`

एमाले महाधिवेशन: कुन-कुन पदमा उठ्दैछन् यी चर्चित युवा?

Nepal One HD २८ मंसिर २०८२ १४:५१
नेकपा एमाले

काठमाडौँ ।  नेकपा एमालेको ११औं महाधिवेशनबाट पार्टीको पहिलो पुस्ताका नेताहरूले बिदा लिने क्रम चलिरहेको छ । १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका छन् । उनीहरूबाहेक अरू पनि पुरानो पुस्ताका नेताहरू बिदा हुनसक्छन् । अर्कातिर यही महाधिवेशनबाट केही चर्चित युवाहरूले पार्टीभित्र फरकफरक भूमिका खोजिरहेका छन् । सामाजिक सञ्जाल र युवापुस्ता माझ चर्चित केही युवा अनुहारहरु पार्टी पधादिकारी देखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सुहाङ नेम्वाङ

एमालेका पूर्वउपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ युवापुस्तामाझ चर्चित अनुहार हुन् । उनले जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘नेकपा एमालेको गौरवमय आन्दोलनलाई नयाँ पुस्तासँग जोड्नु आजको प्रमुख चुनौति र कार्यभार हो । यो ऐतिहासिक कार्यभारमा म पनि योगदान गर्न सक्छु भन्ने लागेर ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निधो गरेँ । तपाईंहरूको माया, साथ र सहयोगका लागि हार्दिक अनुरोध छ।’

वकालत पेशामा रहेका सुहाङ आफ्ना पिताको निधन भएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । ईलाम क्षेत्र नम्बर दुईका सांसद रहेका सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उम्मेद्वार बन्दै विजयी भएका थिए ।

सुनिता ढंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तमाझ चर्चित छिन् । पार्टी सदस्य नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको स्थानिय निर्वाचनमा उनलाई उपमेयरको टिकट दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह निर्वाचित भएका थिए भने सुनिता उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी पार्टीभित्र केपी ओली निकट भनेर चिनिने सुनितालाई अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका हुन् । उनले अहिलेसम्म कुनै पदमा उम्मेद्वारी दिने नदिने प्रष्ट पारेकी छैनन् ।

महेश बर्तौला

२०७९सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २मा पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गर्दै सांसद बनेपछि महेश बर्तौला चर्चामा आएका थिए । एमाले सत्तामा रहेकै बेला उनलाई अध्यक्ष ओलीले उनलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । केपी ओली निकट बर्तौला यसपटक केन्द्रीय सदस्यमा दोहोरिन सक्नेछन्।

रचना खड्का

अनेरास्ववियुको महासचिव बनेकी दोलखाकी रचना खड्का बाग्मती प्रदेश सभाकी सांसद र पार्टीको केन्द्रीय सदस्य हुन् । उनी छोटो समयका लागि प्रदेश सरकारमा मन्त्री पनि भएकी थिइन् । ईश्वर पोखरेल समूहसँग नजिक रहेकी खड्काले सचिवमा उम्मेद्वारी दिने तयारी गरिरहेकी छिन् ।

सुनिता बराल

२०७९सालको निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेकी बराल ओलीनिकट नेताका रुपमा चिनिन्छिन् । अनेरास्ववियुको राजनीतिबाट उदाएकी बरालले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउने सम्भावना छ ।

उषाकिरण तिमल्सिना

पार्टीभित्र अध्यक्ष ओलीको खरो आलोचनाका कारण निलम्बन समेत भोगेकी उषाकिरण तिम्सेना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । अनेरास्वियुको राजनीतिबाट उदाएकी तिम्सेनाले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउन चाहेकी छिन् ।

राधिका खतिवडा

विद्यार्थी राजनीतिबाटै उदाएकी राधिका खतिवडा पेशाले वकिल हुन् । गरीब तथा निमुखाका मुद्धा निशुल्क लडेर चर्चा कमाएकी खतिवडालाई एमालेवृत्तमा ‘गरीबकी वकिल’ भन्ने गरिन्छ । उनले जारी ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् । साथै, अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिने कुरामा पनि उनी खुलेरै लागेकी छिन् ।

क्षितिज थेवे

युवा संघका अध्यक्ष क्षितिज थेवे जेनजी आन्दोलनपछी चर्चामा आएका थिए । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट गुण्डु आएपछी उनको सुरक्षामा थेवे खटिएका थिए । केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारी गरिरहेका थेवे स्वभाविक रुपमा केपी ओली पक्षधर हुन्।

मेनका पछाईं

विद्यार्थी राजनीतिबाट उदाएकी कर्णालीको नेतृ मेनका पछाईं पनि यसपटक केन्द्रीय सदस्यको दौडमा छिन् । १०औं महाधिवेशनबाटै केन्द्रीय सदस्य बन्ने प्रयास गरे पनि त्यतिबेला सफल नभएका कारण अहिले भने प्रतिस्पर्धामा उत्रिने उनले प्रष्ट पारेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *