`

ओलीले पञ्चायतको गाउँ फर्क शैलीमा महाविधेशन गर्न खोजिरहेका छन् : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनकाअनुसार २०३२ सालमा पञ्चायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही व्यवस्थलाई ओलीले अहिले पार्टीमा लागू गरेको उनको आरोप छ ।

उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताए । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गरे । पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेर हद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे । आठौं महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उनको भनाई छ।

१० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाए । नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए । पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनता माझ एमाले खुम्चिँदै गएको उल्लेख गरे । नेतृत्व चयनमा प्रतिष्पर्धा नहुने र माथिबाट तोकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दाबी छ । चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने ? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए ।

उनले भने, ‘उहाँ आफै (केपी ओली) ले अगुवाई गरेर नेतृत्वको लोकतान्त्रिकरण कसरी गर्ने, पार्टीको लोकतान्त्रिकरण कसरी गर्ने भनेर दुई पटक र ७० वर्षको कुरा उहाँकै प्रस्तावमा, उहाँ नै कार्यदलको संयोजक भएर पारित भएको हो । आठौँ महाधिवेशनमा हामीले सर्वसम्वत रुपमा पारित गरेर त्यसपछि निर्वाचन पनि हामीले एकदमै लोकतान्त्रिक ढंगले गर्‍यौँ । ९ औँ मा भयो, १० औँ मा गएपछि उहाँले के भन्नुभयो भने पहिला को उठ्न पाउँछ, त्यो मात्रै मान्छेले उठ्न पाउने, एउटा लिष्ट पास गर्ने र ती लिष्टमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने । यो त गाउँ फर्क शैली होइन र ?’

उनले भने, ‘२०३२ सालमा गाउँ फर्क लागू भएपछि यही कुरा गरेको थियो । गाउँ फर्कले टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे । अरुले लड्न पाउँदैनथे । अहिले उहाँले के व्याख्या गरिरहनु भएको छ भने कहाँ पूर्वको मान्छेलाई पश्चिमको मान्छेले चिन्छ, दार्चुलाको मान्छेलाई ताप्लेजुङकोले कसरी चिन्ने ? त्यो त नेताले मात्रै चिन्न सक्छ । त्यसकारण नेताले चिनेको मान्छेलाई सबैले भोट हाल्नुपर्छ । यो लोकतान्त्रिक विधि भयो र ? उहाँले धेरै पटक बोल्नु भएको छ । यस्तो विधिबाट पार्टी लोकतान्त्रिक हुँदैन । अझ उल्टो के भने लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीको रुपमा रुपान्तरित गर्ने जुन किसिमको परिस्थिति बन्दैछ, यसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आईसोलेशनमा जाने अवस्था देखा पर्दैछ । विस्तार भएर जानुपर्ने, नवपुस्ताको बीचमा पार्टी विस्तार हुँदै जानुपर्नेमा पनि नवपुस्ताले पनि भन्न थाले चुनाव नहुने पार्टीमा किन जाने आउने ? प्रतिष्पर्धा नहुने पार्टीमा किन आउने ? तोकुवा माथिबाट लिस्ट बेच्ने पार्टीमा किन आउने ? जहाँ हाम्रो कुनै सम्भावना छैन ।’ उनले कानूनमा नै राजनीतिक दलमा एक पटक भन्दा बढी नेतृत्व गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । पुरानामा मात्रै नभएर नयाँ राजनीतिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताए ।

एउटा व्यक्ति दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने कानुन ल्याउनु पर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै लेख्नुपर्ने बताएका छन् । आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना र नयाँ दल दुवैमा दुई पटकभन्दा बढी अध्यक्ष हुन चाहने अवस्था रहेको भन्दै कानुनमै नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेसनमा जाने अवस्था देखा पर्दैछ ।’ नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न पाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउने सम्भावना नरहेको उनले बताए ।

उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस गर्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जबज र आफूले भनेको जबज फरक रहेको धारणा राखे । पाण्डेले जबजको प्रष्ट बुझाउन आफूहरु सक्रिय रहेको बताए । उनले नयाँ पुस्ताको बीचमा पार्टी जानुपर्नेमा सीमित नेताको हातबाट पार्टी सञ्चालन भइरहेको आरोप लगाए । ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा एमालेका नेताहरूमा ध्रुवीकरण बढेको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई टक्कर दिन संस्थापनइतर पक्षका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईसहितका पदाधिकारीहरू सहभागी थिए ।

 

ओलीले विदा लिँदा सम्मान पनि बढ्छ : कर्ण थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने दावी गरे ।

‘केन्द्रीय कमिटीका बैठक भनेको उहाँ उभिने, भाषण गर्ने,’ थापाले भने, ‘भाषण जति मन लाग्छ त्यति गर्ने । जे मन लाग्छ त्यो कुरा भन्ने । उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज । उहाँले भनेको कुरा निर्णय । जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन । द्वन्द्ववादसँग पनि मेल खाँदैन । माक्र्सवादसँग पनि मेल खाँदैन ।’

थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेको बताउँदै अब परिवर्तन आवश्यक रहेको बताएका छन् । ‘हामी बहस गर्न चाहन्छौं । तर्क–वितर्क गर्न चाहन्छौं । देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं,’ उनले भने । उनले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जाने भन्दै ओलीले विदा लिनुपर्ने बताएका छन् । ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यलाई अगाडि बढाउनु पर्नेछ, सामुहिक नेतृत्व प्रणालीमा जाने र मूल्यांकनको सही परिपाटी स्थापित गर्ने,’ थापाले थपे, ‘यी कुरा बुझेर उहाँले विदा लिनुपर्छ । उहाँ विदा हुनुभयो भने उहाँको सम्मान पनि बढ्ने छ ।’

कसरी मिल्यो एमाले धनकुटा र ओखलढुङ्गाको महाधिवेशन प्रतिनिधि छनौंट विवाद ?

विराटनगर । नेकपा एमालेको धनकुटा र ओखलढुङ्गामा देखिएको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद अन्ततः नेतृत्वको सक्रियतामा समाधान भएको छ । दुवै जिल्लामा एकपक्षीय प्रक्रिया, असन्तुष्टि र बहिष्कारका कारण उत्पन्न विवादलाई संगठन विभाग र प्रदेश नेतृत्वले समन्वय गरी सहमतिमै प्रतिनिधि छनोट गरेको घोषणा गरिएको हो ।

धनकुटामा केही बुथमा तोडफोड र मतपत्र च्याताच्यात समेत भएपछि विवाद चुलिएको थियो । राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिष्पर्धा देखिए पनि संगठन विभागको निर्देशनपछि कोशी प्रदेश इन्चार्ज शेरधन राई र केन्दीय सदस्य राजेन्द्र राईको सहमतिमूलक पहल सफल बनेको हो । सोही अनुसार धनकुटाबाट खुल्लातर्फ निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

त्यसैगरी युवा, दलित र महिला तर्फबाट क्रमशः सरोज राई, नैन रुचाल, तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन् । साथै जिल्लाका दुई वरिष्ठ नेतालाई मनोनीत गर्ने सहमति पनि भएको छ । यसअघि प्रतिनिधि बनेका शान्तिराम गौतम र अर्जुन छाराहाङको स्थानमा यसपटक निरेन तामाङ र मनोज राई समावेश गरिएका छन् ।

यस्तै ओखलढुङ्गामा पनि एकपक्षीय घोषणा र पदाधिकारीबीचको मतभेदका कारण विवाद उत्पन्न भएपछि संगठन विभागले प्रक्रिया बदर गरी पाँच दिनभित्र सहमतिबाट वा पालिकास्तरमा चुनावमार्फत प्रतिनिधि चयन गर्न कार्यदल तोकेको थियो । कोशी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराई, जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारी सम्मिलित कार्यदलको निरन्तर छलफलपछि प्रतिनिधि छनोट सर्वसम्मत बनेको छ ।

बहिष्कार गरेको पक्षलाई चार प्रतिनिधि समावेश गर्दै कुल १२ जनाको सूची अन्तिम गरिएको छ । सहमतिअनुसार पूर्व जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारी प्रतिनिधिमा परेका छन् । साथै जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे यसअघि नै प्रस्तावित सूचीबाट कायम गरिएको छ । दुवै जिल्लामा उत्पन्न विवाद समाधान भएसँगै महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा टुंगिएको नेतृत्वले जनाएको छ ।

 

महाधिवेशन प्रतिनिधिहरुसँग ओली : अनावश्यक बहकाउमा नलाग्नुस्

काठमाडौं । नेकपा एमालेका महाधिवेशनका लागि रामेछापबाट छनोट भएका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले आइतबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर ओलीलाई भेटेका हुन् ।

भेटमा रामेछाप भूगोल भएका केन्द्र, प्रदेश तथा जिल्लाका प्रतिनिधिको सहभागिता थियो । भेटमा ओलीले प्रतिनिधिहरूलाई अनावश्यक बहकाउमा नलाग्न आग्रह गरेका छन् । उनले सहमतिबाट नै नेतृत्व चयनको लागि प्रयास भइरहेको बताउँदै महाधिवेशन बाहिर चर्चा गरिएजस्तो तिक्ततापूर्ण प्रतिस्पर्धा नहुने दाबी गरेका ओलीसँगको भेटमा सहभागी एमाले बागमती प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।

भेटका क्रममा नेताहरूले अध्यक्ष ओलीलाई जिल्लाको वस्तुस्थिति बारे संक्षिप्त जानकारी गराएका थिए । अध्यक्ष ओलीलाई भेट्न पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाई, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल तथा जिल्लाबाट प्रतिनिधि छानिएका नेताहरू गुण्डु पुगेका हुन् । एमालेको महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिष्र्धा हुने चर्चा छ । पोखरेल पक्षमा पूर्व राष्ट्रपति विद्या भण्डारी समेत खुलेपछि ओलीले महाधिवेशन प्रतिनिधिलाई आफूतिर आकर्षित गर्न विभिन्न प्रयास गरिरहेका छन् ।

ओली कुटीबारे महेश बस्नेत : ओली जोगी होइनन्, नामाकरणमा टाउको नदुखाउनुस्

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ बारे भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बस्नेतकै पहलमा नयाँ घर निर्माण गर्न लागिएको तर त्यसलाई कुटी नामाकरण गरेर भव्य बंगाला बनाउन लागिएको भन्दै भइरहेको आलोचनाप्रति बस्नेतले टाउको नदुखाउन भनेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो । उहाँ त्यसको अध्यक्ष हो । केपी ओलीका लागि २–३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङग्य हो भने—ब्यङग्य गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ । त्यसैले कृपया टाउको नदुखाउनुहोस् । कुटी वा आश्रम जे भने पनि त्यो नामाकरण मात्रै भएको त्यसलाई व्यंग्य गर्न नहुने टिप्पणी गरेका छन् ।

‘उनले थप लेखेका छन् । कुटी भन्नुस वा ‘आश्रम’ यी त नामाङ्कन मात्रै हुन् । हिजो नेकपा फुटाएर एमाले सके भनेर केपी ओली ‘बार्दली गए’ भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो । आज फेरि ‘राजनीतिबाट कुटी पुगे’ भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ । जेनजी आन्दोलनपछि ओलीको भक्तपुरको बालकोटस्थित निजी निवास क्षति भएपछि भक्तपुरकै गुण्डुमा ओलीका लागि ‘ओली कुटी’ निर्माण गर्न लागिएको छ । उक्त कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले बिहीबार मात्रै गरेकी थिइन् ।

 

ओलीको आरोप : प्रधानमन्त्री र छानबिन आयोग जसरी पनि मलाई पक्रिन लागिपरेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की र जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोग दुवै संवैधानिक सीमाभन्दा बाहिर गएर काम गरेको गम्भीर आरोप लगाएका छन् । नवयुग ई–बुलेटिनको शुभारम्भ समारोहमा बोल्दै उनले आफू र आफ्ना सहकर्मीविरुद्ध राज्य संयन्त्रलाई प्रयोग गर्न खोजिएको दाबी गरे ।

ओलीका अनुसार प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण निवारण विभागका शीर्ष अधिकारीलाई आफूलाई पक्राउ गर्ने उद्देश्यसहित मुद्दा दायर गर्न दबाब दिएका थिए । ‘विभागका प्रमुखलाई बोलाएर मुद्दा बनाऊ, प्रमाण निकाल, समात्नै पर्छ भनेर निर्देशन दिइयो,’ ओलीले आरोप लगाए, ‘तर उनले यस्तो आधारहीन काम गर्न सक्दिनँ भनेपछि तुरुन्तै हटाइयो र अर्को व्यक्तिलाई ल्याइयो ।’ सरकारले हालै गरेका राजदूत फिर्ता र अध्यादेश जारी गर्ने निर्णयहरू पनि प्रधानमन्त्रीको भूमिका सीमाभन्दा बाहिर गएको प्रमाण भएको ओलीको टिप्पणी थियो । उनले सरकारले पाएको काममा मात्र केन्द्रित हुनुपर्ने बताए ।

उता, जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोगलाई ओलीले अझ कडा भाषामा आलोचना गरे । उनका अनुसार आयोग तथ्य संकलनभन्दा बयान ‘मिलाउने’ काममा लागेको छ । च्यासलमा आयोजित कार्यक्रममा उनले आयोगका पदाधिकारी ४ दिनअघि ‘सहिद तथा घाइते परिवार’ को नाममा खोलिएको कार्यालयमै पुगेको र त्यहाँ २७ बुँदे प्रश्नावलीसहित ‘कोचिङ’ गरेको दाबी गरे ।

‘आयोगका पदाधिकारीहरू त्यहाँ गएर यसरी भन्नू, यस्तो देख्यौं भन्नू, फलानालाई समाउनै पर्छ, थुन्नु पर्छ भन्नू भनेर सिकाइरहेका थिए,’ ओलीले आरोप लगाए, ‘यस्तो राजनीतिकृत बयान तयार पारेर आयोगले निष्पक्षता गुमाएको छ ।’ ओलीले सहिद परिवारको नाममा विभिन्न समूहले राजनीति गर्ने गरेको उल्लेख गर्दै आयोग स्वयम् त्यस्ता समूहको प्रभावमा पुगेको गुनासो गरे । उनका अनुसार आयोगले अगाडि सारेको कार्यशैलीले निष्पक्ष छानबिनभन्दा आरोप लगाउने वातावरण बनाउँदै लगेको छ ।

पार्टीमा एकताको खाँचो छ, ओलीकै नेतृत्व स्वीकारौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र प्रतिष्पर्धाभन्दा एकता जरुरी रहेको बताएका छन् । उनले ११औं महाधिवेशनपछि एमाले अझ सुदृढ र एकताबद्ध भएर अघि बढ्ने दाबी गरे ।

पार्टीको ‘नवयुग ई–बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै पोखरेलले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोहलाई महाधिवेशनको उत्सव मात्र नभई प्रतिगमनविरुद्धको जनपरिचालनको रूपमा प्रस्तुत गर्ने तयारी गरिएको बताए । उनले सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण कार्यकर्तालाई अपिल पनि गरे।

उनका अनुसार एमाले मात्रै देशको विकासका लागि आवश्यक योजना बनाउन सक्षम शक्ति हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी प्रहार कुनै व्यक्तिगत विषय नभई एमालेको नीति, विचारधारा र नेपालको राष्ट्रिय हितविरुद्धको आक्रमण भएको उनको तर्क थियो ।

महासचिव पोखरेलले राष्ट्रिय राजनीति आज पनि एमाले र अध्यक्ष ओलीकै वरिपरि केन्द्रित रहेको उल्लेख गर्दै आउँदो महाधिवेशनले ओलीलाई पुनः अध्यक्ष चयन गर्ने विश्वास व्यक्त गरे । अध्यक्षमा प्रतिष्पर्धाको तयारी गरिरहेको भनिएको समूहलाई उदगृत गर्दै उनले अहिलेको आवश्यकता प्रतिष्पर्धा नभई एकता भएको स्पष्ट पारे । पोखरेलले पार्टीभित्र सबैलाई ओलीको नेतृत्वमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

महेश बस्नेतको दाबी : ओलीलाई हराउन खोज्नु मनको लड्डु घिउसँग खानु जस्तै हो

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले झापामा कसैले पनि अध्यक्ष केपी शर्मा ओलीलाई हराउन नसक्ने दाबी गरेका छन् । आज (शनिबार) फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।

‘अहिले केपी ओली ज्यूलाई आउँदो चुनावमा हराउने भनेर केही तत्व लागिपरेका देखिन्छन्,’ बस्नेतले लेखेका छन्, ‘तर उनीहरूको प्रयास माखो मार्नेवाला छैन् । यो सबै मनको लड्डु घिउसँग खानु जस्तै कुरा हो !’ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–५को अन्तिम मत परिणाम उल्लेख गर्दै उनले ओलीले उक्त निर्वाचनमा ऐतिहासिक मतान्तरसहित विजयी भएको तथ्य नै पर्याप्त रहेको दाबी गरे ।

‘उहाँले ५२ हजार ३१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई हराउनु भएको थियो । अधिकारीले २३ हजार ७४३ मत मात्र पाएका थिए,’ उनले अगाडि लेखेका छन् । यो परिणाम कुनै संयोग मात्रै नभएको बस्नेत ठहर छ । उनले अगाडि भनेका छन्, ‘यो झापाका जनताले विकास, स्थिरता र राष्ट्र निर्माणप्रतिको ओलीप्रतिको गहिरो विश्वासको प्रष्ट प्रमाण हो ।’

 

‘मधेशमा कांग्रेस–एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा सरोज र श्रीकृष्णले तोडे’

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मधेशमा कांग्रेस र एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा तोडिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सरोज यादव र श्रीकृष्ण यादवले त्यो धारणा तोडेको पोखरेलले बताएका हुन् । नेपाली राजनीतिमा देखिएको यो परिवर्तन सकारात्मक र स्वागतयोग्य रहेको उनको भनाइ छ ।

‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए’ उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ । मधेसी जनताको जनादेश अनुरूपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो ।’

 

 

देउवा भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् । देउवा निवास महाराजगञ्जमा केहीबेरअघि ओली पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता जारी छ । जेनजी आन्दोलनपछि दुई नेताहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच साढे ३ बजे भेटवार्ता गर्ने गरी कार्यक्रम तय गरिएको थियो । स्रोतका अनुसार अहिले देउवा निवासमै दुवै शीर्ष नेताबीच भेटवार्ता जारी छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच औपचारिक भेटघाट भएको थिएन । त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी कायम थियो ।

यसैबीच, आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको बेला शीर्ष नेताहरूको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन रणनीति तथा सहयोगसम्बन्धी विषयमा छलफल हुने बताइएको छ । भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा उनमाथि आक्रमण भएको थियो । उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किसकेका छन् । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । ओली–देउवाबीचको भेटमा यो विषयमा समेत कुराकानी हुनसक्ने अनुमान गरिएको छ ।

एमालेमा ओलीको विकल्प छैन : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिष्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन् । नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ ।’ अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए ।

विधानलाई संशोधन गरेर भए पनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए । उनले भने, ‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नु भएको छ । पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन । त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ ।’

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्वपूर्ण योगदान रहेको बताए । उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे । अहिलेको महाधिवेशनमा प्रतिष्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।

जेन–जी आन्दोलन प्रतिक्रान्ति हो : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जेन–जी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले जनताद्वारा जनताको निम्ति जेन–जी आन्दोलन नभएको बताए । उनले भने, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो । यो परिघटनालाई हेर्दा दुई तिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’

उनले आफूहरूले राजाको हातबाट जनताको हातमा सत्ता ल्याउनको लागि ०६२/६३ को आन्दोलन गरेको स्मरण गरे । प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको बादलले आरोप लगाए । उनले भने, ‘लोकतन्त्र स्थापना गर्न लागेका सबै राजनीतिक दलहरूको नेतृत्व विस्थापित गरेर प्रतिक्रान्तिलाई स्थापित गर्ने षड्यन्त्र अहिले भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूलाई सिध्याएर मात्रै प्रतिक्रान्तिलाई वैधानिकता दिने प्रयास हुँदैन ।’ निर्वाचनबाट जेलेन्सकीहरूको सरकार बनाउने प्रयास भइरहेको पनि बताएका छन् । अहिलेको समस्याको निकास संसद् पुनस्र्थापना नभएको बादलको भनाइ छ ।

 

 

ओली र पोखरेलबीच तीन घण्टा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज (बिहीबार) तीन घण्टा लामो भेटवार्ता गरेका छन् । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए ।

उपाध्यक्ष पोखरेलले यसअघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । महाधिवेशनको पूर्वसन्ध्या भएको यस भेटवार्तालाई चासोका साथ हेरिएको छ । बैठकमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

अहिले दुवै पक्ष टिम बनाउन सक्रिय बनेका छन् । ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केही नेता खुलेर साथ नदिँदा दुई समूहका अनुहारहरू प्रष्ट नदेखिएको स्रोतको भनाइ छ । यसअघि एक कार्यक्रममा ओलीले ‘आफूले नाम पढेर सुनाएपछि महाधिवेशन सकिने’ टिप्पणी गरेका थिए । पोखरेलको टिम भने पूर्वराष्ट्रपति विद्या भण्डारीको सपोर्टमा ओलीलाई चुनौती दिने तयारीमा छन् । मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने महाधिवशेनका लागि एमालेले मंसिर १३ गते देशभरका प्रतिनिधि छानेको थियो । प्रतिनिधि छनोटको काम सकिएसँगै एमाले नेता–कार्यकर्ताहरु आन्तरिक जोड घटाउमा व्यस्त छन् ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का जस्तै भइसकेको छ । ओली पक्षले प्रचार सामग्री (पोस्टर) मा ओलीको तस्बिर राख्दै ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ नारा तय गरेको छ भने पोखरेल पक्षले जबज प्रणेता दिवंगत मदन भण्डारीको तस्बिर पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा तय गरेको छ । ओली समूहको प्यानल बनेपछि मात्र आफ्नो प्यानल बनाउने पोखरेल समूहको रणनीति देखिन्छ । त्यसो गर्दा ओली पक्षका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्न सकिने पोखरेल पक्षको विश्वास छ ।

पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समूह र विगतको नेकपाका १० बुँदे पक्षधर नेताहरुले साथ दिने देखिएको छ । पोखरेल पक्षले सुन्धारास्थित एक होटल र थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयलाई सम्पर्क स्थल बनाएर निकटका नेता, कार्यकर्ता र प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरिरहेकव ओलीले भने अस्थायी निवास भक्तपुरको गुण्डुमै अधिकांश भेटघाट गर्ने गरेका छन् । आफू निकट नेताहरुसँगको भेटमा ओलीले छनोट भएका प्रतिनिधिहरुमध्ये ८० देखि ८५ प्रतिशत आफ्नो पक्षमा रहेको सुनाउने गरेका छन् । महाधिवेशनमा करिब २२ सय हाराहारी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

 

 

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग हुने, टेण्डर आह्वान

काठमाडौं । नेकपा एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यस पटक पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने जानकारी दिए । एमालेले यसअघि चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गरेको थियो । ‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरेका छौँ’ ज्ञवालीले भने, ‘टेन्डर आह्वान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।’

महाधिवेशनले यस पटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्नेछ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी संख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।

ओलीको टिमबाट शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने

काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए । उनले सुनाए, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकाले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’

उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरेका छन् । तपाईको उम्मेदवारी उपमहासचिवमा नै रहन्छ कि दाबी मात्रै हो भन्ने जिज्ञासामा उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौं महाधिवेशनसम्म के हुन्छ ।’ सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्री समेत भइसकेका छन् ।

कुलमानलक्षित शंकरको कटाक्ष : उज्यालो नेपाल एउटाको योजना, जस अर्कोले पायो, पार्टी तेस्रोले खोले

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय कसलाई जाने भन्ने बहस फेरि चर्किएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएको टिप्पणीले फेरि चर्चा थपेको हो । बुधबार औपचारिक रूपमा घोषणा गरिएको उज्यालो नेपाल पार्टीलाई लक्षित गर्दै पोखरेलले ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले र पार्टी खोल्यो तेस्रोले’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले योजनाको श्रेय अरूले लिएको र उपलब्धिको आधारमा अरूले राजनीतिक लाभ उठाएको आरोप लगाउँदै ‘वास्तविक श्रेय पाउनुपर्ने पक्षलाई कहिले सम्मान गरिने हो ?’ भनेर प्रश्न समेत उठाए । पोखरेलले नाम नलिएको भए पनि उनको टिप्पणी माओवादी केन्द्र र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङतर्फ संकेत भएको बुझिन्छ । लोडसेडिङ अन्त्यमा घिसिङको भूमिकालाई व्यापक रूपमा स्वीकार गरिन्छ भने माओवादी केन्द्रले पनि आफ्नो सरकारकालको पहललाई श्रेय दिने गरेको छ । तर, पोखरेलले एमालेकै योजनाबाट लोडसेडिङ अन्त्यको शुरुवात भएको बताए ।

उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् । पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनु भयो ।’

अधिवक्ता सुलभ खरेल एमालेको रिटमा नियुक्त नभएको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित केही समाचार असत्य रहेको भन्दै औपचारिक रूपमा खण्डन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा अधिवक्ता सुलभ खरेल बहसका क्रममा ‘‘न्यायाधीशको प्रश्नले इजलासमै ढलेकै’ दाबी गर्दै प्रकाशित खबरहरू पूर्णरूपमा भ्रमपूर्ण भएको नेता बर्तौलाको भनाइ छ ।

बर्तौलाका अनुसार अधिवक्ता सुलभ खरेललाई एमालेले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आफ्नो तर्फबाट बहसका लागि अधिवक्ता नियुक्त नै गरेको थिएन । उनले भनेका छन्, ‘खरेल ज्यूलाई यस रिटमा पेशीका अधिवक्ता बनाइएको थिएन, त्यसैले अनलाइनहरूमा लेखिएझैं उनी एमालेको तर्फबाट बहसका क्रममा ढले भन्ने कुरा वास्तविकतासँग मेल खाँदैन ।’

नेता बर्तौलाले स्पष्ट पारेअनुसार, सुलभ खरेल सो दिन संवैधानिक इजलासमा उपस्थित भए पनि उनी पूणरूपमा अर्को मुद्दाको बहसका क्रममा मात्र इजलासमा आएका थिए । उनले सम्बन्धित आफ्नै मुद्दाको बहस सकेपछि मात्रै एमालेको तर्फबाट दायर गरिएको रिटको बहस सुरु भएको थियो । बर्तौलाले तथ्यविपरीत प्रचार गरिएका समाचारले व्यक्तिको पेशागत प्रतिष्ठामा आघात पुग्ने भएकाले यथाशीघ्र सो समाचार सच्याउन सञ्चारमाध्यमहरू समक्ष आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अनलाइनमा देखिएका भ्रामक विवरणहरूले वास्तविक कार्यवाही र नियुक्तिबारे गलत बुझाइ फैलाएको छ । त्यसैले सत्यतथ्यको सम्मान गर्दै सञ्चारमाध्यमहरूले परिमार्जन तथा सच्याइएको समाचार प्रकाशन गर्नु आवश्यक छ ।’ एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटको बहस संवैधानिक इजलासमा निरन्तर चलिरहेको छ र पार्टीका आधिकारिक अधिवक्ताहरू निर्धारित क्रमअनुसार बहस गर्दै आएका छन् ।

एमाले जेनजी पुस्ताको रियल लिडर हो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाकाविरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे । एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उनको भनाई थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे ।

उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा, उनीहरुका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु ।’ उनले भने, ‘जहाँसम्म भदौ २३, २४ को सन्दर्भ छ । २३ गते जेनजीहरु जुन माग र मुद्दामा आएका थिए । उनीहरुले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौैं । सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरुको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीहरुले माग राखेका होइनन् । उनीहरुको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनु पर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरुको ।’ उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन् । उनले एमालेलाई अधिनायकवादी र निरंकुश छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन । हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौं । अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौं । नीतिको महाधिवेशन गरिसक्यौं ।’ उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए । उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नु भयो, म मात्रै बोल्छु भन्नु भयो भन्ने खालको कुराको सान्दर्भिकता छैन ।’

उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्वहिन ठानेको बताए । आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए । उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन । मेरो ट्रयाक रेकर्ड हेर्दा हुन्छ । मलाई यो चिज चाहियो भनेको छैन । त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ । मलाई किङमेकर भनेर तपाईहरूले बोक्न नसक्ने तक्मा दिनुभयो । मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस् ।’ उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए । अहिले एमालेभित्र कुनै संकट नरहेको बताए । पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे । ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ ।

 

 

विष्णु पौडेलको दावी : एमाले एक्लिँदैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको जिकिर गरे । उनले भने, ‘जनताले स्वीकार्दासम्म हामी एक्लिँयौं, अलग भयौं भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ ।’

उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको दाबी गरे । ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने । उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरेका छन् । संविधानलाई ट्रयाकमा ल्याउनको लागि संसद् पुनस्र्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।


 

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिट आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा मुद्दा सुनुवाइ हुने कार्यक्रम छ।

विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते दायर गरेको रिट आज दिनको अन्तिम सुनुवाइको क्रममा राखिएको छ। क्रम संख्या ‘छ’ मा परेकोले अन्य सबै मुद्दा टुंगिएपछि मात्र यसमा बहस सुरु हुनेछ। एमालेले रिटमार्फत सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति नै असंवैधानिक भएको दाबी गरेको छ । संविधानको धारा ७६ र १३२ (२) अनुसार प्रतिनिधि सभा सदस्य नभएको तथा सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश रहेको व्यक्तिलाई प्रधानमन्त्री बन्न रोकिएको तर्क रिटमा उल्लेख छ। कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको भदौ २७ गतेको निर्णय, शपथ ग्रहण तथा त्यसपछिका सबै नियुक्ति र कार्यहरू बदर गर्न माग गरिएको छ।

रिटमा अहिलेको सरकारले गरेका सम्पूर्ण निर्णय, कार्यविधि र नियुक्तिहरू कानुनी आधारविहीन ठहरिने दाबी गर्दै एमालेले ‘गैरकानुनी सरकार’का नाताले सबै कार्य शून्य हुने माग राखेको छ। साथै प्रधानमन्त्री कार्कीको निर्णयमा भएको प्रतिनिधि सभा विघटनलाई उल्ट्याई तत्काल संसद पुनर्स्थापना गर्न आदेश जारी गराउन आग्रह गरिएको छ।

‘भदौ २४ गतेपछि भएको समयलाई शून्य अवधि घोषित गरी प्रतिनिधि सभा पुनर्स्थापना गरियोस् र सो दिन कायम रहेका राज्यका सबै अंगहरू पूर्ववत् रूपमा सञ्चालनमा रहून्,’ रिटमा उल्लेख छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि परमादेश जारी गर्न तथा प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बैठक बोलाउन सभामुख र संसद सचिवालयका नाममा पनि आदेश दिन माग गरिएको छ।

कुलमानको चुनाव चिह्नबारे ओलीको कटाक्ष : फ्युज गएको चिम

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिक अवस्था सुधार्नु पर्ने बताएका छन् । एमालेको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा राजनीतिक मुहान बिग्रिएको बताएका छन् ।

उनले उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गर्दै भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ । ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम । कति साह्रो नेपाली जनतालाई यस्ता यस्ता अवस्थाबाट गुज्रिरहेका छौं । यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ ।’

ओलीले अहिलेको सरकारले देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा र आगजनी फैलाएको टिप्पणी गरे। देशलाई सही ट्रयाकमा फर्काउन संसद् पुनर्स्थापनाको विकल्प नभएको पनि दोहोर्‍याएका छन् । उनले भने, ‘अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनरीबाट ’सत्य’ भन्ने शब्द डिलिट गर्नुपर्छ ।’

कुलमान र रामेश्वरबीच पाँच अर्बको ‘सेटिङ’ रहेको महेशको आरोप

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा अकल्पनीयस्तरको नीतिगत भ्रष्टाचारको तयारी भइरहेको आरोप लगाएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत बस्नेतले पाँच हजार मेगावाट विद्युत् खरिद सम्झौताका नाममा करिब पाँच अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेल गर्न खोजिएको दाबी गरेका हुन् ।

बस्नेतका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ‘टेक अर पे’ मोडेलमा पीपीए गराउने, र त्यसवापत प्रवद्र्धकसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाउने सिन्डिकेट जस्तो योजना बनाइएको छ । उनले भने, ‘अहिले प्रवद्र्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीए गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी छ ।’

बस्नेतलेका अनुसार अघिल्लो सरकारले बजेट वक्तव्यमार्फत नै ‘टेक अर पे’ मोडेलमा पीपीए नगर्ने स्पष्ट नीति लिएको थियो । बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजारको सुनिश्चितता नभएको र ‘रन अफ दि रिभर’ आयोजनाको बाहुल्यताले ऊर्जा सुरक्षामा जोखिम बढेको भन्दै उक्त नीति रोकिएको उनले बताए ।

साथै, सुक्खायाममा बिजुली अभाव हुने तर वर्षायाममा खेर जाने अवस्था र नेपाल विद्युत प्राधिकरणको कमजोर वित्तीय स्वास्थ्यका कारण प्राधिकरणलाई थप भार नपार्न यस्तो निर्णय गरिएको उनको भनाइ छ । यी सबै कारणलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणलाई थप वित्तीय भार नपरोस् भनेर नीति रोकिने निर्णय गरिएको थियो । प्रस्तावित ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएको मुख्य उद्देश्य चुनावी खर्च जुटाउने रहेको बस्नेतको आरोप छ ।

उनले भनेका छन्, ‘पाँच हजार मेगावाटमा प्रतिमेगावाट १० लाख उठाउने हिसाबले ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।’ यो सेटिङ पूरा भएपछि मात्रै ऊर्जा मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने योजना भएको पनि उनको भनाई छ । बस्नेतले यस्तो निर्णय कार्यान्वयन भए ऊर्जा क्षेत्र मात्र होइन, नेपाल विद्युत प्राधिकरण नै आर्थिक रूपमा धरासायी हुने गम्भीर चेतावनी दिएका छन् ।

‘आफूले देशलाई स्वर्ग बनाए जस्तै कुरा गर्छन् बा, म त हाँसेरै मर्छु कि क्या हो ?’
नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले व्यंग्य गरेका छन् । मंगलबार नेता बस्नेतले ऊर्जामन्त्री घिसिङ र अर्थमन्त्री खनाल मिलेर ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएमार्फत ५ अर्ब रुपैयाँ उठाउने सेटिङ भइरहेको दाबी गरेका थिए ।

सोही आरोपसहितको पोस्टलाई साझा गर्दै मन्त्री पुनले व्यंग्यात्मक शैलीमा बस्नेत र एमाले नेतृत्वमाथि कटाक्ष गरेका हुन् । मन्त्री पुनले बस्नेतको आरोपप्रति प्रतिक्रिया दिँदै लेखे, ‘के–के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले—म त हाँसेरै मर्छु कि क्या हो ।’

एमालेमा ओलीलाई टक्कर दिने कोही छैन : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाइ गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् । उनले अहिले नै ओलीलाई बिदाइ गर्ने कुरा असम्भव रहेको दावी गरे ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, ‘विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन् । अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’

पार्टीभित्र भइरहेको ओलीविरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनको भनाइ छ । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नु पर्छ ।’

मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ थियो । यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका भीम रावलले जम्मा दुई सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपालि महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनको दाबी छ । थापाले पार्टीभित्रको मौन प्रवृत्ति घातक हुने बताए ।

भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गतेका घटनालाई ‘नेपालमा भएको प्रतिक्रान्ति’ का रूपमा व्याख्या गर्दै ती घटनाले संविधानदेखि राज्यका तीनै अंगसम्म गम्भीर हस्तक्षेप भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘जेनजी’ को नाममा विदेशी शक्ति सक्रिय भएर नेपालको राजनीति आफ्नो प्रभावमा तानिएको आरोप लगाए ।

गुरुङका अनुसार बाह्य शक्तिले लक्ष्य पुरा गर्न व्यवस्थित रूपमा कार्यपालिका, विधायिका र न्यायपालिकामा हस्तक्षेप गरेको र यसै प्रक्रियामा निर्वाचित प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाइएजस्तै घटनाहरू राज्यको स्थायित्वमाथि प्रहारका रूपमा प्रकट भएका हुन् । ‘संविधानसम्मलाई कोमामा पुर्‍याउने काम भयो’, उनले भने, ‘न्यायपालिका जलाइयो, व्यवस्थापिका र कार्यपालिका नियन्त्रणमा लिइयो—यो स्पष्ट प्रतिक्रान्ति हो ।’

गुरुङले यस्तो अवस्था सुधार्ने जिम्मा एमालेले लिने दाबी गरे । उनले दुईवटा सम्भावनाको चर्चा गरे—निर्वाचनमार्फत वा विघटित संसद पुनःस्थापना गरेर। तर उनले वर्तमान सरकारद्वारा घोषणा गरिएको मितिमा निर्वाचन हुन असम्भव रहेको र प्रतिक्रान्ति प्रभावमा बनेका सरकारहरूले निर्धारित समयमा चुनाव गराउन नसक्ने इतिहास रहेको उल्लेख गरे ।

उनका अनुसार विदेशी शक्ति ‘आफूले मन पराएको’ पात्र नपाएसम्म चुनाव नहुने सम्भावना बलियो छ । ‘उनीहरूले तयार पारेका पात्रले चुनाव जित्ने स्थिति छैन’, गुरुङले भने, ‘त्यसैले निर्वाचन सार्ने, प्रतिगमनलाई ढाकछोप गर्ने, एमालेलाई विभिन्न ठाउँमा रोक्ने प्रयास भइरहेका छन् ।’ गुरुङले एमाले चुनावबाट कहिल्यै नभाग्ने जिकिर गर्दै आफ्नो पार्टीप्रति फैलिएका भ्रम र आरोप योजनाबद्ध रुपमा फैलाइएका भन्दै प्रतिवाद गरे । उनले भने, ‘एमाले संविधान र जनमतका आधारमा अघि बढ्ने पार्टी हो, चुनावबाट भाग्ने होइन । अहिले भएको सबै चलखेल बाहिरबाट थोपारिएको समयकाट नीति मात्रै हो ।’

सुहाङ नेम्वाङ इलामबाट एमाले महाधिवेशन प्रतिनिधि, युवा संघका प्रवक्ता पनि सर्वसम्मत

काठमाडौं । नेकपा एमाले इलाम जिल्ला कमिटीले दुवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । इलाम १ र २ बाट २० जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन् ।

दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवातर्फ निरोज पौडेल चयन भएका छन् । पौडेल युवा संघका प्रबक्ता समेत हुन् ।

महिलातर्फ उमादेवी सुनुवार, सकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुलातर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् । इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन् । महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन् ।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । नेम्वाङ सहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भए ।

यी हुन् इलामबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि

निर्वाचन क्षेत्र नं. १
– खुल्ला तर्फ
१ काजिमान कागते
२ खम्बा सिंह
३ दिपक थेबे
४ उदयबहादुर राई
५उमेश गुरुङ
– युवातर्फ
१ निरोज पौडेल
– महिलातर्फ
१ साबित्रा शिवा
२ सकुन्तला लेप्चा
३ उमादेवी सुनुवार
निर्वाचन क्षेत्र नं. २
– खुल्लातर्फ
१ गणेश बराल
२ सुहाङ नेम्बाङ
३ केशब धैराली
४ महेश बस्नेत
५ दिपेन्द्र खनाल
६ हेमन्त राई
– युवातर्फ
१ रबिन्द्र सुबेदी
– महिलातर्फ
१ दिलु लावती
२ पबीमाया राई
३ टीकादेबी घिमिरे

ओलीको प्रश्न : निर्वाचितहरू लखेटिनु पर्ने, बुख्याचाहरू चाँहि सिंहदरबारमा बस्ने ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गरेका छन् । आइतबार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन् । उनले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्ने बताए ।

असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनु आवश्यक रहेको बताए । संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ भन्ने गरिएको भन्दै अध्यक्ष ओलीले बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? भन्दै प्रश्न गरे । अन्तरिम सरकारप्रति लक्षित गर्दै अनिर्वाचित बुख्याँचाहरु तरकारी बारीमा नै ठिक रहेको टिप्पणी गरे । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उनको भनाइ छ । आधिकारिक लोकतान्त्रिक मूल्य मान्यताको हैसियत भएकाहरुको स्थल सिंहदरबार भएको बताए । उनले केपी ओली र एमालेसँग रिस उठ्यो भन्दै संविधान, देश, विकास, सुशासन, सार्वभौमसत्तामाथि रिस नपोख्न आग्रह गरे ।

उनले भने, ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । लोकतन्त्र फर्काउँ । संवैधानिक बाटोमा देशलाई फर्काउँ । गलत सिफारिसमा, असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनुपर्छ । संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ रे, त्यही बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? संसदीय प्रणाली आउन नदिने यस देशमा । लोकतन्त्र आउन नदिने ? निर्वाचितहरु लखेटिनुपर्ने ? अनि अनिर्वाचित बुख्याँचाहरु सब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याँचा ? मिल्छ यो ? बुख्याँचा निर्वाचित हुँदैन कहिल्यै पनि । बुख्याँचा कसैले राखिदिने हो । सिंहदरबार बुख्याँचा कसैले लगेर किलोमा गाडिदिने ठाउँ होइन, जनताबाट, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो । आधिकारिक, जोसँग लोकतान्त्रिक मूल्य मान्यताको हैसियत छ, त्यो बस्ने ठाउँ हो । लोकतन्त्र भनेको नराम्रो कुरा हो । एमालेसँग रिस उठेको होला, एमालेसँगको रिस लोकतन्त्र, देशमाथि नपोखौँ । केपी ओलीसँग रिस उठेको होला, केपी ओलीसँग उठेको रिस संविधानमाथि लगेर, लोकतन्त्रमाथि लगेर, देशको विकास र सुशासनमाथि लगेर, देशको सार्वभौमसत्तामाथि लगेर नपोखौँ ।’
अध्यक्ष ओलीले अन्यायको पक्षमा उभिने व्यक्ति नै जनताको प्रतिनिधि भएको बताए । निर्वाचन जितेर मात्रै प्रतिनिधित्व नभइने भन्दै जनताको पक्षमा उभिनसक्नु पर्ने बताए ।

‘हिंसाबाट सरकार सिर्जना भएको हो, हिंसाको माध्यमबाट शासन चलाउँदै छन्’
अध्यक्ष ओलीले अन्तरिम सरकारले गरेको संसद विघटन प्रतिगमन भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै प्रतिगमनलाई प्रतिगमन भन्न नसक्नेहरु विभिन्न समयमा संसद विघटन भएको थियो, यो कसरी असंवैधानिक हुन्छ भनेर कुतर्क गरिरहेको बताए ।

उनले एमालेको आधारभुत निष्ठा देश, जनताप्रति, देश विकासप्रति रहेको बताए । उनले लोकतन्त्र मासेर अलोकतान्त्रिक सरकार जडान गरिएको भन्दै अहिले पनि त्यही देखिरहनुपरेको बताए । वर्तमान सरकारको कुनै जग नरहेको उनको जिकिर छ । संविधान नमानेर, संविधान बाहिरबाट, संविधान कुल्चिएर, लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेर, लोकतान्त्रिक मूल्यहरु अस्वीकार गरेर सरकार बनाइएको बताए । अपराधबाट सरकार सिर्जना भएको र अपराधकै माध्यमबाट शासन चलाइरहेको उनको भनाइ छ ।

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने स्पष्ट पारेका छन् । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एघारौं महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

‘अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने केही नयाँ हुने यो सिलसिला हुन्छ नै । पुनर्गठन हुनुपर्छ, हस्तान्तरण पुस्तान्तरण हुनुपर्छ भनेर यस्तो जोडदार ढंगले भनिरहनु पर्ने विषय होइन,’ उनले भने, ‘यो स्वभाविक विषय हो । हस्तान्तरण पनि हुन्छ । पुस्तान्तरण पनि हुन्छ । हुनैपर्छ । यो नगरौं भने पनि हुन्छ । त्यसकारण पुस्तान्तरण, हस्तान्तरण आवश्यकता अनुसार हुन्छ ।’ अधिवेशन पनि सोही कारण गर्नपर्ने उनले बताए । ‘अधिवेशन त्यही कारण चाहिने हो । हामीले विधि विधान अधिवेशन, संगठनात्मक नीतिगत प्रश्न, राजनीतिक कार्यका प्रश्न र आगामी दिनका मार्ग सम्बन्धी प्रश्न हुन्छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले आगामी महाधिवेशनमा मतदान हुने बताएका छन् । उनले महाधिवेशनमा प्रतिस्पर्धा हुने बताए । ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन । रोक्ने सोक्ने काम हुँदैन । प्रतिस्पर्धा हुन्छ,’ ओलीले भने, ‘एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान् । नदिइएको होइन, मेरो आग्रह छ एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने ? त्यस्तो नगरौं।‘

अध्यक्ष ओलीले सहमतिका साथ लड्न र सहमतिका साथ अघि बढ्न आग्रह गरे । उनले केन्द्रीय सदस्य पनि सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने ओलीको भनाइ थियो । उनले पार्टी पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणको आवाज उठिरहेको बताउँदै आवश्यकता अनुसार हुने बताए । ओलीले भने, ‘त्यसैका लागि हो अधिवेशन चाहिने ।’

 

एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको ‘लोगो’ सार्वजनिक

काठमाडौं । नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक गरिएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्या अर्याल लगायतका नेताहरुको उपस्थितिमा अध्यक्ष ओलीले प्रतिक चिन्ह सार्वजनिक गरे । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा बनाएको छ । एमालेले आउँदो मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताइन् । लोगोमा राष्ट्रिय झण्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।
सोही अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल पनि सार्वजनिक गरिएको छ । यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मंसिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ । महाधिवेशनमा करिव २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशसँगै नेकपा एमाले पनि संकटमा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता भट्टराईले संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई पुनस्र्थापित गर्दै राज्यका सवै निकायलाई पुनर्जीवित गर्नुपर्ने चुनौती रहेको बताए । साथै उनले भदौ २३ र २४ को घटनापछि पार्टीलाई कस्तो नेतृत्व र दिशा दिने भन्ने महत्वपूर्ण सवाल रहेको पनि बताएका छन् ।

भदौ २३ र २४ को घटनाबाट सकारात्मक र नकारात्मक पाटा रहेको भन्दै सकारात्मक शिक्षालाई ग्रहण गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । उनले कुनै पनि हिंसा र विध्वंस स्वीकार्य नहुने भन्दै पार्टीलाई नयाँ सन्दर्भमा पुनर्गठित गर्नु राष्ट्रिय महाधिवेशनको प्रमुख कार्यभार रहेको बताएका छन् । ‘हामीले पुनर्गठनको विषयलाई सशक्त ढङ्गले अघि बढाउनुपर्ने छ भने अर्कोतिर नेकपा एमालेलाई एकताबद्ध गर्ने चुनौती पनि छ’, भट्टराईले पार्टी प्रतिनिधि र नेतृत्वलाई दुवै कामलाई सन्तुलित ढङ्गले अघि बढाउन आग्रह गरेका छन् ।

‘हामीले आवेग र उत्तेजनाबाट कुनैपनि निर्णय गर्न पुग्यौ भने त्यसले दुर्घटना निम्त्याउँछ । त्यसकारण आज एमालेका निम्ति आवेग र उत्तेजनाको कुनैपनि अर्थ हुने छैन’, भट्टराईले भनेका छन् । उनले संयमता, धैर्यता र सहकार्य एमालेको संस्कृति रहेको भन्दै शक्तिको भाषा बोल्ने समय नभएकोमा जोड दिँदै पार्टीभित्र पनि विविधताबिच एकता कायम गर्नुपर्ने जवजको मूल मान्यता रहेको बताएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । त्यसका लागि शनिबार देशभर प्रतिनिधि छनोटको काम सकिएको छ ।

हेर्नुस् भिडियो

 

 

विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर डू प्लेसिसले आईपीएल नखेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले यस वर्ष हुने इण्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा सहभागी नहुने निर्णय गरेका छन् । उनले आगामी संस्करणको लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । डू प्लेसिसले यस सम्बन्धमा जारी गरेको आफ्नो वक्तव्यमा १४ सिजन आईपीएल खेलेपछि यो वर्षको लिलामीमा आफ्नो नाम नराख्ने निर्णयमा पुगेको जनाएका हुन् ।

आफूले भारतबाट मित्रता, सम्झना, पाठ (लेसन) र एक क्रिकेटर तथा एक व्यक्तिको रूपमा स्वरुप पाएको उनले उल्लेख गरेका छन् । उनले आफूले यो वर्ष नयाँ र चुनौतीपूर्ण निर्णय लिएको उल्लेख गर्दै पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी सिजनमा खेल्ने जनाएका छन् ।
उनले आफू पाकिस्तानको आतिथ्यताको प्रतिक्षामा रहेको पनि उल्लेख गरेका छ्न् । डू प्लेसिसले सन् २०१२ मा चेन्नई सुपर किंग्सको तर्फबाट आईपीएलमा डेब्यू गरेका थिए । आफ्नो पहिलो सिजनमा उनले ३९८ रन बनाएका थिए । दक्षिण अफ्रिकाका पूर्व कप्तान समेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।
उनले १५४ आईपीएल खेल खेलेका छन् । चेन्नई सुपर किंग्ससंग दुई पटक उपाधि जितेका छन् । गत वर्ष उनले दिल्ली क्यापिटल्सका लागि ९ खेलमा २०२ रन बनाएका थिए र दुई खेलमा टिमलाई कप्तानी समेत गरेका थिए ।

उनले भविष्यमा आईपीएलमा फर्किने सम्भावना खुला राख्दै भने, यो बिदाइ होइन, फेरि भेटिन्छौं । फाफ डु प्लेसिस दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्। उनले टेस्ट, एकदिवसीय र टी–२० तिनै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्व क्रिकेटका अग्रणी ब्याट्सम्यानका रूपमा स्थापित गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि उनले विश्वभरका फ्रेन्चाइज लिगहरूमा धमाकेदार प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव र ब्याटिङ क्षमताले नेपाल प्रिमियर लिगमा नै नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ । विराटनगर किंग्सले डु प्लेसिसको आगमनले टोलीको शक्ति अब बाँकी खेलमा बलियो बन्ने आशा व्यक्त गरेको छ ।

 

 

नेतृत्व निर्माणमा स्वस्थ र मित्रवत् प्रतिष्पर्धा गर्छौं : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् । भूगोल तथा विशेष कमिटीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै पोखरेलले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणको कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउने बताएका हुन् ।

‘एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरण कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ । यी काम गर्दै मुलुकमा समृद्धिको एउट अभियानलाई अगाडि बढाउन चाहन्छ,’ उनले सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘यो ११ औं राष्ट्रिय महाधिवेशन यो काममा महत्वपूर्ण निष्कर्षमा पुग्न सकोस् यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धालाई हामीहरू अगाडि बढाउन चाहन्छौं । यो महाधिवेशनमा यी कामहरू गर्न सकौं ।’ पोखरेलले यो महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने यसअघि नै बताइसकेका छन् ।

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद र हात हालाहाल

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा विवाद हुँदा केही समय मतदान रोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

शनिबार पार्टी कार्यालय पाञ्चालीमा भएको मतदानमा संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेको घटना प्रहरीद्वारा पुष्टि भएको छ । विवाद मुख्यतः वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा सुरु भएको थियो । संस्थापन पक्षले पटक–पटक एउटै व्यक्तिलाई मतदानमा लैजानु ठीक नभएको भन्दै आपत्ति जनाएका थिए ।

यसैबीच मोरङ क्षेत्र नम्बर ६ मा पनि प्रतिनिधि चयन प्रक्रियामा धक्कामुक्की र विवाद भएको छ । संस्थापन पक्ष र अन्य समूहबीच प्यानल भिडन्त हुँदा सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेन । डबल मत हालिएको आरोपपछि मतदान केही समयका लागि स्थगित पनि भएको थियो ।

एमाले मोरङका जिल्ला स्रोतले विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले बस्नेतमाथि हातपात गरेको जनाएको छ । मतदान पुनः सुरु भए पनि प्रतिनिधि छनोट प्रक्रिया तनावपूर्ण अवस्थामा रहेको बताइएको छ ।

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको दाबी गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन् ।

उनले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए। ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ ।’ महासचिव पोखरेलले भने, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ । अघि बढौं–सम्भव छ ।’

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते काठमाडौं उपत्यकामा हुँदैछ । महाधिवेशनका लागि आज एकै दिन देशभर प्रतिनिधि चयन हुँदैछ । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ ।

देशैभरबाट आज एमाले महाधिवेशन प्रतिनिधि छानिँदै

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै गर्दा देशभरका संगठनहरू आज प्रतिनिधि चयन प्रक्रियामा जुटेका छन् । केही जिल्लामा सर्वसम्मतिको आधारमा प्रतिनिधि टुंगो लागिसकेको छ भने धेरै स्थानमा उम्मेदवार संख्या तोकिएको कोटाभन्दा बढी भएपछि निर्वाचनमार्फत छनौटको तयारी भएको छ ।

शुक्रबार साँझसम्म सर्वसम्मत चयनका लागि केन्द्रीय नेतृत्वबाट अन्तिम प्रयासका निर्देशन दिइएका थिए । सहमति नजुटेपछि आज निर्वाचनबाटै प्रतिनिधि छान्न स्थानीय कमिटीहरू अग्रसर भएका छन् । संगठन विभागले केही दिनअघि नै ५ बुँदे निर्देशन जारी गर्दै प्रतिनिधि चयनको समय सार्न नपाइने र शनिबारभित्रै प्रक्रिया सम्पन्न गर्नुपर्ने स्पष्ट गरिसकेको थियो ।

महाधिवेशनका लागि छानिनुपर्ने प्रतिनिधिको नामावली पठाउने अन्तिम म्याद सोमबार निर्धारित छ । अहिले एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट करिब २२ सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस पटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा प्रतिनिधि अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

देशभरका जिल्ला, पालिका र तल्ला संगठनमा आजको दिन प्रतिनिधि छनौट प्रक्रिया अत्यन्तै व्यस्त र निर्णायक बन्न पुगेको छ । महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, सहमतिको प्रयास र निर्वाचन प्रक्रियाले एमाले संरचनामा चहलपहल थपिएको छ ।

एमालेका यी सात पदाधिकारी ओलीको पक्षमा उभिए

काठमाडौं । नेकपा एमालेका सात वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् । आज (शुक्रबार) भएको अनौपचारिक छलफलपछि उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले सामूहिक निर्णय गरेका हुन् ।

स्रोतका अनुसार, यी नेताहरूले मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै पार्टी एकताको पक्षमा योगदान गर्न सबैसँग आग्रह गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, उनीहरूले नेतृत्व निर्माणका लागि सर्वसम्मतीको पहल गर्ने र सहमतिमा आधारित स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने निर्णय पनि गरेका छन् । एमालेको आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै यी सात पदाधिकारीले अध्यक्ष ओलीको नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान दिने निष्कर्ष निकालेका छन् ।

उनीहरूले दुवै पक्ष—ओली र ईश्वर पोखरेलसँग नियमित छलफलमा रहेर सहमतिमा आधारित नेतृत्व निर्माणको औचित्य कायम रहेको पनि बताएका छन् । नेताहरूले पार्टीमा अराजनीतिक वा अस्वस्थ अभिव्यक्तिहरू नदिन दुवै पक्षलाई आग्रह गर्ने सहमति पनि गरेका छन् । यसरी उनीहरूले एमालेभित्रको मध्यमार्गी र एकताप्रतिको दृष्टिकोणलाई बल दिँदै, पार्टीको सुदृढीकरण र राष्ट्रिय नेतृत्वको स्थायित्व सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्ने योजना तय गरेका छन् । यस निर्णयसँगै, अध्यक्ष ओलीको नेतृत्वलाई बल पुगेको छ भने पार्टीभित्र सहमति र स्वस्थ प्रतिस्पर्धा कायम राख्ने प्रयास पनि जारी रहने देखिन्छ ।

अछामका अर्का नेताले पनि छाडे एमाले

कैलाली । नेकपा एमाले अछामका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य भरत साउद नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपाका नेता भीमबहादुर रावलले उनलाई स्वागत गरेका हुन् । साउद २०५० देखि २०५४ सम्म उपसचिव तथा त्यसपछि दुई पटक जिल्ला सचिव (प्रमुख) रहेका थिए । उनी अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका थिए ।

यसैबीच, आज धनगढीमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

एमालेको संसद पुनःस्थापनासम्बन्धी रिटको तोकियो पेसी

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्चमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइ मिति तोकिएको छ । रिटउपर मंसिर १७ गते पेशी निर्धारण भएको नेता महेश बर्तौलाले बताए । एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्दै सांसदबाटै प्रधानमन्त्री नियुक्ति गर्न परमादेश मागेको छ ।

कुलमान, बालेन र सुदनलाई तत्काल पक्राउ गर्न महेश बस्नेतको माग

धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा पुगेका बस्नेतले यस्तो माग गरेका हुन् ।

‘..जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर कार्यक्रमस्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरेपछि तिनीहरू हटेका छन् ।’ त्यसका लागि प्रहरी प्रशासनलाई धन्यवाद दिए ।

‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन,’ बस्नेतले भने । जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्नेहरूले एमालेको कार्यक्रममा बाधा पुर्‍याउन षडयन्त्र गरिरहेको उनले बताए । उनले अगाडि भने, ‘हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ, सुधन गुरुङ हुन् । यिनलाई पक्राउ गरेर छानबिन गर्नै पर्छ ।’

बस्नेत धनगढी पुगेपछि युवासंघ र जेनजीबीच झडप
एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा संघका नेता–कार्यकर्ताबीच झडप भएको छ । बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए । बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए । स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेका थिए । युवासंघको प्रतिकारमा जेनजी सरिता जोशी घाइते भएकी छन् । उनको हातमा चोट लागेको छ । सरिताको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी आएका हुन् । उनी आउने भएपछि जेनजी युवाहरूले धनगढीको सडकमा प्लेकार्डसहित विरोध सुरु गरेका थिए । उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैन जस्ता नारासहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । नेता बस्नेतको सुरक्षा र जेनजीको विरोध प्रदर्शनलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरूले सोही मार्गको जेनजी चोकमा प्रदर्शन गरिरहेका छन् ।

 

एमाले नेता ज्ञवालीले भने–कार्यवाहक निर्वाचन आयुक्तको अभिव्यक्ति गैरजिम्मेवार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले संवेदनशील स्थानमा रहेका व्यक्तित्वबाट शान्ति–सुरक्षा जस्तो गम्भीर मुद्दामा हल्का टिप्पणी अपेक्षित नहुने बताएका हुन्। भण्डारीले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर पनि देशले निर्वाचन गराएको छ, केही थान हतियार बाहिर हुँदा निर्वाचन हुन नसक्ने होइन’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । यही टिप्पणीलाई ज्ञवालीले आलोचना गरेका हुन्।

ज्ञवालीका अनुसार राजनीतिक उद्देश्यका लागि भएको सशस्त्र द्वन्द्व अन्त्यका क्रममा गरिएको विशेष व्यवस्थालाई आपराधिक उद्देश्यले हतियार लुटिने घटनासँग तुलना गर्नु पूर्णतः अनुचित र हास्यास्पद छ । उनले लेखेका छन्, ‘द्वन्द्व अन्त्यका लागि माओवादीका हतियारहरू कन्टेनरमा दुई वटा चाबीसहित सुरक्षित राखिएको थियो। २८ वटै शिविरमा लडाकुहरूलाई सीमित गरेर ग्ल्ःक्ष्ल् को कडाइपूर्वक निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई थाहा हुनुपर्ने हो।’

ज्ञवालीका अनुसार संविधानसभा निर्वाचनअघि लडाकु र हतियार दुवैको दुरुपयोगका घटना घटे पनि त्यो अवस्थाको पृष्ठभूमि र वर्तमान सुरक्षा संरचना पूर्ण रूपमा भिन्न छ। ज्ञवालीले शान्ति–सुरक्षासँग प्रत्यक्ष सम्बन्धित संवैधानिक पदमा रहेका व्यक्तिबाट यस्तो प्रकारको टिप्पणीले जनविश्वास कमजोर पार्ने दाबी गरे। उनले थपे, ‘जिम्मेवारीको स्थानमा बसेका व्यक्तित्वबाट यस्तो स्तरको अभिव्यक्ति अपेक्षित थिएन । सुरक्षा परिस्थिति सामान्यीकरण र चुनावी वातावरण मजबुत बनाउन जिम्मेवार निकायले स्पष्ट, तथ्यपूर्ण र विश्वसनीय बोल्न आवश्यक छ।’