`

देउवासँगको भेटबारे ओली : बकुल्लाको बीउ रोपेका छौं, तोरी जस्तो भोलि नै उम्रिँदैन

Nepal One HD २५ मंसिर २०८२ १५:२५
प्रमुख खबर

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् । देउवासँगको भेटमा विभिन्न विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग राखेको अन्तरक्रियामा ओलीले देउवासँग भएको भेटको नतिजा देखिन समय लाग्ने बताए ।

‘देउवाजीसँग अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोलि देखिन्छ । तोरीको बीउ आज छरे भोलि उम्रिन्छ, बकुल्लाको बीउ उम्रिन समय लाग्छ,’ ओलीले भने, ‘बकुल्लाको बीउ रोपेका छौं, तोरी उम्रे जस्तो भोलि नै उम्रिँदैन । अब बिग्रिएछ कि भनेपछि बल्ल उम्रिन्छ । देउवासँग भएको भेटको नतिजा प्रकट हुन टाइम लाग्छ ।’ कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच मंसिर १९ गते महाराजगञ्जमा लामो छलफल भएको थियो । ओलीसँगको भेट लगत्तै प्रतिनिधि सभा पुनः स्थापनाको रिट लिएर कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

ओलीले देउवासँग कयौं विषयमा कुरा भएको बताएका छन् । ‘दुई पार्टीका प्रमुख नेताहरू भेट हुँदा देशको कुरा गरेनन् होला ? देशको चिन्ता गरेनन् होला ? नागपञ्चमीमा गोबरले टाँसेको जस्तो यो सरकारको बारेमा कुरा गरेनन् होला ?’ ओलीले प्रतिप्रश्न गरे । ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा माहोल बनाउन आफू संवादमा रहेको बताएका छन् । ‘हैसियत विनाको व्यक्तिले विना विधि–प्रक्रिया, अनधिकृत ढंगले गरेको सिफारिस असंवैधानिक भएकाले विघटन खारेज हुनु पर्दछ । जुन बाटोबाट विघटन भयो, त्यही बाटोबाट पुनःस्थापना गर्न सकिन्छ । सर्वोच्चबाट पनि पुनःस्थापित हुन्छ नै, अर्को बाटै छैन,’ ओलीले भने, ‘सर्वोच्चका विगतका तमाम फैसला र संविधानले अन्यथा फैसलाका लागि बाटो दिँदैन । म संवाद गरिरहेको छु भन्ने कुरा सत्य हो । उपाय के–के छन् पनि भनिरहेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *