`

सर्वपक्षीय सरकार गठनको मुद्दामा ओली र विप्लव एकै ठाउँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुद्दामा एक ठाउँ उभिएका छन् । एमालेका अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय-सर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अघि सारेका छन् । विप्लवले पनि यही प्रस्ताव राखेका छन् ।

चुनाव हुनका लागि विश्वासिलो वातावरण बन्नुपर्ने र त्यसका लागि सर्वदलीय-सर्वपक्षीय सरकार गठन हुनुपर्ने विप्लवको पनि आग्रह छ । ‘सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ’ विप्लवले भनेका छन् । एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटमा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अगाडि सारेका हुन् । ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनस्र्थापना हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि ओलीको प्रस्ताव छ । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनकै क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाटै सरकार बन्ने अवस्था बनेन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेड छ । सरकार चुनाव गराउने गरी गृहकार्यमा रहेको छ । जेनजी र दलहरूसँग छुट्टाछुट्टै रुपमा संवाद गर्दै आएकी प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, दलहरू र सरकारबीच त्रिपक्षीय छलफल गर्दैछिन् ।

जेनजी आन्दोलनको विध्वंसको प्रमाण संकलन गर्न एमालेको ‘सूचना बैंक’

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूको प्रमाण संकलन गर्न ‘सूचना बैंक’ स्थापना गरेको छ । पार्टीले देशभरका कार्यकर्तामार्फत भिडिओ, फोटो र अन्य डिजिटल प्रमाणहरू संकलन गरी केन्द्रीयस्तरमै सुरक्षित राख्ने तयारी गरेको जनाएको छ ।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार तत्कालीन समयमा सामाजिक सञ्जालमा प्रसारित टिकटक, फेसबुक र रिलका भिडिओहरू डाउनलोड गरेर सुरक्षित राख्ने कार्य सुरु गरिएको हो । उनका अनुसार पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाणहरू केन्द्रीय कार्यालयमा रहनेछन् र आवश्यक परे प्रहरीले समेत प्रयोग गर्न सक्ने गरी अभिलेख तयार पारिनेछ ।

एमालेका संगठन विभागका सचिव माधव ढुंगेलले अहिलेको सरकारले दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरे पनि ‘भोलि राजनीतिक दलको सरकार बनेपछि’ ती व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रमाणहरू संकलन गरिरहेको बताए । उनका अनुसार यो अभियान अन्तर्गत सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, प्रहरी चौकी तथा निजी सम्पत्तिमा भएका क्षतिको हरेक प्रमाण एक ठाउँमा भण्डारण गर्ने तयारी भइरहेको छ ।

पार्टी स्रोतका अनुसार प्रहरी अधिकारीहरूसँग समन्वय गरी सुरक्षाकर्मीको हत्या, हतियार लुटपाट, आगजनी र तोडफोडमा संलग्नहरूको विवरण पनि संकलन भइरहेको छ । आन्दोलनका बेला धेरै नागरिकले आफ्ना सामाजिक सञ्जालमा भिडिओ राखे पनि पछि तिनलाई हटाउने वा लुकाउने कार्य भएकाले एमालेको संरचनाले ती सामग्री डाउनलोड गरेर सुरक्षित राखेको जनाएको छ । नेता बस्नेतका अनुसार देशभरका डेढ सय बढी एमाले नेता–कार्यकर्ताको घरमा आगजनी र लुटपाट गर्नेहरूको पहिचान भइसकेको छ । ती प्रमाणका आधारमा भविष्यमा कसैलाई नछोडिने र ‘देशै छाडेर गए पनि प्रमाण रहिरहने’ उनले चेतावनी दिए ।

एमालेले संकलन गरिरहेका प्रमाणमा सहभागीहरूको पृष्ठभूमि, तिनको सम्बन्ध तथा सम्भावित विदेशी संलग्नता समेत केलाउने कार्य भइरहेको बताएको छ । पार्टीका नेताहरूका अनुसार अहिले प्राप्त भिडिओहरूमा नेपाली मात्र नभई विदेशी व्यक्तिहरू पनि संलग्न देखिएका छन् र सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइएको छ । बस्नेतले कलाकार, कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर र कमेडियनहरूको ठूलो संलग्नता देखिएको दाबी गर्दै केही चर्चित अनुहारहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुगेको प्रमाण रहेको बताए । उनका अनुसार गोकुल बास्कोटाको घरमा आगो लगाउन कमेडियन अपूर्व क्षितिज स्वयं पुगेको भिडियो बाहिर आएको छ भने विमलेन्द्र निधिको घरमा अभिनेता दीपकराज गिरी देखिएका छन् ।

२४ गतेको घटनाअघि निश्चल बस्नेत, सुमना श्रेष्ठ, दीपकराज गिरीलगायत केही चर्चित व्यक्तिहरूको बैठक बसेर योजना सर्कुलेट गरिएको एमाले नेताहरूले आरोप लगाएका छन् । उनीहरूले यसलाई ‘राज्य सम्पत्तिको खरानी अभियान’ भन्दै एनजिओ र वैदेशिक फण्डसँगको संलग्नताको परिणाम भएको टिप्पणी गरेका छन् । एमालेले भनेको छ, ‘अहिले बनेको अन्तरिम सरकार नै विदेशी प्रभावमा चलेको छ र त्यसको छायाँमा देशको सम्पत्ति नष्ट गर्नेहरूलाई जोगाउने प्रयास भइरहेको छ । पार्टीले आफ्नो ‘सूचना बैंक’ मार्फत प्रमाण सुरक्षित गरेर विध्वंसका अपराधीहरूलाई अन्ततः कानूनी कारबाहीको दायरामा ल्याइने’ चेतावनी दिएको छ ।

 

गगन थापाले आपराधिक जत्थाको विरोध गर्न नसकेको शंकर पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा भएको विध्वंसमा संलग्न आपराधिक जत्थाको बिरोध गर्न नसकेको भन्दै कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’

महामन्त्री थापाले केही दिन अघि एक अन्तर्वार्तामा आफ्नो घर एमालेका कार्यकर्ता र त्यसमा पनि अध्यक्ष केपी ओलीसम्म पहुँच भएकाले आफ्नो घर लुटपाट र आगजनी गरेको दाबी गरेका थिए । थापाको उक्त दाबीपछि महासचिव पोखरेलले थापाले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेर एमालेलेलाई दोषारोपण गर्न खोजे भन्दै रोष प्रकट गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाले जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध सार्वजनिक रूपमा अझै गरेका छैनन् । महासचिव पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही भए पनि सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही भए पनि सबैलाई कारबाही गरौँ । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक यही कात्तिक १५ गते बस्ने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए । गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरिसकेको छ ।

सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ ।

बैठकमा महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल हुनेछ । पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए ।

देशव्यापी आक्रमण एमाले बलियो रहेको प्रमाण : सूर्य थापा

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमाले बिनाको देश र केपी ओली बिनाको एमाले हुन नसक्ने बताएका छन् । आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न पाउने गरी केही पाटीभित्र र बाहिरका व्यक्तिहरुले चलाएको गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै पार्टीमा ओली नेतृत्वको विकल्प नभएको जनाए ।

‘अहिले केही तत्वहरु एमाले बिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिंडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरु त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरुले कुनै दिवासपना नदेखे हुन्छ । अहिले देशमा एमाले बिना चल्न सक्दैन र एमाले केपी ओलीको नेतृत्व बिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ ।’

उनले एमालेको चिन्ता गर्दै सामाजिक सञ्जालमा अभियान चलाएकाहरुलाई इंगित गर्दै भने, ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरुले बढी यस्ता कुरा उठाएका छन्, केही कांग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्नसक्छ, कसैले बाहिर बसेर गोहीको आँशु नचुहाए हुन्छ ।’

नेता थापाले भदौ २३ र २४ गतेको आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको र अर्बौको नोक्सानी भएको बताए । ‘हामीले जेनजीहरुका जायज मागमा साथ दिन्छौं तर उनीहरुलाई मोहोरा बनाएर विध्वंश मच्चाउनेहरुलाई कुनै पनि मानेमा साथ दिन सकिदैन । राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गए पनि छाडिने छैन, अपराधीले छुट पाउने छैन ।’

आन्दोलनपछि केही अन्यौलमा परिरहेको समयमा एमालेले बिस्तारै सबै जिल्लामा यसखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले देशभरका ७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलो पटक यति ठूलो प्रदर्शन गरेर देशव्यापी सन्देश दिएको जनाए । उनले एमाले कार्यकर्ताको बल अडिएको पार्टी भएकाले हरेक विषय वास्तविकतामा आधारित रहेर अघि बढ्न सुझाए । एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनु पर्ने बताए ।

 

आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए । उनले भने, ‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ ।धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’ मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए ।

अर्का केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताए । उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए । विश्वकर्माले भने, ‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’

 

च्यासलमा पाल टाँगेर एमाले केन्द्रीय कार्यालय सञ्चालन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलमा रहेको केन्द्रीय कार्यालय आगजनी गरेपछि पाल टाँगेर कार्यालय सुचारु गरेको एमाले नेता विष्णु रिजालले बताएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनले उग्ररूप लिँदा एमालेसहित अधिकांश पार्टीका केन्द्रीय कार्यालय, शीर्ष नेताहरूको घर आगजनी र तोडफोड भएको थियो ।

आन्दोलनको झण्डै डेढ महिनापछि एमालेले पाल टाँगेर कार्यालय सञ्चालनमा ल्याएको हो । पाल टाँगेर केन्द्रीय कार्यालय सुचारु गर्न आज उपमहासचिव विष्णु रिमाल, नेताहरू भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू पुगेका थिए ।

माइतीघर बालेन, सुदन र गृहमन्त्री समर्थकको मात्र होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको बताएका छन् । राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको आरोप लगाएका छन् ।

माइतीघर मण्डला सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘माईतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन– सबैका लागि हो । बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।’

एमाले नेता रिजालको चेतावनी : भदौ २३–२४ को उपद्रवमा सम्झौता गर्ने प्रपञ्च स्वीकार्य छैन

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले भदौ २३ र २४ गतेको उपद्रवका नाममा राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च सह्य नहुने चेतावनी दिएका छन् । उनले फेसबुकमार्फत यस्तो सम्झौता गर्ने ‘अनौठो बाध्यता’ माथि प्रश्न उठाएका छन् ।

रिजालका अनुसार उपद्रवको जिम्मेवारी कुनै आन्दोलनकारीले नलिएको र आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको अवस्थामा ‘कथित जेन–जी आन्दोलनकारी’ र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने कारण स्पष्ट छैन । उनले आन्दोलनको नाममा राष्ट्रिय र निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा चोरी गर्नेहरूको मुकुण्डो उत्रिन थालेपछि अपराधबाट बच्न यस्तो प्रपञ्च गरिएको आरोप लगाएका छन् । रिजालले ‘अपराधीहरूले पानीमुनि गए पनि छुट नपाउने’ बताएका छन् ।

रिजालले लेखेका छन् : न कुनै निश्चित आन्देलनकारी छन् न भदौ २३–२४ को उपद्रवको कुनै आन्दोलनकारीले जिम्मा लिएको छ । आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको छ । यति पछि आएर कथित जेनजी आन्दोलनकारी र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने के अनौठो बाध्यता आइपरेछ ? आन्दोलनका नाममा राष्ट्रिय र निजी सम्पत्ति आगजनी, तोडफोड र चोरी गर्नेहरूको मुकुण्डो एकपछि अर्को गरी उत्रिन थालेपछि अपराधबाट बच्नका लागि राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च कुनै हालतमा सह्य हुन्न । आज नभए भोलि, ती अपराधीहरूले पानीमुनि गए पनि छुट पाउने छैनन् ।

 

 

सुशीला कार्कीको सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने बताएका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन् ।

‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो ?,’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन ?’

वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालिरहेको जिकिर गरे । २३ र २४ भदौमा जेनजीका नाममा विध्वंस गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा कलंकका रूपमा यो घटना चित्रण भएको पनि जिकिर गरे । उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरूले शुभकामना आदान–प्रदान गरेका थिए ।

 

गुण्डुमा ‘ओली कुटी’ बन्ने, बालकोटको घर मर्मत नगरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । भदौ २४ गते बालकोटमा जलेको घर मर्मत नगर्ने निष्कर्षमा पुगिएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।ओलीले आफ्नो शेखपछि सरकारका नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले ओलीले व्यक्तिगत खर्चमा मर्मत नगर्ने बस्नेतले जानकारी दिए ।

बुधबार ओली निवास बालकोटमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले बालकोटको घर मर्मत नगरिने बताएका हुन् । ‘अध्यक्ष ओलीका लागि गुण्डुमै घर बनाउने र त्यसको नाम ओली कुटी राख्ने सहमति भएको छ, उहाँका लागि यहाँ (बालकोट) मा खर्च गर्दैनौं,’ बस्नेतले भने ।
बस्नेतले बालकोटको घर राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्न सरकारसँग आग्रह गरे ।

‘यो घर मर्मत गर्ने हो कि के गर्ने हो, सरकारले गर्ने हो, राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्नुस्,’ बस्नेतले भने । भदौ २४ गते जलेको घर हेर्न ओली बुधबार बालकोट पुगेका थिए । घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।

केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका छन् ।

‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन । राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्न खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन,’ उनले भनेका छन् । कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय भएको उनले बताएका छन् ।

‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ । तर, अहिलेका केही मन्त्रीहरू त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ,’ पोखरेलले बताएका छन् ।

शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देशमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको चुनौती नै गृहमन्त्री ओमप्रकाश अर्याल नै भएको आरोप लगाएका छन् । जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठ र विध्वंस मच्चाउने नर्सरीको मुख्य माली गृहमन्त्री नै भएको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् ।

अहिले पनि गृहमन्त्री अर्याल ईष्र्या, डाह, कुण्ठा र आक्रोशबाट बाहिर निस्किन नसकेको आरोप बर्तौलाको छ । सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘यिनी अहिलेसम्म पनि ईष्र्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन् । उनी लुटिएका हतियारहरू खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्, भागेका कैदिबन्दीहरू कहाँ छन् चासो नै राख्दैनन्, हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन् । यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्धनका लागी पुर्वप्रधानमन्त्री, पुर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरू लाई भड्काउन , उत्तेजित बनाउन, इरिटेसन गर्न हर सम्भव बेलगाम झुटा अभिव्यक्ति र घातक क्रियाकलापहरू गरिरहेका छन् ।’

यही तरिकाले अगाडि बढेमा निर्वाचन तोकिएको समयमा सम्पन्न नहुने र गृहमन्त्रीको कुर्सीमा थप बसिरहन पाइने बुझाइ मन्त्री अर्यालको रहेको उनको आरोप छ । जनादेशबाट जिम्मेवारीमा पुगेको नभई जेन जी युवाहरूको भावना र आकाङ्क्षामाथि धोका दिँदै झुक्क्याएर गृहमन्त्री भएको उनको तर्क छ ।

गृहमन्त्रीका अभिव्यक्ति हिंसा भड्काउन उद्दत, तत्काल बर्खास्त गर्नुपर्छ : निरज आचार्य

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, गोलीगठ्ठा र प्रहरीका पोसाक गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चालन गर्ने गिरोहसँग रहेको दाबी गरेका छन् । आचार्यले कैदी बन्दीलाई राजनीतिक गतिविधि वा सरकार विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर दलहरूले घोषणा गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आचार्यले लेखेका छन्, ‘हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयमा भनेछन्–भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने माग गरेछन् ।’ उनले लुटेका हतियार, गोलीगठ्ठा र प्रहरीको पोसाक उनै गृहमन्त्री अर्यालले सञ्चालन गर्ने गिरोहसँग रहेको भन्दै भागेका कैदीबन्दी उनको सम्पर्कमा भएको तथ्य छोप्न दलहरूलाई स्वघोषणा गर्ने फतुर जारी गरेको आरोप लगाएका छन् ।

‘उनको यो अभिव्यक्ति खेदजनक छ । उनका निरन्तरका अभिव्यक्ति र क्रियाकलापहरू मुलुकमा हिंसा भड्काउने दिशामा उद्दत छन्’, आचार्यले भनेका छन्, ‘शान्ति सुरक्षा कायम गर्न र फागुन २१ मा चुनाव गराउने कार्यादेशमा जाने हो भने सुशीला श्रीमानको सरकारले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ वा निजको मगजको राम्रो उपचार गर्नुपर्ने देखियो ।’

देशलाई प्रतिगमनतिर लैजाने कुप्रयास हुँदैछ : शंकर पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अब एमाले मात्रै एक भएर पुग्दैन, सिङ्गो लोकतान्त्रिक शक्ति मिलाएर अघि बढ्नु पर्छ ।’

महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू अकल्पनीय भएको भन्दै ती घटनाका पछाडि विदेशी शक्ति, राजावादी, माओवादी, समाजवादी, स्वतन्त्र भनिने समूह र रास्वपाको मिलेमतो रहेको बताए । उनका अनुसार यी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि योजनाबद्ध घेराबन्दी गरिरहेका छन् ।

उनले भने, ‘बदलिँदो ट्रेन्ड हामीले बुझेका हौँ, तर जति गम्भीर हुनुपर्ने हो त्यो हुन सकेन । देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेका छन्, त्यसका विरुद्ध सचेत हुनुपर्छ ।’ पोखरेलले पार्टी र कार्यकर्तालाई गाउँगाउँ र घरघरमा पुगेर एमालेको योगदान जनता समक्ष पुर्‍याउन आग्रह गरे । उनले नाकाबन्दी, चुच्चे नक्सा जारी, सीमा विवादमा दृढ उपस्थिति, अन्तर्राष्ट्रिय फोरममा नेपालको पक्षमा हिम्मतका साथ उभिनु र पूर्वाधार विकासमा पार्टी नेतृत्वको भूमिकालाई जनताले सम्झनुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपालको नेतृत्वमा देउसी–भैलो प्रदर्शन गरिएको थियो । त्यस अवसरमा एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराई , केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, रूपनारायण श्रेष्ठ, बाबुराम थापा, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

यो सरकार असंवैधानिक, सुशीला कार्कीको नियुक्ति तमासा : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ भन्दै टिप्पणी गरेका छन् । आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ । यो सरकारले चुनाव गराउन चाहँदैन । त्यस्तो हुन्छ डेमोक्रेसी ? त्यसरी छानिन्छ प्रधानमन्त्री । त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन ।’

उनले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरेका छन् । पूर्व प्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ ।

‘पूर्व प्रधानन्यायाधीश ज्यूलाई संविधानको धारा १३२, १ २ त थाहा होला नि त ? पूर्व प्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन । कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन । मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ । नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ । अनि मैले के संवैधानिकै भएको छ भन्नु पर्ने ? डराएर झुट बोल्नु पर्ने ? असत्य बोल्न घुँडा टेक्नु पर्ने ?’ उनले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आफूलगायत कतिपय नेतालाई सरकारले थुन्ने तयारी गरेको उनले बताएका छन् ।

 

‘यस्तै हो भने फेरि केपी ओली सरकारमा फर्किने अवस्था बन्छ’

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति तीब्र आक्रोश व्यक्त गरेका छन् । सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्‍याउने दाबी गरे ।

आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘ममाथि थ्रेट छ, मेरै सेक्युरिटी सरकारले फिर्ता लगिदिएको छ । वडाध्यक्षलाई सेक्युरिटी बढाउँछ, मेयरलाई बढाउँछ मेरै सेक्युरिटी खोस्छ यो सरकार ।’ उनले भने, ‘यस्तै हुँदै गयो भने केपी ओली सरकामा फेरि फर्कने अवस्था बन्छ । यो युवाबाट चल्दैन। केपी ओली फिर्ता ल्याऊ ।’ सरकारले आफूलाई पीडितसँग भेट्न जान नदिएकोप्रति ओलीको आक्रोश थियो । ‘जसको घरमा आगो लाग्यो, म त्यहाँ सान्वना दिन जान नपाने ?’ उनले प्रश्न गरे, ‘देशभित्र हिँडडुल गर्न जान नपाउने? कस्तो सरकार बन्या छ ?’

ओलीको प्रश्न : श्रृंखला खतिवडालाई हेलिकप्टरबाट स्कुल पुर्‍याउने गरेको थियो र ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तक्र्रिया गरेका छन् । काठमाडौंमा भएको अन्तक्र्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए । सो क्रममा ओलीले जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनको प्रसङ्गमा पनि कुरा राखेका थिए ।

त्यसबेला सामाजिक सञ्जालमा नेपोबेबीबारे चर्चा थियो । त्यसतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले श्रृंखला खतिवडाको प्रसङ्ग कोट्याए । खतिवडा मिस नेपाल २०१८ हुन् । उनको घरमा पनि जेनजी पुस्ता आन्दोलनका क्रममा आगजनी भएको थियो । ‘श्रृंखला खतिवडालाई के गरेका थिए र उनका बाआमाले ? हेलिकप्टरबाट स्कुल पुर्‍याउने गरेको थियो र ?,’ ओलीले प्रश्न गरे । उनले नेपोबेबी भन्ने कुरा नमान्ने पनि बताएका छन् । ‘म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ, यसलाई मेरो अहंकार भन्नुस् या जे सुकै भन्नुस्,’ उनले भने । भदौ २४ गते क–कसको घरमा आगो लगाउने भन्ने तोकेर आगो लगाइएको उनको भनाइ थियो । ‘कसले लगायो आगो?,’ उनले प्रश्न गरे ।

राष्ट्रपतिलाई आवश्यक कदम चाल्न सिफारिस गरेकै हुँ, सुशीलाको नाम थिएन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको स्पष्ट पारेका छन् । सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको स्वीकारोक्ति उनले गरे । आज सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले लेखेको सिफारिसको भाषा पनि सुनाएका थिए । त्यसमा कतै पनि सुशीलाको नाम नभएको उनको दावी छ ।

उनले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति दिएका छन् । उनले भने, ‘मैले लेखेको भाषामा सुशीला कार्की कतै सुन्नु भयो ? यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन । मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन । कुनै बेला निस्किएला नि ।’

‘मेरो मोवाइल फोन सिज गरिएको थियो’
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले यस्तो बताएका हुन् । ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहें । तपाईंहरुले जेसुकै संज्ञा, विश्लेषण दिन सक्नु हुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो मोवाइल फोन सिज गरिएको थियो । त्यस बेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने ।

ओलीको अडान : कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’ अध्यक्ष ओलीले आफूले मात्रै देशको चिन्ता लिएर दुःख पाउनु परेको बताएका छन् । ओलीले आफूभन्दा धेरै आयु भएका व्यक्तिहरूले देशको बारेमा चिन्ता लिनुपर्ने बताए । आफू ७३ वर्ष उमेरको भइसकेको भन्दै आफैंले मात्रै दुःख पाउनुपर्ने ? भन्दै उनले प्रश्न गरे ।

‘देश मेरो मात्रै होइन नि त । म ७३ त पूरा भइसकें । मैले मात्रै दुःख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरो भन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’
उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति घृणा भएको स्वीकार गरेका छन् ।

‘नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ,’ उनले भने, ‘अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्‍यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।’ उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ इंकित गर्दै कानुन पढेकाहरू मन्त्री प्रधानमन्त्री भएको बताए । ‘अनि कोही कानुन पढेर न्यायाधीश भएका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै अर्को मन्त्री हुने,’ ओलीले भने ।

ज्यान जोखिममा राखेर सत्य बोलिरहेको छु : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन् । जेन–जी आन्दोलनपछि सरकार छोडेका उनले पहिलो पटक सम्पादकसँगको संवाद गर्दै सो कुरा गरेका हुन्। ‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ उनले भने, ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा छु ।’

जेनजीलाई धोका दिएर विरोध प्रदर्शन हिंसात्मक भएको उनले दाबी गरे । ‘जेनजीले उठाएका जम्मा तीनवटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन,’ ओलीले थपे, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ ।’

सम्पादकहरुलाई ओलीको प्रतिप्रश्न : तपाईंहरुले आत्मालोचना गर्नु भयो ?
एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरुले पनि आत्मआलोचना गर्नुपर्ने बताएका छन् । आइतबार संवादकहरुसँगको संवादमा यत्रो क्षति हुँदा पनि किन आत्मआलोचित नभएको भन्ने प्रश्न उनलाई गरिएको थियो । त्यसको जवाफमा ओलीले पत्रकारहहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मलोचना तपाईंहरुले पनि गर्नुभयो होला भनेर प्रतिप्रश्न गरे ।

‘अरुले आत्मआलोचना गरे, सम्पादकज्यूहरुले पनि गर्नु भयो होला,’ ओलीले भने, ‘अशान्तिको वातावरण बनाएकोमा, हिंसाको वातावरण बनाएकोमा पक्कै पनि महसुस गर्नु भएको होला भन्ने ठान्छु म । प्रोभोकेसन जुन गर्नु भएको थियो, सबैलाई भन्दिनँ जसले गर्नु भएको थियो उसैले सम्झिनु होला भन्ने ठान्छु ।’ उनले आफूमा अहंकार नभइ सत्य बोल्ने बानी भएको उल्लेख गरे। ‘पक्कै पनि हेर त दम्भव, अहंकार भन्नु हुन्छ । यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी छ,’ ओलीले भने ।

देश र जनताप्रति बफादार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको टिप्पणी गरेका छन् । आज (आइतबार) सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए । उनले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी पनि गरेका छन् । कसैलाई मन परे पनि नपरे पनि उक्त बफादारिता नछाड्ने उनले बताए ।

‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुंग भएको छ । अस्थिरतामा गएको छ,’ ओलीले भने, ‘अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

योगेश भट्टराईको पाँच बुँदे प्रस्ताव : प्रतिनिधिसभा पुनर्स्थापना, पूर्व प्रधानमन्त्रीहरूलाई प्रतिबन्ध

काठमाडौं । नेपालको राजनीतिक मञ्चमा फेरि एक पटक शक्तिशाली बहसको प्रवेश भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनासँग जोडिएको पाँच बुँदे प्रस्ताव सार्वजनिक गर्दै वर्तमान राजनीतिक संकटको वैकल्पिक खाका अगाडि सारेका छन् । तर, यो केवल सामान्य प्रस्ताव होइन–यो प्रस्तावले विगतका शक्ति केन्द्रहरूलाई सिधा चुनौती दिएको छ ।

भट्टराईको प्रस्तावको केन्द्रबिन्दुमा रहेको छ, ‘अब पूर्व प्रधानमन्त्रीहरू फेरि प्रधानमन्त्री बन्न पाउने छैनन्’ भन्ने कठोर शर्त । विगतका अनुहारहरूले देशलाई बारम्बार पुरानै गल्तीतिर डोर्‍याएको ठहर गर्दै उनले नयाँ राजनीतिक यात्रामा नयाँ पुस्ता र जनमतको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।

पाँच बुँदे प्रस्तावमा के भन्छन् भट्टराई ?
पूर्व प्रधानमन्त्रीहरूको ‘कमब्याक’ बन्द
पुनःस्थापित संसदबाट विगतमा प्रधानमन्त्री भइसकेका नेताहरूलाई पुनः सत्तामा फर्कन नदिने स्पष्ट अडान ।

सर्वदलीय सरकारमा ‘जेनजी’ को सहभागिता
दलहरूबीच सहमतिको आधारमा युवापुस्ताको प्रतिनिधित्व हुनेगरी सर्वदलीय सरकार बनाउने ।

संविधान संशोधनमा ‘जेनजी आन्दोलन’ को प्रभाव
नयाँ पुस्ताको भावना र मागअनुसार संविधान संशोधन गरिने– ‘बाहिरी दबाब होइन, भित्री आवश्यकता’ को संकेत ।

सुशासनका लागि विशेष प्रस्ताव
भ्रष्टाचार र कुशासनविरुद्ध ठोस कानुनी र राजनीतिक प्रतिबद्धतासहित संसदले विशेष प्रस्ताव पारित गर्ने ।

आठ महिनाभित्र चुनाव
‘वन नेसन, वन इलेक्सन’ मोडेल ल्याउँदै संघ, प्रदेश र स्थानीय तहका चुनाव एकैचोटि सम्पन्न गर्ने ।

ओलीप्रति संकेत ? वा नयाँ नेतृत्वको सन्देश ?
भट्टराईको प्रस्ताव ‘पूर्व प्रधानमन्त्री’ लाई पुनः सत्तामा ल्याउन नपाइने भन्ने बुँदाबाट केपी शर्मा ओलीप्रति संकेत भएको प्रष्ट देखिन्छ । एमाले अध्यक्ष ओलीले भने वर्तमान राजनीतिक संकटको समाधानको रूपमा सडक आन्दोलन र संसद पुनःस्थापनाको माग अघि सार्दै आएका छन् । भट्टराईले भने शान्तिपूर्ण र संवैधानिक बाटोबाटै निकास खोजिनु पर्नेमा जोड दिएका छन् । उनका अनुसार अहिलेको द्वन्द्वमूलक राजनीति देशलाई संवैधानिक शून्यतामा लैजान सक्छ ।

भावना होइन, समाधान खोजौं : भट्टराई

भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाको सवाललाई भावनाको तहबाट माथि उठाएर राजनीतिक सहमति र संवैधानिक समाधानका दृष्टिले हेर्न आग्रह गरेका छन् । उनका अनुसार, सरकारले तोकेको समयमा चुनाव गराउन नसकेको खण्डमा जनसमर्थनसहित संसद पुनःस्थापनाको माग उठ्न सक्छ–तर त्यसो गर्दा पनि स्पष्ट मापदण्ड, प्रतिबद्धता र नीतिगत तयारी हुनुपर्छ ।

भविष्यको संकेत : पुस्ता परिवर्तनको युग ?
यो प्रस्ताव केवल संसद पुनःस्थापनाको बहस मात्रै होइन, यो सम्भावित ‘लीडरशिप ट्रान्जिसन’ अर्थात् नेतृत्व हस्तान्तरणको संकेत पनि हो । जहाँ पुराना अनुहारहरूलाई विश्राम दिई नयाँ पुस्ताले मुलुकको भविष्य निर्धारण गर्ने मोडतिर देश अग्रसर हुने सम्भावना देखिन्छ ।

सरकारलाई ओलीको प्रश्न : केमा मुद्दा लगाउने ? रिस उठ्यो भन्दैमा मुद्दा ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार दिनदिनै आफूलाई कसरी पक्राउ गर्ने भनेर बैठक गरिरहेको बताएका छन् ।

आज (शनिबार) एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केमा मुद्दा लगाउने भनेर समेत प्रश्न गरेका छन् । ‘दिनैपिच्छे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश ?,’ ओलीले भने, ‘केमा मुद्दा लाउनु हुन्छ ? के मा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि कुनै आधार छ, कारण छ ?’

उनले आफू जनुसुकै समयको पनि सम्पति छानबिन गर्न तयार रहेको बताएका छन् । ‘हामीले भनेका छौँ, हाम्रो पार्टीले भनेको छ २००७ सालदेखिको छानबिन गर्नुछ भने पनि गरौँ,’ ओलीले भने, ‘२०४६ पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौं । २०६२÷०६३ पछिको छानबिन गर्नुपर्छ भने पनि गरौं ।’ ‘कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण, छानबिन गरौं,’ उनले भने ।

ओलीको प्रश्न : हाटहुट, लाटलुटबीच बनाइएको सरकार हो, कहाँ भयो क्रान्ति ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार क्रान्तिबाट नआएको टिप्पणी गरेका छन् ।

आज (शनिबार) च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहाँ भयो क्रान्ति भनेर प्रश्न समेत गरेका छन्। ‘क्रान्तिबाट बनेको सरकार ? कहाँ भयो क्रान्ति ?,’ आफैं जवाफ दिँदै ओलीले भने, ‘प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ । शान्तिबाट हिंसा, अराजकतामा धकेलेको छ । कानुुनी राजबाट आवेश उत्तेजनातर्फ प्रतिगमन भएको छ ।’

जेनजी आन्दोलनतर्फ लक्षित गर्दै उनले यसले समाजमा त्रासको मनोविज्ञान बनाएको समेत उल्लेख गरेका छन् । ‘सिङ्गै देश त्रसित मनोविज्ञानमा भएको अवस्था छ, आज हरेक पसले मेरो पसल लुटिन्छ कि भनेर डराउँछ,’ ओलीले भने, ‘पहिले पहिले महिलाहरू हरेकको गलामा सिक्री देखिन्थ्यो, अहिले सिक्री देख्न मुस्किल छ । किनभने कतिखेर कसले सिक्री मात्रै लाने हो कि आफूलाई पनि गन्ट्यामुन्ट्याङ पार्ने हो ठेगान छैन ।’

उनले यो सरकारलाई १ प्रतिशले पनि सर्मथन नगरेको जिकिर गरे । ‘यो एक प्रतिशतले पनि समर्थन नगरेको सरकार हो,’ ओलीले भने, ‘एक प्रतिशत भनेको तीन लाख हुन्छ । तीन लाख मान्छेले सरकार बनाएको हो र ?’ आम जनतालाई त्रसित बनाएर सरकार बनाइएको उनको आरोप छ । ‘आम जनता सहभागी भएर होइन, आम जनतालाई त्रसित बनाएर, तिनका घरमा आगो लगाएर हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार हो,’ ओलीको तर्क छ ।

प्रचण्ड, रवि र बालेनमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि पनि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् । जेनजी आन्दोलनमा उनीहरूको भूमिका शङ्कास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।

बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै अपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधीनतका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरूमाथि सबैभन्दा बढी आक्रमण भएको उनले बताए । सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका विरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनको भनाइ छ । पार्टीभित्र एकताको आवश्यकता रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनले बताएका छन् ।

महेश बस्नेतले भने–जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौं

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनु पर्ने उनले बताएका छन् । उनले भने, ‘संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११ औं महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ । विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द्व बढाउन नलागौं ।’

ओलीको विकल्प खोज्ने नेताहरू अध्यक्षको विकल्प खोज्दै प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा रहेको पनि उनले टिप्पणी गरेका छन् । उनले भने, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नुपर्छ । जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ ।’

असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र असंवैधानिक संसद् विघटनविरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरे । असंवैधानिक सरकार निरंकुशतातर्फ अघि बढेको र निर्वाचनतर्फ ध्यान नदिएकोले स्वतन्त्र निष्पक्ष र धाधलिरहित र शान्तिपूर्ण चुनाव हुने वातावरण बनाउन जनसङ्घर्ष र दबाब लिनुपर्ने बताए ।

उनले देश, एमाले र पार्टी अध्यक्षमाथि प्रहार हुँदा आफूहरूले ढाड थापेर बचाएको बताएका छन् । उनले भने, ‘समग्र चुनौतीको सामना गर्न सक्ने पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेका छन् । कार्यकर्ताहरूले पनि बुझिसकेका छन् । तर, अझै धेरै नेताहरूले यो बुझ्न सकेका छैनन् किन ?’

तेस्रो दिनको एमाले केन्द्रिय कमिटीको बैठक शुरु, आजै समापनको तयारी

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । ललितपुरको भनिमण्डलमा बैठक बिहान साढे ८ बजेबाट शुरु भएको हो । केन्द्रिय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ । पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनकाअनुसार प्रत्येक केन्द्रिय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले धारणा राखेका छन् । साथै समसामयिक राजनीति, सरकारका गतिविधिका बारेमा पनि आफ्ना धारणा राखेको प्रमुख गौतमले बताए । एमाले केन्द्रिय समिति सदस्यहरुको संख्या ३५७ रहेको छ । प्रदेशगत अध्यक्षहरु १० जना जोडेर ३६७ जनाले आफ्ना धारणा राखेपछि बैठक सकिनेछ । संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्‍याउनु पर्ने विषय उठेको बताए ।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एक मात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए । सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताए ।

एमालेको आरोप : सरकार चुनाव गराउन चाहँदैन, संसद पुनः स्थापनाको विकल्प छैन

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई प्रतिनिधि सभा निर्वाचन गराउने तयारी नगरेको आरोप लगाएको छ । निर्वाचन आयोगद्वारा बोलाइएको सर्वदलीय छलफलमा सहभागी हुँदै एमालेले सात बुँदे धारणा पेश गर्दै चुनाव नहुने खतरा औंल्याएको हो । एमालेका उपाध्यक्ष गुरु बराल र निर्वाचन विभाग प्रमुख निरज आचार्यले आयोगमा धारणा प्रस्तुत गर्दै यदि चुनाव समयमै नभएमा संसद पुनः स्थापना बाहेक विकल्प नहुने बताएका छन् । एमालेले सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भनेको छ, ‘राजनीतिक दलहरूलाई निषेध गर्दै, पुराना दलहरूलाई चुनावमा अवरोध गर्ने काम भइरहेको छ । सरकारले न्यूनतम चुनावी वातावरण समेत बनाउन सकेको छैन ।’

यस्ता छन् एमालेको सात बुँदे धारणा
– सरकार २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्न कानुनी रूपमा बाध्य भए पनि तयारी नगरेको ।
– मनाङको प्रदेशसभा निर्वाचन स्थगित हुनु सरकारको असक्षमता देखाउने प्रमाण ।
– सबै दललाई समान अवसर दिनुको साटो विशिष्ट दललाई निषेध गर्ने प्रयास ।
–मुलुकभर एकैसाथ चुनाव आवश्यक भए पनि सुरक्षा व्यवस्था सुनिश्चित गरिएको छैन ।
–जनताबाट प्राप्त म्यान्डेटमा अवरोध सिर्जना भइरहेको ।
–खेल सुरु भइसकेपछि नियम नफेरिए जस्तै, निर्वाचन प्रक्रिया बीचमै बद्लिन नहुने ।
–असंवैधानिक रूपमा सत्ता कब्जा गरिएको अवस्था आएमा विगतको जनमत पुनःस्थापना अपरिहार्य ।

यता नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भूमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गरे । सरकारले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उनको भनाई छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।

 

 

 

 

अध्यक्ष ओलीको प्रस्तावमाथि आज बाँकी सदस्यले धारणा राख्दै, वैठक लम्बिने संकेत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दैछ । ललितपुरको भनिमण्डलमा बिहीबार बिहान ८ बजेदेखि दोस्रो दिनको बैठक सुरु हुने एमालेले जनाएको छ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रवन्ध गरिएको छ । यस हिसाबले भोलि बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।

यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ । बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोपतिर (‘ज्ञ’ बाट) पालो मिलाइएको छ । गौतमका अनुसार हिजोको बैठकमा ‘र’ बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तालिका छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने तयारी छ । हिजोको बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने र आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

एमालेको महाधिवेशन मंसिर २७–२९ मा पोखरामा गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।

माधव नेपालसहितका नेतालाई ओलीले भने–चौतारी खोज्न नजानुस्, घर फर्किनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गर्दै विभिन्न कारणले पार्टी छाडेकाहरूलाई घर फर्किन आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एसका नेताहरू छहारी खोजेर कसको पिँढीमा बास भनेर झोली तुम्बा बोकेर हिँडिरहेको बताएका छन् ।

उनले थपे, ‘कतिपय साथीहरूले गल्ती गर्नु भएको छ, अब तिनै गल्तीहरूमा अल्झिएर बस्ने होइन । कतिले पार्टी विभाजन गरे, गराए, साथीहरू भ्रममा पर्नुभयो होला । तर, एमाले विशाल छाती भएको पार्टी हो, त्यसैले हिजो जो घर छाडेर अन्यन्त्र जानुभएको थियो, घर फर्किन आग्रह गर्छु ।’ उनीहरूसँगै मिलेर हिजो पार्टी निर्माण गरेको भन्दै ओलीले एमालेलाई यहाँसम्म ल्याउन छाडेर जानेहरूको पनि भूमिका रहेको बताए । साढे ६ लाख सदस्य भएको बलियो पार्टी भएकाले ती नेतालाई अब फर्किन आग्रह गरे ।

यस्तो ओलीको भनाइ
म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो घर छोडेर अन्यत्र जानु भएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु । हिजो उहाँहरू समेत भएर पनि हामीले यो पाटी निर्माण गरेका हौं । उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ । विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस् ।

आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन् । म कार्यकर्ता साथीलाई भन्न चाहन्छु, तपाईं आफैले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्दै नजानुस् । कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजानुस् । यो मजबुत भएको छ, यसलाई कसैले पनि डग्मगाउन सक्दैन । अहिले पनि साढे ६ लाख सदस्य भएको पार्टी हो । २३ वटा महासंघ भएको पार्टी हो ।

म बिग्रिएको भए पो सप्रिनू : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको दावी गरेका छन् । आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नु पर्ने हो ? हो भने केपी ओलीले छोड्दैन ।’ उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाँहि सप्रिनु पर्ने ओलीको भनाइ छ ।

‘म हट्ने–नहट्ने फेसबुकले होइन, कमिटीले भन्नु पर्छ’
अध्यक्ष ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने बताएका छन् । उनले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए । ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नु पर्छ,’ उनले भने, ‘यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

विध्वंस हुने कुरा थाहा नपाएको होइन, रोक्न सकिएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै २३ र २४ गतेको घटना लामो प्रयासपछि भएको जिकिर गरे । उनले भने, ‘यत्रो घटनाको कसरी थाहा भएन भन्नु हुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त । चैत १५ गते पनि सिंहदरबारमा जान खोजेका होइनन् ? यी सबै कुराहरू भनिएका थिए, थाहा नपाएको भन्ने होइन, तर त्यसै दिन यो स्तरमा पुग्छ भन्ने थियो, त्यो उनीहरूको प्रयास थियो, विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन ।’

उनले अब त्यस्ता गतिविधिप्रति सचेत रहेर पार्टीले पनि आफ्नो तयारी अवस्थामा बस्नुपर्ने बताए । ओलीले थपे, ‘यस्ता घटना आकस्मिक हुनसक्ने रहेछ, सानो कुरा पनि बढ्ने रहेछ, उनीहरूले प्रयास गरिरहेका थिए, हामीलाई रोक्ने सक्छौं भन्ने थियो । ठुलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो । तर सकिएन । जनताको प्रयासबाट रोक्नुपथ्र्यो, लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन् । जनताले नै बचाउने हुन् ।’ उनले संविधानमा भएको हमलालाई निस्तेज पारेर रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए ।

एमाले सधैं सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको दाबी गरे ।

‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने, ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एकछिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’ सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।

‘पार्टीभित्र एकमना एकता कहिल्यै थिएन’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकमना एकताको स्थिति कहिल्यै नरहेको बताएका छन् । केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इष्र्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताए । ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन,’ उनले भने, ‘इष्र्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो । मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो ।’

जेन–जीको दुई दिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे । आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ ।

देश प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अप्रत्याशित रूपमा देश प्रतिक्रान्तितिर धकेलिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै देशलाई प्रतिक्रान्तितिर जान नदिने एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

उनले भने, ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनु पर्नेछ ।’ उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे।

एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए । ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए । ‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’ उनले भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’ उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए ।

एमालेमा समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा ज्ञवाली, गौतम र बर्ताैलालाई

काठमाडौं । नेकपा एमालेले समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन नेतालाई जिम्मा दिएको छ । समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा प्रदीप ज्ञवाली, राजेन्द्र गौतम र महेश बर्ताैलालाई दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्दैछन् । एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरअघि सुरू भएको छ । साथै पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बालाई केन्द्रीय कमिटी बैठकका अवसरमा शपथ गराइएको छ ।

 

एमाले वैठकमा हरेक केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेट समय

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषयमा समेटिनेछ ।

यसैगरी, अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको, सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ । गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्नेछ ।

यसैगरी, लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के–के छन् एजेण्डा ?

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो । यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो । बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ ।

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए । बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए ।

उनले भने, ‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको । प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको । शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन् ।’ एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनः स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताएका छन् ।

एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टीभित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ ।

अन्तरिम सरकार कम्पास हराएको जहाज जस्तो : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले अन्तरिम सरकार कम्पास हराएको जहाज जस्तो दिशाहीन देखिएको टिप्पणी गरेका छन् । ‘संविधानमा व्यवस्था नभए पनि चुनाव गराउने एक मात्र कार्यादेशसहित एक महिनाअघि बनेको अन्तरिम सरकार यसबिचमा कम्पास हराएको जहाज जस्तो दिशाहीन देखिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न राजनीतिक दलहरूसँग संवाद न शान्ति–सुव्यवस्थाको प्रत्याभूतिले सरकार केका लागि र किन बनाइएको रहेछ भन्ने थप रहस्य सिर्जना गरेको छ ।’

राजनीतिक दलका नेताहरूलाई आतङ्कित बनाउने, भागेका अपराधीलाई निर्बाध उन्मुक्ति दिने, प्रहरीका लुटिएका ९ सय हतियारको खोजी नगर्ने भन्दै उनले सरकारको आलोचना गरेका छन् । ‘सरकारी संरचना जलाउने अपराधीहरूलाई छुट दिने, नियुक्ति–सरुवा–बढुवा, विदेश भ्रमण आदिमा रमाउने जस्ता कामले नागरिकमा थप आशंका र अन्योल मात्र बढाएको छ,’ उनले लेखेका छन्, ‘राजनीतिक अपरिपक्वताबाट ग्रस्त पूर्वाग्रही सरकारले चुनाव गराउन सक्दैन भन्ने सन्देश दिएको छ ।’

भूमि आयोग खारेज मौलिक हक खारेज गरे सरह : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमि आयोग खारेज गरेर सरकारले गल्ती गरेको बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेर लाखौं भूमिहीनको जग्गा पाउने मौलिक हकलाई खारेज गरेको दाबी गरेका हुन् ।

अघिल्लो सरकारको नीति, कार्यक्रम, बजेट स्वीकार्य हुने तर त्यसै अन्तर्गत बनेको भूमि आयोग किन अस्वीकार्य भनेर प्रश्न गर्नु भएको छ । पोखरेलले आयोग खारेज गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहिन दलित समुदायलाई संविधानले दिएको मौलिक हक खारेजी गर्नु सरहको भएको टिप्पणी गरे ।

‘भूमि आयोग खारेज गर्नु भनेको लाखौं भूमिहीन सुकुम्वासी, अव्यवस्थित वसोवासी र भूमिहीन दलित समुदायलाई संविधानले दिएको जमिन प्राप्त गर्ने मौलिक हकको खारेजी गर्नु सरह हो ।’ उनले प्रश्न गरे, ‘पुरानै सरकारको नीति, कार्यक्रम र बजेट चाँहि स्वीकार्य हुने, त्यसै नीतिअन्तर्गत गठन गरिएको भूमि आयोग कसरी बेठिक हुन सक्छ ?’

सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग र सम्पूर्ण जिल्ला समितिहरू पनि खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकबाट भूमि आयोग खारेज गरेपछि लालपुर्जा पाउने तयारीमा रहेका हजारौं सुकुमबासीहरू निराश बनेका छन् । अघिल्लो सरकारले गतवर्ष कात्तिक १३ गते हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।