चुनाव नलड्ने अष्टलक्ष्मीको घोषणा : आफू विना पार्टी चल्दैन भन्ने भ्रम त्यागौं
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव लड्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ उनले भनिन्, ‘विधि र विधान सम्मत चलौं, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔं, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’
आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ । यसअघि एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । उनले आफू ७० वर्ष उमेर पुगिसकेकाले एमालेको ११औं महाधिवेशनको बन्द सत्रस्थल भृकुटीमण्डपबाट उनले सक्रिय राजनीति छोड्ने घोषणा गरेका हुन् । २०२६ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय ज्ञवाली पार्टीमा शालिन व्यक्तित्व भएका वैचारिक नेताका रुपमा चिनिन्छन् ।
