`

‘महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछ’

Nepal One HD २४ मंसिर २०८२ १३:५१
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरुले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताए । तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिष्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उनको भनाई छ । उनले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताए ।

संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उनको भनाई छ । देशमा संकट छ भने यो संकटको पछाडिको कारण के हो ? यसको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समीक्षा गर्न आवश्यक रहेको उनले बताए । उनले वर्तमान संकटको सामना गर्नका लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताए । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको उनको भनाई छ । कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उनले बताए । उनले देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे । देशका चुनौतीहरुलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उनको भनाई छ ।

उनले भने, ‘आज आम कार्यकर्ताहरु, आम जनताहरु र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको छ । आज कुनै अमुक व्यक्ति, एउटा शक्तिशाली व्यक्ति अथवा अधिकारको केन्द्रियकरण निर्णयको केन्द्रियकरण भन्दा आज सामुहिक नेतृत्व समयको माग हो । सामुहिक नेतृत्व पार्टीको आवश्यकता हो । अर्थात पार्टीभित्र छलफल बहस गर्दै सामुहिक ढंगले निष्कषमा पुग्ने र त्यसलाई कार्यन्वयन गर्नको लागि निर्णयलाई अपनत्व महसुस गरेर कार्यन्वयनमा एकताका साथ अगाडि बढ्ने परिस्थिति आज आवश्यक छ । यसरी नै पाटी अगाडी बढ्छ, यसरी नै पार्टी हामी अगाडि बढाउन चाहेका छौँ ।’

उनले भने, ‘देशभरबाट आउनु भएका प्रतिनिधि साथीहरु सार्वभौम हुनुहुन्छ, उहाँहरुले पार्टीभित्रको परिस्थितिलाई यथास्थितिमा कायम राख्नको लागि उहाँहरु आउनु भएको छैन । उहाँहरुले देशका चुनौतीहरुलाई सम्बोधन गर्नेगरी, आम जनताको अपेक्षा पूरा गर्नेगरी र संविधानमा जुन प्रकारको संकट देखापरिरहेको छ, यसलाई फेरि संवैधानिक संकटलाई समाधान गरेर खासगरि निवार्चनको माध्यमबाट, जनताको जनादेशको माध्यमबाट संविधानलाई लिगमा ल्याएर मुलकको लोकतन्त्रलाई जोगाउने, संविधानलाई जोगाउने, उपलब्धीलाई जोगाउने र नेकपा एमालेलाई समृद्ध बनाउने, एमालेलाई अग्रनी पार्टीको रुपमा स्थापित गर्नेगरि यो महाधिवेशनले भूमिका खेल्नेछ । हामी यसरी नै जान्छौँ ।’

विष्टले थपे, ‘हामीले पार्टीभित्र स्वच्छ प्रतिष्पर्धा गर्छौ, हामी पार्टीभित्र अमर्यादित ढंगले प्रतिष्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्दा संकटमा प्रतिष्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित चाहेका छैनन् कि भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजिँदैछ, संकटले परिवर्तन ल्याउने हो । संकटले नयाँ नेतृत्व निर्माण गर्ने हो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने हो । यसकारण कहि देशमा संकट छ भने यो संकटका पछाडिको कारण के हो ? यो संकटको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? यो सब चिजको हामी गम्भिरताका साथ समीक्षा गर्छौँ । यो संकटको सामना गर्नको लागि हामीले नेतृत्व रुपान्तरण गर्छौं या हस्तान्त्रण गर्छौं । नयाँ तागतका साथ पार्टीलाई एकतावद्ध गर्दै नयाँ उर्जाका साथ अगाडि बढ्छौँ ।’ उनले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गरे । ४० वर्षमुनीका युवाहरुलाई पार्टीको केन्द्रिय समितिमा ल्याउनका लागि आफूहरुले पहल गर्ने उनको भनाई छ । उनले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको पनि बताए । ११ औं महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्ने पनि उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *