एमाले महाधिवेशन : आज यी स्थानबाट निस्कनेछ जुलुस
काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आज (शनिबार) देखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित तीन लाख मानिसहरू उपस्थित गराउने दाबी एमालेले गरेको छ । उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ । एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार टाढा–टाढा जिल्लाका सहभागीहरू गाडी रिजर्भ गरेर काठमाडौं आइसको छन् ।
‘हामीले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेका थियौं । अहिलेसम्मको आकडाअनुसार न्यूनतम तीन लाख नागरिकको सहभागिता रहने पक्कापक्की भएको छ । हामी अहिले पूर्व, पश्चिम र उत्तरतिरबाट आउने गाडीहरूको व्यवस्थापनमा काम गरिरहेका छौं,’ आचार्यले सुनाए ।
उनका अनुसार महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन् । भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ । काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ । ‘सिंगो उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुनेछ । त्यसको परिचायक पनि हाम्रो प्रदर्शन बन्नेछ,’ उनले भने, ‘हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउनेछौं ।’
एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दैछ।सल्लाघारी पश्चिमतर्फको खुला चौरलाई एमालेले उद्घाटन स्थल बनाएको छ । एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ । त्यति दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको उनले बताए । पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन्। त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।
‘ललितपुरबाट आएको गाडी, सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,’ उनले भने । पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताएका छन् । सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको पनि उनले बताएका छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।
महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।
टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ । महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए ।
महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।
