एमाले महाधिवेशन : मित्रवत कि कटुतापूर्ण ?
काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर पार्टीभित्र ‘गर्मागर्मी’ बढ्दै गएको छ । तर महासचिव शंकर पोखरेलले प्रतिष्पर्धा बढे पनि त्यसले पार्टीभित्र कटुता होइन, ‘मित्रवत्’ वातावरण नै बनाउने दाबी गरेका छन् । उनका अनुसार अहिले देखिएको प्रतिष्पर्धा भीम रावल वा माधव नेपालको जस्तै असन्तुष्टि, अस्वीकारवाद र विभाजनतिर जाने छैन ।
पोखरेलले वर्तमान राजनीतिक अवस्था ‘अत्यन्त जटिल’ रहेको र यस्तो अवस्थामा एमालेलाई अनुभवी, स्थापित र संकट–व्यवस्थापनमा सक्षम नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनैपर्ने धारणा दोहोर्याएका छन् । १० औं विधान महाधिवेशनमा ओलीसम्बन्धी निर्णय कार्यकर्ताले लगभग सर्वसम्मत रूपमा अनुमोदन गरिसकेको स्मरण गर्दै उनले अहिले नेतृत्व परिवर्तनको कुरा ‘असामयिक’ भएको टिप्पणी गरेका छन् ।
उता पूर्व राष्ट्रपति विद्या भण्डारीको ‘ब्याकअप’ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिन तयार रहेको चर्चा चुलिए पनि महासचिव पोखरेलले वर्तमान असामान्य परिस्थितिमा ईश्वर पोखरेल ‘विश्वसनीय विकल्प’ बन्न नसक्ने दावी गरे । ईश्वर पोखरेलले आफू उत्तराधिकारी होइन भन्ने संकेत पहिले नै दिएको भन्दै अहिलेको क्षणमा उनी प्रभावशाली चुनौतीकर्ता बन्न नसक्ने पोखरेल बताउँछन् ।
पोखरेलका अनुसार पार्टीभित्र शीर्ष तहमा ४०–५० जनासम्म नेतृत्व आकांक्षा देखिए पनि व्यवस्थापन कठिन हुँदैन । प्रतिष्पर्धा सहमति नबनेको अवस्थामा स्वाभाविक हो तर त्यसले असन्तुष्टि बढाउने, हार स्वीकार नगर्ने वा पार्टी–विरुद्ध जाने व्यवहारमा रूपान्तरण हुनु हुँदैन भन्ने उनको चेतावनी छ । भीम रावल र माधव नेपालको विगतको अभ्यासले पार्टीलाई क्षति पुर्याएको भन्दै उनले यस पटक कोही पनि नेताले त्यस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गरे ।
जेन–जेड आन्दोलनबारे बोल्दै पोखरेलले त्यसलाई राजनीतिक वैकल्पिक आन्दोलन नभई स्वार्थी शक्तिहरूले युवाको असन्तोषलाई दुरुपयोग गर्न खोजेको प्रकरण भने र भूराजनीतिक स्वार्थ सक्रिय भएको संकेत गरे । उनका अनुसार यस्तो संवेदनशील अवसरमा पार्टीभित्र स्थिर र अनुभवयुक्त नेतृत्व अपरिहार्य छ । चुनावको सम्भावनासम्बन्धी प्रश्नमा उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमै विचाराधीन रहेको, शान्ति–सुरक्षा कमजोर भएको र मतदाताले निर्भय वातावरण पाउन नसकेको कारण निकट भविष्यमै चुनाव ‘यथार्थवादी’ नदेखिँएको टिप्पणी गरे ।
संवैधानिक परीक्षण टुंगिएर राजनीतिक विश्वासको वातावरण बनेपछि मात्र निर्वाचनको मार्ग खुल्ने उनले बताएका छन् । महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र प्रतिष्पर्धा तीव्र देखिए पनि महासचिव पोखरेलले संस्थापन नेतृत्वलाई निरन्तरता दिनुपर्ने, प्रतिष्पर्धा निष्ठा र एकताको दायराभित्र सीमित रहनुपर्ने र पार्टीलाई अस्थिरताबाट जोगाउन अनुभवी नेतृत्व नै उचित विकल्प भएको पोखरेल बताउँछन् ।
