गृहमन्त्रीले तत्काल बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्छ : विष्णु रिजाल
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।
‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’
मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।
