`

‘सरकारको बुझाइमा सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई जेल हाल्नु हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जेनजी युवाहरूको नाममा ‘संगठित नाटक’ खेलिरहेको आरोप लगाएका छन् । गुण्डुस्थित आफ्नै निवासमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारीका पदाधिकारीहरूसँगको भेटवार्तामा अध्यक्ष ओलीले हाल देखिएका जेनजी अभियोजन र मागपत्रका गतिविधिहरू सरकारले नै निर्माण गरेको दाबी गरे ।

ओलीका अनुसार जेनजी युवाहरूलाई सँगै पारेर, उनीहरूकै नाममा मागपत्र मस्यौदा तयार पारिदिने र क्यामेरामै प्रस्तुत गराउनेसम्मको योजना सत्ता पक्षबाट भइरहेको छ । उनले भने, ‘सरकारको बुझाइमा सुशासन भनेको केपी ओली र रमेश लेखकलाई जेल हाल्नु हो । त्यही उद्देश्य पूरा गर्न जेनजी समूहको नाममा मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर पढाइ दिने काम भइरहेको छ । यी सबै कलाविहीन नाटक हुन् ।’ उनले यी गतिविधिका संरचनाकारदेखि मागपत्र लेख्ने व्यक्ति र व्यवस्थापनकर्तासम्म सबैबारे आफूलाई स्पष्ट जानकारी रहेको दाबी गरे । ‘बिना पैसा यति ठूलो नाटक हेर्न पाइन्छ भन्ने पनि पहिला थाहा थिएन’, ओलीले व्यंग्य गरे ।

ओलीले वर्तमान प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक निर्णय’ भन्दै तत्काल पुनःस्थापना हुनुपर्ने माग दोहोर्‍याएका छन् । उनका अनुसार अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिनु संविधान विपरीत र लोकतान्त्रिक अभ्यासका लागि हानिकारक छ ।

अध्यक्ष ओलीले केही युवालाई जेनजी नाम दिएर १०–२० जनाको समूहमा उभ्याई आफूलाई धम्क्याउने शैलीअनुरूप प्रयोग गरिरहेको दाबी पनि गरेका छन् । ‘उनीहरूमा आवेश र उत्तेजना त देखिन्छ, तर सकारात्मक विचार र गन्तव्य केही छैन’, उनले भने । उनले सरकार चुनावी तयारीभन्दा बढी नाटक र प्रदर्शनमा केन्द्रित रहेको आरोप लगाए ।

ओलीले अवकाश लिए लगत्तै पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई आचरण विपरीत ‘स्थान हद तोकिएको’ निर्णयप्रति कटाक्ष गरेका छन् । ‘हिजोसम्म देशको सुरक्षाको जिम्मा लिने व्यक्ति आज कतै जान नपाउने बनाइयो । यस्तो निर्णयभन्दा ठूलो तमासा के हुन सक्छ ?’ उनले प्रश्न गरे ।

ओलीले सरकारले कानूनको शासन कमजोर बनाउँदै निर्दोषलाई थुनिने, दोषीलाई उन्मुक्ति दिने वातावरण बनाएको आरोप लगे । अध्यक्ष ओलीले आफू सत्य बोलिरहने र निरन्तर लडिरहने व्यक्ति भएको दाबी गरे । ‘कसैले यसलाई दम्भ ठान्छ भने पनि यो घट्दैन । देश बनाउने संकल्पमा म कमजोर हुँदिनँ’, उनले भने ।

 

एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी

सुर्खेत । तीन दिनअघि मात्रै सुर्खेतको वीरेन्द्रनगरमा खोलिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी भएको छ । आज (आइतबार) बिहान करिब ३ बजेको समयमा चौधरीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । शान्ता चौधरी आफै आएर तीन दिनअघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन् । पसलमा आगलागी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

उनले आफ्नो जीन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जीन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’

यस्तै शान्त चौधरीको पसलसँगै एमाले सुर्खेत जिल्ला कमिटी सदस्यको फेन्सी पसलमा पनि आगजनी भएको छ । यी आगलागीका घटना शंकास्पद हुन सक्ने नेतृ चौधरीले बताएकी छन् । तर, प्रहरीले आगो उद्योगबाटै लागेको अनुमान गरेको छ । आगजनीबाट ३० लाख बढीको धनमाल क्षति भएको अनुमान प्रहरीको छ ।

फागुन २१ को निर्वाचन ‘हनी ट्रयापिङ’ : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन मूलतः ‘हनी ट्रयापिङ’ शैलीको राजनीतिक जाल र प्रतिक्रान्तिलाई वैधता दिन रचिएको षड्यन्त्र मात्र भएको आरोप लगाएका छन् । एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभामा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारले प्रतिक्रान्तिलाई वैधता दिन निर्वाचनको नाटक रचेको दाबी गरे ।

बादलका अनुसार भदौ २३ र २४ गतेका घटनालाई वैधता दिन र स्थापित दलका शीर्ष नेताहरूलाई कमजोर पारेर निर्वाचनमा धकेल्न विभिन्न योजनाहरू तयार पारिएका छन् । उनले संविधानले निषेध गरेको पात्रलाई विदेशी शक्तिको संकेतमा प्रधानमन्त्री बनाइएको र त्यसैका आधारमा दलहरूलाई फसाउने प्रयास भएको आरोप लगाए ।

उनले भने, ‘स्थापित दलका नेताहरूलाई चुनावमा भाग लिन नदिए विदेशी शक्तिले कार्की सरकारलाई पनि हटाउँछ–यस्तो खेल भइरहेको छ।’ उनका अनुसार प्रतिनिधिसभा पुनःस्थापना भई संसदको सार्वभौम निर्णयबाट मात्र निर्वाचन हुनुपर्ने हो, बाह्य शक्तिको प्रभावमा सरकार बनाइेर निर्वाचन घोषणा गर्नु संविधान सम्मत होइन ।

विदेशी हस्तक्षेपबारे चिन्ता व्यक्त गर्दै उनले नेपाललाई सामरिक प्रयोगस्थल बनाउन खोजिएको दाबी गरे । ‘नेपालका स्रोत–साधन कब्जा गर्ने, भारत–चीनमा पृथकतावादी गतिविधि भड्काउने, नेपालमा सैनिक जम्काभेट बिन्दु बनाउने योजना अन्तर्गत भदौ २३–२४ को ‘कलर रिभोलुसन’ रचिएको हो’, बादलले आरोप लगाए । उनले बालेन शाह र रवि लामिछाने जस्ता नयाँ पात्रहरूलाई विदेशी शक्तिले ‘कठपुतली जेलेन्स्की’ बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

उनका अनुसार स्थापित दलहरू आ–आफूसँगै लागेर यो ‘षड्यन्त्र’ बुझ्न नसके नेपाल विदेशी सैन्य प्रभावको अखडा बन्ने खतरा छ । उनले फागुन २१ को निर्वाचन जनतालाई भुलभुलैया पार्ने प्रयास मात्रै भएको दोहोर्‍याए ।

प्रचण्ड र माधव नेपाल मिलेर बनाएको नयाँ कम्युनिष्ट मोर्चालाई बादलले ‘१० कोठे टहरो’ भनेर व्यंग्य गर्दै उक्त संरचनाले उनीहरूको राजनीतिक ओरालो यात्रालाई रोक्न नसक्ने टिप्पणी गरे । ‘अस्तित्व जोगाउन बनाइएको टहरोले केही असर गर्दैन, मूल घरमा फिर्ता भए मात्र केही सम्भावना हुन्छ’, उनले भने । उनका अनुसार पार्टीले कोर्स सच्याएर फर्किन गरेको अपिल स्वीकार गर्नेहरू बढ्दो क्रममा छन् ।

मैदानले प्रमाणित गर्‍यो, एमाले बाहेक विकल्प छैन : शंकर पोखरेल

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले जटिल मोडमा उभिएको र यस्तो परिस्थितिबाट पार लगाउनसक्ने शक्ति केवल एमाले मात्रै भएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सुरु गरिएको जनपरिचालन अभियानअन्तर्गत नेपालगञ्जमा आयोजित विशाल सभामा बोल्दै उनले हाल देखिएको राजनीतिक तथा प्रशासनिक संकट कुनै आकस्मिक घटना नभई योजनाबद्ध हमला भएको आरोप लगाए ।

भदौ २३ र २४ मा देशका विभिन्न सरकारी संरचनामा भएको सामूहिक तोडफोड साधारण असन्तोष नभई राज्यको मेरुदण्ड कमजोर पार्ने उद्देश्यले गरिएको गम्भीर अपराध भएको पोखरेलको भनाइ थियो । उनले भने, ‘सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगो लगाइयो । यसले कसको नियत कस्तो हो भन्ने स्पष्ट हुन्छ ।’

पोखरेलले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई लक्षित गर्दै आगजनीको स्वरूप नै ‘सुसूचित संलग्नता’ तर्फ इङ्गित गर्ने दाबी गरे । उनले भने, ‘देशभर स्थानीय तहहरू जलाइए, वडा कार्यालय नष्ट गरिए । तर काठमाडौंमा के भयो ? शितलनिवास जल्छ, छेउको निर्मल निवासमा एक थोप्ला पनि पर्छैन । यसले धेरै कुरा आफै बोल्छ ।’

संघर्ष, जेल र भूमिगत जीवन एमालेका कार्यकर्ताले भोगेको स्मरण गराउँदै उनले पार्टीलाई डराउने, भाँच्ने वा समाप्त पार्ने रणनीति विफल भएको दाबी गरे । उनका अनुसार पार्टी कार्यालय जलाएर, धुवाँ उठाएर एमाले सकिन्छ भन्ने बुझाइ षडयन्त्रकारीहरूको भ्रम मात्र हो । सभामा उपस्थित कार्यकर्तामाथि उनले चुनौतीपूर्ण शैलीमा प्रश्न गरे, ‘आज मैदानमै हेर्नुस्, एमालेभन्दा ठूला वा सक्षम शक्ति कतै देखिन्छ ?’ उनले कार्यकर्तालाई उच्च मनोबलमा संगठन सुदृढ बनाउँदै अघि बढ्न आह्वान गरे ।

एमालेले आज ७७ जिल्लामै जनसभा गर्दै, कुन नेता कहाँ खटिए ?

काठमाडौँ । नेकपा एमालेले आज (शनिबार) ७७ जिल्लामै जनसभा गर्दैछ । ‘प्रतिगामी षडयन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांश जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ । ‘आजको सभाबाट हामी एमाले देशैभर अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौँ,’ गौतमले भने ।

एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ। मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।

आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्ने तालिका छ ।

यस्तै रुपन्देहीमा हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा, अर्का सचिव पद्ध्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने तालिका छ । कोशीका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

महाधिवेशनमा संगठन र विधानबारे थप बहस र परिमार्जन आवश्यक छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा राजनीतिक, सांगठानिक प्रस्ताव र विधानमा थप बहस र परिमार्जन आवश्यक रहेको बताएका छन् । अध्यक्ष केपी ओलीले महाधिवेशनमा छलफल नहुने धारणा सार्वजनिक राखेपछि उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।’ पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूले उद्घाटन मन्तव्य दिएपछि चुनावी प्रक्रिया शुरु हुने भन्दै अरु बहस नहुने बताएपछि पोखरेलको जवाफ आएको हो । पोखरेल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धाको तयारीमा छन् ।

हेर्नुस् पोखरेलको अपिल–

भदौ २३ गते भएको ‘नव–युवा पुस्ता’(जेनजी पुस्ता ) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौँ । अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोसिस गरिँदै छ ।

अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमशः सामान्य हुँदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।

यो महत्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिबद्ध सबै राजनीतिक दल , नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू बिचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरुरी छ । त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता , सार्वभौमिकता, राष्ट्रिय एकता , स्वाधीनता , स्वाभिमान र लोकतन्त्रलाई अक्षुण्ण राख्न सक्छौँ । यसबिच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकांक्षा, आशा , असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिँदैन पनि ।

त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरुरी छ । सोही अनुसार हाम्रो विचार , कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरुरी छ । राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्‍याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौँ । त्यसका लागि हामी सबैले आग्रह , पूर्ववत् अडान , अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नु पर्छ ।

आन्दोलन र विध्वंसको पक्ष ÷ विपक्ष वा वादी ÷ प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन । इतिहासका हरेक राष्ट्रिय सङ्कट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी – नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गाँसिएर एउटा जीवित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहन्छु ।

स्कुले विद्यार्थी हुँदादेखि , को–अर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि; भूमिगत जीवन, जेल जीवन , निरङ्कुश पञ्चायती शासन काल , त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसाबले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, दुई पटक महासचिव हुँदै हाल पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । यस क्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहँदै आएको कुरा सगौरव स्मरण गराउँदछु ।

आगामी दिनमा पनि मेरो यो प्रतिविद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमुदाय , जेनजी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन विगतमा जस्तै फेरि एक पटक अभूतपूर्व एकताका लागि अपिल गर्दछु ।

त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचना हुँदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु । मलाई थाहा छ – यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनले ( २७–२९ मङ्सिर २०८२, काठमाडौं) सबैको ध्यान तानेको छ । गत २०–२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेजहरू पारित गरिएको थियो । भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ ।

राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्ग निर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ। भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ ।

तसर्थ , आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । ज ब ज को सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु ।

प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद् भंगको खारेजी तथा घोषित मितिमा संसद्को निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा ( एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मङ्सिर ६ गते राजधानी काठमाडौंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायलाई अपिल गर्दछु ।

 

सरकारलाई ओलीको प्रश्न : दल र नेताहरुलाई निषेध गरेर कस्तो चुनाव गर्न खोजेको ?

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलिरहेको ‘चुनाव नाटक’ को संज्ञा दिंदै अहिले लोकतन्त्रकै उपहास गरिएको आरोप लगाएका छन् । भदौ २३–२४ को घटनालाई ‘विध्वंसको जन्मस्थान’ भन्दै उनले त्यसकै आधारमा बनेको सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको भाषण गर्नु नै विसंगति भएको टिप्पणी गरेका छन् ।

झापाका अगुवा कार्यकर्ताहरूसँग बिहीबार साँझ भर्चुअल संवाद गर्दै ओलीले अहिलेको सरकारले नेताहरूलाई ठाउँ–ठाउँमा रोक्ने, जिल्लामा प्रवेश निषेध गर्ने, प्रचार–प्रसार रोक्ने र दल–नेतामाथि अनावश्यक अवरोध खडा गर्ने कार्यलाई ‘चुनावको पूर्व तयारी होइन, विपक्षी दमनको पूर्वाभ्यास’ भएको बताए ।

उनको प्रश्न थियो, ‘राजनीतिक दललाई घुम्न नदिने, नेतालाई निर्वाचन क्षेत्र छिर्न नदिने, मतदातासँग भेट गर्न रोक्ने—यस्तै तालमा कस्तो चुनाव गराउन लागेको हो यो सरकार ?’ ओलीले झापामा एमालेमाथि ‘जेन–जी’ नाममा भएको आक्रमणलाई नियोजित राजनीतिक द्वेषको उपज भनेका छन् । राष्ट्रहित, विकास र समृद्धिको एजेण्डामा एमाले अगाडि बढिरहेको देखेर विप्लवी प्रवृत्तिले पार्टीलाई निस्तेज पार्न खोजेको उनको भनाइ छ ।

पार्टीका कार्यकर्ताहरूलाई ‘अराजकता रोक्न अब हरेक टोलमा टोल सुरक्षा समिति गठन’ गर्न निर्देशन दिँदै ओलीले समुदायमै सुरक्षा प्रत्याभूति निर्माण गर्न एमाले सक्षम रहेको दाबी गरे । यी समितिहरूले आपराधिक गतिविधि नियन्त्रण, संलग्न व्यक्तिलाई प्रहरी समक्ष बुझाउने र स्थानीय तहमा सुरक्षाको वातावरण बनाउने जिम्मेवारी पाउने उनले स्पष्ट पारे ।

अध्यक्ष ओलीले गैरसंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाका लागि ‘देशव्यापी दबाब’ सिर्जना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना नै लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा फर्काउने एक मात्र उपाय भएको बताउँदै उनले कात्तिक २९ गते झापामा ‘भव्य जागरण सभा’ गर्ने तयारी थाल्न निर्देशन दिएका छन् । बैठकमा झापा अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३-२४ को तोडफोड, आगजनी र त्यसपछिको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

 

केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध : महेश बस्नेत

दाङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको बताएका छन् । दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको दाबी गरेका छन् ।

‘अहिले पार्टीभित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ । यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो । हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइ दिन्छौँ’, बस्नेतले भने ।

 

सरकार देशलाई चुनावतिर होइन, संकटतर्फ धकेल्दै छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले मुलुकलाई चुनावतर्फ नभई संकटतर्फ धकेलिरहेको आरोप लगाएका छन् । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले लोकप्रिय नेताहरूलाई निष्क्रिय पार्ने र संविधानविपरीतका कदम चालेर सरकारले देशलाई अस्थिरतातर्फ लैजाने प्रयास गरिरहेको बताए ।

‘लोकप्रिय पार्टीका नेतालाई स्थान हद गरेर चुनाव हुने होइन, मुलुकमा संकट निम्तिन्छ,’ उनले भने, ‘यो सरकार देशलाई चुनावको बाटो होइन, संकटको खाल्डोमा धकेल्दै छ ।’ महासचिव पोखरेलले देशको अहिलेको संकट समाधान गर्ने एकमात्र उपाय प्रतिनिधि सभाको पुनस्र्थापना भएको बताए । उनका अनुसार पुनस्र्थापित संसद्ले संविधानलाई सही बाटोमा ल्याउँदै युवाहरूका माग सम्बोधन गर्न सक्नेछ ।

केपी ओली नै अबको अध्यक्ष, त्यसमा कुनै शंका छैन : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आउँदो महाधिवेशनबाट केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउने विषयमा कुनै शंका नरहेको दावी गरेका छन् । बिहीबार धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा, व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन । त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ ।’

असंवैधानिक बाटोबाट बनेको वर्तमान सरकारले जनादेश लिन नचाहेको उनले जिकिर गरे । एमाले चुनावसँग नडराएको समेत उनले बताए । अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउँदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरणजस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।’

सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा जेनजीले भदौ २३ गते गरेको शान्तिपूर्ण आन्दोलन ‘हाइज्याक’ गरिएको उनले बताए । साथै एमाले छाडेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका विषयमा उनले त्यसले आफ्नो पार्टीलाई कुनै क्षति नगर्ने बताए । रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेले नोक्सानी व्यहोरिसकेकाले थप क्षति नहुने उनको भनाइ थियो ।

 

‘घर फर्किएका’ लाई शंकर पोखरेलले भने–कोही जिम्मेवारीविहीन हुनु पर्दैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘घर फर्किएका’ नेता–कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुन नपर्ने बताएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङताङसहितका ‘पाटी फर्क अभियान’ मार्फत पुनः जोडिएका नेताहरुसँगको छलफलमा पोखरेलले त्यस्तो आश्वासन दिएका हुन् ।

छलफलमा सहभागी विघठित प्रतिनिधिसभा सदस्य एवं पार्टी नेता किसान श्रेष्ठका अनुसार महासचिव पोखरेलले देशभरिबाट पार्टी फर्किहरुको सूची एक साताभित्र पेश गर्न भनेका छन् । पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्योभन्दा तलको व्यवहार नहुने महासचिव पोखरेलको आश्वासन छ ।

पूर्व हैसियत भन्दा माथिको जिम्मेवारी दिने पार्टीको अधिकतम प्रयास रहने उनले बताए । तर, कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर टुंगो लगाइने भएको छ । ‘आउनु भएका सबै साथीहरुको नाम हेरौँ, त्यसपछि कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे त्यसपछि छलफल गरौँ’, महासचिव पोखरेलले भने ।

पार्टीको आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनेदेखि उक्त महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिहरुमा जिम्मेवारी दिने विषय पनि एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको श्रेष्ठले बताए । ‘हामी केन्द्रीय कमिटी तहका मान्छेहरुलाई अहिले नेता मात्रै भन्ने, जिम्मेवारी चाहिँ एक हप्तापछि टुंगो लगाउने भन्नु भयो’, उनले भने ।

 

माधव नेपालले माओवादीमा लगेर पार्टी विसर्जन गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विभाजन गरेर बनेको पार्टीलाई माधव नेपालले माओवादीमा लगेर विसर्जन गराएको आरोप लगाएका छन् । नेपालले जबजलाई कमजोर बनाउन खोजेको पोखरेलको आरोप छ । नेकपा एमालेले चलाएको ‘घर फर्क अभियान’लाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जस्तै पार्टी बनाउने भनेर नेपालले पार्टी माओवादीमा लगेर विसर्जन गर्ने काम गरेको आरोप लगाएका हुन् ।

‘एमालेबाट अलग भएको पार्टी माओवादी पार्टीमा विसर्जनको रूपमा अन्त्य भएको छ । माधव नेपालको पछि लागेर नेपालको कम्युनिस्ट आन्दोलन र जबजलाई कमजोर पार्न खोजिएको छ’, पोखरेलले भने । पोखरेलले भदौ २३–२४ को घटनाविरुद्ध एमालेले मात्र सही अडान लिएको दाबी पनि गरे । ‘विगतमा पनि गलत मान्यताको विरुद्धमा सही मार्गमा डोर्‍याउने काम केपी ओलीले गर्नुभएको थियो’, उनले भने, ‘माओवादी लडाकूको त्रास रहेको बेला युथफोर्सका माध्यमबाट समाजमा उत्पन्न भय त्रास अन्त्य गरेर समाजमा सुरक्षाको वातावरण बनाउने काम गरेका थियौं ।’ कार्यक्रममा नेकपा एस परित्याग गरेकी रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरू एमालेमा फर्केका छन् ।

 

 

जेनजीलाई रामकुमारीको अपिल : एमालेमा आउनुस्, चारै ढोका खुला छन्

काठमाडौं । नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पुस्ता–विशेषतः जेनजीलाई एमालेमा आउन अपिल गरेकी छिन् । एक समय सडकमा राज्य र दलप्रति प्रश्न उब्ज्याउने आवाज रहेकी झाँक्रीले अब त्यही पुस्तालाई ‘व्यवस्थित राजनीतिक यात्राको’ आग्रह गर्दै खुला निम्तो दिएकी हुन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले भनिन्, ‘तपाईंहरूको विद्रोह र आक्रोश जायज छन् । तर जसरी त्यस आक्रोशलाई विभिन्न शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन्, अब त्यसबारे जेनजी पुस्ताले गम्भीर सोच्नुपर्छ । तपाईंहरू आफ्नै पार्टी खोल्न चाहनु हुन्छ भने हाम्रो शुभकामना छ, तर खोल्न चाहनु हुन्न भने हामी जस्तै एमालेमै आउनुस् । हरेक जेनजीका लागि एमालेका चारै ढोका खुला छन् ।’

झाँक्रीका अनुसार अहिलेको राजनीतिक द्वन्द्व ‘एमाले बनाम जेनजी आन्दोलन’ मा रूपान्तरित भएको छ । उनले भनिन्, ‘जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो, सामान्य पनि थियो । तर त्यसमा रोटी सेक्न खोज्ने धेरै तत्वहरू मिसिए । अहिले फर्केर हेर्दा त्यो आन्दोलनको स्टेकहोल्डर को हो भन्नेमा प्रतिस्पर्धा चलेको छ । समाजमा ध्रुवीकरण–‘एमाले बनाम जेनजी आन्दोलन’ को रुपमा देखिन्छ ।’

पूर्व समाजवादी नेतृ झाँक्रीले आफ्नो विगतका गल्तीहरू स्वीकार गर्दै आलोचकहरूलाई पनि जवाफ दिइन् । ‘मलाई थाहा छ, तपाईंहरूले विगत र वर्तमान हेरेर मलाई ट्रोल गर्नु हुन्छ होला । त्यो मलाई स्वीकार्य छ । हामी वास्तविकताबाट टाढा हुन सक्दैनौं । यसैले मैले कुनै शर्त बिना नै एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सहभागी भएकी छु ।’

उनको भनाइमा अहिलेको राजनीतिक यथार्थ के हो भने, जनताको रक्षक एमाले बाहेक अरू कुनै दल हुनै सक्दैन । ‘एकताबद्ध भएर जनता माझ गयौं भने जनताले विश्वास गर्छन् । एमाले मात्रै जनताको वास्तविक रक्षक हो’, उनले दृढतापूर्वक भनिन् । झाँक्रीको यो खुला सन्देशसँगै एमालेभित्र अब युवा पुस्ता–विशेष गरी डिजिटल आन्दोलनबाट आएका जेनजी कार्यकर्ताहरूलाई भित्र्याउने नयाँ रणनीति देखिएको विश्लेषकहरूको भनाइ छ ।

एमाले फुटाउनु जीवनकै ठूलो भूल भयो : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल महसुस गरेको बताएका छन् । राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्प भएको बताएका छन् ।

मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै रहेको भन्दै गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित आफूहरू फर्किएको र कुनै माग, शर्त र चाहना नभएको बताएका छन् । पार्टी छाडेपछि एमाले केबल एउटा संगठन मात्र नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको बुझेको श्रेष्ठले बताएका छन् ।

‘एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ’, उनको भनाइ छ । केपी ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको भन्दै श्रेष्ठले ओलीले उठाएका राष्ट्रियता, विकास र सुशासनका मुद्दा नै आफूहरू घर फर्कनु आवश्यक छ भन्ने भावना जागृत भएको बताए । ‘आदरणीय केपी शर्मा ओली ज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो । आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ ।’

हेर्नुस् श्रेष्ठको भनाइ जस्ताको तस्तै
आजको यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्षअघि हामीले विभिन्न कारणले नेकपा (एमाले) बाट अलग भएर अर्को बाटो रोज्यौँ । त्यो निर्णय त्यो बेलाको परिस्थितिमा ठिक लागे पनि, आज पछिल्लो अनुभूति र आत्म मन्थनपछि हामी त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ ।

एमाले छोडेपछि हामीले बुझ्यौँ, यो पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ ।

आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यूको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको छ । अहिलेसम्मको यात्रामा अध्यक्षज्यूले जुन प्रकारले राष्ट्रियता, विकास र सुशासनका मुद्दा उठाउनुभयो, त्यो नै प्रमुख कारण हो — हामी फेरि घर फर्कनु आवश्यक छ भन्ने भावना हाम्रो मनमा जागृत भएको छ ।

आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ । हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ । अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ । आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ ।

एमाले छाडेपछि हामीले महसुस ग¥यौँ– यो पार्टी केवल संगठन होइन, यो त विचारको घर हो, राष्ट्र प्रेमको दिशा हो, देशको भविष्यको बाटो हो । जब हामीले पछिल्ला वर्षहरूमा राजनीतिक अवस्थाको समीक्षा ग¥यौँ, एउटा कुरा स्पष्ट भयो– देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको लागि एमालेको भूमिका अपरिहार्य छ ।

आदरणीय केपी शर्मा ओलीज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो । आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ ।

त्यसैले आज, हामी हाम्रै विगत सुधार्दै, हाम्रो मूल घरमा फर्किएका छौँ । हामीसँग देशभरिका अनेकौँ साथी पनि हुनुहुन्छ । जसले यो पार्टीलाई अझ सबल बनाउने प्रतिज्ञा गर्नुभएको छ । हामी ओलीज्यूको नेतृत्वमा देशलाई आत्मनिर्भर, सुशासित र समृद्ध बनाउन पूर्ण समर्पणका साथ अघि बढ्नेछौँ । हामी फेरि जनताको भरोसा जित्नेछौँ, हामी फेरि राष्ट्रनिर्माणको अग्रपंक्तिमा रहनेछौँ ।

आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काई केवल राजनीतिक निर्णय होइन, यो आत्म साक्षात्कार हो, यो जनताको बीच फर्कने यात्राको सुरुवात हो, यो हामीजस्ता पार्टीमा फर्किनका निम्ति आउनुभएका समस्त साथीहरुको जीवनको सबैभन्दा सत्य क्षण हो ।

विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।

सुदृढ र सशक्त नेकपा एमाले निर्माण गर्नु हाम्रो साझा संकल्प हो । मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार नेकपा एमाले नै हो । एमालेको सर्वोपरी हित, देशभरका नेता, कार्यकर्ता कमरेडबीच सौहाद्रता, हार्दिकता र भातृत्वपूर्ण व्यवहारबाट त्यो सम्भव छ । गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित हामी पार्टीमा फर्किएका छौं । यो बाहेक हाम्रा अरु कुनै माग, शर्त र चाहना छैन ।
धन्यवाद ।

 

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेको एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने उनले जनाएका छन् । संसद् पुनस्र्थापनाको माग गर्दै एमालेले सडकमा समेत उत्रिने तयारी गरेको छ ।

ओलीको प्रश्न : त्यसबेला शुकरात त भागेनन्, आज केपी ओली भाग्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका छन् । बुद्धिजीवि वर्गको अन्तर संवादमा बोल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताए ।

उनले भने, ‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि । सुनेको मात्रै है, कुनै पत्र दिएको छैन ।’

आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने समेत उनले बताएका छन् । उनले थपे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आ–आफैं मात्रै लड्छौँ ? पार्टीहरू लड्छन् चुनाव । यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन् ।’ उनले प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर हरेक नेपाली आन्दोलित हुनुपर्ने समेत बताए ।

 

मङ्सिर २७ मा एमालेले इतिहासकै ठुलो जनसभा गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, उनले भने– ‘र, मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ ।’

उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्’, पोखरेलको भनाइ छ ।

अहिलेको सरकारले अपराध र आन्दोलनलाई छुट्टयाउनै सकेन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा मोबाइलमा अत्यधिक निर्भर युवाहरूलाई केही गलत तत्वले दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको युवा सक्रियता स्वतःस्फूर्त नभएको दाबी गरे ।

‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ पोखरेलले भने, ‘सूचना प्रविधिप्रतिको लत र आशक्तिको स्तर कहाँ पुगेको छ भन्ने कुरा पछिल्ला घटनाले देखाएका छन् ।’ उनका अनुसार जेनजी पुस्ताले अघि सारेका माग अनुचित थिएनन्, तर ती मागहरू स्पष्ट रूपमा सरकारसमक्ष प्रस्तुत हुन नसक्दा आन्दोलन दिशाहीन भयो । ‘सरकारले माग नसुनेको होइन, मागहरू प्रस्तुत नै भएनन्,’ उनले भने, ‘को कसले नेतृत्व ग¥यो भन्ने पनि पूर्ववर्ती सरकारले थाहा पाएन ।’

पोखरेलले सरकारले युवाका प्रश्नप्रति चासो नदेखाएको भन्ने आरोपहरूलाई असत्य ठहर गर्दै, परिस्थितिलाई स्वार्थअनुसार तोडमोड गर्ने प्रयास भएको दाबी गरे । ‘सामान्य विषयलाई पनि सरकारले उपेक्षा ग¥यो भन्ने भ्रम फैलाइयो,’ उनले भने, ‘घटनालाई आफ्नो एजेण्डा अघि बढाउने माध्यम बनाइएको देखिन्छ ।’ महासचिव पोखरेलले अहिलेको सरकार भदौ २३ र २४ गतेको घटनामा अपराध र आन्दोलनलाई छुट्टयाउन पूर्णतः असफल भएको बताएका छन् ।

उनले अहिले अपराध र आन्दोलनलाई छ्यासमिस पार्ने प्रयत्न भइरहेको बताएका छन् । ‘राज्यका प्रतिष्ठाका केन्द्रहरूमा आगजनी र लुटपाट गर्ने कुरा, यस प्रकारका कामहरू अहिलेका नवयुवा पुस्ताले गर्न सक्छ कि सक्दैन, उनीहरूको आन्दोलनको विषय थियो कि थिएन ? भन्ने कोणबाट हेर्ने हो भने उनीहरूले आन्दोलनको विषय थिएन । उनीहरूले त्यस्तो काम गर्न सक्दैनन् भन्ने हामी ठान्छौं । त्यसकारण जसले त्यो काम गरे तिनीहरू राष्ट्रका अपराधीहरू हुन् भन्ने कुरा बुझ्नु पर्छ । जसले सुनियोजित हिसाबले ती काममा प्रयोग गर्ने योजना बनाए । तिनीहरूको पहिचान गरेर कारबाही गर्नुपर्छ । हाम्रो पार्टीको मान्यता रहँदै आएको छ,’ उनले भने, ‘तर अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्टयाउने कुरामा पूर्णत असफल छ ।’ त्यसकारण एमालेले बारम्बार आन्दोलनलाई सम्बोधन गर्न सकिने तर अपराधलाई दण्डित गर्नुपर्ने बताउँदै आइरहेको जानकारी दिए । ‘आन्दोलन र अपराध छ्यासमिस पार्ने कुरा उचित होइन,’ उनले भने ।

 

 

एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्दै

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्ने भएका छन् । प्रेस चौतारीको आयोजनामा कार्यक्रम हुन लागेको प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिएका छन् ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो । सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुनेछ ।

 

गुण्डुबाट एमालेले घोषणा गर्‍यो ‘युथ भोलेन्टियर फोर्स’ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष भेला राखिएको हो । भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता देखिएका छन् ।

जेन–जी आन्दोलनपछि पार्टीका नेता महेश बस्नेत र युवा संघको सुरक्षामा ओली दम्पती रहँदै आएका छन् । युथ भोलेन्टियरको घोषणाले नेकपा एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको छ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सको केही आचार संहिता पनि बनाइएको बताए । उनले भने, ‘आगामी दिनमा ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायत जिल्लामा पनि विस्तार गर्ने योजना छ ।’

यस फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरसँग समन्वय गर्दै नेताहरूको सुरक्षा र अराजकता नियन्त्रणमा काम गर्नेछ । बस्नेतले विगतमा युथ फोर्सको सक्रियताले माओवादीको आतंक हटाएको अनुभवलाई स्मरण गर्दै, वर्तमानमा पनि यस्ता गतिविधिमा निरन्तरता दिने दाबी गरे ।

 

गृहमन्त्रीले तत्काल बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

वामपन्थीहरूमा ‘मिसिने तर नमिल्ने’ प्रवृत्ति छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरूको ‘मिसिने तर नमिल्ने’ प्रवृत्तिका रहेको पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले लेखेका छन्, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता ।’ उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’

 

योगेश भट्टराईद्वारा एकताका चार आधार प्रस्तुत, ओलीको आह्वानलाई गरे समर्थन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेताहरूप्रति मूल घर फर्कन आह्वान गरेको प्रसंगलाई स्वागत गर्दै यो समयानुकूल र सान्दर्भिक भएको बताएका छन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले निषेध, प्रतिशोध र घृणाको राजनीति त्यागेर सहकार्य र सहअस्तित्वको बाटोबाट एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको राष्ट्रिय आवश्यकता वाम आन्दोलनलाई जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा एकताबद्ध बनाउनु हो ।

भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र बन्नै पर्छ, त्यो एमाले हो ।’

एकताको दिशामा अघि बढ्न उनले चार आधार समेत प्रस्तुत गरेका छन् । ती हुनु–जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई मान्यता दिनु, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी पार्टीको पुनर्गठन गर्नु र नेकपा एमालेको नेतृत्वमा आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु । ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौं,’ भट्टराईले लेखेका छन् ।

चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरुले असहमति जनाउँदै आएका छन् । शुक्रबार एकीकृत समाजवादीले यस्तो निर्णय गर्दा विवाद उत्पन्न हुँदै गर्दा एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेका थिए ।

योगेश भट्टराईले एकताका लागि प्रस्तुत गरेका चार आधार :
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
–पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
–२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
–नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

 

अहिलेको सरकार एनजीओ र आइएनजीओको : शंकर पोखरेल (भिडिओ)

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको आरोप लगाएका छन् । प्रेस चौतारी दाङले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।

‘जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो’, उनले भने । जेनजी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्रविरोधी स्वार्थी तत्वले घुसपैठ गरेको बताए । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आईएनजीओको भएको दाबी गरे ।

सरकारले गैरसरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैरसरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।

 

सर्वपक्षीय सरकार गठनको मुद्दामा ओली र विप्लव एकै ठाउँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुद्दामा एक ठाउँ उभिएका छन् । एमालेका अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय-सर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अघि सारेका छन् । विप्लवले पनि यही प्रस्ताव राखेका छन् ।

चुनाव हुनका लागि विश्वासिलो वातावरण बन्नुपर्ने र त्यसका लागि सर्वदलीय-सर्वपक्षीय सरकार गठन हुनुपर्ने विप्लवको पनि आग्रह छ । ‘सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ’ विप्लवले भनेका छन् । एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटमा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अगाडि सारेका हुन् । ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनस्र्थापना हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि ओलीको प्रस्ताव छ । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनकै क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाटै सरकार बन्ने अवस्था बनेन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेड छ । सरकार चुनाव गराउने गरी गृहकार्यमा रहेको छ । जेनजी र दलहरूसँग छुट्टाछुट्टै रुपमा संवाद गर्दै आएकी प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, दलहरू र सरकारबीच त्रिपक्षीय छलफल गर्दैछिन् ।

जेनजी आन्दोलनको विध्वंसको प्रमाण संकलन गर्न एमालेको ‘सूचना बैंक’

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूको प्रमाण संकलन गर्न ‘सूचना बैंक’ स्थापना गरेको छ । पार्टीले देशभरका कार्यकर्तामार्फत भिडिओ, फोटो र अन्य डिजिटल प्रमाणहरू संकलन गरी केन्द्रीयस्तरमै सुरक्षित राख्ने तयारी गरेको जनाएको छ ।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार तत्कालीन समयमा सामाजिक सञ्जालमा प्रसारित टिकटक, फेसबुक र रिलका भिडिओहरू डाउनलोड गरेर सुरक्षित राख्ने कार्य सुरु गरिएको हो । उनका अनुसार पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाणहरू केन्द्रीय कार्यालयमा रहनेछन् र आवश्यक परे प्रहरीले समेत प्रयोग गर्न सक्ने गरी अभिलेख तयार पारिनेछ ।

एमालेका संगठन विभागका सचिव माधव ढुंगेलले अहिलेको सरकारले दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरे पनि ‘भोलि राजनीतिक दलको सरकार बनेपछि’ ती व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रमाणहरू संकलन गरिरहेको बताए । उनका अनुसार यो अभियान अन्तर्गत सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, प्रहरी चौकी तथा निजी सम्पत्तिमा भएका क्षतिको हरेक प्रमाण एक ठाउँमा भण्डारण गर्ने तयारी भइरहेको छ ।

पार्टी स्रोतका अनुसार प्रहरी अधिकारीहरूसँग समन्वय गरी सुरक्षाकर्मीको हत्या, हतियार लुटपाट, आगजनी र तोडफोडमा संलग्नहरूको विवरण पनि संकलन भइरहेको छ । आन्दोलनका बेला धेरै नागरिकले आफ्ना सामाजिक सञ्जालमा भिडिओ राखे पनि पछि तिनलाई हटाउने वा लुकाउने कार्य भएकाले एमालेको संरचनाले ती सामग्री डाउनलोड गरेर सुरक्षित राखेको जनाएको छ । नेता बस्नेतका अनुसार देशभरका डेढ सय बढी एमाले नेता–कार्यकर्ताको घरमा आगजनी र लुटपाट गर्नेहरूको पहिचान भइसकेको छ । ती प्रमाणका आधारमा भविष्यमा कसैलाई नछोडिने र ‘देशै छाडेर गए पनि प्रमाण रहिरहने’ उनले चेतावनी दिए ।

एमालेले संकलन गरिरहेका प्रमाणमा सहभागीहरूको पृष्ठभूमि, तिनको सम्बन्ध तथा सम्भावित विदेशी संलग्नता समेत केलाउने कार्य भइरहेको बताएको छ । पार्टीका नेताहरूका अनुसार अहिले प्राप्त भिडिओहरूमा नेपाली मात्र नभई विदेशी व्यक्तिहरू पनि संलग्न देखिएका छन् र सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइएको छ । बस्नेतले कलाकार, कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर र कमेडियनहरूको ठूलो संलग्नता देखिएको दाबी गर्दै केही चर्चित अनुहारहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुगेको प्रमाण रहेको बताए । उनका अनुसार गोकुल बास्कोटाको घरमा आगो लगाउन कमेडियन अपूर्व क्षितिज स्वयं पुगेको भिडियो बाहिर आएको छ भने विमलेन्द्र निधिको घरमा अभिनेता दीपकराज गिरी देखिएका छन् ।

२४ गतेको घटनाअघि निश्चल बस्नेत, सुमना श्रेष्ठ, दीपकराज गिरीलगायत केही चर्चित व्यक्तिहरूको बैठक बसेर योजना सर्कुलेट गरिएको एमाले नेताहरूले आरोप लगाएका छन् । उनीहरूले यसलाई ‘राज्य सम्पत्तिको खरानी अभियान’ भन्दै एनजिओ र वैदेशिक फण्डसँगको संलग्नताको परिणाम भएको टिप्पणी गरेका छन् । एमालेले भनेको छ, ‘अहिले बनेको अन्तरिम सरकार नै विदेशी प्रभावमा चलेको छ र त्यसको छायाँमा देशको सम्पत्ति नष्ट गर्नेहरूलाई जोगाउने प्रयास भइरहेको छ । पार्टीले आफ्नो ‘सूचना बैंक’ मार्फत प्रमाण सुरक्षित गरेर विध्वंसका अपराधीहरूलाई अन्ततः कानूनी कारबाहीको दायरामा ल्याइने’ चेतावनी दिएको छ ।

 

गगन थापाले आपराधिक जत्थाको विरोध गर्न नसकेको शंकर पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा भएको विध्वंसमा संलग्न आपराधिक जत्थाको बिरोध गर्न नसकेको भन्दै कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’

महामन्त्री थापाले केही दिन अघि एक अन्तर्वार्तामा आफ्नो घर एमालेका कार्यकर्ता र त्यसमा पनि अध्यक्ष केपी ओलीसम्म पहुँच भएकाले आफ्नो घर लुटपाट र आगजनी गरेको दाबी गरेका थिए । थापाको उक्त दाबीपछि महासचिव पोखरेलले थापाले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेर एमालेलेलाई दोषारोपण गर्न खोजे भन्दै रोष प्रकट गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाले जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध सार्वजनिक रूपमा अझै गरेका छैनन् । महासचिव पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही भए पनि सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही भए पनि सबैलाई कारबाही गरौँ । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक यही कात्तिक १५ गते बस्ने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए । गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरिसकेको छ ।

सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ ।

बैठकमा महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल हुनेछ । पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए ।

देशव्यापी आक्रमण एमाले बलियो रहेको प्रमाण : सूर्य थापा

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमाले बिनाको देश र केपी ओली बिनाको एमाले हुन नसक्ने बताएका छन् । आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न पाउने गरी केही पाटीभित्र र बाहिरका व्यक्तिहरुले चलाएको गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै पार्टीमा ओली नेतृत्वको विकल्प नभएको जनाए ।

‘अहिले केही तत्वहरु एमाले बिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिंडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरु त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरुले कुनै दिवासपना नदेखे हुन्छ । अहिले देशमा एमाले बिना चल्न सक्दैन र एमाले केपी ओलीको नेतृत्व बिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ ।’

उनले एमालेको चिन्ता गर्दै सामाजिक सञ्जालमा अभियान चलाएकाहरुलाई इंगित गर्दै भने, ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरुले बढी यस्ता कुरा उठाएका छन्, केही कांग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्नसक्छ, कसैले बाहिर बसेर गोहीको आँशु नचुहाए हुन्छ ।’

नेता थापाले भदौ २३ र २४ गतेको आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको र अर्बौको नोक्सानी भएको बताए । ‘हामीले जेनजीहरुका जायज मागमा साथ दिन्छौं तर उनीहरुलाई मोहोरा बनाएर विध्वंश मच्चाउनेहरुलाई कुनै पनि मानेमा साथ दिन सकिदैन । राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गए पनि छाडिने छैन, अपराधीले छुट पाउने छैन ।’

आन्दोलनपछि केही अन्यौलमा परिरहेको समयमा एमालेले बिस्तारै सबै जिल्लामा यसखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले देशभरका ७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलो पटक यति ठूलो प्रदर्शन गरेर देशव्यापी सन्देश दिएको जनाए । उनले एमाले कार्यकर्ताको बल अडिएको पार्टी भएकाले हरेक विषय वास्तविकतामा आधारित रहेर अघि बढ्न सुझाए । एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनु पर्ने बताए ।

 

आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए । उनले भने, ‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ ।धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’ मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए ।

अर्का केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताए । उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए । विश्वकर्माले भने, ‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’

 

च्यासलमा पाल टाँगेर एमाले केन्द्रीय कार्यालय सञ्चालन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलमा रहेको केन्द्रीय कार्यालय आगजनी गरेपछि पाल टाँगेर कार्यालय सुचारु गरेको एमाले नेता विष्णु रिजालले बताएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनले उग्ररूप लिँदा एमालेसहित अधिकांश पार्टीका केन्द्रीय कार्यालय, शीर्ष नेताहरूको घर आगजनी र तोडफोड भएको थियो ।

आन्दोलनको झण्डै डेढ महिनापछि एमालेले पाल टाँगेर कार्यालय सञ्चालनमा ल्याएको हो । पाल टाँगेर केन्द्रीय कार्यालय सुचारु गर्न आज उपमहासचिव विष्णु रिमाल, नेताहरू भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू पुगेका थिए ।

माइतीघर बालेन, सुदन र गृहमन्त्री समर्थकको मात्र होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको बताएका छन् । राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको आरोप लगाएका छन् ।

माइतीघर मण्डला सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘माईतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन– सबैका लागि हो । बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।’

एमाले नेता रिजालको चेतावनी : भदौ २३–२४ को उपद्रवमा सम्झौता गर्ने प्रपञ्च स्वीकार्य छैन

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले भदौ २३ र २४ गतेको उपद्रवका नाममा राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च सह्य नहुने चेतावनी दिएका छन् । उनले फेसबुकमार्फत यस्तो सम्झौता गर्ने ‘अनौठो बाध्यता’ माथि प्रश्न उठाएका छन् ।

रिजालका अनुसार उपद्रवको जिम्मेवारी कुनै आन्दोलनकारीले नलिएको र आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको अवस्थामा ‘कथित जेन–जी आन्दोलनकारी’ र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने कारण स्पष्ट छैन । उनले आन्दोलनको नाममा राष्ट्रिय र निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा चोरी गर्नेहरूको मुकुण्डो उत्रिन थालेपछि अपराधबाट बच्न यस्तो प्रपञ्च गरिएको आरोप लगाएका छन् । रिजालले ‘अपराधीहरूले पानीमुनि गए पनि छुट नपाउने’ बताएका छन् ।

रिजालले लेखेका छन् : न कुनै निश्चित आन्देलनकारी छन् न भदौ २३–२४ को उपद्रवको कुनै आन्दोलनकारीले जिम्मा लिएको छ । आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको छ । यति पछि आएर कथित जेनजी आन्दोलनकारी र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने के अनौठो बाध्यता आइपरेछ ? आन्दोलनका नाममा राष्ट्रिय र निजी सम्पत्ति आगजनी, तोडफोड र चोरी गर्नेहरूको मुकुण्डो एकपछि अर्को गरी उत्रिन थालेपछि अपराधबाट बच्नका लागि राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च कुनै हालतमा सह्य हुन्न । आज नभए भोलि, ती अपराधीहरूले पानीमुनि गए पनि छुट पाउने छैनन् ।

 

 

सुशीला कार्कीको सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने बताएका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन् ।

‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो ?,’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन ?’

वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालिरहेको जिकिर गरे । २३ र २४ भदौमा जेनजीका नाममा विध्वंस गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा कलंकका रूपमा यो घटना चित्रण भएको पनि जिकिर गरे । उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरूले शुभकामना आदान–प्रदान गरेका थिए ।

 

गुण्डुमा ‘ओली कुटी’ बन्ने, बालकोटको घर मर्मत नगरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । भदौ २४ गते बालकोटमा जलेको घर मर्मत नगर्ने निष्कर्षमा पुगिएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।ओलीले आफ्नो शेखपछि सरकारका नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले ओलीले व्यक्तिगत खर्चमा मर्मत नगर्ने बस्नेतले जानकारी दिए ।

बुधबार ओली निवास बालकोटमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले बालकोटको घर मर्मत नगरिने बताएका हुन् । ‘अध्यक्ष ओलीका लागि गुण्डुमै घर बनाउने र त्यसको नाम ओली कुटी राख्ने सहमति भएको छ, उहाँका लागि यहाँ (बालकोट) मा खर्च गर्दैनौं,’ बस्नेतले भने ।
बस्नेतले बालकोटको घर राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्न सरकारसँग आग्रह गरे ।

‘यो घर मर्मत गर्ने हो कि के गर्ने हो, सरकारले गर्ने हो, राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्नुस्,’ बस्नेतले भने । भदौ २४ गते जलेको घर हेर्न ओली बुधबार बालकोट पुगेका थिए । घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।

केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका छन् ।

‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन । राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्न खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन,’ उनले भनेका छन् । कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय भएको उनले बताएका छन् ।

‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ । तर, अहिलेका केही मन्त्रीहरू त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ,’ पोखरेलले बताएका छन् ।

शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देशमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको चुनौती नै गृहमन्त्री ओमप्रकाश अर्याल नै भएको आरोप लगाएका छन् । जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठ र विध्वंस मच्चाउने नर्सरीको मुख्य माली गृहमन्त्री नै भएको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् ।

अहिले पनि गृहमन्त्री अर्याल ईष्र्या, डाह, कुण्ठा र आक्रोशबाट बाहिर निस्किन नसकेको आरोप बर्तौलाको छ । सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘यिनी अहिलेसम्म पनि ईष्र्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन् । उनी लुटिएका हतियारहरू खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्, भागेका कैदिबन्दीहरू कहाँ छन् चासो नै राख्दैनन्, हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन् । यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्धनका लागी पुर्वप्रधानमन्त्री, पुर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरू लाई भड्काउन , उत्तेजित बनाउन, इरिटेसन गर्न हर सम्भव बेलगाम झुटा अभिव्यक्ति र घातक क्रियाकलापहरू गरिरहेका छन् ।’

यही तरिकाले अगाडि बढेमा निर्वाचन तोकिएको समयमा सम्पन्न नहुने र गृहमन्त्रीको कुर्सीमा थप बसिरहन पाइने बुझाइ मन्त्री अर्यालको रहेको उनको आरोप छ । जनादेशबाट जिम्मेवारीमा पुगेको नभई जेन जी युवाहरूको भावना र आकाङ्क्षामाथि धोका दिँदै झुक्क्याएर गृहमन्त्री भएको उनको तर्क छ ।

गृहमन्त्रीका अभिव्यक्ति हिंसा भड्काउन उद्दत, तत्काल बर्खास्त गर्नुपर्छ : निरज आचार्य

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, गोलीगठ्ठा र प्रहरीका पोसाक गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चालन गर्ने गिरोहसँग रहेको दाबी गरेका छन् । आचार्यले कैदी बन्दीलाई राजनीतिक गतिविधि वा सरकार विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर दलहरूले घोषणा गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आचार्यले लेखेका छन्, ‘हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयमा भनेछन्–भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने माग गरेछन् ।’ उनले लुटेका हतियार, गोलीगठ्ठा र प्रहरीको पोसाक उनै गृहमन्त्री अर्यालले सञ्चालन गर्ने गिरोहसँग रहेको भन्दै भागेका कैदीबन्दी उनको सम्पर्कमा भएको तथ्य छोप्न दलहरूलाई स्वघोषणा गर्ने फतुर जारी गरेको आरोप लगाएका छन् ।

‘उनको यो अभिव्यक्ति खेदजनक छ । उनका निरन्तरका अभिव्यक्ति र क्रियाकलापहरू मुलुकमा हिंसा भड्काउने दिशामा उद्दत छन्’, आचार्यले भनेका छन्, ‘शान्ति सुरक्षा कायम गर्न र फागुन २१ मा चुनाव गराउने कार्यादेशमा जाने हो भने सुशीला श्रीमानको सरकारले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ वा निजको मगजको राम्रो उपचार गर्नुपर्ने देखियो ।’

देशलाई प्रतिगमनतिर लैजाने कुप्रयास हुँदैछ : शंकर पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अब एमाले मात्रै एक भएर पुग्दैन, सिङ्गो लोकतान्त्रिक शक्ति मिलाएर अघि बढ्नु पर्छ ।’

महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू अकल्पनीय भएको भन्दै ती घटनाका पछाडि विदेशी शक्ति, राजावादी, माओवादी, समाजवादी, स्वतन्त्र भनिने समूह र रास्वपाको मिलेमतो रहेको बताए । उनका अनुसार यी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि योजनाबद्ध घेराबन्दी गरिरहेका छन् ।

उनले भने, ‘बदलिँदो ट्रेन्ड हामीले बुझेका हौँ, तर जति गम्भीर हुनुपर्ने हो त्यो हुन सकेन । देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेका छन्, त्यसका विरुद्ध सचेत हुनुपर्छ ।’ पोखरेलले पार्टी र कार्यकर्तालाई गाउँगाउँ र घरघरमा पुगेर एमालेको योगदान जनता समक्ष पुर्‍याउन आग्रह गरे । उनले नाकाबन्दी, चुच्चे नक्सा जारी, सीमा विवादमा दृढ उपस्थिति, अन्तर्राष्ट्रिय फोरममा नेपालको पक्षमा हिम्मतका साथ उभिनु र पूर्वाधार विकासमा पार्टी नेतृत्वको भूमिकालाई जनताले सम्झनुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपालको नेतृत्वमा देउसी–भैलो प्रदर्शन गरिएको थियो । त्यस अवसरमा एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराई , केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, रूपनारायण श्रेष्ठ, बाबुराम थापा, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

यो सरकार असंवैधानिक, सुशीला कार्कीको नियुक्ति तमासा : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ भन्दै टिप्पणी गरेका छन् । आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ । यो सरकारले चुनाव गराउन चाहँदैन । त्यस्तो हुन्छ डेमोक्रेसी ? त्यसरी छानिन्छ प्रधानमन्त्री । त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन ।’

उनले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरेका छन् । पूर्व प्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ ।

‘पूर्व प्रधानन्यायाधीश ज्यूलाई संविधानको धारा १३२, १ २ त थाहा होला नि त ? पूर्व प्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन । कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन । मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ । नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ । अनि मैले के संवैधानिकै भएको छ भन्नु पर्ने ? डराएर झुट बोल्नु पर्ने ? असत्य बोल्न घुँडा टेक्नु पर्ने ?’ उनले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आफूलगायत कतिपय नेतालाई सरकारले थुन्ने तयारी गरेको उनले बताएका छन् ।

 

‘यस्तै हो भने फेरि केपी ओली सरकारमा फर्किने अवस्था बन्छ’

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति तीब्र आक्रोश व्यक्त गरेका छन् । सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्‍याउने दाबी गरे ।

आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘ममाथि थ्रेट छ, मेरै सेक्युरिटी सरकारले फिर्ता लगिदिएको छ । वडाध्यक्षलाई सेक्युरिटी बढाउँछ, मेयरलाई बढाउँछ मेरै सेक्युरिटी खोस्छ यो सरकार ।’ उनले भने, ‘यस्तै हुँदै गयो भने केपी ओली सरकामा फेरि फर्कने अवस्था बन्छ । यो युवाबाट चल्दैन। केपी ओली फिर्ता ल्याऊ ।’ सरकारले आफूलाई पीडितसँग भेट्न जान नदिएकोप्रति ओलीको आक्रोश थियो । ‘जसको घरमा आगो लाग्यो, म त्यहाँ सान्वना दिन जान नपाने ?’ उनले प्रश्न गरे, ‘देशभित्र हिँडडुल गर्न जान नपाउने? कस्तो सरकार बन्या छ ?’