हाम्रो प्रदर्शन सुशीला आमैलाई राजनीतिबाट टाटाबाइ गर्न हो : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने दावी गरेका छन् । आज (शुक्रबार) पार्टीको नेशनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले रिटायर्ड जीवन शानदार बनाउन छोडेर राजनीति गर्न आएको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । ‘आजको हाम्रो मार्चपासले भोलि हामीले गर्ने प्रदर्शनको झल्को दिएको छ ।
भोलिको हाम्रो प्रदर्शन भनेको सुशीला आमालाई (प्रधानमन्त्री) राजनीतिक जीवनबाट टाटाबाइ गर्न हो,’ उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘छोराछोरीसँग बेलायत गएर उपचार गरेर रिटायर्ड जीवन शानदार गर्नुस् । वृद्ध पतिको सेवा गर्नुस् । राजनीति दलले नेताले गर्ने हो ।’ नेता महेश बस्नेतले भोलि काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने आजैको र्यालीले देखाइसकेको बताए । उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौ ।’
उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए । उनले २-३ दिनमा प्रधानमन्त्रीले पदबाट राजीनामा नदिए भोलेन्टियर फोर्सले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए । बस्नेतले प्रधानमन्त्रीको शारिरीक अवस्थामाथि पनि खिसिट्युरी गरे । उनले भने, ‘उहाँ खुटा खोच्याउँदै हिँड्नु हुन्छ । आराम गर्नुस् । केपी ओलीले भने जसरी अब संसद् पुनर्स्थापना गर्दै विधिको शासन र सुशासनलाई सही ट्रयाकमा ल्याउन फोर्सले काम गर्नेछ ।’
