एमाले महासचिवमा चार जनाको दाबी, कसले मार्ला बाजी ?
काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा महासचिव पद पार्टीभित्र सबैभन्दा पेचिलो र चर्चित विषय बनेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने लगभग निश्चित भएसँगै त्यसको प्रत्यक्ष असर महासचिवको दौडमा देखिएको हो । दुवै समूहबाट आकांक्षीहरू अगाडि सरेपछि महासचिवमा चार नेताको दाबी खुलेरै सतहमा आएको छ ।
ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवका सशक्त दाबेदारका रूपमा हेरिएका छन् । यसअघि महासचिवमै पोखरेलसँग पराजित भएका पाण्डे पछिल्लो समय भने उनकै नजिक देखिँदै आएका छन् । अर्थशास्त्रमा गहिरो पकड, वैचारिक प्रस्तुति र ‘डाटा क्यापिटालिज्म’ जस्ता विषयमा सार्वजनिक बहस उठाउँदै आएका पाण्डेलाई पार्टीभित्र बौद्धिक र नीतिगत नेताका रूपमा लिइन्छ । पोखरेल समूहले उनलाई अघि सार्ने तयारी गरिरहेको भए पनि औपचारिक घोषणा भने गरिसकेको छैन । अध्यक्ष ओली पक्षबाट भने वर्तमान महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ महासचिवको दौडमा छन् । यी तीनै जनाले आकांक्षा देखाएपछि ओलीलाई सहमति बनाउने काम झन जटिल बनेको छ । पछिल्लो एक सातायता ओली महासचिवको नाममा निष्कर्षमा पुग्न नसक्दा संस्थापन पक्षभित्रै अन्योल बढेको बताइन्छ ।
शंकर पोखरेल महासचिवमै दोहोरिन चाहन्छन् । उनी लामो समयदेखि जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता, माक्र्सवादका अध्येता र वैचारिक विश्लेषकका रूपमा परिचित छन् । सातौँ महाधिवेशनदेखि निरन्तर ओलीको साथमा रहेका पोखरेलले कहिल्यै सार्वजनिक रूपमा ओलीको आलोचना नगरेको र नेतृत्वप्रति निष्ठावान् रहेको चर्चा हुने गरेको छ । तर महासचिव पदमै रहेर गुट निर्माणमा सक्रिय भएको, संगठन परिचालन अपेक्षाअनुसार गर्न नसकेको आरोप भने पार्टीभित्रकै नेताहरूबाट लाग्दै आएको छ । निर्वाचनमा गए यस्तो आरोप पोखरेलका लागि चुनौती बन्न सक्ने विश्लेषण पनि छ ।
प्रदीप ज्ञवाली हाल पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारीमा छन् । विचार निर्माणका हिसाबले महत्वपूर्ण मानिने यो विभागको नेतृत्व गर्दै उनी पछिल्लो डेढ वर्षमा अधिकांश जिल्लामा पुगिसकेका छन् । शालीन, सन्तुलित, लेखक तथा साहित्यकार समेत रहेका ज्ञवालीलाई उद्घाटन सत्र र पछिल्ला गतिविधिले ओलीको रोजाइ नजिक देखिएको संकेतका रूपमा हेरिएको छ । त्यस्तै, पृथ्बीसुब्बा गुरुङ जनजाति समुदायबाट उदाएका प्रभावशाली नेताका रूपमा परिचित छन् । संगठन विस्तार र व्यवस्थापनमा दख्खल राख्ने गुरुङ पछिल्लो समय ओलीको सुख–दुःखमा साथ दिँदै आएका छन् । ओलीले उनलाई संरक्षण गरिरहेको संकेत देखिए पनि गुरुङले आफ्नो महासचिव दाबी छाड्ने संकेत दिएका छैनन् ।
महासचिव पोखरेललाई नै निरन्तरता दिने कि उपमहासचिवमध्येबाट नयाँ अनुहार अघि सार्ने भन्ने विषयमै ओली अहिले पनि दोधारमा छन् । पोखरेल, ज्ञवाली र गुरुङ तीनै जना लामो समयदेखि ओलीको कोर टिममा रहँदै आएका कारण कसैलाई पनि पन्छाउन ओलीलाई सजिलो छैन । अर्कोतर्फ पोखरेल समूहबाट पाण्डे बलियो दाबेदारका रूपमा उभिँदा महासचिव पद सहमतिबाट टुंग्याउने सम्भावना कमजोर हुँदै गएको देखिन्छ । यसरी अध्यक्ष पदको प्रतिष्पर्धाले तातिएको एमालेको महाधिवेशन महासचिव पदमा चार नेताको आकांक्षाले झनै रोचक र जटिल बन्दै गएको छ । सहमतिमा नेतृत्व चयन गर्ने ओलीको चाहना पूरा हुन्छ कि महासचिवमा पनि निर्वाचनको सामना गर्नुपर्छ भन्ने प्रश्नको उत्तर महाधिवेशनको अन्तिम क्षणसम्म खुलै रहने संकेत देखिएको छ ।
