कडा सुरक्षा जाँचका कारण महाधिवेशनस्थलमा प्रवेशमा ढिलाइ
काठमाडौं । भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोह कडा सुरक्षा व्यवस्थाबीच सुरु हुने तयारीमा छ । कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि व्यापक सुरक्षा जाँच गरिँदा सहभागीहरूलाई भित्र पस्न केही ढिलाइ भएको छ । बिहानैदेखि कार्यक्रमस्थलका सबै प्रवेशद्वारमा नेपाल प्रहरी परिचालन गरिएको छ । मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण र विष्फोटक पदार्थ पहिचानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको टोली सक्रिय छ । सुरक्षाकर्मीहरूले झोला जाँच, शरीर खानतलासी र उपकरणमार्फत जाँच गरेपछि मात्रै प्रवेश अनुमति दिइरहेका छन्। यही कडाइका कारण गेटमा लामो लाइन देखिएको छ ।
विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन कार्यकर्ता गाडी रिजर्भ गरेर भक्तपुर आइपुगेका छन् । गाडीमा आएका सहभागीहरूका लागि गठ्ठाघर, सानोठिमी, जगातीलगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । औपचारिक उद्घाटन समारोहअघि विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी समेत गरिएको छ, जसले महाधिवेशनस्थलको माहोल थप उत्सवमय बनाएको छ ।
शनिबार बिहान सवा ११ बजेसम्म सल्लाघारीमा चार हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन् भने आउने क्रम निरन्तर जारी छ । स्रोतका अनुसार बिहान १० बजेसम्म मात्रै काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट १४ हजारभन्दा बढी मानिस एमालेको कार्यक्रममा सहभागी हुन प्रवेश गरिसकेका थिए । काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ताहरूको आवागमन बढ्दो क्रममा छ ।
एमालेले यस महाधिवेशनमा देशभरबाट करिब दुई लाख कार्यकर्ता सहभागी हुने दाबी गर्दै आएको छ । आज मध्याह्न १२ बजेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ, त्यसअघि सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । कडा सुरक्षा, व्यापक सहभागिता र उत्साहपूर्ण वातावरणका बीच एमालेको ११ औं महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न गराउने तयारीमा पार्टी जुटेको देखिन्छ ।
