`

एमाले कार्यकर्तालाई आउन नदिन माइतीघर पुगे जेनजी घाइते

काठमाडौं । नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेनजी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताएका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ । माइतीघर मण्डलामा भेला भएर एमाले युवाहरूले बानेश्वरसम्म मार्चपास गर्ने बताइएको छ । सोही कार्यक्रमका क्रममा एनभिएफको औपचारिक घोषणा गर्न लागिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एनभिएफको घोषणा गर्नेछन् । एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको संयोजन पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका थिए । कार्यदलले विधान, लोगो, झण्डा, संगठन संरचना, उद्देश्य तथा भविष्यका कार्यक्रमसमेत तयार पारेर फोर्स निर्माण गरेको हो ।

महेश बस्नेतको चेतावनी : अब जहाँ अवरोध, त्यहाँ प्रतिवाद

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो पार्टी र संगठनमाथि बिना कारण अवरोध सिर्जना गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनल खेललाई सम्बोधन गर्दै नेता बस्नेतले बाराको घटनालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् ।

लोकतान्त्रिक पद्धतिमा आलोचना र विरोध स्वीकार्य हुने तर नियोजित अवरोध मान्य नहुने बताउँदै बस्नेतले भने, ‘हामी आलोचना सहन्छौं, तर बिना गल्ती हामीलाई अवरोध गरिन्छ भने– ‘जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ भन्ने सिद्धान्त बोकेर हामी अघि बढ्छौं ।’ बुधबार बारामा आफू सहभागी हुने कार्यक्रममा भएको अवरोधतर्फ संकेत गर्दै उनले एमालेका युवा र विद्यार्थीहरूलाई अराजकताविरुद्ध डटेर सामना गर्न निर्देशन समेत दिएका छन् । ‘कुनै पनि दल वा समूहलाई अवरोध गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘बाटो छेक्ने र कार्यक्रम बिथोल्ने जस्ता अराजक गतिविधि गर्नेहरूलाई हामी छोड्दैनौं ।’

सम्बोधनका क्रममा बस्नेतले पछिल्लो समय उठेको जेन–जी आन्दोलन र सामाजिक सञ्जालका अभियानहरूमाथि पनि तीखो टिप्पणी गरे । उनले एमाले र केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा ‘म्यानुपुलेसन’ भइरहेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा अहिले सूचनाको प्रदूषण छ,’ उनले भने, ‘यहाँ मिसन असफल पार्न खोज्नेहरूलाई दानवीकरण र आफ्ना मान्छेलाई देवत्वकरण गर्ने खेल भइरहेको छ । हामीले यो भ्रमलाई चिर्नुपर्छ ।’ उनले मंसिर २३ को आन्दोलनका एजेण्डाहरू सुशासनको पक्षमा भए पनि त्यसलाई अराजकता फैलाउने माध्यम बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिको प्रसङ्ग कोट्याउँदै बस्नेतले केपी ओली नेतृत्वको सरकारले गरेका पूर्वाधार विकासका कामहरूलाई ओझेलमा पार्न खोजिएको गुनासो गरे । उनले भने, ‘अहिले मैदानमा एनपिएल सुरु भएको छ, फ्लड लाइट जडान भएको छ । यो भिजन र बजेट केपी ओलीकै पालामा सुनिश्चित भएको हो भन्ने कुरा युवाहरूले बिर्सनु हुँदैन ।’ विद्यार्थीहरूलाई हौसला दिँदै उनले शैक्षिक थलोलाई प्राज्ञिक र अनुशासित बनाउन आग्रह गरे । कुनै पनि अराजक दल वा समूहको उक्साहटमा नलाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरूको खेल र अनुशासनले देशको गौरव बढाउँछ, कसैको बहकाउमा नलाग्नु होस् ।’

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलमा एमाले सचिवालय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। भदौ २३–२४ को जेनजी आन्दोलनको क्रममा आगजनी गरिएको पार्टी मुख्यालय आवश्यक मर्मत–सम्भारपछि आज पहिलो पटक च्यासलमै बैठक राखिएको हो । आजको बैठक आसन्न मंसिर २७–२९ को महाधिवेशनमा केन्द्रित हुनेछ । भावी नेतृत्वलाई लिएर पनि आज केही पदाधिकारीले कुरा उठाउने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।

महाधिवेशनको व्यवस्थापकीयलगायत विभिन्न उपसमिति गठन गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । त्यस्तै मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा पनि छलफल हुँदैछ ।

नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मंसिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनु पर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने । च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ । ‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलो पटक बस्न लागेको हो,’ गौतमले भने ।

 

ओलीले सर्वोच्चलाई के दिए लिखित जबाफ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लिखित जबाफ दिएका छन् । यो रिट युवराज सफल, मकबुल मिया र शेरबहादुर रोकायुले दायर गरेका थिए, जसमा ओलीलाई पनि विपक्षी बनाइएको थियो । ओलीका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले अदालतमा जबाफ पेश गरेका थिए । जबाफमा ओलीले भदौ २४ को घटनालाई ‘अराजक र असामान्य अवस्था’ भएको भन्दै त्यसबाट लाभ उठाउने व्यक्तिहरू नै यसको ‘सिर्जनाकर्ता’ भएको बताएका छन् ।

ओलीले भनेका छन्, ‘नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ । अराजक अवस्थाको सिर्जना गराई सुशीला कार्की र उनका मन्त्रीहरूले राज्यसत्ता कब्जा गर्ने प्रयास गरेका छन् । मैले नयाँ सरकार गठन गर्ने उद्देश्यले राजीनामा दिएको हुँ ।’
उनले थपेका छन्, ‘संविधानको धारा ७६ अनुसार सरकार गठन नगरी सुशीला कार्कीलाई नियुक्त गर्नु संवैधानिक उल्लङ्घन हो ।’ ओलीले अदालतलाई स्पष्ट पारेका छन् कि उनले कुनै पनि सिफारिस वा अनुमति दिएर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको होइन ।

अर्कोतर्फ, ओलीले संविधानको धारा १३२ (२) को हवाला दिँदै प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई अन्य सरकारी पदमा नियुक्त गर्न नहुने व्यवस्था उल्लङ्घन भएको बताएका छन् । यसै कारण, प्रधानमन्त्री कार्कीको नेतृत्वमा प्रतिनिधिसभा विघटन पनि संविधानविपरीत भएको उनले जबाफमा उल्लेख गरेका छन् ।

ओलीले यस घटनालाई अवैधानिक ठहर गर्दै भनेका छन्, ‘सरकार गठन नै गैरसंवैधानिक भएकाले यसले गरेका काम स्वतः खारेज हुनेछन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन संविधानविपरीत छ । यस निर्णयलाई बदर गरी प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्छ ।’ नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरिसकेको ओलीको जबाफमा उल्लेख गरिएको छ ।

एमालेका दुई पूर्व मेयरसहित तीन जना पार्टीबाट निष्काशित

विराटनगर । आन्तरिक विवाद र अनुशासनहीनताका घटनाहरू बढ्दै गएको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले कडा कदम चालेको छ । कमिटीको पछिल्लो बैठकले दुई जना पूर्व मेयरसहित तीन जनालाई साधारण सदस्यता समेत खारेज गर्दै पार्टीबाट पूर्ण रूपले निष्काशन गरेको छ । साथै दुई जनालाई स्पष्टीकरण मागिएको छ ।

प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार निष्काशनको सूचीमा परेका तीन जना नेतामा इटहरी उपमहानगरका पूर्व मेयर द्वारिकालाल चौधरी, झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुव शिवाकोटी, र मनोरथ तिवारी रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाका मेयर बनेका चौधरी २०७९ मा पुनः उम्मेदवारी चाहन्थे । टिकट नपाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बने, तर एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । पराजयपछि पुनः एमाले फर्किए पनि सक्रिय भूमिकामा देखिन सकेनन् । स्थानीय नेताहरूमाथि निरन्तर सार्वजनिक आलोचना गर्दै आएका भन्दै उनलाई पार्टीले अनुशासनहीनतामा कारबाही गरेको हो ।

बिर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोप रहेकाले उनी केही समय प्रहरी हिरासतमा बसेका थिए । पछि धरौटीमा रिहा भएका उनी हाल पनि अदालती प्रक्रियामा छन् । यस प्रकरणमा उनी अस्पताल बसेर ‘पार्टीले संरक्षण दिएको’ आरोप समेत सार्वजनिक रूपमा उठ्ने गरेका थिए । पार्टीले यिनै विवादका आधारमा शिवाकोटीलाई साधारण सदस्यबाटै हटाएको सचिव भण्डारीले बताए ।

प्रदेश कमिटीका अनुसार भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्नता प्रमाणित भएकाले मनोरथ तिवारीमाथि कारबाही गरिएको हो । ‘व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि पार्टीको मूलभूत सिद्धान्त विपरीत छ’, सचिव भण्डारीले भने, ‘यस्ता व्यक्तिलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिन कारबाही अनिवार्य बन्यो ।’ यसैबीच, कमिटीले इटहरीका काशीनाथ दङ्गाल र डा. बद्री विशाल पोख्रेलसँग स्पष्टीकरण पेश गर्न माग गरेको छ । दङ्गाल यसअघि नेकपा एकताकालमा एमाले इटहरी नगर कमिटीका सचिव समेत थिए ।

सिमरा घटनाबारे योगेश भट्टराई : गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको जनआधार विस्तार र सामाजिक छवि सुधारका लागि नयाँ जिम्मेवारीसहित अघि बढ्नु पर्ने बताएका छन्। आज (बिहीबार) सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै उनले मधेस केन्द्रित भूमिकामा पुनः सक्रिय हुन पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका हुन् ।

भट्टराईले लेखेका छन्, ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, सामाजिक छवि सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्छ । यसबारे गम्भीरतापूर्वक विचार गर्न अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’ सचिव भट्टराईले मधेस प्रदेशमा हालसम्म एमालेले हासिल गरेको राजनीतिक पुनस्र्थापनामा अध्यक्ष केपी शर्मा ओलीको सूक्ष्म व्यवस्थापन र पार्टी नेताहरूको कठोर परिश्रम मुख्य आधार रहेको उल्लेख गरे । उनका अनुसार २०७२ सालमा संविधान जारी भएपछि मधेस एमालेका लागि चुनौतीपूर्ण क्षेत्र बने पनि पछिल्लो समय पार्टीले उल्लेखनीय पुनरुत्थान गरेको छ ।

भट्टराईले स्मरण गरे, ‘संविधानयताका वर्षहरूमा मधेसमा एमालेका नेता–कार्यकर्ता र पार्टी कार्यालयहरू पटक–पटक आक्रमणमा परे पनि संगठन नटुटेको र निरन्तर क्रियाशील रहेकाले आजका उपलब्धि सम्भव भएका हुन् ।’ उनका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेर एमाले पहिलो दल बनेको र प्रदेशसभामा २५ सिटसहित अग्रस्थानमा उभिनु ठूलो उपलब्धि हो ।

झण्डै १५ महिनासम्म मधेस प्रदेश इन्चार्जका रूपमा काम गर्दा संगठन व्यवस्थापन, सदस्यता प्रणाली, प्रदेश–जिल्ला अधिवेशन तथा जनसंगठन सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भट्टराईको दाबी छ । भट्टराईले मधेसका समुदायमा जातीय विभेद, महिला हिंसा, दलितमाथिको भेदभाव र वर्गीय उत्पीडनविरुद्ध एमालेले उठाएको विमर्शले जनभावना जितेको बताए । त्यसको साथै भौतिक पूर्वाधार विकास, आर्थिक अवसर विस्तार र ‘हिमाल–पहाड–तराई–मधेस एकता’ को पक्षमा चलाएको अभियानले मधेसमा पार्टीप्रतिको आकर्षण बढेको उनको भनाइ छ ।

 

महेश बस्नेतको दावी : ६ गतेको प्रदर्शनपछि सुशीला आमैले राजीनामा दिनुपर्ने स्थिति आउँछ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आगामी ६ गते हुने एमालेको प्रदर्शन रोक्न खोजे त्यसको राजनीतिक परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भृकुटीमण्डपमा आयोजना हुने उपत्यकास्तरीय विशाल सभाले ‘सरकारको आधार नै हल्लिने’ दाबी गरे ।

बस्नेतले उक्त दिन अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा ‘युथ भोलेन्टियर्स फोर्स’ औपचारिक रूपमा घोषणा गरिने बताए । उनले माइतीघरदेखि नयाँबानेश्वरसम्म जुलुससहितको प्रदर्शन हुने जानकारी दिंदै भने, ‘६ गतेको सभा सफल भएपछि प्रधानमन्त्री सुशीला आमैले राजीनामा दिनुपर्ने परिस्थिति उनले आफै महसुस गर्नेछिन् ।’

सरकारलाई ‘अवैधानिक र संविधानले नचिनेको’ भन्दै बस्नेतले सरकार प्रमुख सुशीला कार्की प्रदर्शन रोक्न सक्रिय रहेको आरोप लगाए । सिमरा भ्रमण रोकिएको प्रसंग जोड्दै उनले भने, ‘उनीहरू बारामा हामीलाई अड्याएर एउटा धक्का दिए । तर हामी रोकिँदैनौं । एमाले र युवा संगठन त दुबो जस्तै—जति दबाए पनि फेरि पलाउँछ ।’ आगामी प्रदर्शनका लागि व्यापक तयारी भइरहेको बताउँदै उनले काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो सभा’ हुने दाबी गरेका छन् ।

सरकारले जेनजी नामका युवा उचालेर हामीलाई तर्साउन खोज्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूहरूलाई बाराको कार्यक्रममा जान नदिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले आज (बुधबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले सरकार आफूहरूसँग आतंकित भएको बताएका छन् ।

उनले भने, ‘सरकारले अलिअलि जेनजी नामका युवाहरूलाई उचालेर एयरपोर्ट बन्द गराउने र हामीलाई त्यहाँ जान नदिने योजना बनाएको छ । हामी कानुनको दायराभित्रै रहेर अघि बढ्न चाहन्छौँ, तर किन यति आतंकित बनेको हामीसँग ?’ बस्नेतले एमालेको काठमाडौंमा आयोजना हुने सभापछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने विषयसँग सम्बन्धित भएर पनि निषेध सुरु गरिएको आरोप लगाए ।

‘सिमरा घटना’ मा योगेश भट्टराईको टिप्पणी : निर्वाचन अनिश्चयतर्फ धकेल्ने प्रयास

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिमरा घटनाले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको बताएका छन् । एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू पुग्ने भएपछि बुधबार सिमरा विमानस्थल बाहिर विरोध प्रदर्शन भएको थियो । बारामै तय भएको एक कार्यक्रममा सहभागी हुने पोखरेललसहितका नेताहरू काठमाडौंबाट जाने भएपछि त्यहाँ प्रदर्शन भएको छ । प्रदर्शनका कारण झडपको स्थिति सिर्जना भएको छ भने स्थानीय प्रशासनले सिमरा क्षेत्रका कफ्र्यु आदेश जारी गरेको छ ।

‘नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागी हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ’, योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देशको एक ठाउँबाट अर्को ठाउँमा निर्विवाद हिँड्डुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधानप्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।’ यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्योल र अनिश्चयतिर धकेल्ने कुरामा सचेत रहन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले शान्ति सुव्यवस्था कायम राख्न समेत सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन् ।

प्रचण्डलाई मेरा साथीले घेरा हालिसके, अब देख्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको भन्दै व्यङ्ग्य गरेका छन् । नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड संकटमा परिसकेको टिप्पणी गरे। ‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्,’ उनले भने, ‘एक ढंगले भन्ने हो भने म खुशी छु । दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन् । अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्।’

लामो समय नेकपा एमालेको नेतृत्व पंक्तिमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलजस्ता नेताहरूतर्फ संकेत गर्दै उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके।’ ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमा मात्र रहेको बताए । ‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो । प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने ।

‘सिमरा प्रकरण’ मा ओलीको आक्रोश : सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सभा सम्मेलन र सार्वजनिक कार्यक्रममै अवरोध पुर्‍याइरहँदा स्वतन्त्र र निष्पक्ष चुनाव गराउँछ भन्नेमा विश्वास गर्न नसकिने बताएका छन् । आज (बुधबार) काठमाडौँमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा बोल्दै उनले बाराको सिमरामा भएको घटनालाई उदाहरण प्रस्तुत गर्दै निर्वाचन हुन नसक्ने बताएका हुन् । उनका अनुसार सिमरामा आयोजित युवासम्बन्धी कार्यक्रमका क्रममा विमानस्थल नै अवरुद्ध बनाइएपछि एमालेका नेताहरू त्यहाँ पुग्न सकेनन् ।

बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनु भएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइ दिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

सिमरा जान रोकिएपछि बस्नेतको प्रतिक्रिया : जेनजीको नाममा विभिन्न दलले अराजक भिड उतारे

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रममा सहभागी हुन बाराको सिमरा जान लाग्दा जेनजी युवाहरु आन्दोलनमा उत्रिएका थिए । विमानस्थालसम्म तोडफोड गर्ने तहमा युवाहरु उत्रिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । तर, सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य भएको उनले बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अवरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो ।’

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद भएको उनको टिप्पणी छ । उनले भनेका छन्, ‘हे कठपुतली सरकार, लोकतन्त्र, बिधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ । जनता सबै बुझिसकेका छन् ।’ उनले अवरोधले विचलित नहुने भन्दै लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी राख्ने बताएका छन् ।

पार्टीका शीर्ष नेता जेनजीको विरोध र कफ्र्युका कारण जान नसके राष्ट्रिय युवा संघको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले जानकारी दिएका छन् । कर्फ्युका कारण जनप्रदर्शनको कार्यक्रम भने स्थगित भएको छ ।

सिमरा विमानस्थलमा जेनजी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेतालगायतका नेताहरू काठमाडौंमै रोकिएका हुन् । जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्युका कारण बाटैमा रोकिएको नेता श्रेष्ठले जानकारी दिए । ‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले सुनाए ।

 

 

 

 

 

जेन–जी आन्दोलन घटनाको ‘जिम्मेवारी’ ओलीमाथि थोपर्न मिल्दैन : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै विघटित प्रतिनिधि सभासम्बन्धी राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका समयमा घटेका घटनाबारे कडा प्रतिक्रिया दिएका छन् । लगातार दुई बैठकहरूमा दलका सांसदहरूलाई सम्बोधन गर्दै पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको जिम्मेवारीको प्रश्नलाई खारेज गर्दै वर्तमान सरकारको भूमिकामाथि व्यापक असन्तुष्टि व्यक्त गरेका छन् ।

भदौ २३ र २४ गते चलेको जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको घटना अहिले राजनीतिक बहसको केन्द्रमा छ । तत्कालीन प्रधानमन्त्री ओलीको हैसियतमा उनले यी सबै घटनाको जिम्मा लिनुपर्ने आवाज उठिरहेका बेला पोखरेलले भने, ‘प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम गर्ने क्रममा सरकारी संयन्त्रले प्रयोग गरेको बलको प्रत्यक्ष जिम्मा लिनु ‘‘सही व्याख्या’ नहुने दाबी गरे ।

उनले भने, ‘शान्ति–सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा त्यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्छ भन्ने धारणा युक्तिसङ्गत छैन । जेन–जीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समाधान गर्न सक्दैन, बरु देशलाई पछाडि धकेलिरहेको छ ।’ च्यासलस्थित पार्टी कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकमा पोखरेलले मुख्य एजेण्डा संसद् पुनःस्थापना रहेको स्पष्ट पारे । उनले संविधानले नचिनेको प्रधानमन्त्रीद्वारा गराइएको संसद् विघटन ‘पहिलो दृष्टिमै गलत’ रहेको बताए । ‘विगतका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिन्छ’, पोखरेलले भने, ‘राजनीतिको बिग्रिएको कोर्स यही बिन्दुबाट सुधारिनु पर्छ ।’

‘नहुने चुनावको पैरवी गरेर एमाले हिँड्दैन’
सरकारतर्फबाट सम्भावित निर्वाचनको चर्चा भइरहे पनि एमाले त्यसको विश्वसनीयतामै प्रश्न उठाउँदै अघि बढ्ने पक्षमा छैन । पोखरेलले भने, ‘चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त छैनन् । नहुने चुनावको पैरवी गरेर एमाले हिँड्दैन ।’ जेन–जी आन्दोलनका घटनालाई राजनीतिक रूपमा प्रयोग गर्दै बनेको वर्तमान सरकारले कुनै पनि राष्ट्रिय संकट समाधान गर्न नसक्ने आरोप पोखरेलले दोहो¥याए । ‘मुलुकलाई अघि बढाउनु पर्नेमा अहिलेको सरकारले उल्टै पछाडि धकेलिरहेको छ’, उनले भने ।

ओलीले बनाइ दिएको क्रिकेट रङ्गशाला कुलमानले जुँगा मुसार्दै उदघाटन गर्नु भयो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उदघाटनलाई लिएर शहरी विकासमन्त्री कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण सुरु भएको रङ्गशाला घिसिङले ‘जुँगा मुसार्दै’ उदघाटन गरेको टिप्पणी गरे ।

बस्नेतका अनुसार ओली प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला निर्माण गर्ने रहेको थियो । तीव्र गतिमा निर्माण अघि बढाए पनि निर्धारित समयभन्दा केही ढिलाइ भएको उनले स्वीकारे । तर रङ्गशाला निर्माण ‘ओलीको नेतृत्वमा सम्भव भएको’ भन्दै बस्नेतले उदघाटनको श्रेय घिसिङले लिन खोजेको आरोप लगाए ।

उनका अनुसार आइतबार सम्पन्न उदघाटन कार्यक्रममा क्रिकेट संघका पदाधिकारी—अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का समेत—नैतिक हिसाबले असहज हुनेगरी वक्तव्य दिन बाध्य भएका थिए । बस्नेतले भने, ‘सामाजिक सञ्जालमा आफूलाई ‘हिरो’ देखाउन चाहने कुलमानले ओलीले बनाइदिएको रङ्गशाला उदघाटन गर्दा व्यङ्ग्य नै उत्पन्न भयो ।’

बस्नेतले सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) नेपाल क्रिकेटको जगतमा ‘महत्वपूर्ण मोड’ भएको बताए । विगतमा कीर्तिपुरमा क्रिकेट हेर्न दर्शकले रुखको हाँगामा चढ्नुपर्ने बाध्यता अन्त्य भएर अब व्यवस्थित सुविधासहित खेल हेर्न पाउने अवस्था बनेको उनले उल्लेख गरे । उनले भने, ‘चार–पाँच वर्षअघि क्रिकेट हेर्न जाँदा कतिबेला हाँगो भाँचेला भन्ने चिन्ता हुन्थ्यो । अब त्यस्तो अव्यवस्था छैन, यसको श्रेय ओली ज्यूको निर्णयलाई जान्छ ।’

बस्नेतले केही साहित्यकारले ‘ओलीले सुरु गरेका काम सबै भत्काइदेऊ’ भन्दै व्यङ्ग्य कविता लेखेको उदाहरण समेत प्रस्तुत गरे । धरहरा पुनर्निर्माणदेखि रानीपोखरी, सुरुङमार्गलगायतका परियोजना ओलीकै कार्यकालमा अघि बढेको दाबी उनले दोहोर्‍याए । ओलीको राजनीतिक उचाइ कम गर्न विदेशी शक्तिहरूले लगानी गरेको आरोप पनि उनले राखे । कार्यक्रमभर बस्नेतले ओली नेतृत्वको विकासगत भूमिका दोहोर्‍याउँदै विभिन्न परियोजना ‘ओली सम्झनासँग जोडिने’ दाबी गरे ।

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् । आज (आइतबार) गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् ।

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनु पर्छ भन्ने पक्षमा रहेको बताए । उनले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे । उनले यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताए । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उनको प्रश्न छ ।

उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले । भनिरहनु पर्छ र भन्या ? देशका सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनु पर्छ र ? गर्ने नै होइन नि । चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ । तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन् । यस्तो सरकार । असंवैधानिक सरकार । योसँग चुनाव गराउने केको हक छ ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत । अनुभव बिहीन छ । हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनु पर्छ ।’ अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीको प्रश्न : खासमा यो सरकार कसको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् । पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टोलीसँग आइतबार आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको बेवारिसे सरकार भन्दै प्रश्न उठाएका हुन्।

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको दावी गर्दै ओलीले प्रश्न गरे, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ आखिर यो सरकार कसको हो ?’

अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिने एक मात्र विकल्प भएको ओलीको भनाई छ । ओलीले थप भने। ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंशकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ ।

अध्यक्ष ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उनको भनाइ छ । त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको उनले बताए ।

वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको उनको टिप्पणी छ । उनले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौं । नाटकमा अलिकति कला हुनुपर्छ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौं ।’

 

‘सरकारको बुझाइमा सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई जेल हाल्नु हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जेनजी युवाहरूको नाममा ‘संगठित नाटक’ खेलिरहेको आरोप लगाएका छन् । गुण्डुस्थित आफ्नै निवासमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारीका पदाधिकारीहरूसँगको भेटवार्तामा अध्यक्ष ओलीले हाल देखिएका जेनजी अभियोजन र मागपत्रका गतिविधिहरू सरकारले नै निर्माण गरेको दाबी गरे ।

ओलीका अनुसार जेनजी युवाहरूलाई सँगै पारेर, उनीहरूकै नाममा मागपत्र मस्यौदा तयार पारिदिने र क्यामेरामै प्रस्तुत गराउनेसम्मको योजना सत्ता पक्षबाट भइरहेको छ । उनले भने, ‘सरकारको बुझाइमा सुशासन भनेको केपी ओली र रमेश लेखकलाई जेल हाल्नु हो । त्यही उद्देश्य पूरा गर्न जेनजी समूहको नाममा मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर पढाइ दिने काम भइरहेको छ । यी सबै कलाविहीन नाटक हुन् ।’ उनले यी गतिविधिका संरचनाकारदेखि मागपत्र लेख्ने व्यक्ति र व्यवस्थापनकर्तासम्म सबैबारे आफूलाई स्पष्ट जानकारी रहेको दाबी गरे । ‘बिना पैसा यति ठूलो नाटक हेर्न पाइन्छ भन्ने पनि पहिला थाहा थिएन’, ओलीले व्यंग्य गरे ।

ओलीले वर्तमान प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक निर्णय’ भन्दै तत्काल पुनःस्थापना हुनुपर्ने माग दोहोर्‍याएका छन् । उनका अनुसार अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिनु संविधान विपरीत र लोकतान्त्रिक अभ्यासका लागि हानिकारक छ ।

अध्यक्ष ओलीले केही युवालाई जेनजी नाम दिएर १०–२० जनाको समूहमा उभ्याई आफूलाई धम्क्याउने शैलीअनुरूप प्रयोग गरिरहेको दाबी पनि गरेका छन् । ‘उनीहरूमा आवेश र उत्तेजना त देखिन्छ, तर सकारात्मक विचार र गन्तव्य केही छैन’, उनले भने । उनले सरकार चुनावी तयारीभन्दा बढी नाटक र प्रदर्शनमा केन्द्रित रहेको आरोप लगाए ।

ओलीले अवकाश लिए लगत्तै पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई आचरण विपरीत ‘स्थान हद तोकिएको’ निर्णयप्रति कटाक्ष गरेका छन् । ‘हिजोसम्म देशको सुरक्षाको जिम्मा लिने व्यक्ति आज कतै जान नपाउने बनाइयो । यस्तो निर्णयभन्दा ठूलो तमासा के हुन सक्छ ?’ उनले प्रश्न गरे ।

ओलीले सरकारले कानूनको शासन कमजोर बनाउँदै निर्दोषलाई थुनिने, दोषीलाई उन्मुक्ति दिने वातावरण बनाएको आरोप लगे । अध्यक्ष ओलीले आफू सत्य बोलिरहने र निरन्तर लडिरहने व्यक्ति भएको दाबी गरे । ‘कसैले यसलाई दम्भ ठान्छ भने पनि यो घट्दैन । देश बनाउने संकल्पमा म कमजोर हुँदिनँ’, उनले भने ।

 

एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी

सुर्खेत । तीन दिनअघि मात्रै सुर्खेतको वीरेन्द्रनगरमा खोलिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी भएको छ । आज (आइतबार) बिहान करिब ३ बजेको समयमा चौधरीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । शान्ता चौधरी आफै आएर तीन दिनअघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन् । पसलमा आगलागी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

उनले आफ्नो जीन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जीन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’

यस्तै शान्त चौधरीको पसलसँगै एमाले सुर्खेत जिल्ला कमिटी सदस्यको फेन्सी पसलमा पनि आगजनी भएको छ । यी आगलागीका घटना शंकास्पद हुन सक्ने नेतृ चौधरीले बताएकी छन् । तर, प्रहरीले आगो उद्योगबाटै लागेको अनुमान गरेको छ । आगजनीबाट ३० लाख बढीको धनमाल क्षति भएको अनुमान प्रहरीको छ ।

फागुन २१ को निर्वाचन ‘हनी ट्रयापिङ’ : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन मूलतः ‘हनी ट्रयापिङ’ शैलीको राजनीतिक जाल र प्रतिक्रान्तिलाई वैधता दिन रचिएको षड्यन्त्र मात्र भएको आरोप लगाएका छन् । एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभामा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारले प्रतिक्रान्तिलाई वैधता दिन निर्वाचनको नाटक रचेको दाबी गरे ।

बादलका अनुसार भदौ २३ र २४ गतेका घटनालाई वैधता दिन र स्थापित दलका शीर्ष नेताहरूलाई कमजोर पारेर निर्वाचनमा धकेल्न विभिन्न योजनाहरू तयार पारिएका छन् । उनले संविधानले निषेध गरेको पात्रलाई विदेशी शक्तिको संकेतमा प्रधानमन्त्री बनाइएको र त्यसैका आधारमा दलहरूलाई फसाउने प्रयास भएको आरोप लगाए ।

उनले भने, ‘स्थापित दलका नेताहरूलाई चुनावमा भाग लिन नदिए विदेशी शक्तिले कार्की सरकारलाई पनि हटाउँछ–यस्तो खेल भइरहेको छ।’ उनका अनुसार प्रतिनिधिसभा पुनःस्थापना भई संसदको सार्वभौम निर्णयबाट मात्र निर्वाचन हुनुपर्ने हो, बाह्य शक्तिको प्रभावमा सरकार बनाइेर निर्वाचन घोषणा गर्नु संविधान सम्मत होइन ।

विदेशी हस्तक्षेपबारे चिन्ता व्यक्त गर्दै उनले नेपाललाई सामरिक प्रयोगस्थल बनाउन खोजिएको दाबी गरे । ‘नेपालका स्रोत–साधन कब्जा गर्ने, भारत–चीनमा पृथकतावादी गतिविधि भड्काउने, नेपालमा सैनिक जम्काभेट बिन्दु बनाउने योजना अन्तर्गत भदौ २३–२४ को ‘कलर रिभोलुसन’ रचिएको हो’, बादलले आरोप लगाए । उनले बालेन शाह र रवि लामिछाने जस्ता नयाँ पात्रहरूलाई विदेशी शक्तिले ‘कठपुतली जेलेन्स्की’ बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

उनका अनुसार स्थापित दलहरू आ–आफूसँगै लागेर यो ‘षड्यन्त्र’ बुझ्न नसके नेपाल विदेशी सैन्य प्रभावको अखडा बन्ने खतरा छ । उनले फागुन २१ को निर्वाचन जनतालाई भुलभुलैया पार्ने प्रयास मात्रै भएको दोहोर्‍याए ।

प्रचण्ड र माधव नेपाल मिलेर बनाएको नयाँ कम्युनिष्ट मोर्चालाई बादलले ‘१० कोठे टहरो’ भनेर व्यंग्य गर्दै उक्त संरचनाले उनीहरूको राजनीतिक ओरालो यात्रालाई रोक्न नसक्ने टिप्पणी गरे । ‘अस्तित्व जोगाउन बनाइएको टहरोले केही असर गर्दैन, मूल घरमा फिर्ता भए मात्र केही सम्भावना हुन्छ’, उनले भने । उनका अनुसार पार्टीले कोर्स सच्याएर फर्किन गरेको अपिल स्वीकार गर्नेहरू बढ्दो क्रममा छन् ।

मैदानले प्रमाणित गर्‍यो, एमाले बाहेक विकल्प छैन : शंकर पोखरेल

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले जटिल मोडमा उभिएको र यस्तो परिस्थितिबाट पार लगाउनसक्ने शक्ति केवल एमाले मात्रै भएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सुरु गरिएको जनपरिचालन अभियानअन्तर्गत नेपालगञ्जमा आयोजित विशाल सभामा बोल्दै उनले हाल देखिएको राजनीतिक तथा प्रशासनिक संकट कुनै आकस्मिक घटना नभई योजनाबद्ध हमला भएको आरोप लगाए ।

भदौ २३ र २४ मा देशका विभिन्न सरकारी संरचनामा भएको सामूहिक तोडफोड साधारण असन्तोष नभई राज्यको मेरुदण्ड कमजोर पार्ने उद्देश्यले गरिएको गम्भीर अपराध भएको पोखरेलको भनाइ थियो । उनले भने, ‘सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगो लगाइयो । यसले कसको नियत कस्तो हो भन्ने स्पष्ट हुन्छ ।’

पोखरेलले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई लक्षित गर्दै आगजनीको स्वरूप नै ‘सुसूचित संलग्नता’ तर्फ इङ्गित गर्ने दाबी गरे । उनले भने, ‘देशभर स्थानीय तहहरू जलाइए, वडा कार्यालय नष्ट गरिए । तर काठमाडौंमा के भयो ? शितलनिवास जल्छ, छेउको निर्मल निवासमा एक थोप्ला पनि पर्छैन । यसले धेरै कुरा आफै बोल्छ ।’

संघर्ष, जेल र भूमिगत जीवन एमालेका कार्यकर्ताले भोगेको स्मरण गराउँदै उनले पार्टीलाई डराउने, भाँच्ने वा समाप्त पार्ने रणनीति विफल भएको दाबी गरे । उनका अनुसार पार्टी कार्यालय जलाएर, धुवाँ उठाएर एमाले सकिन्छ भन्ने बुझाइ षडयन्त्रकारीहरूको भ्रम मात्र हो । सभामा उपस्थित कार्यकर्तामाथि उनले चुनौतीपूर्ण शैलीमा प्रश्न गरे, ‘आज मैदानमै हेर्नुस्, एमालेभन्दा ठूला वा सक्षम शक्ति कतै देखिन्छ ?’ उनले कार्यकर्तालाई उच्च मनोबलमा संगठन सुदृढ बनाउँदै अघि बढ्न आह्वान गरे ।

एमालेले आज ७७ जिल्लामै जनसभा गर्दै, कुन नेता कहाँ खटिए ?

काठमाडौँ । नेकपा एमालेले आज (शनिबार) ७७ जिल्लामै जनसभा गर्दैछ । ‘प्रतिगामी षडयन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांश जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ । ‘आजको सभाबाट हामी एमाले देशैभर अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौँ,’ गौतमले भने ।

एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ। मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।

आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्ने तालिका छ ।

यस्तै रुपन्देहीमा हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा, अर्का सचिव पद्ध्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने तालिका छ । कोशीका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

महाधिवेशनमा संगठन र विधानबारे थप बहस र परिमार्जन आवश्यक छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा राजनीतिक, सांगठानिक प्रस्ताव र विधानमा थप बहस र परिमार्जन आवश्यक रहेको बताएका छन् । अध्यक्ष केपी ओलीले महाधिवेशनमा छलफल नहुने धारणा सार्वजनिक राखेपछि उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।’ पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूले उद्घाटन मन्तव्य दिएपछि चुनावी प्रक्रिया शुरु हुने भन्दै अरु बहस नहुने बताएपछि पोखरेलको जवाफ आएको हो । पोखरेल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धाको तयारीमा छन् ।

हेर्नुस् पोखरेलको अपिल–

भदौ २३ गते भएको ‘नव–युवा पुस्ता’(जेनजी पुस्ता ) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौँ । अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोसिस गरिँदै छ ।

अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमशः सामान्य हुँदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।

यो महत्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिबद्ध सबै राजनीतिक दल , नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू बिचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरुरी छ । त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता , सार्वभौमिकता, राष्ट्रिय एकता , स्वाधीनता , स्वाभिमान र लोकतन्त्रलाई अक्षुण्ण राख्न सक्छौँ । यसबिच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकांक्षा, आशा , असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिँदैन पनि ।

त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरुरी छ । सोही अनुसार हाम्रो विचार , कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरुरी छ । राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्‍याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौँ । त्यसका लागि हामी सबैले आग्रह , पूर्ववत् अडान , अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नु पर्छ ।

आन्दोलन र विध्वंसको पक्ष ÷ विपक्ष वा वादी ÷ प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन । इतिहासका हरेक राष्ट्रिय सङ्कट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी – नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गाँसिएर एउटा जीवित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहन्छु ।

स्कुले विद्यार्थी हुँदादेखि , को–अर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि; भूमिगत जीवन, जेल जीवन , निरङ्कुश पञ्चायती शासन काल , त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसाबले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, दुई पटक महासचिव हुँदै हाल पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । यस क्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहँदै आएको कुरा सगौरव स्मरण गराउँदछु ।

आगामी दिनमा पनि मेरो यो प्रतिविद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमुदाय , जेनजी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन विगतमा जस्तै फेरि एक पटक अभूतपूर्व एकताका लागि अपिल गर्दछु ।

त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचना हुँदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु । मलाई थाहा छ – यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनले ( २७–२९ मङ्सिर २०८२, काठमाडौं) सबैको ध्यान तानेको छ । गत २०–२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेजहरू पारित गरिएको थियो । भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ ।

राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्ग निर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ। भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ ।

तसर्थ , आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । ज ब ज को सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु ।

प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद् भंगको खारेजी तथा घोषित मितिमा संसद्को निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा ( एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मङ्सिर ६ गते राजधानी काठमाडौंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायलाई अपिल गर्दछु ।

 

सरकारलाई ओलीको प्रश्न : दल र नेताहरुलाई निषेध गरेर कस्तो चुनाव गर्न खोजेको ?

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलिरहेको ‘चुनाव नाटक’ को संज्ञा दिंदै अहिले लोकतन्त्रकै उपहास गरिएको आरोप लगाएका छन् । भदौ २३–२४ को घटनालाई ‘विध्वंसको जन्मस्थान’ भन्दै उनले त्यसकै आधारमा बनेको सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको भाषण गर्नु नै विसंगति भएको टिप्पणी गरेका छन् ।

झापाका अगुवा कार्यकर्ताहरूसँग बिहीबार साँझ भर्चुअल संवाद गर्दै ओलीले अहिलेको सरकारले नेताहरूलाई ठाउँ–ठाउँमा रोक्ने, जिल्लामा प्रवेश निषेध गर्ने, प्रचार–प्रसार रोक्ने र दल–नेतामाथि अनावश्यक अवरोध खडा गर्ने कार्यलाई ‘चुनावको पूर्व तयारी होइन, विपक्षी दमनको पूर्वाभ्यास’ भएको बताए ।

उनको प्रश्न थियो, ‘राजनीतिक दललाई घुम्न नदिने, नेतालाई निर्वाचन क्षेत्र छिर्न नदिने, मतदातासँग भेट गर्न रोक्ने—यस्तै तालमा कस्तो चुनाव गराउन लागेको हो यो सरकार ?’ ओलीले झापामा एमालेमाथि ‘जेन–जी’ नाममा भएको आक्रमणलाई नियोजित राजनीतिक द्वेषको उपज भनेका छन् । राष्ट्रहित, विकास र समृद्धिको एजेण्डामा एमाले अगाडि बढिरहेको देखेर विप्लवी प्रवृत्तिले पार्टीलाई निस्तेज पार्न खोजेको उनको भनाइ छ ।

पार्टीका कार्यकर्ताहरूलाई ‘अराजकता रोक्न अब हरेक टोलमा टोल सुरक्षा समिति गठन’ गर्न निर्देशन दिँदै ओलीले समुदायमै सुरक्षा प्रत्याभूति निर्माण गर्न एमाले सक्षम रहेको दाबी गरे । यी समितिहरूले आपराधिक गतिविधि नियन्त्रण, संलग्न व्यक्तिलाई प्रहरी समक्ष बुझाउने र स्थानीय तहमा सुरक्षाको वातावरण बनाउने जिम्मेवारी पाउने उनले स्पष्ट पारे ।

अध्यक्ष ओलीले गैरसंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाका लागि ‘देशव्यापी दबाब’ सिर्जना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना नै लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा फर्काउने एक मात्र उपाय भएको बताउँदै उनले कात्तिक २९ गते झापामा ‘भव्य जागरण सभा’ गर्ने तयारी थाल्न निर्देशन दिएका छन् । बैठकमा झापा अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३-२४ को तोडफोड, आगजनी र त्यसपछिको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

 

केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध : महेश बस्नेत

दाङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको बताएका छन् । दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको दाबी गरेका छन् ।

‘अहिले पार्टीभित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ । यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो । हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइ दिन्छौँ’, बस्नेतले भने ।

 

सरकार देशलाई चुनावतिर होइन, संकटतर्फ धकेल्दै छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले मुलुकलाई चुनावतर्फ नभई संकटतर्फ धकेलिरहेको आरोप लगाएका छन् । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले लोकप्रिय नेताहरूलाई निष्क्रिय पार्ने र संविधानविपरीतका कदम चालेर सरकारले देशलाई अस्थिरतातर्फ लैजाने प्रयास गरिरहेको बताए ।

‘लोकप्रिय पार्टीका नेतालाई स्थान हद गरेर चुनाव हुने होइन, मुलुकमा संकट निम्तिन्छ,’ उनले भने, ‘यो सरकार देशलाई चुनावको बाटो होइन, संकटको खाल्डोमा धकेल्दै छ ।’ महासचिव पोखरेलले देशको अहिलेको संकट समाधान गर्ने एकमात्र उपाय प्रतिनिधि सभाको पुनस्र्थापना भएको बताए । उनका अनुसार पुनस्र्थापित संसद्ले संविधानलाई सही बाटोमा ल्याउँदै युवाहरूका माग सम्बोधन गर्न सक्नेछ ।

केपी ओली नै अबको अध्यक्ष, त्यसमा कुनै शंका छैन : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आउँदो महाधिवेशनबाट केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउने विषयमा कुनै शंका नरहेको दावी गरेका छन् । बिहीबार धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा, व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन । त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ ।’

असंवैधानिक बाटोबाट बनेको वर्तमान सरकारले जनादेश लिन नचाहेको उनले जिकिर गरे । एमाले चुनावसँग नडराएको समेत उनले बताए । अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउँदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरणजस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।’

सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा जेनजीले भदौ २३ गते गरेको शान्तिपूर्ण आन्दोलन ‘हाइज्याक’ गरिएको उनले बताए । साथै एमाले छाडेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका विषयमा उनले त्यसले आफ्नो पार्टीलाई कुनै क्षति नगर्ने बताए । रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेले नोक्सानी व्यहोरिसकेकाले थप क्षति नहुने उनको भनाइ थियो ।

 

‘घर फर्किएका’ लाई शंकर पोखरेलले भने–कोही जिम्मेवारीविहीन हुनु पर्दैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘घर फर्किएका’ नेता–कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुन नपर्ने बताएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङताङसहितका ‘पाटी फर्क अभियान’ मार्फत पुनः जोडिएका नेताहरुसँगको छलफलमा पोखरेलले त्यस्तो आश्वासन दिएका हुन् ।

छलफलमा सहभागी विघठित प्रतिनिधिसभा सदस्य एवं पार्टी नेता किसान श्रेष्ठका अनुसार महासचिव पोखरेलले देशभरिबाट पार्टी फर्किहरुको सूची एक साताभित्र पेश गर्न भनेका छन् । पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्योभन्दा तलको व्यवहार नहुने महासचिव पोखरेलको आश्वासन छ ।

पूर्व हैसियत भन्दा माथिको जिम्मेवारी दिने पार्टीको अधिकतम प्रयास रहने उनले बताए । तर, कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर टुंगो लगाइने भएको छ । ‘आउनु भएका सबै साथीहरुको नाम हेरौँ, त्यसपछि कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे त्यसपछि छलफल गरौँ’, महासचिव पोखरेलले भने ।

पार्टीको आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनेदेखि उक्त महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिहरुमा जिम्मेवारी दिने विषय पनि एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको श्रेष्ठले बताए । ‘हामी केन्द्रीय कमिटी तहका मान्छेहरुलाई अहिले नेता मात्रै भन्ने, जिम्मेवारी चाहिँ एक हप्तापछि टुंगो लगाउने भन्नु भयो’, उनले भने ।

 

माधव नेपालले माओवादीमा लगेर पार्टी विसर्जन गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विभाजन गरेर बनेको पार्टीलाई माधव नेपालले माओवादीमा लगेर विसर्जन गराएको आरोप लगाएका छन् । नेपालले जबजलाई कमजोर बनाउन खोजेको पोखरेलको आरोप छ । नेकपा एमालेले चलाएको ‘घर फर्क अभियान’लाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जस्तै पार्टी बनाउने भनेर नेपालले पार्टी माओवादीमा लगेर विसर्जन गर्ने काम गरेको आरोप लगाएका हुन् ।

‘एमालेबाट अलग भएको पार्टी माओवादी पार्टीमा विसर्जनको रूपमा अन्त्य भएको छ । माधव नेपालको पछि लागेर नेपालको कम्युनिस्ट आन्दोलन र जबजलाई कमजोर पार्न खोजिएको छ’, पोखरेलले भने । पोखरेलले भदौ २३–२४ को घटनाविरुद्ध एमालेले मात्र सही अडान लिएको दाबी पनि गरे । ‘विगतमा पनि गलत मान्यताको विरुद्धमा सही मार्गमा डोर्‍याउने काम केपी ओलीले गर्नुभएको थियो’, उनले भने, ‘माओवादी लडाकूको त्रास रहेको बेला युथफोर्सका माध्यमबाट समाजमा उत्पन्न भय त्रास अन्त्य गरेर समाजमा सुरक्षाको वातावरण बनाउने काम गरेका थियौं ।’ कार्यक्रममा नेकपा एस परित्याग गरेकी रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरू एमालेमा फर्केका छन् ।

 

 

जेनजीलाई रामकुमारीको अपिल : एमालेमा आउनुस्, चारै ढोका खुला छन्

काठमाडौं । नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पुस्ता–विशेषतः जेनजीलाई एमालेमा आउन अपिल गरेकी छिन् । एक समय सडकमा राज्य र दलप्रति प्रश्न उब्ज्याउने आवाज रहेकी झाँक्रीले अब त्यही पुस्तालाई ‘व्यवस्थित राजनीतिक यात्राको’ आग्रह गर्दै खुला निम्तो दिएकी हुन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले भनिन्, ‘तपाईंहरूको विद्रोह र आक्रोश जायज छन् । तर जसरी त्यस आक्रोशलाई विभिन्न शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन्, अब त्यसबारे जेनजी पुस्ताले गम्भीर सोच्नुपर्छ । तपाईंहरू आफ्नै पार्टी खोल्न चाहनु हुन्छ भने हाम्रो शुभकामना छ, तर खोल्न चाहनु हुन्न भने हामी जस्तै एमालेमै आउनुस् । हरेक जेनजीका लागि एमालेका चारै ढोका खुला छन् ।’

झाँक्रीका अनुसार अहिलेको राजनीतिक द्वन्द्व ‘एमाले बनाम जेनजी आन्दोलन’ मा रूपान्तरित भएको छ । उनले भनिन्, ‘जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो, सामान्य पनि थियो । तर त्यसमा रोटी सेक्न खोज्ने धेरै तत्वहरू मिसिए । अहिले फर्केर हेर्दा त्यो आन्दोलनको स्टेकहोल्डर को हो भन्नेमा प्रतिस्पर्धा चलेको छ । समाजमा ध्रुवीकरण–‘एमाले बनाम जेनजी आन्दोलन’ को रुपमा देखिन्छ ।’

पूर्व समाजवादी नेतृ झाँक्रीले आफ्नो विगतका गल्तीहरू स्वीकार गर्दै आलोचकहरूलाई पनि जवाफ दिइन् । ‘मलाई थाहा छ, तपाईंहरूले विगत र वर्तमान हेरेर मलाई ट्रोल गर्नु हुन्छ होला । त्यो मलाई स्वीकार्य छ । हामी वास्तविकताबाट टाढा हुन सक्दैनौं । यसैले मैले कुनै शर्त बिना नै एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सहभागी भएकी छु ।’

उनको भनाइमा अहिलेको राजनीतिक यथार्थ के हो भने, जनताको रक्षक एमाले बाहेक अरू कुनै दल हुनै सक्दैन । ‘एकताबद्ध भएर जनता माझ गयौं भने जनताले विश्वास गर्छन् । एमाले मात्रै जनताको वास्तविक रक्षक हो’, उनले दृढतापूर्वक भनिन् । झाँक्रीको यो खुला सन्देशसँगै एमालेभित्र अब युवा पुस्ता–विशेष गरी डिजिटल आन्दोलनबाट आएका जेनजी कार्यकर्ताहरूलाई भित्र्याउने नयाँ रणनीति देखिएको विश्लेषकहरूको भनाइ छ ।

एमाले फुटाउनु जीवनकै ठूलो भूल भयो : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल महसुस गरेको बताएका छन् । राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्प भएको बताएका छन् ।

मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै रहेको भन्दै गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित आफूहरू फर्किएको र कुनै माग, शर्त र चाहना नभएको बताएका छन् । पार्टी छाडेपछि एमाले केबल एउटा संगठन मात्र नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको बुझेको श्रेष्ठले बताएका छन् ।

‘एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ’, उनको भनाइ छ । केपी ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको भन्दै श्रेष्ठले ओलीले उठाएका राष्ट्रियता, विकास र सुशासनका मुद्दा नै आफूहरू घर फर्कनु आवश्यक छ भन्ने भावना जागृत भएको बताए । ‘आदरणीय केपी शर्मा ओली ज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो । आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ ।’

हेर्नुस् श्रेष्ठको भनाइ जस्ताको तस्तै
आजको यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्षअघि हामीले विभिन्न कारणले नेकपा (एमाले) बाट अलग भएर अर्को बाटो रोज्यौँ । त्यो निर्णय त्यो बेलाको परिस्थितिमा ठिक लागे पनि, आज पछिल्लो अनुभूति र आत्म मन्थनपछि हामी त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ ।

एमाले छोडेपछि हामीले बुझ्यौँ, यो पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ ।

आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यूको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको छ । अहिलेसम्मको यात्रामा अध्यक्षज्यूले जुन प्रकारले राष्ट्रियता, विकास र सुशासनका मुद्दा उठाउनुभयो, त्यो नै प्रमुख कारण हो — हामी फेरि घर फर्कनु आवश्यक छ भन्ने भावना हाम्रो मनमा जागृत भएको छ ।

आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ । हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ । अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ । आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ ।

एमाले छाडेपछि हामीले महसुस ग¥यौँ– यो पार्टी केवल संगठन होइन, यो त विचारको घर हो, राष्ट्र प्रेमको दिशा हो, देशको भविष्यको बाटो हो । जब हामीले पछिल्ला वर्षहरूमा राजनीतिक अवस्थाको समीक्षा ग¥यौँ, एउटा कुरा स्पष्ट भयो– देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको लागि एमालेको भूमिका अपरिहार्य छ ।

आदरणीय केपी शर्मा ओलीज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो । आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ ।

त्यसैले आज, हामी हाम्रै विगत सुधार्दै, हाम्रो मूल घरमा फर्किएका छौँ । हामीसँग देशभरिका अनेकौँ साथी पनि हुनुहुन्छ । जसले यो पार्टीलाई अझ सबल बनाउने प्रतिज्ञा गर्नुभएको छ । हामी ओलीज्यूको नेतृत्वमा देशलाई आत्मनिर्भर, सुशासित र समृद्ध बनाउन पूर्ण समर्पणका साथ अघि बढ्नेछौँ । हामी फेरि जनताको भरोसा जित्नेछौँ, हामी फेरि राष्ट्रनिर्माणको अग्रपंक्तिमा रहनेछौँ ।

आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काई केवल राजनीतिक निर्णय होइन, यो आत्म साक्षात्कार हो, यो जनताको बीच फर्कने यात्राको सुरुवात हो, यो हामीजस्ता पार्टीमा फर्किनका निम्ति आउनुभएका समस्त साथीहरुको जीवनको सबैभन्दा सत्य क्षण हो ।

विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।

सुदृढ र सशक्त नेकपा एमाले निर्माण गर्नु हाम्रो साझा संकल्प हो । मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार नेकपा एमाले नै हो । एमालेको सर्वोपरी हित, देशभरका नेता, कार्यकर्ता कमरेडबीच सौहाद्रता, हार्दिकता र भातृत्वपूर्ण व्यवहारबाट त्यो सम्भव छ । गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित हामी पार्टीमा फर्किएका छौं । यो बाहेक हाम्रा अरु कुनै माग, शर्त र चाहना छैन ।
धन्यवाद ।

 

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेको एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने उनले जनाएका छन् । संसद् पुनस्र्थापनाको माग गर्दै एमालेले सडकमा समेत उत्रिने तयारी गरेको छ ।

ओलीको प्रश्न : त्यसबेला शुकरात त भागेनन्, आज केपी ओली भाग्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका छन् । बुद्धिजीवि वर्गको अन्तर संवादमा बोल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताए ।

उनले भने, ‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि । सुनेको मात्रै है, कुनै पत्र दिएको छैन ।’

आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने समेत उनले बताएका छन् । उनले थपे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आ–आफैं मात्रै लड्छौँ ? पार्टीहरू लड्छन् चुनाव । यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन् ।’ उनले प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर हरेक नेपाली आन्दोलित हुनुपर्ने समेत बताए ।

 

मङ्सिर २७ मा एमालेले इतिहासकै ठुलो जनसभा गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, उनले भने– ‘र, मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ ।’

उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्’, पोखरेलको भनाइ छ ।

अहिलेको सरकारले अपराध र आन्दोलनलाई छुट्टयाउनै सकेन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा मोबाइलमा अत्यधिक निर्भर युवाहरूलाई केही गलत तत्वले दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको युवा सक्रियता स्वतःस्फूर्त नभएको दाबी गरे ।

‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ पोखरेलले भने, ‘सूचना प्रविधिप्रतिको लत र आशक्तिको स्तर कहाँ पुगेको छ भन्ने कुरा पछिल्ला घटनाले देखाएका छन् ।’ उनका अनुसार जेनजी पुस्ताले अघि सारेका माग अनुचित थिएनन्, तर ती मागहरू स्पष्ट रूपमा सरकारसमक्ष प्रस्तुत हुन नसक्दा आन्दोलन दिशाहीन भयो । ‘सरकारले माग नसुनेको होइन, मागहरू प्रस्तुत नै भएनन्,’ उनले भने, ‘को कसले नेतृत्व ग¥यो भन्ने पनि पूर्ववर्ती सरकारले थाहा पाएन ।’

पोखरेलले सरकारले युवाका प्रश्नप्रति चासो नदेखाएको भन्ने आरोपहरूलाई असत्य ठहर गर्दै, परिस्थितिलाई स्वार्थअनुसार तोडमोड गर्ने प्रयास भएको दाबी गरे । ‘सामान्य विषयलाई पनि सरकारले उपेक्षा ग¥यो भन्ने भ्रम फैलाइयो,’ उनले भने, ‘घटनालाई आफ्नो एजेण्डा अघि बढाउने माध्यम बनाइएको देखिन्छ ।’ महासचिव पोखरेलले अहिलेको सरकार भदौ २३ र २४ गतेको घटनामा अपराध र आन्दोलनलाई छुट्टयाउन पूर्णतः असफल भएको बताएका छन् ।

उनले अहिले अपराध र आन्दोलनलाई छ्यासमिस पार्ने प्रयत्न भइरहेको बताएका छन् । ‘राज्यका प्रतिष्ठाका केन्द्रहरूमा आगजनी र लुटपाट गर्ने कुरा, यस प्रकारका कामहरू अहिलेका नवयुवा पुस्ताले गर्न सक्छ कि सक्दैन, उनीहरूको आन्दोलनको विषय थियो कि थिएन ? भन्ने कोणबाट हेर्ने हो भने उनीहरूले आन्दोलनको विषय थिएन । उनीहरूले त्यस्तो काम गर्न सक्दैनन् भन्ने हामी ठान्छौं । त्यसकारण जसले त्यो काम गरे तिनीहरू राष्ट्रका अपराधीहरू हुन् भन्ने कुरा बुझ्नु पर्छ । जसले सुनियोजित हिसाबले ती काममा प्रयोग गर्ने योजना बनाए । तिनीहरूको पहिचान गरेर कारबाही गर्नुपर्छ । हाम्रो पार्टीको मान्यता रहँदै आएको छ,’ उनले भने, ‘तर अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्टयाउने कुरामा पूर्णत असफल छ ।’ त्यसकारण एमालेले बारम्बार आन्दोलनलाई सम्बोधन गर्न सकिने तर अपराधलाई दण्डित गर्नुपर्ने बताउँदै आइरहेको जानकारी दिए । ‘आन्दोलन र अपराध छ्यासमिस पार्ने कुरा उचित होइन,’ उनले भने ।

 

 

एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्दै

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्ने भएका छन् । प्रेस चौतारीको आयोजनामा कार्यक्रम हुन लागेको प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिएका छन् ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो । सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुनेछ ।

 

गुण्डुबाट एमालेले घोषणा गर्‍यो ‘युथ भोलेन्टियर फोर्स’ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष भेला राखिएको हो । भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता देखिएका छन् ।

जेन–जी आन्दोलनपछि पार्टीका नेता महेश बस्नेत र युवा संघको सुरक्षामा ओली दम्पती रहँदै आएका छन् । युथ भोलेन्टियरको घोषणाले नेकपा एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको छ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सको केही आचार संहिता पनि बनाइएको बताए । उनले भने, ‘आगामी दिनमा ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायत जिल्लामा पनि विस्तार गर्ने योजना छ ।’

यस फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरसँग समन्वय गर्दै नेताहरूको सुरक्षा र अराजकता नियन्त्रणमा काम गर्नेछ । बस्नेतले विगतमा युथ फोर्सको सक्रियताले माओवादीको आतंक हटाएको अनुभवलाई स्मरण गर्दै, वर्तमानमा पनि यस्ता गतिविधिमा निरन्तरता दिने दाबी गरे ।

 

गृहमन्त्रीले तत्काल बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

वामपन्थीहरूमा ‘मिसिने तर नमिल्ने’ प्रवृत्ति छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरूको ‘मिसिने तर नमिल्ने’ प्रवृत्तिका रहेको पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले लेखेका छन्, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता ।’ उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’

 

योगेश भट्टराईद्वारा एकताका चार आधार प्रस्तुत, ओलीको आह्वानलाई गरे समर्थन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेताहरूप्रति मूल घर फर्कन आह्वान गरेको प्रसंगलाई स्वागत गर्दै यो समयानुकूल र सान्दर्भिक भएको बताएका छन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले निषेध, प्रतिशोध र घृणाको राजनीति त्यागेर सहकार्य र सहअस्तित्वको बाटोबाट एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको राष्ट्रिय आवश्यकता वाम आन्दोलनलाई जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा एकताबद्ध बनाउनु हो ।

भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र बन्नै पर्छ, त्यो एमाले हो ।’

एकताको दिशामा अघि बढ्न उनले चार आधार समेत प्रस्तुत गरेका छन् । ती हुनु–जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई मान्यता दिनु, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी पार्टीको पुनर्गठन गर्नु र नेकपा एमालेको नेतृत्वमा आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु । ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौं,’ भट्टराईले लेखेका छन् ।

चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरुले असहमति जनाउँदै आएका छन् । शुक्रबार एकीकृत समाजवादीले यस्तो निर्णय गर्दा विवाद उत्पन्न हुँदै गर्दा एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेका थिए ।

योगेश भट्टराईले एकताका लागि प्रस्तुत गरेका चार आधार :
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
–पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
–२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
–नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

 

अहिलेको सरकार एनजीओ र आइएनजीओको : शंकर पोखरेल (भिडिओ)

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको आरोप लगाएका छन् । प्रेस चौतारी दाङले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।

‘जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो’, उनले भने । जेनजी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्रविरोधी स्वार्थी तत्वले घुसपैठ गरेको बताए । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आईएनजीओको भएको दाबी गरे ।

सरकारले गैरसरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैरसरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।