`

महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन : प्रदीप ज्ञवाली

Nepal One HD २४ मंसिर २०८२ १४:२१
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विधान महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशनको उद्देश्य भिन्न भएकाले दुवै चरणमा अलग–अलग बहस हुनु पर्ने बताएका छन् ।

ज्ञवालीका अनुसार, विगतमा नीति र नेतृत्वबारे एउटै मञ्चबाट निर्णय गर्दा नीतिगत बहस ओझेलमा पर्ने, नेतृत्वको पक्षधरता हावी हुने जस्ता समस्या देखिएका थिए । उनले लेखेका छन्, ‘यही अनुभवका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन छुट्टै आयोजना गर्ने संरचना बनाएका हौं । तसर्थ, विधान महाधिवेशनमा नेतृत्व विषयक बहस र नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक हुँदैन ।’

उनले दुई महाधिवेशनबीच नीति परिमार्जन आवश्यक परे केन्द्रीय समितिलाई संशोधन गर्ने अधिकार नै महाधिवेशनले दिएको स्मरण गराएका छन् । हरेक घटनामा महाधिवेशन बोलाउनु वा महाधिवेशनको मञ्च प्रयोग गर्नु सम्भव र व्यावहारिक दुवै हुँदैन भन्ने ज्ञवालीको भनाइ छ । सातौं महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक बनेको उल्लेख गर्दै उनले सो विषय केन्द्रीय समिति बैठकमार्फत संशोधन गरिएको र त्यही बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गरेको उल्लेख गरे । ज्ञवालीले नेतृत्वमाथि गम्भीर चुनौती रहेको वर्तमान परिस्थितिमा वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि मनोवैज्ञानिक दूरी र पक्षधरताले ग्रसित वातावरणमा हुने समीक्षा निष्पक्ष नहुने तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *