`

एमाले महाधिवेशन : कुन दलबाट को–को जाँदै ?

Nepal One HD २७ मंसिर २०८२ १२:४०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । मध्यान्ह हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने भएका छन् ।

एमालेले देउवालाई विशेष आमन्त्रण गरेको थियो । महाधिवेशनका लागि गठित अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले देउवाको निवासमै पुगेर निमन्त्रणा दिएका थिए । तर, देउवाको व्यस्तताका कारण उनी उद्घाटन समारोहमा नजाने भएका हुन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले उनको सहभागिता निश्चित भइसकेको जनाएको छ ।

एमालेले उद्घाटन समारोहका लागि १६ वटा राजनीतिक दललाई निम्ता दिएको अतिथि सत्कार समितिले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आमन्त्रण गरिएको भए पनि उनी उपस्थित नहुने भएका छन् । प्रचण्डको सट्टामा माओवादी केन्द्रका नेता देव गुरुङ उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्ड सोही दिन सुर्खेतमा पार्टीको एकता सन्देश सभामा व्यस्त रहने भएकाले गुरुङलाई प्रतिनिधिका रूपमा पठाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि उद्घाटन समारोहमा उपस्थित हुने सूचीमा छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि एमालेले आमन्त्रण गरेको भए पनि उनले असमर्थता जनाउँदै अनुपस्थित रहने जानकारी गराएका छन् । जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत निमन्त्रणा गरिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत भने काठमाडौं बाहिर रहेकाले शुभकामना सन्देश पठाएर सहभागी नहुने भएका छन् ।

राजनीतिक दलसँगै एमालेले ६ वटा सामाजिक संघ–संस्थालाई पनि उद्घाटन समारोहमा बोलाएको छ । नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघलगायतका संस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने अतिथि सत्कार समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशनले आगामी नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताको उपस्थिति रहने भए पनि केही प्रमुख नेताहरूको अनुपस्थितिले पनि राजनीतिक वृत्तमा चासो थपेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *