`

एमालेको एकै दिन दुई कदम : आयोगमा दल दर्ता, सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक मोर्चामा सक्रिय रहेको नेकपा (एमाले) ले आज (मंगलबार) एकै दिन दुई महत्वपूर्ण कदम चालेको छ । एमालेले आजै सर्वोच्च अदालतमा संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेको छ भने निर्वाचन आयोगमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ ।

मंगलबार निर्वाचन आयोगमा पुगेका एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको तर्फबाट दल दर्ताको निवेदन बुझाए । आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि एमालेलाई दर्ता नम्बर ९७१, राष्ट्रिय सभा निर्वाचनका लागि ९३९, र समग्र दल दर्ता क्रममा पार्टीलाई ६६औं स्थान दिएको आचार्यले जानकारी दिएका छन् । यसअघि सोमबार पार्टीले राष्ट्रिय निर्वाचन प्रयोजनका लागि प्रारम्भिक दल दर्ताको निवेदन पेस गरिसकेको थियो ।

यसैबीच, संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पार्टी सर्वोच्च अदालत समेत पुगेको छ । प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले आजै अदालतमा निवेदन दर्ता गराए । मंसिर १ गते च्यासलस्थित मुख्यालयमा बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकले संसद पुनःस्थापनाका लागि कानुनी तथा राजनीतिक संघर्ष थाल्ने निर्णय गरेअनुसार आवश्यक कागजात र परामर्श पूरा भएपछि एमालेले रिट दायर गरेको बताइएको छ ।

पार्टीको तर्क अनुसार प्रधानमन्त्री सुशीला कार्कीलाई वर्तमान कानुनले औपचारिक हैसियत नदिने परिस्थितिमा संसद विघटन गर्नु संविधानविपरीत छ । यही आधारमा पुनःस्थापनाको माग गर्दै सर्वोच्चको ढोका ठटाइएको एमालेले बताएको छ । एकातिर संसद पुनःस्थापनाको कानुनी लडाइँ, अर्कातिर आगामी निर्वाचन सहभागिताका तयारी—दुई मोर्चामा सक्रिय एमालेले आजको दिनलाई राजनीतिक दृष्टिले विशेष रूपमा उपयोग गरेको देखिन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दियो सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ताको प्रक्रियामा रहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएका छौं,’ बर्तौलाले भने ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

 

प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । आज (मंगलबार) दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।

सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन्। प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो । प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ। राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ।

एमाले महाधिवेशन प्रतिनिधि छनोट : निर्देशन, विवाद र छानबिनसँगै बढ्यो चहलपहल

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा देशभरि प्रतिनिधि छनोट प्रक्रिया तीव्र बन्दै गएको छ । यही तयारीबीच पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ भने कैलालीमा चाहिँ केही नेता–कार्यकर्ताको संगठित सदस्यता सूचीबाटै ‘हराए’ पछि विवाद बढेको छ र छानबिन समेत सुरु भएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार भर्चुअल बैठकमार्फत महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक मार्गदर्शन तय गरिएको हो । निर्देशनअनुसार कुनै पनि जिल्लाले निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि आफ्नो क्षेत्रको अन्तिम मतदाता नामावली सार्वजनिक गर्नै पर्नेछ । केन्द्रले पठाएको पछिल्लो परिपत्रलाई नै आधार मान्न भनिएको छ ।

साथै प्रत्येक जिल्लाले अन्तिम मतदाता संख्याबारे तत्क्षण केन्द्रलाई जानकारी दिनुपर्नेछ । सर्वसम्मतिबाट प्रतिनिधि छनोट गर्नका लागि १२ गते साँझसम्म प्रयास गर्ने, त्यसमा सफलता नपाए १३ गते अनिवार्य रूपमा निर्वाचनको बाटो समातिने निर्देश गरिएको छ । विभागका अनुसार कुनै पनि कारण देखाएर १३ गतेको कार्यक्रम सार्न नपाइनेछ । केही ठाउँमा प्रतिनिधि उम्मेदवारी शुल्क अस्वाभाविक रूपमा बढाइएको सूचनापछि अधिकतम शुल्क १ हजार रुपैयाँ तोकिने व्यवस्था समेत गरिएको छ ।

यता, कैलालीमा भने प्रतिनिधि आकांक्षी रहेका दर्जनौँ नेता–कार्यकर्ताको नाम नै केन्द्रीय संगठन विभागले प्रमाणित गरेको सूचीमा नदेखिएपछि अन्योल र असन्तुष्टि बढेको छ । प्रदेशसभा निर्वाचनदेखि जिल्ला सचिवालयसम्म जिम्मेवारी सम्हालिसकेका १३ जनाको संगठित सदस्यता सूचीमै नाम नआएपछि एमाले कैलालीले छानबिन समिति गठन गरेको छ । टेक बुढाको संयोजकत्वमा बनाइएको समितिले छुटेको कारणबारे छानबिन गरी रिपोर्ट बुझाएपछि थप निर्णय हुने जिल्ला इन्चार्ज नारदमुनि रानाले बताएका छन् ।

४० वर्षमुनिका कोटाबाट प्रतिनिधि बन्ने तयारीमा रहेका कुमार बडैला, दीपक रावल, प्रकाश खड्का लगायतका नेताहरूले आफूहरूले नियमित रूपमा सदस्यता नवीकरण गरिरहे पनि नियतवश नाम हटाइएको आरोप लगाएका छन् । रावलका अनुसार गत १७ वर्षदेखि निरन्तर सदस्य भएर काम गरिरहेकाहरूलाई गुटगत कारणले पछाडि धकेलिएको हो । खड्काले पनि परिवारका सबैको नवीकरण प्रक्रिया पूरा हुँदा पनि आफू मात्र सूचीबाट हटाइएको दाबी गरेका छन् ।

जिल्ला कमिटीलाई दिएर भनेको निवेदनपछि जिल्लाले छुटेका सबै नाम प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइसकेको छ । प्रदेश कमिटीले पनि संशोधनका लागि केन्द्रलाई औपचारिक सिफारिस गरिसकेको जनाएको छ । मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मंसिर १३ गते देशभरका निर्वाचन क्षेत्र तथा विदेशस्थित संगठनहरूमा एकैदिन प्रतिनिधि छनोट हुनेछ। महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने  जनाएको छ। प्रतिनिधि छनोटका कडाइका निर्देशसँगै कैलालीमा देखिएको सदस्यता विवाद मिल्ने हो कि झन् गहिरो बन्दै जाने हो—अब केन्द्रको निर्णयबाटै स्पष्ट हुनेछ।

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने कांग्रेसका युवा छुटे

मोरङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा रिहा भएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल सडक नजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले अर्पित कुँवर र संजोग गौतमलाई नियन्त्रणमा लिएको थियो । उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन् । डीएसपी कोपिला चुडालले भनिन्, ‘हिजै छाडिसक्यौँ साना बाबुहरूलाई राखेर के गर्नु ?’

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो । ती दुवै युवा भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ । लोला प्रहार गर्ने युवा गौतम महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई समिति सभापति हुन् भने कुँवर पनि कांग्रेस निकट विद्यार्थी संघमा आबद्ध रहेको बताइएको छ । उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी समेत दिएका थिए ।

 

महेश बस्नेतमाथि बेलुन हान्नेलाई कारबाहि गर्न नेसनल भोलिन्टियर्स फोर्सको माग

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि आज (आइतबार) विराटनगर विमानस्थल बाहिर रंगले भरिएको बेलुन प्रहारको घटनाप्रति एमाले निकट नेशनल भोलिन्टियर्स फोर्सले कडा आपत्ति जनाएको छ । घटनामा संलग्न नेविसंघका नेतामाथि कठोर कारबाही गर्न संगठनले माग गरेको छ ।

आइतबार बिहान सुनसरीमा आयोजित युवा संघको ‘कोशी जागरण सभा’ मा सहभागी हुन बस्नेत विमानस्थल बाहिर गाडीबाट निस्कँदै गर्दा दुई युवाले रातो रङ मिसाइएको पानीले भरिएको बेलुन प्रहार गरेका थिए । प्रहरीले तत्कालै दुवै युवालाई पक्राउ गरेको छ । उनीहरू महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता सञ्जोग गौतम र अर्पित कुँवर भएको खुलेको छ ।

घटनालाई बस्नेत स्वयंले लोकतन्त्रप्रतिको उपहास भनेका छन् । एमाले नेतृ रामकुमारी झाँक्रीले पनि सार्वजनिक रूपमा दोषीहरूमाथि कारबाहीको माग गरेकी छन् । नेशनल भोलिन्टियर्स फोर्सका कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जेन–जी आन्दोलनपछि उत्पन्न भइरहेको असामान्य परिस्थितिलाई चिन्ता जनाउँदै विराटनगरमा बस्नेतमाथि भएको बेलुन प्रहारलाई योजनाबद्ध अराजक गतिविधि भनेर उल्लेख गरिएको छ ।

संगठनले नेपाली कांग्रेससम्बद्ध नेविसंघले यस्तो चरम अराजकता रोक्न नसकेको आरोप लगाउँदै दोषीलाई दण्डित गर्न आग्रह गरेको छ । विज्ञप्तिमा यसअघि काठमाडौंमा सुदन गुरुङ नेतृत्वको समूहले एमाले नेता किसान श्रेष्ठको घरमा धक्काधक्की गरेको र सिमरा विमानस्थलमा महासचिव शंकर पोखरेलको टोलीमाथि अवरोध सिर्जना गरिएको घटनाहरू पनि स्मरण गरिएको छ ।

सम्राट उपाध्याय जस्ता जेन–जी आन्दोलनका योजनाकारहरू अझै खुलेआम हिँडिरहेकाले कानुनी कारबाही तत्कालै अघि बढाउन फोर्सले सरकारलाई चेतावनी दिएको छ । फोर्सका अनुसार, सरकार-विशेषतः सुशीला कार्की नेतृत्व—अपराधीलाई संरक्षण गर्ने भूमिकामा उभिएको आरोप लाग्दै आएको छ । सरकारले संवेदनशील घटनालाई बेवास्ता गरिरहने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

 

महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने कांग्रेस निकट विद्यार्थी, सुनसरीमा पनि विरोध

विराटनगर । मोरङ र सुनसरी क्षेत्रमा आइतबार राजनीतिक तनाव चुलिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत इटहरीतर्फ जाँदै गर्दा विराटनगर विमानस्थल बाहिर उनको सवारीमा रातो मसी प्रहार भएको र त्यसलगत्तै सुनसरीको दुहबीमा समेत स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम नाम गरेका दुई युवाले सडक किनारबाट दगुर्दै बस्नेत सवार गाडीमाथि रातो मसी फ्याँकेका थिए । प्रहरीले घटनापछि दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । पक्राउ परेका गौतम नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका जिल्ला सदस्य हुन् भने कुँवर पनि नेविसंघसम्बद्ध रहेको प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि अर्पित कुँवरले आफूले प्रहार गरेको मसी ‘विरोधको प्रतीक’ भएको दाबी गरेका छन् । उनले कुनै व्यक्तिलाई लक्षित आक्रमण नभई एमाले नेतृत्वको शैली, प्रवृत्ति र भदौ २३ को जेनजी आन्दोलनताका भएको घटनाप्रति असन्तोष प्रकट गर्न यस्तो कदम चालेको बताएका छन् । महेश बस्नेत भने यस घटनालाई आफू सहभागी हुन लागेको कार्यक्रम अवरुद्ध गर्ने प्रयास र ‘लोकतन्त्रमाथिको उपहास’ भनेर टिप्पणी गरेका छन् । उनी सुरक्षा व्यवस्थासहित विराटनगर हुँदै सुनसरीतर्फ अघि बढेका छन् ।

बस्नेत र नेता भानुभक्त ढकालको गाडी दुहबी क्रस भइसकेपछि त्यहाँ स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार आगो नियन्त्रणमा लिएर सडक सुचारु गरिएको छ । विराटनगर विमानस्थलमा भएको मसी प्रहारदेखि दुहबीसम्म फैलिएको विरोधले जेनजी आन्दोलनमार्फत निरन्तर बढ्दै गएको असन्तोष पुनः सतहमा आएको देखिएको छ ।

 

 

 

 

मसी प्रहारपछि महेश बस्नेतले भने–आक्रमणको प्रयास गम्भीर र निन्दनीय

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेका मान्छेहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको टिप्पणी गरेका छन् । बस्नेतले फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने र ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो नभएको बताएका छन् । उनले २३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक प्रतिक्रिया दिएका छन् र पञ्चायत, शाहीकाल र माओवादीकालसँग तुलना गरेका छन् ।

सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् । ‘सरकार अलोकतान्त्रिक भएकाले यिनीले पक्षपोषण गरेका मान्छे पनि अलोकतात्रिक र अराजनीतिक गतिविधिमा नै लागेकै छन्,’ उनले भने, ‘यस्तो गतिविधि लोकतन्त्रको उपहास हो ।’ बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने बताए ।

‘हाम्रो विरोधमा भाषण गर, नारा लगाऊ । ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो होइन । केही कुरा छन् भने शान्तिपूर्ण कार्यक्रम गरेर राखे भयो नि,’ बस्नेतले थपे, ‘ आज हामीले कार्यक्रम गर्दैछौं । विरोध नै गर्न मन भए भोलि त्यही ठाउँका शान्तिपूर्ण रूपमा अर्को सभा गरेर विरोध गरे भयो । ढुंगा हान्नु पर्दैन ।’ २३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक सुनिँदै आएका बस्नेतले पञ्चायतका, शाहीकाल र माओवादीकाल समेत समाना गरेर आएको प्रतिक्रिया दिए ।

 

एमाले नेता महेश बस्नेत चढेको गाडीमा जेनजीको ‘आक्रमण’

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले बस्नेत सवार गाडी रोकी रातो रङ छ्यापेर ‘आक्रमण’ गरेका हुन् । बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा दुई जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाएका छन् ।

उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् । बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेकी छन् । ‘महेश बस्नेत विराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेका छन् । युवाको बुझाइ स्पष्ट छ सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ’, राउतले लेखेकी छन्, ‘राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ ।’ सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तीमा नागरिक सरकार भएको बेला आउन नहुने उनले बताइन् । केही दिनअघि बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।

 

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : चुनाव गराउँछु भन्ने तपाई को ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् । ‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् ।

उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाउँदै उनले प्रश्न गरे, ‘चुनाव गराउँछु भन्ने तपाई को हो ?’ ‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नु हुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ माग गरेका छन् । ओलीले ‘कस्तो कस्तो मान्छेलाई विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनेछन्’ भन्दै आक्रोश पोखे ।

‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनु पर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनु पर्छ ?’ जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ ।

उनले भने, ‘सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भन्ने पूर्व प्रधानन्यायाधीश र अहिले असंवैधानिक प्रधानमन्त्रीको आवाज सुनिन्छ, त्यो के हो ?’ त्यो क्यासेट बाहिर ल्याएकै कारण प्रसाईंलाई पक्राउ गरिएको ओलीको आरोप छ । ‘मान्छे गिरफतार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्छ’, ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् । शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिलाई यो सरकार हटाउन आग्रह गरेका छन् । ‘राष्ट्रपति ज्यू, अस्ती–अस्ती जेनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त,’ ओलीले भने, ‘जेनजीको माग अनुसार यो सरकार किन विदा गर्नु हुन्न ? हटाउनु होस् ।’

उनले संविधान अनुसार नबनेको सरकार हटाउन कुनै संविधान नचाहिने समेत जिकिर गरे । ‘संविधानले दिदैन भन्ने हो भने अस्ति पनि त संविधानले नदिएकै त गरेको हो,’ ओलीको प्रश्न छ, ‘यो संविधानअनुसार नबनेको असंवैधानिक चिजलाई तपाईंलाई केले रोक्यो ?’

अध्यक्ष केपी ओलीले अब प्रतिनिधि सभा पुनस्र्थापना हुने दाबी गरेका छन् । उनले अब देश एमालेमय बन्ने दाबी गरे । उनले भने, ‘अब असंवैधानिक ढङ्गले भङ्ग भएको प्रतिनिधि सभाको अविलम्ब पुनस्र्थापना हुनुपर्दछ। हुन्छ पनि अब अर्को बाटो छैन । त्यही बाटोबाट देश अगाडि बढ्छ । प्रतिनिधि सभा पुनर्स्थापना मात्रै देशको सही समाधान हो। को डराउँछ कसको सातो जान्छ त्यो बेग्लै कुरा हो ।’ उनले पार्टीपंक्तिलाई प्रतिनिधि पुनर्स्थापनाको पक्षमा लाग्न निर्देशन दिए । उनले प्रतिनिधि सभा अनधिकृत, असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा विघटन भएको दाबी गरे ।

अहिलेको परिवर्तन आतंक र हिंसाबाट थोपरिएको हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालैको राजनीतिक परिवर्तनलाई ‘जनताको परिवर्तन होइन, आतंक र हिंसाबाट थोपारिएको परिवर्तन’ भनेर कडा टिप्पणी गरेका छन् । भृकुटीमण्डपमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थालाई देशलाई प्रतिगमनतर्फ धकेल्ने षड्यन्त्रका रूपमा वर्णन गरेका छन् ।

पोखरेलले भदौ २३ र २४ गतेका घटनामा सडकमा उतारिएका भीड जनआन्दोलन होइन, नियोजित हिंसा भएको दाबी गरे । उनले भने, ‘ती दिन सडकमा देखिएको विध्वंसभन्दा चार गुणा धेरै जनता आज एमालेको एकल आह्वानमै सडकमा उत्रिएका छन्, त्यसैले जनताको सहभागितामार्फत परिवर्तन भएको तर्क नै असत्य साबित हुन्छ ।’

उनले वर्तमान व्यवस्थालाई ‘राज्यविहीनताको जगमा बनेको सरकार’ भन्दै यसले न चुनाव गराउन सक्छ, न संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न । समाधानका रूपमा उनले प्रतिनिधिसभा पुनःस्थापना नै अनिवार्य भएको बताए । देशलाई लोकतान्त्रिक बाटोतर्फ फर्काउन अब सबै राजनीतिक दलले एक भएर अघि बढ्नुपर्ने उनले आह्वान गरे । यसैबीच पोखरेलले आगामी मंसिर २७ गते हुने एमाले महाधिवेशन उद्घाटनलाई ‘नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसागरको प्रदर्शन’ बनाउने तयारी भइरहेको जानकारी पनि दिए ।

विध्वंशको जगमा बनेको सरकार चुनाव गराउने बाटोमा छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे।

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’ उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए । ‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले भने ।

 

काठमाडौंमा एमालेको जनप्रदर्शन सुरु, भृकुटीमण्डप क्षेत्रमा सवारी अस्तव्यस्त

काठमाडौं । नेकपा एमालेले प्रतिगामी शक्ति र हालैका राजनीतिक घटनाक्रमविरुद्ध आज काठमाडौंमा आयोजना गरेको शान्तिपूर्ण जनप्रदर्शन र जनसभाले राजधानीको मुख्य भाग ठप्प बनेको छ । बिहानैदेखि विभिन्न स्थानबाट कार्यकर्ता र समर्थकको भिड भृकुटीमण्डप क्षेत्रतिर बढेपछि सवारी आवागमन अत्यधिक प्रभावित भएको हो ।

पार्टीले भदौ २३ र २४ गतेका आन्दोलनपछि कात्तिक २२ गतेदेखि सुरु गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत बागमती प्रदेश कमिटीले आज काठमाडौंमा वृहत जनसभा आयोजना गरेको हो । प्रतिनिधि सभाको पुनर्स्थापनासहित राजनीतिक स्थिरताको मागसहितको सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रदर्शनी मार्ग र आसपासका क्षेत्रबाट सुरु भएको  र्‍याली रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ । विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र पार्टी संरचनाबाट ठूलो संख्यामा कार्यकर्ता जुटिरहेको उनले बताए ।

यसैबीच, भीड अत्यधिक बढेपछि भृकुटीमण्डप क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । प्रदर्शनी मार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई पद्मोदय मोड तथा सभागृह मोडमार्फत डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टुँडिखेल वरपरको आवागमन पनि  र्‍यालीका कारण प्रभावित हुन सक्ने बताइएपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी’ भन्ने नारासहित भइरहेको यस जनसभालाई पार्टीले शक्ति प्रदर्शनको रूपमा लिएको छ । एमालेले आजको आन्दोलनलाई बागमती प्रदेश कमिटीमार्फत आयोजना गरेको हो ।

‘पहिलेको सरकारले सिफारिस गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु आपत्तिजनक’

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रपति रामचन्द्र पौडेलको पछिल्ला कामप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति पौडेलले ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ जारी गरेपछि रिजालले यस्तो असन्तुष्टि जनाएका हुन् ।

उनले संविधानमा व्यवस्था नै नभए पनि राष्ट्रपतिबाट चुनाव गराउने एक मात्र कार्यादेश पाएको सरकारले दीर्घकालीन असर गर्ने विषयमा अध्यादेश ल्याउनु विल्कुल गलत भएको बताएका छन् । उनले पहिले जननिर्वाचित सरकारले सिफारिस गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु थप आपत्तिजनक भएको टिप्पणी समेत गरेका छन् ।

‘संविधानमा व्यवस्थै नभए पनि राष्ट्रपतिबाट चुनाव गराउने एक मात्र कार्यादेश पाएको सरकारले दीर्घकालीन असर गर्ने विषयमा अध्यादेश ल्याउनु विल्कुल गलत छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिले जननिर्वाचित सरकारले सिफारिश गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु थप आपत्तिजनक छ ।’ राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गरेका हुन् ।

 

काठमाडौंमा आज एमालेको प्रदर्शन र जनसभा, ६० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । नेकपा एमालेले आज (शनिबार) संघीय राजधानी काठमाडौँमा जनप्रदर्शनसहित जनसभा गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा हुन लागेको यो कार्यक्रमलाई पार्टीले ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ को नाम दिएको छ ।

यद्यपि, राजनीतिक वृत्तमा यसलाई एमालेको ‘शक्ति प्रदर्शन’ का रूपमा हेरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रामक बन्दै आएको एमाले आज सडकबाटै आफ्नो शक्ति देखाउने मुडमा देखिएको छ । खासगरी संसद् विघटन र सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसको विरोधस्वरूप यो जनसभा आयोजना गरिएको नेताहरूले बताएका छन् ।

जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता–कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । प्रदर्शनलाई भव्य बनाउन एमालेले व्यापक तयारी गरेको छ । एमाले नेता महेश बस्नेतले आजको सभामा उपत्यका र आसपासका क्षेत्रबाट करिब ६० हजार मानिस उतार्ने दाबी गरेका छन् ।

प्रदर्शनलाई व्यवस्थित र अनुशासित बनाउन भन्दै पार्टीले यसअघि नै ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा गरिसकेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।

नेशनल भोलेन्टियर्स फोर्सका संयोजकको चेतावनी : लोकेसन ट्रयाक गरेका छौं, घर–घर घेर्छौं

काठमाडौं । नेकपा एमालेले शुक्रबार (आज) घोषणा गरेको ‘नेशनल भोलेन्टियर्स फोर्स’ का संयोजक पुष्पराज श्रेष्ठले पार्टीले आशा गरेर दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने प्रतिबद्धता जनाएका छन् । आज (शुक्रबार) काठमाडौंको बबरमहलस्थित कार्की बैंन्क्वेटमा आयोजित घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले जस्तोसुकै अवस्थामा पनि सडकबाट मात्रै नभइ जहाँबाट पनि भिड्न तयार रहेको बताएका छन् ।

‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन,’ श्रेष्ठले भने, ‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं ।’ श्रेष्ठले सम्बोधनको क्रममा सरकारलाई चुनौती दिँदै नसच्चिएको खण्डमा जस्तोसुकै प्रतिकार गर्न तयार रहेको पनि बताए । ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं,’ उनले भनेका छन् ।

हेर्नुस् श्रेष्ठको सम्बोधन

यो विषम परिस्थितिमा, घडिमा राष्ट्रको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको लागि, राष्ट्रको लागि र यो हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको लागि सारमा यो व्यवस्थाका लागि र यो पार्टी रक्षाका लागि अब नेशनल फोर्सलाई थप जिम्मेवारी काँधमा परेको छ । यसलाई हामीले कुशलताका साथ आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अनुशासित भएर, कर्मनिष्ठ भएर कर्तव्य निभाउनेछौं । यति मात्रै होइन, हाम्रो देशमा अहिले जे भइरहेको छ, विदेशी दलालीको मातहतबाट अहिले गोटी बनेर जुन यो सरकार बनिरहेको छ । विदेशी दलालबाट बनेको यो सरकारले हाम्रा जनताको आवाज सुन्न छाडेका छन् ।

हामीले बोल्ने जुन अधिकार छ, त्यसलाई कुण्ठित गरेर रोक्ने प्रयास गरिरहेका छन् । यस्ता प्रयास अबका दिनबाट बन्द हुनेछ । यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौ भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं । यतिमात्रै होइन, ठाउँ ठाउँमा हाम्रो कार्यक्रम गरेका ठाउँमा, हाम्रो नेताहरू गएका ठाउँमा रोक्ने काम गरेका छन् । डिस्टर्ब गर्ने काम गरेका छन् । अस्ति भर्खर सिमरा एयरपोर्टमा पाँच दश जना जेनजीको नामबाट झुण्ड परिचालित भएको थियो । त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आयो भने हामीले घर घर, जसरी तपाईंहरूले लोकेसन ट्रयाक गरेर तपाईंहरूले देखाउनु भएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं ।

हामी यहाँ यत्तिकै घोषणा गरेर, फूल लिन जिम्मेवारी लिएका होइनौं । जुन तरिकाले तपाईंहरूले अपेक्षा गर्नुभएको छ, पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन । हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न, भिड्न पनि तयार छौं । तर यसो भन्दैगर्दा हामी कानुनलाई आफ्नो हातमा लिँदैनौं । कानुनलाई साथमा लिएर राम्रो गर्नेलाई साथ दिनेछौं । जनताको आवाज अहिले जति ठाउँमा घर जलेको छ, घर जलेको मान्छेले पनि घर जल्यो भन्न सकेको छैन । यस्ता आवाजविहीनलाई पनि हामी आवाज बनेर लाग्नेछौं । जसरी सरकारी अड्डा, अदालत, सार्वजनिक सम्पत्तिहरू नष्ट गरेको छ, यी सबैलाई ऊर्जा प्रदान गरेर अरु राजनीतिक दलहरूलाई पनि यसैगरी हातमा हात मिलाएर सडकमा निस्कन पनि मैले आह्वान गर्दछु ।

 

 

 

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : अझै ठूलो विद्रोह हुनसक्छ भन्या अनुमान कि योजना ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजीको नाममा कसले देशमा उपद्रो मच्चाउन नपाउने बताएका छन् । नेशनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै पार्टीको युवा भेलामाथि अवरोध खडा गरेको भन्दै उनले चर्को असन्तुष्टि जनाए ।

उनले भने, ‘नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमण गर्ने काम भए, बिथोल्ने र आतंक मच्चाउने काम भयो, त्यो अहिलेसम्म जारी छ, अस्ती एमालेमाथि ढुङ्गा हान्न आए, विमानस्थल र प्रहरीमाथि ढुङ्गा हान्न आए, त्यस्ता क्रियाकलाप सरकारले अविलम्ब छिटो रोक्नुपर्छ ।’सरकारले चुनाव गर्छु भने पनि देशभित्रै नेताहरूलाई निषेध गरेर हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीले १२५ दलसँग वार्ता राखेर कांग्रेस एमालेको अपमान गरेको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति आक्रोश व्यक्त गरेका छन् । उनले भने, ‘यो सरकार संविधान अनुसार बनेको छैन भन्ने हो भने त झन् अर्को विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? जनतालाई धम्काएर, तर्साएर अस्तीको भन्दा ठूलो विद्रोह हुन्छ भनेको, त्यो के ? फेरि आगो लगाउने, तोडफोड गर्ने, लुटपाट हो ? त्यो अनुमान हो कि योजना हो ? योजना हो भने सपना नदेख्नुस् । अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले अहिलेको सरकार असंवैधानिक बाटोबाट बनेको भन्न नपाइने रे भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् ।

‘संविधानसम्मत तपाईं प्रधानमन्त्री बन्नु भएको हैन । असंवैधानिक बाटोबाटै बन्नु भएको हो । प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्छ । जेनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ,’ उनले भने, ‘लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ । यसो भन्न पाइँदैन रे ? लोकतन्त्र भन्न पाइँदैन रे तपाईं त राणा शासन भन्दा कडा निस्किनु भयो त बा ! मोहन शमशेरले पनि लोकतन्त्रका लागि सम्झौता गरेका थिए । संविधान मास्न दिँदैन । लोकतन्त्र फर्काइन्छ ।’

 

 

 

नेशनल भोलेन्टियर फोर्ससँग कोही पनि आत्तिनु–तर्सिनु पर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेशनल भोलेन्टियर फोर्स गठन गरिएको बताएका छन् । फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताए ।

उनले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो । यसको गठन र विकाससँग कोही पनि आत्तिनु पर्दैन, तर्सिनु पर्दैन । यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो ।’ उनले राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताएका छन् ।

उनले कसैले राज्यको सम्पती जलाउन आउँदा यो भोलेन्टियरले प्रतिवाद गर्ने पनि बताए । ‘अब कसैले पनि हिजोको जस्तो राज्यका संरचना जलाउँदै गर्दै हिँड्न पाउने छैन । हामी संरचनाको रक्षा गर्नेछौँ । यो देशका जनता आफैँ भोलेन्टियर भएर आफ्नो रक्षा गर्नुपर्ने अवस्थामा पुग्यौँ,’ उनले थपे, ‘यो हिंसा लुटपाट र त्रासदीपूर्ण वातावरणविरुद्ध हो । यो आतंकको विरुद्धमा हो । कसैलाई पनि आतंकित बनाउने छुट छैन। ’

ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको पनि बताए। आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ । ‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,’ ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनु पर्दन ।’ उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताए ।

‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो। राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन,’ ओलीले भने । उनले हामी नेपालका संयोजक सुदन गुरुङलाई लक्षित गर्दै ओलीले व्यंग्य पनि गरे । उनले भने, ‘पानी बाँड्ने मात्रै भोलेन्टियर संस्था हुँदैनन् । यहाँ त अघिल्लो दिन पानी बाँड्ने भोलिपल्ट केके केके ।’ उनले भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनको क्रममा उक्त संस्थाको उपस्थिति र सक्रियताबारे प्रश्न उठाएका हुन् ।

 

 

 

एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ घोषणा, कमाण्डरमा पुष्पराज श्रेष्ठ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका हुन् । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्‍याली गरेका थिए। नेकपा एमालेले ५ मंसिरमा काठमाडौंको माइतीघरमा ११ सदस्यीय युवा दस्ता ’युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उक्त कमाण्डर घोषणा गरेका छन् । केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । ५ मंसिर, काठमाडौं। नेकपा एमालेले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ । काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरको हुन् । केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।

 

प्रधानमन्त्रीको राजीनामा माग्दै महेश बस्नेतले भने–अब यी आमाबाट देश चल्दैन

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अब प्रधानमन्त्री सुशीला कार्कीबाट देश नचल्ने बताएका छन् । शुक्रबार एमालेको युथ भोलिन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । उनले फास्ट ट्रयाकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘फास्ट ट्रयाकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो,’ बस्नेतले भने, ‘दलबाट देश चल्ने हो । दलबाट बाहिरबाट राजनीति हुँदैन ।’ ‘संसद् विघटन गरेर, हाम्रो लोकतान्त्रिक पद्धतिमाथि हमला गरेर प्रधानन्यायाधीश भइसकेकी जेन–जीको भावना विपरीत ७३ वर्षकी आमैलाई विचरा खुट्टा खुच्याउँदै हिँड्नु हुन्छ,’ बस्नेतले भने, ‘अब ती आमाबाट देश चल्दैन । अब संसद् पुनर्स्थापना गर्नुपर्छ ।’ लोकतन्त्र, विधिको शासन र सुशासनलाई ठिक ट्रयाकमा ल्याउन नेसनल भोलिन्टियर फोर्सले काम गर्ने बस्नेतले बताए ।

भोलि काठमाडौँमा ६० हजार मान्छे उतार्छौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भोलि (शनिबार) काठमाडौँमा पार्टीको कार्यक्रममा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । पार्टीको नेशनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै ६० हजार मान्छे भोलिको कार्यक्रममा सहभागी हुने बताएका हुन् । उनले भोलिको प्रदर्शन हुने विश्वास आजैको  र्‍यालीले देखाइसकेको बताए। ’भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौं । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ,’ उनले भने, ‘सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौँ ।’

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई संकटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए । एमालेले शनिबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

‘केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौं’
नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था बनाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिठ्ठी मात्र फुके पनि दुई लाख मानिस काठमाडौँ अवस्था बनाइरहेको बताएका हुन् । उनले फोर्स देशव्यापी अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै युवाहरूको एक हुने ठाउँ एमालेको भएको बताए । बस्नेतले फोर्सले पार्टी संगठन सुदृढ पार्ने, स्वयंसेवी संरचना विस्तार गर्ने र आगामी राजनीतिक अभियानमा ऊर्जा थप्ने बताएका छन् ।

 

 

 

 

हाम्रो प्रदर्शन सुशीला आमैलाई राजनीतिबाट टाटाबाइ गर्न हो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने दावी गरेका छन् । आज (शुक्रबार) पार्टीको नेशनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले रिटायर्ड जीवन शानदार बनाउन छोडेर राजनीति गर्न आएको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । ‘आजको हाम्रो मार्चपासले भोलि हामीले गर्ने प्रदर्शनको झल्को दिएको छ ।

भोलिको हाम्रो प्रदर्शन भनेको सुशीला आमालाई (प्रधानमन्त्री) राजनीतिक जीवनबाट टाटाबाइ गर्न हो,’ उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘छोराछोरीसँग बेलायत गएर उपचार गरेर रिटायर्ड जीवन शानदार गर्नुस् । वृद्ध पतिको सेवा गर्नुस् । राजनीति दलले नेताले गर्ने हो ।’ नेता महेश बस्नेतले भोलि काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने आजैको र्‍यालीले देखाइसकेको बताए । उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौ ।’

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए । उनले २-३ दिनमा प्रधानमन्त्रीले पदबाट राजीनामा नदिए भोलेन्टियर फोर्सले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए । बस्नेतले प्रधानमन्त्रीको शारिरीक अवस्थामाथि पनि खिसिट्युरी गरे । उनले भने, ‘उहाँ खुटा खोच्याउँदै हिँड्नु हुन्छ । आराम गर्नुस् । केपी ओलीले भने जसरी अब संसद् पुनर्स्थापना गर्दै विधिको शासन र सुशासनलाई सही ट्रयाकमा ल्याउन फोर्सले काम गर्नेछ ।’

 

 

युवा संघको मार्चपास, ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा हुँदै (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले  र्‍याली गरेका छन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले  र्‍यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।

उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए । मार्चपासमा सहभागी एमाले कार्यकर्ताहरूले रातो क्याप लगाएका छन् । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिन माग गर्दै नाराबाजी गरिरहेका छन् । उक्त मार्चपासलाई मध्यनजर गर्दै बाक्लो मात्रमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेशनल भोलेन्टियर फोर्स’को घोषणा गर्नेछन् । ओलीको विशेष सम्बोधनमा कार्की बैङ्क्वेटमा एमालेको रक्षापंक्ति मानिएको नेसनल भोलेन्टियर फोर्स घोषणा हुन लागेको हो ।

जेन–जी आन्दोलनपछि रक्षात्मक बनेको एमालेले उक्त फोर्सलाई विशेष प्राथमिकता दिएको छ । अध्यक्ष ओलीले यो शक्तिलाई आफ्नो रक्षा कवजको रुपमा लिएको भए पनि फोर्स बनाउन नहुने एमालेमा अर्काे समूह पनि रहेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा केही पदाधिकारीहरूले फोर्स घोषणा गर्ने कार्यक्रम तत्काल रोक्न भनेका थिए । तर, ओलीकै उपस्थितिमा आज फोर्स घोषणा हुन लागेको हो ।

 

 

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेले निकाल्यो र्‍याली

काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमाले निकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छन् । उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी गरेको भए पनि त्यहाँ जेनजी घाइतेहरूले अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका हुन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले ¥यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ । फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।

एमाले कार्यकर्तालाई आउन नदिन माइतीघर पुगे जेनजी घाइते

काठमाडौं । नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेनजी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताएका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ । माइतीघर मण्डलामा भेला भएर एमाले युवाहरूले बानेश्वरसम्म मार्चपास गर्ने बताइएको छ । सोही कार्यक्रमका क्रममा एनभिएफको औपचारिक घोषणा गर्न लागिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एनभिएफको घोषणा गर्नेछन् । एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको संयोजन पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका थिए । कार्यदलले विधान, लोगो, झण्डा, संगठन संरचना, उद्देश्य तथा भविष्यका कार्यक्रमसमेत तयार पारेर फोर्स निर्माण गरेको हो ।

महेश बस्नेतको चेतावनी : अब जहाँ अवरोध, त्यहाँ प्रतिवाद

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो पार्टी र संगठनमाथि बिना कारण अवरोध सिर्जना गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनल खेललाई सम्बोधन गर्दै नेता बस्नेतले बाराको घटनालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् ।

लोकतान्त्रिक पद्धतिमा आलोचना र विरोध स्वीकार्य हुने तर नियोजित अवरोध मान्य नहुने बताउँदै बस्नेतले भने, ‘हामी आलोचना सहन्छौं, तर बिना गल्ती हामीलाई अवरोध गरिन्छ भने– ‘जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ भन्ने सिद्धान्त बोकेर हामी अघि बढ्छौं ।’ बुधबार बारामा आफू सहभागी हुने कार्यक्रममा भएको अवरोधतर्फ संकेत गर्दै उनले एमालेका युवा र विद्यार्थीहरूलाई अराजकताविरुद्ध डटेर सामना गर्न निर्देशन समेत दिएका छन् । ‘कुनै पनि दल वा समूहलाई अवरोध गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘बाटो छेक्ने र कार्यक्रम बिथोल्ने जस्ता अराजक गतिविधि गर्नेहरूलाई हामी छोड्दैनौं ।’

सम्बोधनका क्रममा बस्नेतले पछिल्लो समय उठेको जेन–जी आन्दोलन र सामाजिक सञ्जालका अभियानहरूमाथि पनि तीखो टिप्पणी गरे । उनले एमाले र केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा ‘म्यानुपुलेसन’ भइरहेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा अहिले सूचनाको प्रदूषण छ,’ उनले भने, ‘यहाँ मिसन असफल पार्न खोज्नेहरूलाई दानवीकरण र आफ्ना मान्छेलाई देवत्वकरण गर्ने खेल भइरहेको छ । हामीले यो भ्रमलाई चिर्नुपर्छ ।’ उनले मंसिर २३ को आन्दोलनका एजेण्डाहरू सुशासनको पक्षमा भए पनि त्यसलाई अराजकता फैलाउने माध्यम बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिको प्रसङ्ग कोट्याउँदै बस्नेतले केपी ओली नेतृत्वको सरकारले गरेका पूर्वाधार विकासका कामहरूलाई ओझेलमा पार्न खोजिएको गुनासो गरे । उनले भने, ‘अहिले मैदानमा एनपिएल सुरु भएको छ, फ्लड लाइट जडान भएको छ । यो भिजन र बजेट केपी ओलीकै पालामा सुनिश्चित भएको हो भन्ने कुरा युवाहरूले बिर्सनु हुँदैन ।’ विद्यार्थीहरूलाई हौसला दिँदै उनले शैक्षिक थलोलाई प्राज्ञिक र अनुशासित बनाउन आग्रह गरे । कुनै पनि अराजक दल वा समूहको उक्साहटमा नलाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरूको खेल र अनुशासनले देशको गौरव बढाउँछ, कसैको बहकाउमा नलाग्नु होस् ।’

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलमा एमाले सचिवालय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। भदौ २३–२४ को जेनजी आन्दोलनको क्रममा आगजनी गरिएको पार्टी मुख्यालय आवश्यक मर्मत–सम्भारपछि आज पहिलो पटक च्यासलमै बैठक राखिएको हो । आजको बैठक आसन्न मंसिर २७–२९ को महाधिवेशनमा केन्द्रित हुनेछ । भावी नेतृत्वलाई लिएर पनि आज केही पदाधिकारीले कुरा उठाउने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।

महाधिवेशनको व्यवस्थापकीयलगायत विभिन्न उपसमिति गठन गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । त्यस्तै मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा पनि छलफल हुँदैछ ।

नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मंसिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनु पर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने । च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ । ‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलो पटक बस्न लागेको हो,’ गौतमले भने ।

 

ओलीले सर्वोच्चलाई के दिए लिखित जबाफ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लिखित जबाफ दिएका छन् । यो रिट युवराज सफल, मकबुल मिया र शेरबहादुर रोकायुले दायर गरेका थिए, जसमा ओलीलाई पनि विपक्षी बनाइएको थियो । ओलीका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले अदालतमा जबाफ पेश गरेका थिए । जबाफमा ओलीले भदौ २४ को घटनालाई ‘अराजक र असामान्य अवस्था’ भएको भन्दै त्यसबाट लाभ उठाउने व्यक्तिहरू नै यसको ‘सिर्जनाकर्ता’ भएको बताएका छन् ।

ओलीले भनेका छन्, ‘नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ । अराजक अवस्थाको सिर्जना गराई सुशीला कार्की र उनका मन्त्रीहरूले राज्यसत्ता कब्जा गर्ने प्रयास गरेका छन् । मैले नयाँ सरकार गठन गर्ने उद्देश्यले राजीनामा दिएको हुँ ।’
उनले थपेका छन्, ‘संविधानको धारा ७६ अनुसार सरकार गठन नगरी सुशीला कार्कीलाई नियुक्त गर्नु संवैधानिक उल्लङ्घन हो ।’ ओलीले अदालतलाई स्पष्ट पारेका छन् कि उनले कुनै पनि सिफारिस वा अनुमति दिएर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको होइन ।

अर्कोतर्फ, ओलीले संविधानको धारा १३२ (२) को हवाला दिँदै प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई अन्य सरकारी पदमा नियुक्त गर्न नहुने व्यवस्था उल्लङ्घन भएको बताएका छन् । यसै कारण, प्रधानमन्त्री कार्कीको नेतृत्वमा प्रतिनिधिसभा विघटन पनि संविधानविपरीत भएको उनले जबाफमा उल्लेख गरेका छन् ।

ओलीले यस घटनालाई अवैधानिक ठहर गर्दै भनेका छन्, ‘सरकार गठन नै गैरसंवैधानिक भएकाले यसले गरेका काम स्वतः खारेज हुनेछन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन संविधानविपरीत छ । यस निर्णयलाई बदर गरी प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्छ ।’ नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरिसकेको ओलीको जबाफमा उल्लेख गरिएको छ ।

एमालेका दुई पूर्व मेयरसहित तीन जना पार्टीबाट निष्काशित

विराटनगर । आन्तरिक विवाद र अनुशासनहीनताका घटनाहरू बढ्दै गएको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले कडा कदम चालेको छ । कमिटीको पछिल्लो बैठकले दुई जना पूर्व मेयरसहित तीन जनालाई साधारण सदस्यता समेत खारेज गर्दै पार्टीबाट पूर्ण रूपले निष्काशन गरेको छ । साथै दुई जनालाई स्पष्टीकरण मागिएको छ ।

प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार निष्काशनको सूचीमा परेका तीन जना नेतामा इटहरी उपमहानगरका पूर्व मेयर द्वारिकालाल चौधरी, झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुव शिवाकोटी, र मनोरथ तिवारी रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाका मेयर बनेका चौधरी २०७९ मा पुनः उम्मेदवारी चाहन्थे । टिकट नपाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बने, तर एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । पराजयपछि पुनः एमाले फर्किए पनि सक्रिय भूमिकामा देखिन सकेनन् । स्थानीय नेताहरूमाथि निरन्तर सार्वजनिक आलोचना गर्दै आएका भन्दै उनलाई पार्टीले अनुशासनहीनतामा कारबाही गरेको हो ।

बिर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोप रहेकाले उनी केही समय प्रहरी हिरासतमा बसेका थिए । पछि धरौटीमा रिहा भएका उनी हाल पनि अदालती प्रक्रियामा छन् । यस प्रकरणमा उनी अस्पताल बसेर ‘पार्टीले संरक्षण दिएको’ आरोप समेत सार्वजनिक रूपमा उठ्ने गरेका थिए । पार्टीले यिनै विवादका आधारमा शिवाकोटीलाई साधारण सदस्यबाटै हटाएको सचिव भण्डारीले बताए ।

प्रदेश कमिटीका अनुसार भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्नता प्रमाणित भएकाले मनोरथ तिवारीमाथि कारबाही गरिएको हो । ‘व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि पार्टीको मूलभूत सिद्धान्त विपरीत छ’, सचिव भण्डारीले भने, ‘यस्ता व्यक्तिलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिन कारबाही अनिवार्य बन्यो ।’ यसैबीच, कमिटीले इटहरीका काशीनाथ दङ्गाल र डा. बद्री विशाल पोख्रेलसँग स्पष्टीकरण पेश गर्न माग गरेको छ । दङ्गाल यसअघि नेकपा एकताकालमा एमाले इटहरी नगर कमिटीका सचिव समेत थिए ।

सिमरा घटनाबारे योगेश भट्टराई : गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको जनआधार विस्तार र सामाजिक छवि सुधारका लागि नयाँ जिम्मेवारीसहित अघि बढ्नु पर्ने बताएका छन्। आज (बिहीबार) सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै उनले मधेस केन्द्रित भूमिकामा पुनः सक्रिय हुन पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका हुन् ।

भट्टराईले लेखेका छन्, ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, सामाजिक छवि सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्छ । यसबारे गम्भीरतापूर्वक विचार गर्न अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’ सचिव भट्टराईले मधेस प्रदेशमा हालसम्म एमालेले हासिल गरेको राजनीतिक पुनस्र्थापनामा अध्यक्ष केपी शर्मा ओलीको सूक्ष्म व्यवस्थापन र पार्टी नेताहरूको कठोर परिश्रम मुख्य आधार रहेको उल्लेख गरे । उनका अनुसार २०७२ सालमा संविधान जारी भएपछि मधेस एमालेका लागि चुनौतीपूर्ण क्षेत्र बने पनि पछिल्लो समय पार्टीले उल्लेखनीय पुनरुत्थान गरेको छ ।

भट्टराईले स्मरण गरे, ‘संविधानयताका वर्षहरूमा मधेसमा एमालेका नेता–कार्यकर्ता र पार्टी कार्यालयहरू पटक–पटक आक्रमणमा परे पनि संगठन नटुटेको र निरन्तर क्रियाशील रहेकाले आजका उपलब्धि सम्भव भएका हुन् ।’ उनका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेर एमाले पहिलो दल बनेको र प्रदेशसभामा २५ सिटसहित अग्रस्थानमा उभिनु ठूलो उपलब्धि हो ।

झण्डै १५ महिनासम्म मधेस प्रदेश इन्चार्जका रूपमा काम गर्दा संगठन व्यवस्थापन, सदस्यता प्रणाली, प्रदेश–जिल्ला अधिवेशन तथा जनसंगठन सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भट्टराईको दाबी छ । भट्टराईले मधेसका समुदायमा जातीय विभेद, महिला हिंसा, दलितमाथिको भेदभाव र वर्गीय उत्पीडनविरुद्ध एमालेले उठाएको विमर्शले जनभावना जितेको बताए । त्यसको साथै भौतिक पूर्वाधार विकास, आर्थिक अवसर विस्तार र ‘हिमाल–पहाड–तराई–मधेस एकता’ को पक्षमा चलाएको अभियानले मधेसमा पार्टीप्रतिको आकर्षण बढेको उनको भनाइ छ ।

 

महेश बस्नेतको दावी : ६ गतेको प्रदर्शनपछि सुशीला आमैले राजीनामा दिनुपर्ने स्थिति आउँछ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आगामी ६ गते हुने एमालेको प्रदर्शन रोक्न खोजे त्यसको राजनीतिक परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भृकुटीमण्डपमा आयोजना हुने उपत्यकास्तरीय विशाल सभाले ‘सरकारको आधार नै हल्लिने’ दाबी गरे ।

बस्नेतले उक्त दिन अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा ‘युथ भोलेन्टियर्स फोर्स’ औपचारिक रूपमा घोषणा गरिने बताए । उनले माइतीघरदेखि नयाँबानेश्वरसम्म जुलुससहितको प्रदर्शन हुने जानकारी दिंदै भने, ‘६ गतेको सभा सफल भएपछि प्रधानमन्त्री सुशीला आमैले राजीनामा दिनुपर्ने परिस्थिति उनले आफै महसुस गर्नेछिन् ।’

सरकारलाई ‘अवैधानिक र संविधानले नचिनेको’ भन्दै बस्नेतले सरकार प्रमुख सुशीला कार्की प्रदर्शन रोक्न सक्रिय रहेको आरोप लगाए । सिमरा भ्रमण रोकिएको प्रसंग जोड्दै उनले भने, ‘उनीहरू बारामा हामीलाई अड्याएर एउटा धक्का दिए । तर हामी रोकिँदैनौं । एमाले र युवा संगठन त दुबो जस्तै—जति दबाए पनि फेरि पलाउँछ ।’ आगामी प्रदर्शनका लागि व्यापक तयारी भइरहेको बताउँदै उनले काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो सभा’ हुने दाबी गरेका छन् ।

सरकारले जेनजी नामका युवा उचालेर हामीलाई तर्साउन खोज्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूहरूलाई बाराको कार्यक्रममा जान नदिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले आज (बुधबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले सरकार आफूहरूसँग आतंकित भएको बताएका छन् ।

उनले भने, ‘सरकारले अलिअलि जेनजी नामका युवाहरूलाई उचालेर एयरपोर्ट बन्द गराउने र हामीलाई त्यहाँ जान नदिने योजना बनाएको छ । हामी कानुनको दायराभित्रै रहेर अघि बढ्न चाहन्छौँ, तर किन यति आतंकित बनेको हामीसँग ?’ बस्नेतले एमालेको काठमाडौंमा आयोजना हुने सभापछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने विषयसँग सम्बन्धित भएर पनि निषेध सुरु गरिएको आरोप लगाए ।

‘सिमरा घटना’ मा योगेश भट्टराईको टिप्पणी : निर्वाचन अनिश्चयतर्फ धकेल्ने प्रयास

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिमरा घटनाले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको बताएका छन् । एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू पुग्ने भएपछि बुधबार सिमरा विमानस्थल बाहिर विरोध प्रदर्शन भएको थियो । बारामै तय भएको एक कार्यक्रममा सहभागी हुने पोखरेललसहितका नेताहरू काठमाडौंबाट जाने भएपछि त्यहाँ प्रदर्शन भएको छ । प्रदर्शनका कारण झडपको स्थिति सिर्जना भएको छ भने स्थानीय प्रशासनले सिमरा क्षेत्रका कफ्र्यु आदेश जारी गरेको छ ।

‘नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागी हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ’, योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देशको एक ठाउँबाट अर्को ठाउँमा निर्विवाद हिँड्डुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधानप्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।’ यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्योल र अनिश्चयतिर धकेल्ने कुरामा सचेत रहन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले शान्ति सुव्यवस्था कायम राख्न समेत सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन् ।

प्रचण्डलाई मेरा साथीले घेरा हालिसके, अब देख्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको भन्दै व्यङ्ग्य गरेका छन् । नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड संकटमा परिसकेको टिप्पणी गरे। ‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्,’ उनले भने, ‘एक ढंगले भन्ने हो भने म खुशी छु । दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन् । अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्।’

लामो समय नेकपा एमालेको नेतृत्व पंक्तिमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलजस्ता नेताहरूतर्फ संकेत गर्दै उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके।’ ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमा मात्र रहेको बताए । ‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो । प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने ।

‘सिमरा प्रकरण’ मा ओलीको आक्रोश : सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सभा सम्मेलन र सार्वजनिक कार्यक्रममै अवरोध पुर्‍याइरहँदा स्वतन्त्र र निष्पक्ष चुनाव गराउँछ भन्नेमा विश्वास गर्न नसकिने बताएका छन् । आज (बुधबार) काठमाडौँमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा बोल्दै उनले बाराको सिमरामा भएको घटनालाई उदाहरण प्रस्तुत गर्दै निर्वाचन हुन नसक्ने बताएका हुन् । उनका अनुसार सिमरामा आयोजित युवासम्बन्धी कार्यक्रमका क्रममा विमानस्थल नै अवरुद्ध बनाइएपछि एमालेका नेताहरू त्यहाँ पुग्न सकेनन् ।

बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनु भएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइ दिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

सिमरा जान रोकिएपछि बस्नेतको प्रतिक्रिया : जेनजीको नाममा विभिन्न दलले अराजक भिड उतारे

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रममा सहभागी हुन बाराको सिमरा जान लाग्दा जेनजी युवाहरु आन्दोलनमा उत्रिएका थिए । विमानस्थालसम्म तोडफोड गर्ने तहमा युवाहरु उत्रिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । तर, सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य भएको उनले बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अवरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो ।’

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद भएको उनको टिप्पणी छ । उनले भनेका छन्, ‘हे कठपुतली सरकार, लोकतन्त्र, बिधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ । जनता सबै बुझिसकेका छन् ।’ उनले अवरोधले विचलित नहुने भन्दै लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी राख्ने बताएका छन् ।

पार्टीका शीर्ष नेता जेनजीको विरोध र कफ्र्युका कारण जान नसके राष्ट्रिय युवा संघको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले जानकारी दिएका छन् । कर्फ्युका कारण जनप्रदर्शनको कार्यक्रम भने स्थगित भएको छ ।

सिमरा विमानस्थलमा जेनजी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेतालगायतका नेताहरू काठमाडौंमै रोकिएका हुन् । जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्युका कारण बाटैमा रोकिएको नेता श्रेष्ठले जानकारी दिए । ‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले सुनाए ।

 

 

 

 

 

जेन–जी आन्दोलन घटनाको ‘जिम्मेवारी’ ओलीमाथि थोपर्न मिल्दैन : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै विघटित प्रतिनिधि सभासम्बन्धी राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका समयमा घटेका घटनाबारे कडा प्रतिक्रिया दिएका छन् । लगातार दुई बैठकहरूमा दलका सांसदहरूलाई सम्बोधन गर्दै पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको जिम्मेवारीको प्रश्नलाई खारेज गर्दै वर्तमान सरकारको भूमिकामाथि व्यापक असन्तुष्टि व्यक्त गरेका छन् ।

भदौ २३ र २४ गते चलेको जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको घटना अहिले राजनीतिक बहसको केन्द्रमा छ । तत्कालीन प्रधानमन्त्री ओलीको हैसियतमा उनले यी सबै घटनाको जिम्मा लिनुपर्ने आवाज उठिरहेका बेला पोखरेलले भने, ‘प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम गर्ने क्रममा सरकारी संयन्त्रले प्रयोग गरेको बलको प्रत्यक्ष जिम्मा लिनु ‘‘सही व्याख्या’ नहुने दाबी गरे ।

उनले भने, ‘शान्ति–सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा त्यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्छ भन्ने धारणा युक्तिसङ्गत छैन । जेन–जीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समाधान गर्न सक्दैन, बरु देशलाई पछाडि धकेलिरहेको छ ।’ च्यासलस्थित पार्टी कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकमा पोखरेलले मुख्य एजेण्डा संसद् पुनःस्थापना रहेको स्पष्ट पारे । उनले संविधानले नचिनेको प्रधानमन्त्रीद्वारा गराइएको संसद् विघटन ‘पहिलो दृष्टिमै गलत’ रहेको बताए । ‘विगतका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिन्छ’, पोखरेलले भने, ‘राजनीतिको बिग्रिएको कोर्स यही बिन्दुबाट सुधारिनु पर्छ ।’

‘नहुने चुनावको पैरवी गरेर एमाले हिँड्दैन’
सरकारतर्फबाट सम्भावित निर्वाचनको चर्चा भइरहे पनि एमाले त्यसको विश्वसनीयतामै प्रश्न उठाउँदै अघि बढ्ने पक्षमा छैन । पोखरेलले भने, ‘चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त छैनन् । नहुने चुनावको पैरवी गरेर एमाले हिँड्दैन ।’ जेन–जी आन्दोलनका घटनालाई राजनीतिक रूपमा प्रयोग गर्दै बनेको वर्तमान सरकारले कुनै पनि राष्ट्रिय संकट समाधान गर्न नसक्ने आरोप पोखरेलले दोहो¥याए । ‘मुलुकलाई अघि बढाउनु पर्नेमा अहिलेको सरकारले उल्टै पछाडि धकेलिरहेको छ’, उनले भने ।

ओलीले बनाइ दिएको क्रिकेट रङ्गशाला कुलमानले जुँगा मुसार्दै उदघाटन गर्नु भयो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उदघाटनलाई लिएर शहरी विकासमन्त्री कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण सुरु भएको रङ्गशाला घिसिङले ‘जुँगा मुसार्दै’ उदघाटन गरेको टिप्पणी गरे ।

बस्नेतका अनुसार ओली प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला निर्माण गर्ने रहेको थियो । तीव्र गतिमा निर्माण अघि बढाए पनि निर्धारित समयभन्दा केही ढिलाइ भएको उनले स्वीकारे । तर रङ्गशाला निर्माण ‘ओलीको नेतृत्वमा सम्भव भएको’ भन्दै बस्नेतले उदघाटनको श्रेय घिसिङले लिन खोजेको आरोप लगाए ।

उनका अनुसार आइतबार सम्पन्न उदघाटन कार्यक्रममा क्रिकेट संघका पदाधिकारी—अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का समेत—नैतिक हिसाबले असहज हुनेगरी वक्तव्य दिन बाध्य भएका थिए । बस्नेतले भने, ‘सामाजिक सञ्जालमा आफूलाई ‘हिरो’ देखाउन चाहने कुलमानले ओलीले बनाइदिएको रङ्गशाला उदघाटन गर्दा व्यङ्ग्य नै उत्पन्न भयो ।’

बस्नेतले सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) नेपाल क्रिकेटको जगतमा ‘महत्वपूर्ण मोड’ भएको बताए । विगतमा कीर्तिपुरमा क्रिकेट हेर्न दर्शकले रुखको हाँगामा चढ्नुपर्ने बाध्यता अन्त्य भएर अब व्यवस्थित सुविधासहित खेल हेर्न पाउने अवस्था बनेको उनले उल्लेख गरे । उनले भने, ‘चार–पाँच वर्षअघि क्रिकेट हेर्न जाँदा कतिबेला हाँगो भाँचेला भन्ने चिन्ता हुन्थ्यो । अब त्यस्तो अव्यवस्था छैन, यसको श्रेय ओली ज्यूको निर्णयलाई जान्छ ।’

बस्नेतले केही साहित्यकारले ‘ओलीले सुरु गरेका काम सबै भत्काइदेऊ’ भन्दै व्यङ्ग्य कविता लेखेको उदाहरण समेत प्रस्तुत गरे । धरहरा पुनर्निर्माणदेखि रानीपोखरी, सुरुङमार्गलगायतका परियोजना ओलीकै कार्यकालमा अघि बढेको दाबी उनले दोहोर्‍याए । ओलीको राजनीतिक उचाइ कम गर्न विदेशी शक्तिहरूले लगानी गरेको आरोप पनि उनले राखे । कार्यक्रमभर बस्नेतले ओली नेतृत्वको विकासगत भूमिका दोहोर्‍याउँदै विभिन्न परियोजना ‘ओली सम्झनासँग जोडिने’ दाबी गरे ।

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् । आज (आइतबार) गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् ।

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनु पर्छ भन्ने पक्षमा रहेको बताए । उनले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे । उनले यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताए । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उनको प्रश्न छ ।

उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले । भनिरहनु पर्छ र भन्या ? देशका सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनु पर्छ र ? गर्ने नै होइन नि । चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ । तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन् । यस्तो सरकार । असंवैधानिक सरकार । योसँग चुनाव गराउने केको हक छ ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत । अनुभव बिहीन छ । हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनु पर्छ ।’ अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीको प्रश्न : खासमा यो सरकार कसको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् । पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टोलीसँग आइतबार आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको बेवारिसे सरकार भन्दै प्रश्न उठाएका हुन्।

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको दावी गर्दै ओलीले प्रश्न गरे, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ आखिर यो सरकार कसको हो ?’

अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिने एक मात्र विकल्प भएको ओलीको भनाई छ । ओलीले थप भने। ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंशकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ ।

अध्यक्ष ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उनको भनाइ छ । त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको उनले बताए ।

वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको उनको टिप्पणी छ । उनले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौं । नाटकमा अलिकति कला हुनुपर्छ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौं ।’