भृकुटीमण्डपमा एमाले प्रतिनिधिको चहलपहल, सुरक्षा कडाइ (तस्वीरहरु)
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेतादेखि प्रतिनिधिसम्मको बाक्लो चहलपहल देखिएको छ । भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबार भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
पूर्व निर्धारित समयभन्दा बन्द सत्र केही ढिलाइ हुने भएको छ । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी तथा केन्द्रीय कमिटी बैठकका कारण बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र निर्धारित समयभन्दा पछि मात्र सुरु हुनेछ । बन्द सत्रअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्ने तय भएकाले सत्र सवा १२ बजेपछि सुरु हुने जनाइएको छ ।
सुरक्षालाई विशेष प्राथमिकता दिँदै भृकुटीमण्डप क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ । बन्द सत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । त्यसका अतिरिक्त एमालेले आफ्नै स्वयंसेवक दस्ता समेत खटाएको छ । सुरक्षा कारण भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ भने महाधिवेशनमा सहभागी बाहेक अन्य व्यक्तिलाई भृकुटीमण्डपभित्र प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनका कारण सार्वजनिक सडक अवरुद्ध नहुने जनाइएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपमा प्रवेश गर्ने सवारी बाहेक अन्य सडकमा कुनै अवरोध छैन । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका सवारी साधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको छ ।
बन्द सत्र सुरु हुनुअघि नै भृकुटीमण्डप परिसरमा प्रतिनिधिहरूको उपस्थिति बाक्लिँदै गएको छ । देशभरबाट आएका प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डप पुगेका छन् । नेताहरूले प्रतिनिधिहरूलाई आ–आफ्ना राजनीतिक दस्तावेज, प्रचार सामग्री तथा सन्देशहरू वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरू प्रचारप्रसार र आन्तरिक छलफलमा सक्रिय देखिएका छन् ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै एमालेले सोमबार महाधिवेशन समापन गर्ने तयारी गरेको छ । यस पटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन् । बन्दसत्रमा नेतृत्व चयन, नीति तथा कार्यक्रम र संगठनात्मक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

