`

विद्या भण्डारीलाई अपशब्द प्रयोग गर्दै ओलीले समग्र महिलाको अपमान गर्नुभयो : शाक्य

Nepal One HD २३ मंसिर २०८२ १५:५७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैं अपमान गरेको आरोप लगाएकी छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्व राष्ट्रपतिलाई पटक–पटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनै पनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भए पनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गरिन् । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनु पर्ने बताइन् ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता नभएको उनको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्व राष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएकी थिइन् । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘एउटा पूर्व राष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ । सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ ।’

उनले भनिन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नु पर्छ। यस्तो नेतृत्व अवको आवश्यकता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यकता होइन । महिलालाई अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनु पर्छ, उठ्नु पर्छ ।’ उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन्। उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन् । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने बताइन् । ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको भनाई छ ।

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *