एमाले महाधिवेशन : १०८ प्रतिनिधि मनोनीत
काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार ५ प्रतिशत मनोनीत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार मनोनीत गर्नेहरूको नाम भने टुंगिइसकेको छ ।
‘केही नाम प्रस्ताव भएको थियो । यी नामहरूबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवैतर्फबाट सहमतिकै आधारमा नाम टुंगो लगाइने छ ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।
‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कूल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने । विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ । महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन् । १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ ।
