेलले कहिल्यै सार्वजनिक रूपमा ओलीको आलोचना नगरेको र नेतृत्वप्रति निष्ठावान् रहेको चर्चा हुने गरेको छ । तर महासचिव पदमै रहेर गुट निर्माणमा सक्रिय भएको, संगठन परिचालन अपेक्षाअनुसार गर्न नसकेको आरोप भने पार्टीभित्रकै नेताहरूबाट लाग्दै आएको छ । निर्वाचनमा गए यस्तो आरोप पोखरेलका लागि चुनौती बन्न सक्ने विश्लेषण पनि छ ।

प्रदीप ज्ञवाली हाल पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारीमा छन् । विचार निर्माणका हिसाबले महत्वपूर्ण मानिने यो विभागको नेतृत्व गर्दै उनी पछिल्लो डेढ वर्षमा अधिकांश जिल्लामा पुगिसकेका छन् । शालीन, सन्तुलित, लेखक तथा साहित्यकार समेत रहेका ज्ञवालीलाई उद्घाटन सत्र र पछिल्ला गतिविधिले ओलीको रोजाइ नजिक देखिएको संकेतका रूपमा हेरिएको छ । त्यस्तै, पृथ्बीसुब्बा गुरुङ जनजाति समुदायबाट उदाएका प्रभावशाली नेताका रूपमा परिचित छन् । संगठन विस्तार र व्यवस्थापनमा दख्खल राख्ने गुरुङ पछिल्लो समय ओलीको सुख–दुःखमा साथ दिँदै आएका छन् । ओलीले उनलाई संरक्षण गरिरहेको संकेत देखिए पनि गुरुङले आफ्नो महासचिव दाबी छाड्ने संकेत दिएका छैनन् ।

महासचिव पोखरेललाई नै निरन्तरता दिने कि उपमहासचिवमध्येबाट नयाँ अनुहार अघि सार्ने भन्ने विषयमै ओली अहिले पनि दोधारमा छन् । पोखरेल, ज्ञवाली र गुरुङ तीनै जना लामो समयदेखि ओलीको कोर टिममा रहँदै आएका कारण कसैलाई पनि पन्छाउन ओलीलाई सजिलो छैन । अर्कोतर्फ पोखरेल समूहबाट पाण्डे बलियो दाबेदारका रूपमा उभिँदा महासचिव पद सहमतिबाट टुंग्याउने सम्भावना कमजोर हुँदै गएको देखिन्छ । यसरी अध्यक्ष पदको प्रतिष्पर्धाले तातिएको एमालेको महाधिवेशन महासचिव पदमा चार नेताको आकांक्षाले झनै रोचक र जटिल बन्दै गएको छ । सहमतिमा नेतृत्व चयन गर्ने ओलीको चाहना पूरा हुन्छ कि महासचिवमा पनि निर्वाचनको सामना गर्नुपर्छ भन्ने प्रश्नको उत्तर महाधिवेशनको अन्तिम क्षणसम्म खुलै रहने संकेत देखिएको छ ।

 

भृकुटीमण्डपमा एमाले प्रतिनिधिको चहलपहल, सुरक्षा कडाइ (तस्वीरहरु)

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेतादेखि प्रतिनिधिसम्मको बाक्लो चहलपहल देखिएको छ । भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबार भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

पूर्व निर्धारित समयभन्दा बन्द सत्र केही ढिलाइ हुने भएको छ । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी तथा केन्द्रीय कमिटी बैठकका कारण बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र निर्धारित समयभन्दा पछि मात्र सुरु हुनेछ । बन्द सत्रअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्ने तय भएकाले सत्र सवा १२ बजेपछि सुरु हुने जनाइएको छ ।

सुरक्षालाई विशेष प्राथमिकता दिँदै भृकुटीमण्डप क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ । बन्द सत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । त्यसका अतिरिक्त एमालेले आफ्नै स्वयंसेवक दस्ता समेत खटाएको छ । सुरक्षा कारण भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ भने महाधिवेशनमा सहभागी बाहेक अन्य व्यक्तिलाई भृकुटीमण्डपभित्र प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनका कारण सार्वजनिक सडक अवरुद्ध नहुने जनाइएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपमा प्रवेश गर्ने सवारी बाहेक अन्य सडकमा कुनै अवरोध छैन । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका सवारी साधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको छ ।

बन्द सत्र सुरु हुनुअघि नै भृकुटीमण्डप परिसरमा प्रतिनिधिहरूको उपस्थिति बाक्लिँदै गएको छ । देशभरबाट आएका प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डप पुगेका छन् । नेताहरूले प्रतिनिधिहरूलाई आ–आफ्ना राजनीतिक दस्तावेज, प्रचार सामग्री तथा सन्देशहरू वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरू प्रचारप्रसार र आन्तरिक छलफलमा सक्रिय देखिएका छन् ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै एमालेले सोमबार महाधिवेशन समापन गर्ने तयारी गरेको छ । यस पटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन् । बन्दसत्रमा नेतृत्व चयन, नीति तथा कार्यक्रम र संगठनात्मक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

सल्लाघारीबाट एमालेको सन्देश र एमालेलाई अरु दलहरुले दिएको सन्देश

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा सम्पन्न नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह केवल आन्तरिक कार्यक्रममा सीमित रहेन, बरु पछिल्लो जेनजी आन्दोलनपछिको नेपाली राजनीतिमा एमाले कहाँ उभिएको छ र अन्य दलहरूले एमाले तथा समग्र राजनीतिको भविष्यलाई कसरी हेरेका छन् भन्ने सन्देश दिने साझा मञ्च बन्यो ।

जेनजी आन्दोलनपछि पहिलो पटक ठूलो राजनीतिक कार्यक्रम आयोजना गरेको एमालेले हजारौं कार्यकर्ता उतारेर आफ्नो जनाधार कमजोर नभएको सन्देश दिन खोज्यो । दुई लाख कार्यकर्ता उतार्ने दाबी गरिए पनि उद्घाटनस्थलमा करिब ४० देखि ५० हजारको सहभागिता रहेको बताइन्छ । यद्यपि, आन्दोलनपछि दलहरू रक्षात्मक अवस्थामा पुगेको भनिएको बेला यति ठूलो उपस्थिति आफैंमा एमालेका लागि मनोवैज्ञानिक उपलब्धि मानियो ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै त्यसलाई ‘राज्यको मेरुदण्ड भाँच्ने षड्यन्त्र’ को संज्ञा दिए । उद्घाटन समारोहमा देखाइएको भिडिओमार्फत सिंहदरबार, संसद र सर्वोच्च अदालतमा आगजनीका दृश्य प्रस्तुत गर्दै ओलीले लोकतान्त्रिक प्रक्रिया भत्काएर शून्यता सिर्जना गर्ने गम्भीर प्रयास भएको दाबी गरे । उनका अनुसार सरकार परिवर्तन संसद वा निर्वाचनमार्फत सम्भव हुँदाहुँदै पनि अराजक बाटो रोजिनु योजनाबद्ध थियो ।

ओलीको भाषणले एमाले जेनजी आन्दोलनबाट भयभीत नभएको, बरु त्यसलाई राजनीतिक रूपमा ‘चिरेर जाने’ तयारीमा रहेको संकेत दियो । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे पनि, पार्टीलाई होच्याउने वा समाप्त पार्ने चाहना बोकेर अघि नआउन चेतावनीपूर्ण अभिव्यक्ति दिए । विगतमा एमालेमाथि वृद्धवृद्धा विरोधी, मधेस विरोधी, क्रान्ति विरोधी जस्ता आरोप लागे पनि ती सबै पार गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको ‘जेनजी विरोधी’ आरोप पनि चिर्ने दाबी गरे ।

महाधिवेशनले पार्टीभित्रको एकता पनि मुख्य सन्देशका रूपमा अघि सारेको देखियो । ओलीले ‘एघार बन्न दुई वटा एक चाहिन्छ’ भन्ने प्रतीकात्मक उदाहरण दिँदै एमालेभित्र हात मिलाउने र मन जोड्ने आवश्यकता औंल्याए । उल्लेखनीय रूपमा, उनले अन्य दल वा नेतामाथि कटाक्ष नगरी एकताको भाषामा जोड दिए । साथै, एमाले चुनावका लागि तयार रहेको सन्देश पनि महाधिवेशनबाट प्रवाहित भयो । महासचिव शंकर पोखरेलले स्वागत मन्तव्यमा संसद पुनर्स्थापनाको विषय उठाएनन् भने ओलीले निर्वाचनका लागि पार्टी तयार भए पनि तोकिएको मितिमा चुनाव नहुने दाबी गर्दै संसद पुनस्र्थापनाको संकल्पलाई प्राथमिकता दिनुपर्ने बताए। यसले एमाले पुनस्र्थापना र निर्वाचन दुवै विषयलाई सँगसँगै लैजान खोजिरहेको संकेत गर्छ ।

महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरूले पनि आ–आफ्नो दृष्टिकोण राखे । नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमाले सहकार्यको इतिहास स्मरण गर्दै लोकतन्त्रमाथि संकट आउँदा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । जेनजी आन्दोलनले देखाएको असन्तोषलाई गम्भीरतापूर्वक समीक्षा गर्दै गल्ती नदोहोर्‍याउने संकल्पसहित जनतामा जानुपर्ने उनको जोड थियो । उनले नयाँ दल र जेनजी पुस्तालाई समेत लोकतान्त्रिक प्रक्रियामा समेटेर अघि बढ्ने सन्देश दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङले कम्युनिस्ट आन्दोलन विघटित अवस्थामा रहेको उल्लेख गर्दै फेरि एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनता गम्भीर चुनौतीमा रहेको उनको ठम्याइ थियो । यस पृष्ठभूमिमा एमाले एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने संकेत गर्दै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको पहल आवश्यक रहेको सन्देश दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन किन भयो भन्ने मूल कारणमा सबै पुराना दलले जिम्मेवारी लिनुपर्ने बताए । उनले संसद पुनस्र्थापनाभन्दा निर्वाचनमा केन्द्रित हुन एमालेको ध्यान जानुपर्ने सुझाव दिए । सुशासन, दलीयकरणको अन्त्य र समयमै निर्वाचनमार्फत लोकतन्त्रलाई ‘लिग’ मा ल्याउन एमालेले सकारात्मक भूमिका खेल्ने अपेक्षा रास्वपाको रहेको उनले स्पष्ट पारे ।

अन्य दलका नेताहरूले पनि सहकार्यका फरक–फरक सम्भावनाहरू औंल्याए । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै वर्ग, समुदाय र नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै आन्दोलन, राष्ट्रिय स्वाधीनता र नयाँ नेपाल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए । लोसपाका महासचिव सुरेन्द्र झाले संविधान संशोधन अनिवार्य भइसकेको दाबी गर्दै यसमा एमालेले अगुवाइ गर्न सक्ने र आफूहरूको साथ रहने बताए । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेनजी आन्दोलनका नाममा गणतन्त्रवादी शक्तिमाथि भएको प्रहारलाई स्मरण गर्दै विगतका कमजोरीहरूको गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे ।

समग्रमा, सल्लाघारीको महाधिवेशन एमालेका लागि शक्ति प्रदर्शन मात्र रहेन, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तरलतामा आफूलाई अझै केन्द्रीय शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास बन्यो । साथसाथै, अन्य दलहरूको सन्देशले पनि वर्तमान संकटबाट बाहिर निस्कन सहकार्य, आत्मसमीक्षा र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता अपरिहार्य रहेको स्पष्ट पारेको छ ।

सल्लाघारीबाट ओलीको आह्वान : १ होइन ११ बनौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन समारोहमा पार्टीभित्र एकताको सन्देश दिँदै ‘एक’ होइन, ‘एघार’ बन्न आह्वान गरेका छन् । ‘सुरक्षित नेपालको पहिलो शर्त के हो ? हामी–हामीबीचको एकता,’ भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहमा ओलीले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु ।’ उनले भने, ‘हामी एघारौं महाधिवेशनमा छौं । यसको अंक ‘एघार’ लाई एकछिन ध्यान दिएर हेरौं–एघारमा दुई वटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् ।’

‘हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौं, एउटै ‘एघार’ बन्छौं, बलियो शक्ति बन्छौं । एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एकअर्कामाथि घात–प्रतिघात गरे हामी साधारण ‘एक–एक, एक’ मात्र रहनेछौं,’ उनले भने ।
उनले यो पनि भने, ‘एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी ‘एक–एक एघार’ बन्छौं । हामी एघार बन्दै अघि बढ्यौं भने यो एघारौं राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।’ उनले भने, ‘हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक एघारलाई एकछिन् ध्यान दिएर हेरौँ, एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका एक होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन् ।’
अध्यक्ष ओलीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा दिएको मन्तव्य :—

तपाईंहरूलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु । भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा, हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरूको बासस्थान, परिश्रमी र इमान्दार किसानहरूका पसिनाले सिँचित उर्वर भूमि, यस ऐतिहासिक नगरीमा तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए। एमालेको सान्दर्भिकता समाप्त भयो ।

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ । मंसिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरू सबैलाई फेरि पनि हार्दिक स्वागत छ । नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं। तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।

दाजुभाइ दिदीबहिनीहरू,

आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरू गर्दैछौं। नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ । ती ७७ वर्षहरू, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ। जनताका निम्ति सुम्पेका छौँ । देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ। जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ । नेकपा एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । र, यो एघारौँ महाधिवेशन यस महान् अभियानरूपी यात्रामा एउटा नयाँ मोडको रूपमा भव्यताका साथ आयोजना गरिरहेका छौं। हाम्रा नीतिहरू स्पष्ट छन् । यी नीतिहरू कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।

म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरू, शहीदहरू, योद्धाहरू र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौँ । तपाईहरूलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरूको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ ।

यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ। कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो । २०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य ग¥यो ।

२०६२÷०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरू पार्टीहरूका भूमिका तपाईँहरूको सम्झनामा ताजै छन् । त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ । आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।
कमरेडहरू, दाजुभाइ दिदीबहिनीहरू,

आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरू, केही मानकहरू, केही पहिचानहरू बनाएका छौँ। नेकपा एमाले अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक । नेकपा एमाले अर्थात् लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला । नेकपा एमाले अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकहरूले जीवनमा एउटा सहारा पाउनु भएको छ ।

नेकपा एमाले अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ । नेकपा एमाले अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ । नेकपा एमाले अर्थात् नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवाद जस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार । नेकपा एमाले अर्थात् गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता । नेकपा एमाले अर्थात् मानवतावाद, न्याय, संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पार्टी ।

नेकपा एमाले अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी । नेकपा एमाले अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाकार, जसले भन्छ– प्रकृतिको यति सुन्दर बरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहनै सक्दैन, हामी आफ्नै पौरख र बलमा समृद्ध बनाइ छाड्छौँ । आजको अन्तरनिर्भरताको समयमा पनि हामी सकेसम्म आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं। यसका निम्ति कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण, अर्थतन्त्रको औधोगिकरण र आधुनिकीकरण, आर्थिक उन्नतिका लागि पूर्वाधारको विकास, विकासका लागि प्रविधिको नवीन प्रयोग– हाम्रा नीति हुन् ।

हामी सपना मात्रै देख्दैनौँ, सपना मात्रै बाँड्दैनौँ– प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ। हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन् ।
बिरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ– एमालेको पहिचानको त्यो सूची तपाईँहरूको मनभित्रै कुँदिएको छ, तब त सबै वाधा छिचोलेर तपाईँहरू यहाँ आउनु भएको छ । यिनै बिरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ । हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं। त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनु पर्दछ । राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनु पर्दछ । हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रूपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनु पर्दछ–‘बसुधैव कुटम्बकम् ।’ तर हामी माथिका प्रहार पनि कम्ती छैनन् ।

हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने? प्रहार हुन्छ। हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो। विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।

हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ। सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्प जस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ। कमजोरीलाई पनि महसुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन । अनि फेरि हामीमाथि प्रहार हुन्छ ।

हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् । हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ । हामीविरूद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन्— कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर। कलर÷कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् । तर तिनको भित्री लक्ष्य एउटै छ— हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।

एकपटक सम्झनुस् त ! हामीले संविधान जारी ग¥यौं, त्यसपछिको तीब्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन । भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर– दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन। सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन ।

यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि । दाजुभाइ दिदीबहिनीहरू, यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ? यति धेरै शक्ति कहाँबाट आउँछ? यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु । एकछिन्— आफ्नै गाउँ÷ ठाँउमा, सहरका टोल÷ टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैँ महसुस गर्नुहुनेछ— संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ? भदौ २३-२४ को घटनालाई सम्झौँ न। भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरूदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?

भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो। तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र थियो । तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ— सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस् —जेनेरेशन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए । सामाजिक सञ्जाल बन्द गर्ने होइन— कानुनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो । नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए। प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर दुःखको कुरा— त्यो कार्यक्रममा घुसपैठ भयो। विभिन्न स्वार्थ समूह प्रवेश गरे। अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्न दुरूत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा—विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक—सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु— शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।

साथीहरू, भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दुःखद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो । असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो। तर राज्यविरूद्ध आक्रमणको योजना बनाएका तत्वहरूलाई यी कदम पर्याप्त भएनन् । उनीहरूलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो। परिणामतः भदौ २४ को भयानक दिन देशले भोग्नुप¥यो ।
कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म, व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म, र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म— राज्यका तीनवटै अंगमाथि एकैसाथ आक्रमण गरियो। दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए। होटल, व्यापारिक प्रतिष्ठान र व्यवसायिक व्यक्तिहरूका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरूदण्ड भाँचियो ।

शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो— कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्या समेत गरियो । १२ सयभन्दा बढी हतियार खोसिए, झन्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरूपयोग समेत गरियो । जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता÷कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू– शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवन समेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निशाना बने ।

यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन । ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए। जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ’आन्दोलन’, ’बिद्रोह’ र ’क्रान्ति’का रूपमा महिमामण्डित गरिँदै थियो, त्यही भिडको फुटेज देखाएर— कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए ।

त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरूदेखि नै स्पष्ट भन्यो— यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो । साथीहरू, राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होउन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ— ’हेलिकप्टर चढेर भागे’ । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरूङ खनेर बच्नुपर्‍यो ।

इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई?

प्रश्न त्यत्ति न हो!

त्यो महाविनाश— न हामीले विर्सेका छौँ, न विर्सनेछौँ। दोह¥याएरै भन्छु–– नर्बिसौं !!!

अहिलेलाई यत्ति मात्र— त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाउँन् !

साथीहरू, त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ । देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ। यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ— संसदमार्फत संविधान संशोधन गर्नुपर्छ । प्रतिनिधिसभा विघटन हुनुहुँदैन ! यही हाम्रो दृढ अडान थियो । कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर देशलाई उल्टो दिशामा लगियो— संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।

त्यसैले हामी भन्छौँ— अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो। यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले— प्रतिनिधिसभा विघटन मान्य छैन । हाम्रो माग स्पष्ट छ— प्रतिनिधिसभा तुरून्त पुनस्र्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गथ्र्यो। दलका गतिविधि प्रोत्साहित गथ्र्यो। चुनावको अनिवार्य शर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो। तर अहिले के भइरहेको छ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ।।। निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?

मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ— साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो— डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?

तर अहिले कहाँ चुनाव हुँदैछ र ?! चुनावको कुरा मात्र भइरहेको छ ! त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ। म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस सङ्कटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभई सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु । प्रिय युवा साथीहरू, अहिले केही व्यक्तिहरू नेकपा एमाले र प्रतिष्ठित राजनीतिक दलहरूलाई ‘जेनजी विरोधी’ आरोपित गर्दै तपाईँहरू र हामीलाई भिन्न धारमा उभ्याउन कोशिस गरिरहेका छन् ।

उनीहरूको यस्तो प्रयास नौलो होइन। ३० वर्ष अगाडिसम्म हामीलाई बृद्धबृद्धा विरोधी पार्टी भनेर आरोपित गरिन्थ्यो । हामीले व्यवहारबाटै खण्डित ग¥यौँ । सशस्त्र हिंसा सुरू भएपछि हामीलाई क्रान्ति विरोधी भनेर आरोपित गरियो। हामीले त्यस आरोपको मिथ्यापनलाई पनि तथ्यहरूबाटै पुष्टि गर्‍यौँ। एक अवस्था आयो– हामीलाई पहिचान विरोधी, मधेस विरोधी, जनजाति विरोधी बिल्ला भिराउने कोशिस भयो । हामीले व्यवहारबाट त्यस भाष्यलाई चि¥यौँ, आज नेकपा एमाले मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित छ । हाम्रो पार्टी साम्प्रदायिक विद्वेषमा होइन, विविधताबीच राष्ट्रिय एकताको पक्षमा छ ।

सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेनजी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ। तर यो भ्रम निराधार छ। जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ? जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार ग¥यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो। त्यो कसरी जेनजी भन्दा टाढा हुन सक्छ ? जसले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क र एआई नीतिलाई प्राथमिकतामा राख्यो– कसरी तपाईंहरू भन्दा फरक हुन सक्छ ?

हामी चाहन्छौं – नेपाली युवाले प्रविधि हातमा लिएर यहीँ बसेरै विश्वसँग प्रतिस्पर्धा गर्न सकोस्। नयाँ रोजगारी सिर्जना होस्, नवप्रवर्तन जन्मियोस्, नयाँ अवसरको ढोका खुलोस्। त्यसैले जेनजीका नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरूले फिंजाएको भ्रमबाट मुक्त हुन म साथीहरूलाई आग्रह गर्दछु। म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु — प्रविधि जति अगाडि बढे पनि, तपाईंहरूको सुरक्षित भोलि लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ । यसका लागि दलहरू अनिवार्य पक्षहरू हुन्। कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ। या आफँै दल खोल्न पनि सकिन्छ। तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरूलाई कमजोर गरेर देश बन्दैन । विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरूले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्छन् ।

प्रिय कमरेडहरू, साथीहरू, हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणको रूपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरूरी छ । यसमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु । अर्को कुरा, हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पु¥याउने काम गर्दैनौं। कसैले पनि अरूका कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन। मैले विश्वास लिएको छु,–एमालेका कार्यक्रमहरू बिथोल्न कसैले पनि प्रयास गर्ने छैन । म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु ।

साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु। आजको हाम्रो सङ्घर्ष– जेनजी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन। पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन। संघर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो। मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ । निश्चय नै, तपाईँहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमता बीचमा ग्याप छ । तपाईँहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भीड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् । अवसरहरू सबैका लागि बराबर होउन्। आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस्। योग्यताका आधारमा छनोट होस्। तपाईंहरूका अपेक्षा बिल्कुल जायज छन् ।

यस दिशामा केही उपलव्धि पनि भएका छन् । तर थुप्रै काम गर्न बाँकी छ । तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो । तर त्यो आक्रोश रचनात्मक ढङ्गले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रूपान्तरित हुन्छ । नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ, विपत्ति सिर्जना गर्छ । तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस्। तपाईंहरूका जायज आवाजको आडमा देशको विरूद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस्। देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।

म युवा पुस्तालाई भन्न चाहन्छु — असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस्। तर एउटा कुरा नबिर्सनुस्— आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु— जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौँव उनीहरूको कुरा ध्यान दिएर सुनौँव
उनीहरूको जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवा पुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन— यसको आधार छ— सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।

साथीहरू, आज हामी सबैभन्दा बढी के कुराको अभाव महसुस गरिरहेका छौँ? उत्तर हो— सुरक्षा ।

सुरक्षा – राज्यले प्रत्येक नागरिकलाई दिनै पर्ने प्रशासनिक सुरक्षा त हुँदै हो, त्यसका अतिरिक्त– युवालाई– रोजगारीको सुरक्षा, आमाबाबुलाई– छोराछोरी विदेशिन नपर्ने भविष्यको सुरक्षा, श्रमजीवी जनतालाई– पारिश्रमिकको सुरक्षा, किसानलाई– पसिनाको मूल्यको सुरक्षा, उद्योगी-व्यापारीलाई– नीति, स्थिरता र लगानीको सुरक्षा, विद्यार्थीलाई– सपनाको सुरक्षा, आम नागरिकलाई– न्यायको सुरक्षा। भाषा, पहिरन, धर्म, आस्था, जात–जातिको गौरव— सबैको पहिचानको सुरक्षा। संविधान, लोकतन्त्र, अदालत, संसद, संस्थाहरू— सबको अस्तित्वको सुरक्षा ।

त्यसैले हामी भन्छौँ— हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन— जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो। अर्को शब्दमा– सुरक्षा, समृद्धि र सुखको सुनिश्चितता हो । जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस्।

प्रिय कमरेडहरू, साथीहरू, यस जटिल परिस्थितिमा अनेक चुनौतीहरूको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं। अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं। वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुनः लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।

साथीहरू, सुरक्षित नेपालको पहिलो सर्त के हो? हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ’एघार’लाई एकछिन् ध्यान दिएर हेरौँ— एघारमा दुई वटा ’एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ’एक’ होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ’एक’ हुन् ।

त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै ’एघार’ बन्छौँ, बलियो शक्ति बन्छौँ। एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात– प्रतिघात गरे— हामी साधारण ’एक–एक, एक’ मात्र रहनेछौँ । तर एउटाले अर्कोको हात समायो, मन मिलायो— हामी ’एक–एक एघार’ बन्छौँ। हामी एघार बन्दै अघि बढ्यौँ भने— यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।

सबैलाई शुभकामना ! धन्यवाद !

 

ढुक्कले भन्छु, एमाले अजम्बरी छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरेका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन्। उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमि जस्तै जलेको बताएका छन्।

‘जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । आतताहीबाट जलाइएको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पूराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो ।’ धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको उनले बताए । ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ । नेकपा एमाले अजम्बरी छ,’ ओलीले भने ।

एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको दावी गरेका छन् । ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए ।

उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भए पनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको बताए । भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको बताए । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरुको भावनामाथि खेल्ने देशविरोधी तत्वहरुको काम भएको बताए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरुले गरेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा संगठित र सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो, कतिपयलाई लागिरहेको थियो, अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर । तर हामी जे भनेका थियौँ, सरकारबाट हो हामी बाहिरिएका छौँ । तर नेपाली जनताको हृदयमा गहिरो गरी बसेका छौँ । खरानीको खोक्रोबाट फेरि हामी उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ । आजको यो ऐतिहासिक जनसभाले पुष्टि गरेको छ । नेकपा एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ ।’
महासचिव पोखरेलले महाधिवेशनमा नवयुवाहरुलाई नेपालको आधारस्तम्भका रुपमा खडा गर्ने बताए । बन्द सत्रका माध्यमबाट पार्टीको नीतिलाई कार्यान्वयन गर्नसक्ने सक्षम नेतृत्व निर्वाचित गर्ने बताए ।

एमाले महाधिवेशन : कुन दलबाट को–को जाँदै ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । मध्यान्ह हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने भएका छन् ।

एमालेले देउवालाई विशेष आमन्त्रण गरेको थियो । महाधिवेशनका लागि गठित अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले देउवाको निवासमै पुगेर निमन्त्रणा दिएका थिए । तर, देउवाको व्यस्तताका कारण उनी उद्घाटन समारोहमा नजाने भएका हुन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले उनको सहभागिता निश्चित भइसकेको जनाएको छ ।

एमालेले उद्घाटन समारोहका लागि १६ वटा राजनीतिक दललाई निम्ता दिएको अतिथि सत्कार समितिले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आमन्त्रण गरिएको भए पनि उनी उपस्थित नहुने भएका छन् । प्रचण्डको सट्टामा माओवादी केन्द्रका नेता देव गुरुङ उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्ड सोही दिन सुर्खेतमा पार्टीको एकता सन्देश सभामा व्यस्त रहने भएकाले गुरुङलाई प्रतिनिधिका रूपमा पठाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि उद्घाटन समारोहमा उपस्थित हुने सूचीमा छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि एमालेले आमन्त्रण गरेको भए पनि उनले असमर्थता जनाउँदै अनुपस्थित रहने जानकारी गराएका छन् । जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत निमन्त्रणा गरिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत भने काठमाडौं बाहिर रहेकाले शुभकामना सन्देश पठाएर सहभागी नहुने भएका छन् ।

राजनीतिक दलसँगै एमालेले ६ वटा सामाजिक संघ–संस्थालाई पनि उद्घाटन समारोहमा बोलाएको छ । नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघलगायतका संस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने अतिथि सत्कार समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशनले आगामी नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताको उपस्थिति रहने भए पनि केही प्रमुख नेताहरूको अनुपस्थितिले पनि राजनीतिक वृत्तमा चासो थपेको छ ।

 

कडा सुरक्षा जाँचका कारण महाधिवेशनस्थलमा प्रवेशमा ढिलाइ

काठमाडौं । भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोह कडा सुरक्षा व्यवस्थाबीच सुरु हुने तयारीमा छ । कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि व्यापक सुरक्षा जाँच गरिँदा सहभागीहरूलाई भित्र पस्न केही ढिलाइ भएको छ । बिहानैदेखि कार्यक्रमस्थलका सबै प्रवेशद्वारमा नेपाल प्रहरी परिचालन गरिएको छ । मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण र विष्फोटक पदार्थ पहिचानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको टोली सक्रिय छ । सुरक्षाकर्मीहरूले झोला जाँच, शरीर खानतलासी र उपकरणमार्फत जाँच गरेपछि मात्रै प्रवेश अनुमति दिइरहेका छन्। यही कडाइका कारण गेटमा लामो लाइन देखिएको छ ।

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन कार्यकर्ता गाडी रिजर्भ गरेर भक्तपुर आइपुगेका छन् । गाडीमा आएका सहभागीहरूका लागि गठ्ठाघर, सानोठिमी, जगातीलगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । औपचारिक उद्घाटन समारोहअघि विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी समेत गरिएको छ, जसले महाधिवेशनस्थलको माहोल थप उत्सवमय बनाएको छ ।

शनिबार बिहान सवा ११ बजेसम्म सल्लाघारीमा चार हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन् भने आउने क्रम निरन्तर जारी छ । स्रोतका अनुसार बिहान १० बजेसम्म मात्रै काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट १४ हजारभन्दा बढी मानिस एमालेको कार्यक्रममा सहभागी हुन प्रवेश गरिसकेका थिए । काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ताहरूको आवागमन बढ्दो क्रममा छ ।

एमालेले यस महाधिवेशनमा देशभरबाट करिब दुई लाख कार्यकर्ता सहभागी हुने दाबी गर्दै आएको छ । आज मध्याह्न १२ बजेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ, त्यसअघि सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । कडा सुरक्षा, व्यापक सहभागिता र उत्साहपूर्ण वातावरणका बीच एमालेको ११ औं महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न गराउने तयारीमा पार्टी जुटेको देखिन्छ ।

 

 

एमाले महाधिवेशन : आज यी स्थानबाट निस्कनेछ जुलुस

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आज (शनिबार) देखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित तीन लाख मानिसहरू उपस्थित गराउने दाबी एमालेले गरेको छ । उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ । एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार टाढा–टाढा जिल्लाका सहभागीहरू गाडी रिजर्भ गरेर काठमाडौं आइसको छन् ।

‘हामीले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेका थियौं । अहिलेसम्मको आकडाअनुसार न्यूनतम तीन लाख नागरिकको सहभागिता रहने पक्कापक्की भएको छ । हामी अहिले पूर्व, पश्चिम र उत्तरतिरबाट आउने गाडीहरूको व्यवस्थापनमा काम गरिरहेका छौं,’ आचार्यले सुनाए ।

उनका अनुसार महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन् । भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ । काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ । ‘सिंगो उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुनेछ । त्यसको परिचायक पनि हाम्रो प्रदर्शन बन्नेछ,’ उनले भने, ‘हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउनेछौं ।’

एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दैछ।सल्लाघारी पश्चिमतर्फको खुला चौरलाई एमालेले उद्घाटन स्थल बनाएको छ । एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ । त्यति दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको उनले बताए । पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन्। त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।

‘ललितपुरबाट आएको गाडी, सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,’ उनले भने । पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताएका छन् । सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको पनि उनले बताएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ । महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

एमाले महाधिवेशन : १०८ प्रतिनिधि मनोनीत

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार ५ प्रतिशत मनोनीत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार मनोनीत गर्नेहरूको नाम भने टुंगिइसकेको छ ।

‘केही नाम प्रस्ताव भएको थियो । यी नामहरूबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवैतर्फबाट सहमतिकै आधारमा नाम टुंगो लगाइने छ ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कूल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने । विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ । महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन् । १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ ।

एमालेले बढाएन पदाधिकारी संख्या, विधान संशोधन पनि नगर्ने

काठमाडौं । नेकपा एमालेले आगामी नेतृत्व चयनका लागि विधान संशोधन नगरी भदौमा पारित गरिएको विधानमै आधारित संरचना कायम राख्ने निर्णय गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयनदेखि पदाधिकारी संख्या निर्धारणसम्म सबै प्रक्रिया गोदावरीमा पारित विधानअनुसार नै सञ्चालन हुने बताए।

भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । सोही संरचना अन्तर्गत वरिष्ठ उपाध्यक्षको पद नराखी तीन उपाध्यक्ष मात्र रहने व्यवस्था गरिएको छ । यस्तै, स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने संशोधन पनि त्यही महाधिवेशनले स्वीकृत गरेको थियो।

हालका दिनमा आकांक्षीहरूको संख्या बढ्दै जाँदा व्यवस्थापन चुनौती देखिएको भन्दै विधान फेरबदलको सम्भावनाबारे पार्टीभित्र चर्चा चलेको थियो । तर, ईश्वर पोखरेल समूहले संशोधनको आवश्यकता नरहेको अडान राख्दै आएको थियो । यही सन्दर्भमा ज्ञवालीले तीन महिनाअघि मात्रै संशोधित गरिएको विधानलाई फेरि तत्काल परिवर्तन गर्नु व्यवहारिक नदेखिने ठहर भएको बताए।

सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा निर्वाचित र पदेन सदस्यहरूको पाँच प्रतिशत बराबर प्रतिनिधि मनोनयन गर्ने प्रावधानअनुसार यो संख्या तोकिएको हो । मनोनयन गरिएका प्रतिनिधिहरूको नामावली भोलि सार्वजनिक गरिने जनाइएको छ।यससँगै आगामी महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचनामै नेतृत्व निर्माण हुने सुनिश्चित भएको छ।

च्यासलमा ‘अन्तिम र निर्णायक’ बैठक, थापागाउँमा ‘मार्चपास’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीभित्र शक्ति–सन्तुलन र नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी सुरु भएको छ । भोलिदेखि भक्तपुर सल्लाघारीमा सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै आज च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठक निर्णायक मानिएको छ । पाँच वर्षअघि चितवन सौराहामा गठन गरिएको सचिवालयको यो अन्तिम बैठक पनि हो ।

महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी पदमा कडा प्रतिष्पर्धा बढेपछि विधान संशोधनका एजेण्डाले बैठकको मूल स्वरूप तय गरेको छ । भदौमा विधान महाधिवेशनमार्फत संशोधन गरिएको दस्तावेजलाई फेरि खोल्दै पदाधिकारी थप्ने, स्थायी कमिटी पुनः ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउने र छनोट प्रक्रियाका लागि नयाँ क्लस्टर थप्ने प्रस्ताव अघि सारिएको छ । तर ईश्वर पोखरेल समूह भने पदाधिकारी थप्ने योजनासँग सहमत छैन । यदि संशोधन आवश्यक नै भए २ कार्यकाल सीमा र ७० वर्षको प्रावधान ज्यूँका त्यूँ राखिनुपर्ने उनीहरूको अडान छ ।

यता, पोखरेलले सचिवालयमा बुझाएको छुट्टै दस्ताबेज महाधिवेशनमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा पनि बैठकमा गम्भीर बहस चल्ने बताइएको छ । महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउने कि प्रत्यक्ष प्रतिष्पर्धातर्फ धकेल्ने भन्ने दिशानिर्देशन यही बैठकले दिने अपेक्षा गरिएको छ ।
उता, पार्टीको आन्तरिक राजनीति चर्किदै जाँदा सडकमा पनि शक्ति प्रदर्शन सुरु भएको छ । अध्यक्षका दावेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षका नेता–कार्यकर्ताहरू आ–आफ्ना केन्द्रमा सक्रिय देखिएका छन् । पोखरेल पक्ष थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालयमा रणनीति बनाउँदै रहेको छ भने ओली पक्ष भक्तपुर गुन्डुस्थित अध्यक्ष निवासमा जुटिरहेका छन् ।

च्यासलस्थित पार्टी कार्यालयमा दुवै धारका प्रभावशाली नेताहरू प्रतिनिधिहरू आफ्नो पक्षमा पार्न दौडधूपमै छन् । यसबीच इतर पक्षका युवा कार्यकर्ताहरूले थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’ आयोजना गरेका छन् । रातो क्याप लगाएर नारा–जुलुससहित अघि बढेको यो मार्चले नेतृत्व प्रतिस्पर्धामा वैकल्पिक धारको उपस्थितिलाई देखाएको निरिक्षकहरूको भनाइ छ । महाधिवेशनको उद्घाटन सत्र एक दिन मात्रै बाँकी रहेको अवस्थामा च्यासलको बैठक र सडकमा देखिएको शक्ति प्रदर्शनले एमालेभित्रको आगामी नेतृत्व–संरचना कस्तो हुने हो भन्ने बारे राजनीतिक वृतमा ठूलो चासो बढाएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा एमालेले तीन लाख जना उपस्थित गराउने

काठमाडौं । नेकपा एमालेले भोलि (शनिबार) भक्तपुरको सल्लाघारीमा हुने ११ औं महाधिवेशनको उद्घाटन समारोहमा तीन लाख जनालाई सहभागी गराउने घोषणा गरेको छ । एमालेले भक्तपुरको सल्लाघारीमा बनाएको मञ्च अगाडि शुक्रबार पत्रकार सम्मेलन गरेर उद्घाटन समारोहमा ३ लाखको उपस्थिति गराउने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा जनपरिचालन समितिका संयोजक राजन भट्टराईले तीन लाख उपस्थित रहने दाबी गरे । ‘एमालेले पाँच लाख उतारेछ भन्ने गरी तीन लाखको सहभागिता गराउँछौं । यो एमालेको महाधिवेशन उद्घाटन मात्र होइन राजनीतिक दलप्रति जनताको समर्थन छैन भन्नेलाई जवाफ हुनेछ,’ उनले भने ।

एमालेले महाधिवेशनलाई भयरहित बनाउन कमाण्ड संरचना अनुसार पाँच सय बढी स्वयंसेवक परिचालन गर्ने भएको छ । पत्रकार सम्मेलनमा स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालले २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर पाँच सय बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’ सहित खटाउने जनकारी दिए । ढकालले भने, ‘यो कार्यक्रम भयरहित ढंगले सम्पन्न गर्नका लागि हामीले २४ वटा जनसंगठनबाट प्रतिनिधित्व गराएर पाँच सय बढी स्वयंसेवक ड्रेस कोड हुनेगरी परिचालन गर्दैछौं ।’

‘पाँच सय स्वयंसेवकभित्र पनि हामीले नेतृत्व कमाण्डको व्यवस्था गरेका छौँ,’ ढकालले भने, ‘प्रत्येक १० जना बराबर एक कमाण्डरको संरचनाबाट त्यो काम गरेका छौँ ।’ त्यस्तै महाधिवेशनपछिका कार्यक्रमलाई व्यवस्थित बनाउन खुला संरचनामा १० हजार स्वयंसेवक पनि परिचालन गर्ने छन् । ‘भोलिको कार्यक्रम व्यवस्थित गर्नका लागि हामीले १० हजार स्वयंसेवक परिचालन गर्ने कार्यक्रम बनाएका छौँ,’ ढकालले भने । यी १० हजार स्वयंसेवकहरू विभिन्न जनसंगठनमार्फत परिचालित हुनेछन्। त्यसमा अनेरास्ववियु, युवा संघ र जीफन्टलगायत हुनेछन् ।

महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरूमध्ये पश्चिमतर्फ आउनेलाई गठ्ठाघरसम्म गाडीमा र त्यसपछि जुलुसहित उद्घाटनस्थलमा पुग्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । पूर्व तर्फबाट आउनेहरू जगतेसम्म गाडीमा आउने र त्यसपछि जुलुससहित पश्चिमतर्फ आउने छन् ।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले नेपालमा अहिलेसम्म नभएको मञ्च तयार भएको जानकारी दिए । ३ किलोमिटर वरपरसम्म सुन्न सकिने गरी साउण्ड सिस्टमको व्यवस्था गरिएको उनले बताए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ९९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चौरमा हुने उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । शनिबार मध्यान्ह ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ ।

 

एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापा पनि सक्रिय राजनीतिबाट बिदा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भुपेन्द्रबहादुर थापाले ११ औं महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गरेका छन् । उनी एमालेको नवौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य थिए । म्याग्दी जिल्ला इञ्चार्ज समेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताएका हुन् । यद्यपी पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत थापाले प्रष्ट पारेका छन् ।

थापाले भनेका छन्, ‘यो पार्टीबाट मलाई जिल्ला विकास समितको उपसभापति,प्रतिनिधि सभा सदस्य जस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरु,कार्यकर्ता कमरेडहरु म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यबाद दिन चाहन्छु । मेरो पारिबारीक समस्याका कारण अब सक्रिय भुमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमि रहने छैन ।’

थापा २०७४ सालमा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । अनेरास्ववियुबाट राजनीति थालेका थापाले गाउँ कमिटीदेखि जिल्ला र केन्द्रसम्मको कमिटीमा निरन्तर प्रतिनिधित्व गरेका थिए । आजै एमालेका पोलिटव्युरो सदस्य दलवहादुर रानाले पनि सक्रिय राजनीतिाट बिदा लिएको घोषणा गरेका छन् ।

 

 

 

महासचिवमा तीन जना दाबेदार हुँदा ‘अप्ठ्यारो’ मा ओली

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा सबैभन्दा ठूलो रस्साकस्सी महासचिव पदमै देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संगठनात्मक टिम मिलाउने प्रयास तीव्र पारे पनि उनको नजिकका तीन शीर्ष नेता–शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ एकै पदमा दाबी गर्दै उभिएपछि उनले सम्हाल्नुपर्ने चुनौती झनै जटिल बनेको छ ।

दशौं महाधिवेशनबाट महासचिव बनेका शंकर पोखरेललाई फेरि दोहोर्‍याउने ओलीकै मूल इच्छा भएको दाबी नेताहरू गर्छन् । संगठनात्मक जोड, कार्यकर्तामाझ पुग्ने र अध्यक्षसँगको निकटताका कारण उनी ओलीको ‘पहिलो रोजाइ’ मानिएको छ । तर पोखरेलको कार्यशैली र गुटगत व्यवहारप्रति असन्तुष्ट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले खुला रूपमा असमझदारी जनाइरहेका छन् । पोखरेललाई अघि सारिएको खण्डमा उनीहरूले असहयोग गर्न सक्ने जोखिम पनि देखिएको नेताहरु बताउँछन् ।

ओलीको ‘दोस्रो विकल्प’ को रूपमा प्रदीप ज्ञवाली देखिएका छन् । स्कुल विभागमार्फत ६८ जिल्लामा प्रशिक्षण विस्तार, वैचारिक दस्तावेज लेखनमा भूमिका र अध्यक्षसँगको लामो सहकार्यले उनी आफ्नो ‘स्वाभाविक दाबी’ प्रस्तुत गर्दै आएका छन् । तर उनले उपमहासचिव वा उपाध्यक्ष स्वीकार नगर्ने अडान राखेपछि ओलीले सजिलै निर्णय लिन सक्ने अवस्था नरहेको बताइन्छ । २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनका बेला ज्ञवालीले राखेको आलोचनात्मक न्यून–दूरीका कारण पनि ओली ढुक्क हुन नसकेको बुझिन्छ । यी सबैबीच ज्ञवालीले ओलीलाई भेटेर ‘किन महासचिव हुन नपाउने ?’ भन्ने प्रश्न समेत उठाइसकेका छन् ।

पृथ्वीसुब्बा गुरुङ पनि महासचिवकै दाबी लिएर सक्रिय छन् । पार्टीभित्र संघीयता र पहिचानबारे कडा अभिव्यक्ति दिने उनी संगठनात्मक र वैचारिक तयारीमा उकासिएका नेता मानिन्छन् । तर ओलीले उनलाई उपाध्यक्षतर्फ ‘सेट’ गर्ने लगभग निष्कर्ष निकालिसकेको गुरुङ निकट वृत बताउँछ । महासचिव नदिए ‘अन्तिमसम्म लड्ने’ गुरुङको भनाइले ओलीमाथिको दवाब झनै बढेको छ ।

यी तीनै दाबेदारले आफू योग्य र सक्षम रहेको तर्क राखिरहँदा अध्यक्ष ओलीले भने अहिलेसम्म कसैलाई स्पष्ट वचन दिएका छैनन् । नवौं र दशौं महाधिवेशनमा जस्तै उनले ‘अन्तिम क्षण’ मा नाम घोषणा गर्ने शैली नै अपनाउने अनुमान नेताहरूको छ—अघि नै नाम निकाल्दा ‘रोइकराइ’ बढ्ने भएकाले, उनले निर्णय लुकाएर राख्ने स्रोतहरू बताउँछन् । यसबीच, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव गुरुङ र सचिव पद्मा अर्याललगायत केही पदाधिकारीले ज्ञवालीलाई महासचिव बनाउन जोड दिइरहेको सूचना सार्वजनिक बनेको छ ।

यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी बढाएका छन् । उनी आफ्नो प्यानल ओलीको सूची सार्वजनिक भएपछि मात्र बनाउन खोजिरहेको देखिन्छ । यदि असन्तुष्ट नेताहरू तान्न सके, विद्या–ईश्वर समूहले ‘वैकल्पिक टिम’ बनाएर प्रतिष्पर्धा गर्ने रणनीति अघि सार्न सक्छ पार्टीभित्र बढ्दो असन्तुष्टि र प्रतिष्पर्धी आकांक्षालाई व्यवस्थापन गर्न ओलीले पदाधिकारी संख्या नै बढाउने तयारी गरेका छन्–उपाध्यक्ष पाँच र सचिव नौं पुर्‍याउने प्रस्तावसहित । विधान महाधिवेशन भएको तीन महिना नबित्दै फेरि विधान संशोधन गर्न लागिएको पनि यही कारण बताइन्छ ।
महाधिवेशन नजिकिँदै गर्दा च्यासलस्थित पार्टी कार्यालयमा भइरहेका दिनदिनका भेटघाट र गुण्डु निवासमा चल्ने मध्यरातसम्मका छलफलहरूले ओली पक्ष आफ्नो ‘पूरै सेट’ जिताउन कसरी आक्रामक तयारीमा छ भन्ने प्रष्ट देखिन्छ । तर महासचिवका तीन सशक्त दाबेदारबीच सन्तुलन कसरी मिलाइने भन्ने प्रश्न भने एमाले आन्तरिक राजनीतिमा अहिलेको सबैभन्दा ठूलो विवादको केन्द्र बनेको छ ।

एमाले सचिवालय बैठक आज बस्दै, महाधिवेशन अघि यस्तो छ ओलीको योजना

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरू हुनै लागेका बेला आज (शुक्रबार) दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ । महाधिवेशन उदघाटनको अघिल्लो दिन बोलाइएको बैठकमा विधान संशोधनदेखि पदाधिकारी संख्या पुनः वृद्धि गर्ने विषयलाई अध्यक्ष केपी शर्मा ओलीले मुख्य एजेण्डाका रूपमा अघि सार्ने तयारी गरेका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले विधान परिमार्जन र मनोनित प्रतिनिधि चयनलाई प्राथमिकता दिनेछ ।

एमालेले भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनमार्फत पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । त्यही समयमा स्थायी कमिटी खारेज, पोलिटब्युरो सानो बनाउने र केन्द्रीय समिति ३०१ बाट घटाएर २५१ सदस्यमा झार्ने व्यवस्था गरिएको थियो । तर महाधिवेशनमा विभिन्न पदप्रति बढ्दो आकांक्षा व्यवस्थापन गर्न कठिन भएपछि ओली फेरि पदाधिकारी संख्या १९ मा पु¥याउने निष्कर्षमा पुगेका छन् ।

अध्यक्षका प्रतिद्वन्द्वीका रूपमा सार्वजनिक भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्ष भने सो प्रस्ताव आएमा एमालेले हटाइसकेको दुई कार्यकाल सीमाको प्रावधान पुनस्र्थापित गर्न माग लैजाने तयारीमा छ । पोखरेलले सोमबार ओलीलाई अवधारणा पत्र बुझाएपछि तय भइसकेको सचिवालय बैठक तीन दिन स्थगित भएको थियो ।

यता पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार आजको बैठकले पदाधिकारी संख्या विस्तारसँगै २५१ सदस्यीय केन्द्रीय कमिटी अझै ठूलो बनाउने सम्भावनाबारे पनि छलफल गर्नेछ । साथै महाधिवेशनका १०८ मनोनित प्रतिनिधि टुंग्याउने विषय निर्णायक रूपमा पेश हुनेछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन र भृकुटीमण्डपमा बन्द सत्रसहित सुरू हुने ११औं महाधिवेशन पूर्वको यो बैठकले एमालेभित्रको आगामी सत्ता–सन्तुलन कस्तो बन्ने भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

देउवासँगको भेटबारे ओली : बकुल्लाको बीउ रोपेका छौं, तोरी जस्तो भोलि नै उम्रिँदैन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् । देउवासँगको भेटमा विभिन्न विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग राखेको अन्तरक्रियामा ओलीले देउवासँग भएको भेटको नतिजा देखिन समय लाग्ने बताए ।

‘देउवाजीसँग अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोलि देखिन्छ । तोरीको बीउ आज छरे भोलि उम्रिन्छ, बकुल्लाको बीउ उम्रिन समय लाग्छ,’ ओलीले भने, ‘बकुल्लाको बीउ रोपेका छौं, तोरी उम्रे जस्तो भोलि नै उम्रिँदैन । अब बिग्रिएछ कि भनेपछि बल्ल उम्रिन्छ । देउवासँग भएको भेटको नतिजा प्रकट हुन टाइम लाग्छ ।’ कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच मंसिर १९ गते महाराजगञ्जमा लामो छलफल भएको थियो । ओलीसँगको भेट लगत्तै प्रतिनिधि सभा पुनः स्थापनाको रिट लिएर कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

ओलीले देउवासँग कयौं विषयमा कुरा भएको बताएका छन् । ‘दुई पार्टीका प्रमुख नेताहरू भेट हुँदा देशको कुरा गरेनन् होला ? देशको चिन्ता गरेनन् होला ? नागपञ्चमीमा गोबरले टाँसेको जस्तो यो सरकारको बारेमा कुरा गरेनन् होला ?’ ओलीले प्रतिप्रश्न गरे । ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा माहोल बनाउन आफू संवादमा रहेको बताएका छन् । ‘हैसियत विनाको व्यक्तिले विना विधि–प्रक्रिया, अनधिकृत ढंगले गरेको सिफारिस असंवैधानिक भएकाले विघटन खारेज हुनु पर्दछ । जुन बाटोबाट विघटन भयो, त्यही बाटोबाट पुनःस्थापना गर्न सकिन्छ । सर्वोच्चबाट पनि पुनःस्थापित हुन्छ नै, अर्को बाटै छैन,’ ओलीले भने, ‘सर्वोच्चका विगतका तमाम फैसला र संविधानले अन्यथा फैसलाका लागि बाटो दिँदैन । म संवाद गरिरहेको छु भन्ने कुरा सत्य हो । उपाय के–के छन् पनि भनिरहेको छु ।’

एमाले महाधिवेशन भाँड्न सरकार षड्यन्त्रमा : पदम गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी–विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ती रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ । आज फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

ती देशी–विदेशी शक्ति को हुन् र उनीहरुले एमाले महाधिवेशन भाँड्न कस्तो खालको षडयन्त्र गरिरहेका छन् भन्ने गिरीले खुलाएका छैनन् । उनले लेखेका छन्, ‘एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाँड्न देशी–विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ती रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ । वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ ‘साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जोकोहीलाई पनि इतिहासले माफी दिने छैन,’ गिरीले लेखेका छन् ।

एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने (भिडियो)

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा शुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । उनले लाखौंको संख्यामा नेता–कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताए । असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए । महाधिवेशनमा १०८ जना मनोनितसहित २,२६८ कुल प्रतिनिधि रहने जानकारी दिए । बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताए ।

उनले भने, ‘आजको बैठकमा कतिपय बाँकी रहेका कामहरु तत्काल सम्पन्न गर्ने, आर्थिक पाटोको व्यवस्थापन गर्ने सम्बन्धमा पनि केही समितिसँग जोडिएका कामहरु छन्, त्यो व्यवस्थित गर्नुपर्नेछ । मुख्यतया हामीले २७ गतेको उद्घाटन समारोहलाई असाध्यै विशाल र भव्य जनमासका साथ सम्पन्न गर्ने उद्देश्य राखेका छौँ । जन परिचालनलाई मुख्य प्राथिमकता दिनेकुरा आजको बैठकमा छलफल भएको छ ।’ उनले सुनाए, ‘यो पटकको महाधिवेशनमा वाह्य देशबाट विदेशी पाहुनाहरुको हकमा भौतिक रुपमा उहाँहरुलाई आमन्त्रित गरेका छैनौं । उहाँहरुबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ । उहाँहरुलाई त्यसरी पत्राचार गरेका छौँ । विभिन्न देशका हाम्रो पार्टी संवद्ध रहेका २६ वटा पार्टीहरु, र ननकम्युनिष्ट पार्टीहरुलाई निमन्त्रणा पठाएका छौं । नेपालका १६ वटा दलहरुलाई पत्राचार गरेका छौँ ।’

नेता बतौंलाले भने, ‘जनपरिचालनमा लाखौंको संख्यामा आम नागरिकहरु आउने क्रम जारी छ । २७ गतेको उद्घाटन सत्रमा सहभागी मानिसको जनसागरको सन्देश संवैधानिक लोकतान्त्रिक फ्रन्टमा उभ्याउनका लागि नेकपा एमालेमार्फत नेपाली जनताहरु यसका पक्षमा छन् । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येय राखेका छौँ । १०८ जना मनोनितसहित २२ सय ६८ कुल प्रतिनिधि हुनुहुनेछ । लाखौँ नेपाली जनताहरुको सहभागितामा यो महाधिवेशन भव्यताकासाथ सम्पन्न हुनेछ ।’
उनले नेकपा एमालेले युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताएका छन् । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको बताए ।

 

 

 

 

ईश्वरपछि आज ओेलीले सम्पादकहरूसँग छलफल गर्दै

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग भेटघाट गर्दैछन् । प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे कार्यक्रम तय भएको हो । शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्दैछन् ।

एक एमाले नेताका अनुसार उनी आमअपेक्षा भन्दा फरक विषय सार्वजनिक गर्ने मनस्थितिमा छन् । अध्यक्षका अर्का प्रत्यासी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादक भेटघाट गरेका थिए ।

ओली आयोगमा बयान दिन जानुपर्छ, म भए पहिल्यै जान्थें : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको आयोगमा बयान दिन जानुपर्ने बताएका छन् । आज (बुधबार) पोखरेलले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आफू भएको भए आयोगमा बयान दिन जाने बताए । ‘केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ ।’ आयोग अध्यक्ष गौरीबहादुर कार्की आफूप्रति पूर्वाग्रही भएको भन्दै आफू उनी नेतृत्वको आयोगमा बयान दिन नजाने अडान ओलीले लिइरहेका छन् ।

उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि प्यानलबारे छलफलमा रहेको बताएका छन् । उनले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताएका छन् । उनले भने, ‘प्रतिष्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ । जित्दा मात्रै खुशी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीर्कान सक्नु पर्छ । भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिष्पर्धा गर्छौँ, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौं ।’ उनले वाम एकताको पक्षमा आफूहरू रहेको भन्दै पार्टी छाडेर जाने कुरा आफूहरूले नसोचेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका छन् । उनले संविधान, विधान र अन्तर्राष्ट्रिय अभ्यासले पनि भण्डारीको सदस्यता रोक्न नमिल्ने भएकाले अवधारणामै ल्याएको बताए । उनले भने, ‘यो एजेण्डा यतिमाथिसम्म ल्याउनु पर्ने थिएन । तर अब आउने दिनका लागि पनि ओपन भयो ।’

 

झोंक–झोंकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय पार्टी नेतृत्वको कार्यसम्पादन शैली त्रुटीपूर्ण हुँदै गइरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले राष्ट्रिय महाधिवेशन विचार र नेतृत्वबारे फैसला गर्ने थलोको रूपमा लिनुपर्ने बताएका छन् ।

उनले भने, ‘महाधिवेशनमा प्यानल बनाउने–नबनाउने भन्ने कुरा होइन, उम्मेदवारी दिने कुनै झोंक–झोंकमा गरेको पनि होइन । हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका हो । हामी कुनै अस्वाभाविक र अचानक ढङ्गले प्रस्तुत भएको होइन, अवधारणाबारे अध्यक्षसँग औपचारिक कुरा गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको हो ।’

 

महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विधान महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशनको उद्देश्य भिन्न भएकाले दुवै चरणमा अलग–अलग बहस हुनु पर्ने बताएका छन् ।

ज्ञवालीका अनुसार, विगतमा नीति र नेतृत्वबारे एउटै मञ्चबाट निर्णय गर्दा नीतिगत बहस ओझेलमा पर्ने, नेतृत्वको पक्षधरता हावी हुने जस्ता समस्या देखिएका थिए । उनले लेखेका छन्, ‘यही अनुभवका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन छुट्टै आयोजना गर्ने संरचना बनाएका हौं । तसर्थ, विधान महाधिवेशनमा नेतृत्व विषयक बहस र नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक हुँदैन ।’

उनले दुई महाधिवेशनबीच नीति परिमार्जन आवश्यक परे केन्द्रीय समितिलाई संशोधन गर्ने अधिकार नै महाधिवेशनले दिएको स्मरण गराएका छन् । हरेक घटनामा महाधिवेशन बोलाउनु वा महाधिवेशनको मञ्च प्रयोग गर्नु सम्भव र व्यावहारिक दुवै हुँदैन भन्ने ज्ञवालीको भनाइ छ । सातौं महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक बनेको उल्लेख गर्दै उनले सो विषय केन्द्रीय समिति बैठकमार्फत संशोधन गरिएको र त्यही बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गरेको उल्लेख गरे । ज्ञवालीले नेतृत्वमाथि गम्भीर चुनौती रहेको वर्तमान परिस्थितिमा वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि मनोवैज्ञानिक दूरी र पक्षधरताले ग्रसित वातावरणमा हुने समीक्षा निष्पक्ष नहुने तर्क गरेका छन् ।

‘महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछ’

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरुले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताए । तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिष्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उनको भनाई छ । उनले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताए ।

संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उनको भनाई छ । देशमा संकट छ भने यो संकटको पछाडिको कारण के हो ? यसको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समीक्षा गर्न आवश्यक रहेको उनले बताए । उनले वर्तमान संकटको सामना गर्नका लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताए । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको उनको भनाई छ । कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उनले बताए । उनले देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे । देशका चुनौतीहरुलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उनको भनाई छ ।

उनले भने, ‘आज आम कार्यकर्ताहरु, आम जनताहरु र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको छ । आज कुनै अमुक व्यक्ति, एउटा शक्तिशाली व्यक्ति अथवा अधिकारको केन्द्रियकरण निर्णयको केन्द्रियकरण भन्दा आज सामुहिक नेतृत्व समयको माग हो । सामुहिक नेतृत्व पार्टीको आवश्यकता हो । अर्थात पार्टीभित्र छलफल बहस गर्दै सामुहिक ढंगले निष्कषमा पुग्ने र त्यसलाई कार्यन्वयन गर्नको लागि निर्णयलाई अपनत्व महसुस गरेर कार्यन्वयनमा एकताका साथ अगाडि बढ्ने परिस्थिति आज आवश्यक छ । यसरी नै पाटी अगाडी बढ्छ, यसरी नै पार्टी हामी अगाडि बढाउन चाहेका छौँ ।’

उनले भने, ‘देशभरबाट आउनु भएका प्रतिनिधि साथीहरु सार्वभौम हुनुहुन्छ, उहाँहरुले पार्टीभित्रको परिस्थितिलाई यथास्थितिमा कायम राख्नको लागि उहाँहरु आउनु भएको छैन । उहाँहरुले देशका चुनौतीहरुलाई सम्बोधन गर्नेगरी, आम जनताको अपेक्षा पूरा गर्नेगरी र संविधानमा जुन प्रकारको संकट देखापरिरहेको छ, यसलाई फेरि संवैधानिक संकटलाई समाधान गरेर खासगरि निवार्चनको माध्यमबाट, जनताको जनादेशको माध्यमबाट संविधानलाई लिगमा ल्याएर मुलकको लोकतन्त्रलाई जोगाउने, संविधानलाई जोगाउने, उपलब्धीलाई जोगाउने र नेकपा एमालेलाई समृद्ध बनाउने, एमालेलाई अग्रनी पार्टीको रुपमा स्थापित गर्नेगरि यो महाधिवेशनले भूमिका खेल्नेछ । हामी यसरी नै जान्छौँ ।’

विष्टले थपे, ‘हामीले पार्टीभित्र स्वच्छ प्रतिष्पर्धा गर्छौ, हामी पार्टीभित्र अमर्यादित ढंगले प्रतिष्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्दा संकटमा प्रतिष्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित चाहेका छैनन् कि भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजिँदैछ, संकटले परिवर्तन ल्याउने हो । संकटले नयाँ नेतृत्व निर्माण गर्ने हो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने हो । यसकारण कहि देशमा संकट छ भने यो संकटका पछाडिको कारण के हो ? यो संकटको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? यो सब चिजको हामी गम्भिरताका साथ समीक्षा गर्छौँ । यो संकटको सामना गर्नको लागि हामीले नेतृत्व रुपान्तरण गर्छौं या हस्तान्त्रण गर्छौं । नयाँ तागतका साथ पार्टीलाई एकतावद्ध गर्दै नयाँ उर्जाका साथ अगाडि बढ्छौँ ।’ उनले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गरे । ४० वर्षमुनीका युवाहरुलाई पार्टीको केन्द्रिय समितिमा ल्याउनका लागि आफूहरुले पहल गर्ने उनको भनाई छ । उनले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको पनि बताए । ११ औं महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्ने पनि उनको भनाई छ ।

एमाले महाधिवेशन : मित्रवत कि कटुतापूर्ण ?

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर पार्टीभित्र ‘गर्मागर्मी’ बढ्दै गएको छ । तर महासचिव शंकर पोखरेलले प्रतिष्पर्धा बढे पनि त्यसले पार्टीभित्र कटुता होइन, ‘मित्रवत्’ वातावरण नै बनाउने दाबी गरेका छन् । उनका अनुसार अहिले देखिएको प्रतिष्पर्धा भीम रावल वा माधव नेपालको जस्तै असन्तुष्टि, अस्वीकारवाद र विभाजनतिर जाने छैन ।

पोखरेलले वर्तमान राजनीतिक अवस्था ‘अत्यन्त जटिल’ रहेको र यस्तो अवस्थामा एमालेलाई अनुभवी, स्थापित र संकट–व्यवस्थापनमा सक्षम नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनैपर्ने धारणा दोहोर्‍याएका छन् । १० औं विधान महाधिवेशनमा ओलीसम्बन्धी निर्णय कार्यकर्ताले लगभग सर्वसम्मत रूपमा अनुमोदन गरिसकेको स्मरण गर्दै उनले अहिले नेतृत्व परिवर्तनको कुरा ‘असामयिक’ भएको टिप्पणी गरेका छन् ।

उता पूर्व राष्ट्रपति विद्या भण्डारीको ‘ब्याकअप’ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिन तयार रहेको चर्चा चुलिए पनि महासचिव पोखरेलले वर्तमान असामान्य परिस्थितिमा ईश्वर पोखरेल ‘विश्वसनीय विकल्प’ बन्न नसक्ने दावी गरे । ईश्वर पोखरेलले आफू उत्तराधिकारी होइन भन्ने संकेत पहिले नै दिएको भन्दै अहिलेको क्षणमा उनी प्रभावशाली चुनौतीकर्ता बन्न नसक्ने पोखरेल बताउँछन् ।

पोखरेलका अनुसार पार्टीभित्र शीर्ष तहमा ४०–५० जनासम्म नेतृत्व आकांक्षा देखिए पनि व्यवस्थापन कठिन हुँदैन । प्रतिष्पर्धा सहमति नबनेको अवस्थामा स्वाभाविक हो तर त्यसले असन्तुष्टि बढाउने, हार स्वीकार नगर्ने वा पार्टी–विरुद्ध जाने व्यवहारमा रूपान्तरण हुनु हुँदैन भन्ने उनको चेतावनी छ । भीम रावल र माधव नेपालको विगतको अभ्यासले पार्टीलाई क्षति पुर्‍याएको भन्दै उनले यस पटक कोही पनि नेताले त्यस्तो गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गरे ।

जेन–जेड आन्दोलनबारे बोल्दै पोखरेलले त्यसलाई राजनीतिक वैकल्पिक आन्दोलन नभई स्वार्थी शक्तिहरूले युवाको असन्तोषलाई दुरुपयोग गर्न खोजेको प्रकरण भने र भूराजनीतिक स्वार्थ सक्रिय भएको संकेत गरे । उनका अनुसार यस्तो संवेदनशील अवसरमा पार्टीभित्र स्थिर र अनुभवयुक्त नेतृत्व अपरिहार्य छ । चुनावको सम्भावनासम्बन्धी प्रश्नमा उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमै विचाराधीन रहेको, शान्ति–सुरक्षा कमजोर भएको र मतदाताले निर्भय वातावरण पाउन नसकेको कारण निकट भविष्यमै चुनाव ‘यथार्थवादी’ नदेखिँएको टिप्पणी गरे ।

संवैधानिक परीक्षण टुंगिएर राजनीतिक विश्वासको वातावरण बनेपछि मात्र निर्वाचनको मार्ग खुल्ने उनले बताएका छन् । महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र प्रतिष्पर्धा तीव्र देखिए पनि महासचिव पोखरेलले संस्थापन नेतृत्वलाई निरन्तरता दिनुपर्ने, प्रतिष्पर्धा निष्ठा र एकताको दायराभित्र सीमित रहनुपर्ने र पार्टीलाई अस्थिरताबाट जोगाउन अनुभवी नेतृत्व नै उचित विकल्प भएको पोखरेल बताउँछन् ।

विद्या भण्डारीलाई अपशब्द प्रयोग गर्दै ओलीले समग्र महिलाको अपमान गर्नुभयो : शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैं अपमान गरेको आरोप लगाएकी छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्व राष्ट्रपतिलाई पटक–पटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनै पनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भए पनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गरिन् । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनु पर्ने बताइन् ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता नभएको उनको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्व राष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएकी थिइन् । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘एउटा पूर्व राष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ । सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ ।’

उनले भनिन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नु पर्छ। यस्तो नेतृत्व अवको आवश्यकता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यकता होइन । महिलालाई अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनु पर्छ, उठ्नु पर्छ ।’ उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन्। उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन् । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने बताइन् । ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको भनाई छ ।

 

 

 

 

 

 

 

एमाले महाधिवेशनमा २,६१३ जना सहभागी हुने, यसरी छानिए प्रतिनिधि

काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै गर्दा प्रतिनिधिमण्डल टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टोलीले निरन्तर रूपमा प्रतिनिधिहरूको विवरण अभिलेखीकरण गरिरहेको छ ।

संगठन विभागका प्रमुख अधिकारीका अनुसार २,१५४ जना प्रतिनिधि विभिन्न संरचनाबाट निर्वाचित भएर आउने छन् भने केन्द्रबाट थप १०८ जना मनोनित गरिने छन् । यसरी महाधिवेशनमा जम्मा २,२६२ जना प्रतिनिधि रहने छन् । ‘घर फर्क’ अभियानमार्फत पूर्व नेकपा एकीकृत समाजवादीबाट फर्किएका तीन जनाले पनि प्रतिनिधि भएका आधारमा सहभागी हुन निवेदन दिएका छन्, जसको टुंगो सचिवालयले गर्ने विभागले जनाएको छ ।

प्रतिनिधि छनौटसम्बन्धी विवाद धनकुटा र ओखलढुंगामा देखिएको थियो । ती जिल्लामा पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१३ अनुसार प्रक्रिया नचलाकै कारण केन्द्रले छनौट रद्द गरी पुनः मापदण्डअनुसार चयन गर्न निर्देशन दिएको थियो । अहिले दुबै जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि आएको अधिकारीले जानकारी दिए । अन्य तीन जिल्लामा परेका उजुरीको छिनोफानो पनि भइरहेको छ । मापदण्ड नपुगेका केही निर्वाचित प्रतिनिधिका बारेमा समेत छानबिन चलिरहेको र मापदण्ड पूरा नगर्ने कसैलाई पनि कार्ड नबनाइने अधिकारीको भनाइ छ । उनका अनुसार करिब ७० प्रतिशत प्रतिनिधि प्रमाणीकरण भइसकेका छन् ।

महाधिवेशनमा प्रतिनिधिबाहेक सल्लाहकार परिषद्को सहभागिता समेत रहनेछ । परिषद्का ३७६ सदस्यमध्ये २५ जना प्रतिनिधि भएर आइसकेका छन् भने बाँकी ३५१ जना सहभागीका रूपमा बन्द सत्र हलमा प्रवेश पाउने व्यवस्था मिलाइएको छ । यसरी प्रतिनिधि र सहभागीसमेत गरी महाधिवेशनमा जम्मा २,६१३ जना उपस्थित हुनेछन् । उता, प्रतिनिधिमण्डलका लागि परिचयपत्र छाप्ने काम पनि तीव्र गतिमा भइरहेको छ । केन्द्रीय कार्यालयका अनुसार अहिलेसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको छ र आगामी २५ गतेभित्र सबै कार्ड तयारी पूरा गरिनेछ ।

महाधिवेशनको चार दिनअघि एमालेमा किन हुँदैछ विधान संशोधन तयारी ?

काठमाडौं । नेकपा (एमाले) को आगामी ११ औं महाधिवेशन आउन चार दिन बाँकी रहँदै गर्दा पार्टीभित्र दुई ठूला बहस एकसाथ तीव्र बनेका छन्–विधान संशोधनमार्फत शीर्ष नेतृत्व संरचना पुनर्गठन गर्ने र युवाहरूलाई सशक्त रूपमा पार्टी नेतृत्वमा उकास्ने नीति । दुवै विषयले च्यासलस्थित एमाले मुख्यालयदेखि विभिन्न प्रदेशका पार्टी निकायसम्म ठूलो चर्चा र मतभेद पनि जन्माइरहेका छन् ।

मंसिर २७ देखि २९ गतेसम्म हुन लागेको ११ औं महाधिवेशनमा पदाधिकारमा ६० जना भन्दा बढी आकांक्षी देखिएका छन् । अध्यक्ष ओलीतर्फ नै आकांक्षीहरूको संख्या बढेकाले व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको हो । एमालेको मौजुदा केन्द्रीय कमिटी ३५५ सदस्यीय छ । गत भदौ २० देखि २२ गतेसम्म चलेको विधान महाधिवेशनले त्यसलाई घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

विधान महाधिवेशन सम्पन्न भएको तीन महिना नबित्दै अध्यक्ष केपी शर्मा ओलीले फेरि विधान परिमार्जनको संकेत दिएपछि एमालेभित्र नेतृत्व संरचना कस्तो हुने भन्ने प्रश्न फेरि चर्चामा छ । ओलीका अनुसार चार तहको केन्द्रीय संरचना बनाउने, केन्द्रीय सदस्य संख्या विस्तार गर्ने र १५ बाट घटाइएको पदाधिकारी संख्या पुनः बढाएर १९ कायम गर्ने सुझावहरू पार्टीभित्र व्यापक रूपमा आएका छन् ।

उनका अनुसार, सबैलाई समेटेर लैजान विधानकै केही प्राविधिक पक्ष फेरबदल आवश्यक छन् । पदीय आकांक्षा बढेपछि व्यवस्थापन कठिन बनेको भन्दै ओलीले महाधिवेशनमै संरचना विस्तार गर्ने निर्णय हुन सक्ने बताएका छन् । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह यसमा स्पष्ट रूपमा असन्तुष्ट छ । उपाध्यक्ष सुरेन्द्र पाण्डेको तर्क छ–भदौमा आठ करोड रूपैयाँ खर्चेर विस्तृत बहसपछि तय गरिएको संरचना महाधिवेशन नहुँदै उल्टाउन मिल्दैन । खासगरी पदाधिकारी संख्या घटाउने निर्णय तत्कालै फेरबदल गर्न खोजिनु सही नठहरिने उनको भनाइ छ ।

गत विधान महाधिवेशनले स्थायी कमिटीको प्रावधान हटाएर सचिवालय, पोलिटब्युरो र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाएको थियो । त्यस्तै, एमालेमा विगतदेखि रहेको ७० वर्षे उमेर सीमा र नेतृत्वमा दुई कार्यकालको सीमा जस्ता प्रावधान पनि क्रमशः निलम्बन र खारेजी हुँदै आएका मुद्दाहरू हुन् । यी सबै पुनर्जीवित हुने कि नहुने भन्ने बहस पनि विधान संशोधनसँगै पुनः उठेको छ ।

महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र अर्को ठूलो चर्चा युवाहरूको उपस्थिति र भूमिकाका विषयमा छ । जेनजी आन्दोलनपछि युवाहरूको असन्तुष्टि व्यवस्थापन र उनीहरूलाई पार्टी संरचनामा ठोस प्रतिनिधित्व दिने दबाब यस पटक तीव्र छ । च्यासल मुख्यालयमा देखिने युवा समूहहरूको चर्चा पनि यही विषयमा केन्द्रित छ । ‘हामीले संगठनमा मौका नपाएका धेरै युवाहरू आज मुख्यधार मिडियामा उभिइरहेका छन्, तर पार्टीभित्रै उदाउनु कति गाह्रो छ !’

एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई सुनिश्चित प्रतिनिधित्व दिन ‘युवा क्लस्टर’ बनाउने तयारी भइरहेको छ । सम्भावित प्रावधान अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटीमा १०–१५ प्रतिशत युवाको उपस्थिति अनिवार्य गर्न लागिएको छ, जसअनुसार कम्तिमा २५ युवा नेता केन्द्रीय कमिटीमा प्रवेश गर्ने सम्भावना देखिन्छ ।

गोरखाका आरसी लामिछाने, भोजपुरकी शशीकला रोका, दोलखाकी शान्तिमाया तामाङ पाख्रिन लगायतका युवा नेताहरूको दाबी एउटै छ–एमाले युवामैत्री पार्टी हो, अब यसको ठोस प्रमाण केन्द्रीय कमिटी र पदाधिकारी तहमा देखिनु पर्छ । युवाहरू अब केन्द्रीय सदस्यतामा मात्र सीमित रहन नचाहेको पनि प्रष्ट छ । महाधिवेशन प्रतिनिधि निरज पौडेलका अनुसार, ‘आगामी नेतृत्वमा युवालाई पुर्‍याउन विधान नै परिवर्तन गर्नु परे पनि वातावरण तयार पार्न दिनुपर्छ ।’

एकातिर अध्यक्ष ओलीले पदीय आकांक्षालाई व्यवस्थापन गर्न शीर्ष तह विस्तार गर्नुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ युवा नेतृत्व चाहने समूह विधान परिमार्जनमार्फत उच्च तहमा पुग्ने बाटो खुलाउन चाहन्छ । पुराना संरचनाको पुनर्जीवनदेखि नयाँ क्लस्टर प्रणालीसम्मका प्रस्तावमा सहमति खोजिन थालेको छ ।
महाधिवेशन नजिकिंदै गर्दा स्पष्ट छ-एमालेभित्र नेतृत्व संरचना र युवा सहभागिताका विषयमा चलिरहेको दुवै बहसले पार्टीको भविष्यगत दिशा निर्धारण गर्नेछ । अब निर्णायक घडी महाधिवेशन हो, जहाँ एमाले के कस्तो रूपमा उभिने हो-यही एक प्रश्नमा सबैको नजर अडिएको छ ।

ईश्वर पोखरेलले ओलीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पार्टी महाधिवेशनलाई लक्षित गर्दै विस्तृत वैकल्पिक अवधारणापत्र सार्वजनिक गरेका छन् । आगामी २७-२९ गते हुने महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्न तयार गरिएको यस दस्तावेजमा उनले हालको राजनीतिक जटिलता, पार्टीको कमजोरी, नेतृत्व व्यवस्था र आवश्यक संरचनागत सुधारबारे स्पष्ट धारणा अघि सारेका छन् ।

पोखरेलले ‘जेन–जी’ आन्दोलन र भदौ २४ का घटनाहरूलाई सुनियोजित विध्वंसका रूपमा अर्थ्याउँदै ती दिनहरूमा पार्टी कार्यालय, नेताहरूको निवास, सिंहदरबार र संसद भवनसमेत लक्ष्यबद्ध रूपमा आक्रमित भएको उल्लेख गरेका छन्। उनका अनुसार युवा पुस्तासँग सम्बन्ध कमजोर हुनु, उनीहरूको आकांक्षा नबुझिनु र सत्तामा हुँदा प्रभावकारी डेलिभरी दिन नसकनु एमालेको मौलिक कमजोरी बनेको छ ।

दस्तावेजको एउटा महत्वपूर्ण अंश पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय गराउने प्रस्ताव हो । पोखरेलले भण्डारीलाई पार्टी सदस्यताबाट टाढा राख्नु स्वयं एमालेका लागि घाटा भएको टिप्पणी गर्दै उनी फर्कने वातावरण अब बनाइनु पर्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिरिन रोक लगाइएको प्रसंग उठाउँदै उनले एमालेका गतिविधिमाथि सडकमार्फत नियन्त्रण गर्ने अभियान सञ्चालन भइरहेको आरोप समेत लगाएका छन् । यस परिस्थितिमा निर्वाचन नै राजनीतिक निकासको प्रमुख विकल्प बन्ने उनको निष्कर्ष छ ।

पार्टीलाई पोखरेलका सुझावहरु :-
– कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था अनिवार्य गर्ने ।
– ७० वर्ष उमेर सीमा लागू गर्ने ।
– ४० वर्षमुनिका युवालाई सबै तहका कमिटीमा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने ।
– ३० वर्षमुनिका कार्यकर्ताहरूका लागि विशेष प्रोत्साहन नीति ल्याउने ।

मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई समयानुकूल परिष्कृत गर्दै वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने आवश्यकता रहेको पोखरेलको धारणा छ । उनले विगतको नेकपा एकतालाई हतारमा गरिएको स्वीकार्दै अब विचार र विधिको आधारमा मात्रै एकता सम्भव हुने उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन तथा सुशीला कार्की नेतृत्वको सरकार गठनका विषयमा पोखरेलले आफ्नो व्याख्या पनि राखेका छन् । उनको बुझाइमा ती निर्णयहरू संविधानलाई न्यूनतम क्षतिमा जोगाइराख्ने विशेष परिस्थिति र दबाबका कारण उत्पन्न ‘आपतकालीन विकल्प’ थिए । त्यससँगै उनले अध्यक्ष ओलीमाथि लगाइएको स्थानहद तत्काल हटाइनु पर्ने माग दोहोर्‍याएका छन् ।

पोखरेलले राजनीतिक अवरोध चिर्न निर्वाचनमै जाने बाटो सही निकास भएको बताउँदा अध्यक्ष ओली भने प्रतिनिधि सभा पुनः स्थापनालाई वैकल्पिक उपायका रूपमा देखाइरहेका छन्। यी फरक धारणा बीच पोखरेलले वर्तमान जटिल अवस्थालाई ‘विशिष्ट परिस्थिति’ भन्दै अत्यावश्यक बाध्यताका कारण मात्रै पुनःस्थापनाको प्रसंग आउन सक्ने निष्कर्ष निकालेका छन् । महाधिवेशन नजिकिँदै गर्दा पोखरेलको यो दस्तावेजले एमालेभित्र नेतृत्व, मार्गदर्शन र संगठनात्मक रूपान्तरणबारे नयाँ बहसलाई तीव्र बनाएको छ ।
हेर्नुस् पूर्णपाठ

 

https://drive.google.com/file/d/17TGfQIFcCSpbVnR0kSjIu8Ii4ysgxSxn/view?usp=sharing

 

ईश्वर पोखरेलले च्यासल पुगेर बुझाए नेतृत्व परिवर्तनसहितको अवधारणापत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । पोखरेलले आफ्नो समूहका नेताहरूसहित पार्टी कार्यालय च्यासल पुगेर अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् । उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ । पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष पाण्डेले बताए । ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन् । उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन् ।

ईश्वरले तयार गरे छुट्टै दस्तावेज, च्यासलमा ओलीलाई बुझाउने

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी ओलीले आफ्नो एकल प्रस्ताव मात्र लैजाने अडान लिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मतसहित छुट्टै राजनीतिक प्रस्ताव (दस्तावेज) आज दिउँसो ३ बजे पेस गर्ने भएका छन् । अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन लागिएको हो । ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन् । उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल जाँदैछन् । पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र बुझाउन उनीहरू केहीबेरपछि पार्टी मुख्यालय च्यासल जाने तयारी भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । ‘नेताहरूले तयार गर्नु भएको छ । हामी अध्यक्ष ज्यूको समय लिएर भेट्न जाँदै छौँ,’ पाण्डेले भने । स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव समेटिएको बताएका छन् । त्यस्तै, हरेक कमिटीमा सामूहिक लोकतान्त्रिक पद्धतिको नेतृत्वलाई आत्मसात गर्नुपर्ने र व्यक्ति सर्वेसर्वा हुने पद्धतिको अन्त्यको माग अवधारणापत्रमा राखिएको छ ।

‘जेन–जी आन्दोलनपछिको बदलिएको परिस्थितिमा गाली र विरोध मात्रै गरेर हुँदैन भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यस्तो परिस्थिति आउनुमा आन्तरिक कारण मुख्य हुन् । बाह्य कारण पनि छन् भने पहिल्याउनुपर्छ भन्ने हाम्रो मुख्य कुरा छ ।’ अहिले पोखरेल पक्षका नेताहरू बागबजारको होटेल हार्दिकमा सामूहिक पत्रकार सम्मेलन गरिरहेका छन् । जसमा नेता पाण्डेसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत छन् । वरिष्ठ उपाध्यक्ष आउने टुंगो नलागेको बताइएको छ । उनी ओलीलाई बुझाउने अवधारणापत्रको अन्तिम रूप दिन लागिपरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ ।

समयको मागअनुसार ओलीको विकल्पमा ईश्वर पोखरेल : युवराज ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११ औं महाधिवेशनमा समयको मागअनुसार नेतृत्व परिवर्तनको विकल्प नभएको दावी गरेका छन् । काठमाठौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको विज्ञानको युगले नयाँ नेतृत्वको माग गरेकाले नेतृत्व फेरेर जानुपर्ने विषयमा प्रष्ट हुनुपर्ने बताएका छन् । उनले भने, ‘समयको महत्व बुझ्नु पर्छ, पुरानाको योगदानको सम्मान गर्दै नयाँलाई नेतृत्व दिनुपर्छ । जतिसक्यो छिटो नयाँले काम गर्न सक्छन् त्यो पुरानाले गर्न सक्दैनन् ।’ ज्ञवालीले पुराना पिँढीका नेताहरु कहिलेसम्म रहने ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘अरुको उदाहरण दिएर हुँदैन हामीले नयाँ उदाहरण विकास गरौं न नयाँ नेतृत्वलाई दिएर । माओवादीको हिंसात्मक अभियानलाई हामीले नयाँ ढंगले निकास दिएका थियौं नि’, ज्ञवालीले भने । ईश्वर पोखरेल व्यक्तिलाई नभएर नयाँ नेताका रुपमा अघि सारिएको ज्ञवालीले बताए । ‘अध्यक्ष केपी ओलीको विषयमा हाम्रो यही आलोचना हो । सामुहिक नेतृत्व नै उन्नत लोकतन्त्रको नमुना हो, एकल नेतृत्व सहज चल्न सक्दैन । हाम्रो पार्टीमा सामुहिक नेतृत्व भएन, नीति होइन नेता प्रधान भयो ।’ ज्ञवालीले भने ।

‘आलोचना नभई नेतृत्व सुध्रन सक्दैन भन्ने विषयमा प्रष्ट हुनुपर्छ । माक्र्सवादमा आलोचना हुन्छ, पार्टी सिद्धान्तमा आचोलना लागू भएन, त्यसैले नयाँ नेतृत्व हामीले खोजेका हौं,’ ज्ञवालीले भने, ‘यो धर्तीमा कमी नभएको मान्छे कोही हुँदैन तर हरेक कमजोरी सच्याउने प्रणाली अघि बढाउन नयाँ नेतृत्व अघि बढाएका हौं । करेक्सन बिना पार्टीको विकास हुँदैन, ओलीको नेतृत्वमा धेरै राम्रो काम भएका छन् तर कमजोरी पनि छन् ।’

‘जेन–जी आन्दोलनका क्रममा २३ गते उठेका जायज मागको समर्थन गर्नुपर्ने ज्ञवालीले बताएका छन् । उनले भने, ‘जेन–जीले उठाएका माग हाम्रा पनि माग हुन् तर २४ गते विध्वंश भयो । यो निकै ठूलो क्षतिको कारण खोजिनु पर्दछ किनकि हाम्रो नेतृत्वमा सरकार थियो, सबै दोष अरुलाई लगाएर हुँदैन । मेचीदेखि महाकालीसम्म यति ठूलो विरोध कसरी भयो ? हाम्रा कमजोरी त सच्याउन पर्‍यो नि ।’