काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गतेका घटनालाई ‘नेपालमा भएको प्रतिक्रान्ति’ का रूपमा व्याख्या गर्दै ती घटनाले संविधानदेखि राज्यका तीनै अंगसम्म गम्भीर हस्तक्षेप भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘जेनजी’ को नाममा विदेशी शक्ति सक्रिय भएर नेपालको राजनीति आफ्नो प्रभावमा तानिएको आरोप लगाए ।
गुरुङका अनुसार बाह्य शक्तिले लक्ष्य पुरा गर्न व्यवस्थित रूपमा कार्यपालिका, विधायिका र न्यायपालिकामा हस्तक्षेप गरेको र यसै प्रक्रियामा निर्वाचित प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाइएजस्तै घटनाहरू राज्यको स्थायित्वमाथि प्रहारका रूपमा प्रकट भएका हुन् । ‘संविधानसम्मलाई कोमामा पुर्याउने काम भयो’, उनले भने, ‘न्यायपालिका जलाइयो, व्यवस्थापिका र कार्यपालिका नियन्त्रणमा लिइयो—यो स्पष्ट प्रतिक्रान्ति हो ।’
गुरुङले यस्तो अवस्था सुधार्ने जिम्मा एमालेले लिने दाबी गरे । उनले दुईवटा सम्भावनाको चर्चा गरे—निर्वाचनमार्फत वा विघटित संसद पुनःस्थापना गरेर। तर उनले वर्तमान सरकारद्वारा घोषणा गरिएको मितिमा निर्वाचन हुन असम्भव रहेको र प्रतिक्रान्ति प्रभावमा बनेका सरकारहरूले निर्धारित समयमा चुनाव गराउन नसक्ने इतिहास रहेको उल्लेख गरे ।
उनका अनुसार विदेशी शक्ति ‘आफूले मन पराएको’ पात्र नपाएसम्म चुनाव नहुने सम्भावना बलियो छ । ‘उनीहरूले तयार पारेका पात्रले चुनाव जित्ने स्थिति छैन’, गुरुङले भने, ‘त्यसैले निर्वाचन सार्ने, प्रतिगमनलाई ढाकछोप गर्ने, एमालेलाई विभिन्न ठाउँमा रोक्ने प्रयास भइरहेका छन् ।’ गुरुङले एमाले चुनावबाट कहिल्यै नभाग्ने जिकिर गर्दै आफ्नो पार्टीप्रति फैलिएका भ्रम र आरोप योजनाबद्ध रुपमा फैलाइएका भन्दै प्रतिवाद गरे । उनले भने, ‘एमाले संविधान र जनमतका आधारमा अघि बढ्ने पार्टी हो, चुनावबाट भाग्ने होइन । अहिले भएको सबै चलखेल बाहिरबाट थोपारिएको समयकाट नीति मात्रै हो ।’




