`

ओली र पोखरेलबीच तीन घण्टा भेटवार्ता, के भयो कुराकानी ?

Nepal One HD १८ मंसिर २०८२ १५:३७
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज (बिहीबार) तीन घण्टा लामो भेटवार्ता गरेका छन् । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए ।

उपाध्यक्ष पोखरेलले यसअघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । महाधिवेशनको पूर्वसन्ध्या भएको यस भेटवार्तालाई चासोका साथ हेरिएको छ । बैठकमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

अहिले दुवै पक्ष टिम बनाउन सक्रिय बनेका छन् । ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केही नेता खुलेर साथ नदिँदा दुई समूहका अनुहारहरू प्रष्ट नदेखिएको स्रोतको भनाइ छ । यसअघि एक कार्यक्रममा ओलीले ‘आफूले नाम पढेर सुनाएपछि महाधिवेशन सकिने’ टिप्पणी गरेका थिए । पोखरेलको टिम भने पूर्वराष्ट्रपति विद्या भण्डारीको सपोर्टमा ओलीलाई चुनौती दिने तयारीमा छन् । मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने महाधिवशेनका लागि एमालेले मंसिर १३ गते देशभरका प्रतिनिधि छानेको थियो । प्रतिनिधि छनोटको काम सकिएसँगै एमाले नेता–कार्यकर्ताहरु आन्तरिक जोड घटाउमा व्यस्त छन् ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का जस्तै भइसकेको छ । ओली पक्षले प्रचार सामग्री (पोस्टर) मा ओलीको तस्बिर राख्दै ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ नारा तय गरेको छ भने पोखरेल पक्षले जबज प्रणेता दिवंगत मदन भण्डारीको तस्बिर पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा तय गरेको छ । ओली समूहको प्यानल बनेपछि मात्र आफ्नो प्यानल बनाउने पोखरेल समूहको रणनीति देखिन्छ । त्यसो गर्दा ओली पक्षका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्न सकिने पोखरेल पक्षको विश्वास छ ।

पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समूह र विगतको नेकपाका १० बुँदे पक्षधर नेताहरुले साथ दिने देखिएको छ । पोखरेल पक्षले सुन्धारास्थित एक होटल र थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयलाई सम्पर्क स्थल बनाएर निकटका नेता, कार्यकर्ता र प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरिरहेकव ओलीले भने अस्थायी निवास भक्तपुरको गुण्डुमै अधिकांश भेटघाट गर्ने गरेका छन् । आफू निकट नेताहरुसँगको भेटमा ओलीले छनोट भएका प्रतिनिधिहरुमध्ये ८० देखि ८५ प्रतिशत आफ्नो पक्षमा रहेको सुनाउने गरेका छन् । महाधिवेशनमा करिब २२ सय हाराहारी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *