`

एमाले सचिवालय बैठक आज बस्दै, महाधिवेशन अघि यस्तो छ ओलीको योजना

Nepal One HD २६ मंसिर २०८२ ८:१३
समाचार

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरू हुनै लागेका बेला आज (शुक्रबार) दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ । महाधिवेशन उदघाटनको अघिल्लो दिन बोलाइएको बैठकमा विधान संशोधनदेखि पदाधिकारी संख्या पुनः वृद्धि गर्ने विषयलाई अध्यक्ष केपी शर्मा ओलीले मुख्य एजेण्डाका रूपमा अघि सार्ने तयारी गरेका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले विधान परिमार्जन र मनोनित प्रतिनिधि चयनलाई प्राथमिकता दिनेछ ।

एमालेले भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनमार्फत पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । त्यही समयमा स्थायी कमिटी खारेज, पोलिटब्युरो सानो बनाउने र केन्द्रीय समिति ३०१ बाट घटाएर २५१ सदस्यमा झार्ने व्यवस्था गरिएको थियो । तर महाधिवेशनमा विभिन्न पदप्रति बढ्दो आकांक्षा व्यवस्थापन गर्न कठिन भएपछि ओली फेरि पदाधिकारी संख्या १९ मा पु¥याउने निष्कर्षमा पुगेका छन् ।

अध्यक्षका प्रतिद्वन्द्वीका रूपमा सार्वजनिक भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्ष भने सो प्रस्ताव आएमा एमालेले हटाइसकेको दुई कार्यकाल सीमाको प्रावधान पुनस्र्थापित गर्न माग लैजाने तयारीमा छ । पोखरेलले सोमबार ओलीलाई अवधारणा पत्र बुझाएपछि तय भइसकेको सचिवालय बैठक तीन दिन स्थगित भएको थियो ।

यता पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार आजको बैठकले पदाधिकारी संख्या विस्तारसँगै २५१ सदस्यीय केन्द्रीय कमिटी अझै ठूलो बनाउने सम्भावनाबारे पनि छलफल गर्नेछ । साथै महाधिवेशनका १०८ मनोनित प्रतिनिधि टुंग्याउने विषय निर्णायक रूपमा पेश हुनेछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन र भृकुटीमण्डपमा बन्द सत्रसहित सुरू हुने ११औं महाधिवेशन पूर्वको यो बैठकले एमालेभित्रको आगामी सत्ता–सन्तुलन कस्तो बन्ने भन्ने संकेत दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *