`

ओलीको आरोप : प्रधानमन्त्री र छानबिन आयोग जसरी पनि मलाई पक्रिन लागिपरेका छन्

Nepal One HD २० मंसिर २०८२ १७:०३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की र जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोग दुवै संवैधानिक सीमाभन्दा बाहिर गएर काम गरेको गम्भीर आरोप लगाएका छन् । नवयुग ई–बुलेटिनको शुभारम्भ समारोहमा बोल्दै उनले आफू र आफ्ना सहकर्मीविरुद्ध राज्य संयन्त्रलाई प्रयोग गर्न खोजिएको दाबी गरे ।

ओलीका अनुसार प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण निवारण विभागका शीर्ष अधिकारीलाई आफूलाई पक्राउ गर्ने उद्देश्यसहित मुद्दा दायर गर्न दबाब दिएका थिए । ‘विभागका प्रमुखलाई बोलाएर मुद्दा बनाऊ, प्रमाण निकाल, समात्नै पर्छ भनेर निर्देशन दिइयो,’ ओलीले आरोप लगाए, ‘तर उनले यस्तो आधारहीन काम गर्न सक्दिनँ भनेपछि तुरुन्तै हटाइयो र अर्को व्यक्तिलाई ल्याइयो ।’ सरकारले हालै गरेका राजदूत फिर्ता र अध्यादेश जारी गर्ने निर्णयहरू पनि प्रधानमन्त्रीको भूमिका सीमाभन्दा बाहिर गएको प्रमाण भएको ओलीको टिप्पणी थियो । उनले सरकारले पाएको काममा मात्र केन्द्रित हुनुपर्ने बताए ।

उता, जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोगलाई ओलीले अझ कडा भाषामा आलोचना गरे । उनका अनुसार आयोग तथ्य संकलनभन्दा बयान ‘मिलाउने’ काममा लागेको छ । च्यासलमा आयोजित कार्यक्रममा उनले आयोगका पदाधिकारी ४ दिनअघि ‘सहिद तथा घाइते परिवार’ को नाममा खोलिएको कार्यालयमै पुगेको र त्यहाँ २७ बुँदे प्रश्नावलीसहित ‘कोचिङ’ गरेको दाबी गरे ।

‘आयोगका पदाधिकारीहरू त्यहाँ गएर यसरी भन्नू, यस्तो देख्यौं भन्नू, फलानालाई समाउनै पर्छ, थुन्नु पर्छ भन्नू भनेर सिकाइरहेका थिए,’ ओलीले आरोप लगाए, ‘यस्तो राजनीतिकृत बयान तयार पारेर आयोगले निष्पक्षता गुमाएको छ ।’ ओलीले सहिद परिवारको नाममा विभिन्न समूहले राजनीति गर्ने गरेको उल्लेख गर्दै आयोग स्वयम् त्यस्ता समूहको प्रभावमा पुगेको गुनासो गरे । उनका अनुसार आयोगले अगाडि सारेको कार्यशैलीले निष्पक्ष छानबिनभन्दा आरोप लगाउने वातावरण बनाउँदै लगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *