देशव्यापी आक्रमण एमाले बलियो रहेको प्रमाण : सूर्य थापा
रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमाले बिनाको देश र केपी ओली बिनाको एमाले हुन नसक्ने बताएका छन् । आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न पाउने गरी केही पाटीभित्र र बाहिरका व्यक्तिहरुले चलाएको गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै पार्टीमा ओली नेतृत्वको विकल्प नभएको जनाए ।
‘अहिले केही तत्वहरु एमाले बिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिंडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरु त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरुले कुनै दिवासपना नदेखे हुन्छ । अहिले देशमा एमाले बिना चल्न सक्दैन र एमाले केपी ओलीको नेतृत्व बिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ ।’
उनले एमालेको चिन्ता गर्दै सामाजिक सञ्जालमा अभियान चलाएकाहरुलाई इंगित गर्दै भने, ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरुले बढी यस्ता कुरा उठाएका छन्, केही कांग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्नसक्छ, कसैले बाहिर बसेर गोहीको आँशु नचुहाए हुन्छ ।’
नेता थापाले भदौ २३ र २४ गतेको आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको र अर्बौको नोक्सानी भएको बताए । ‘हामीले जेनजीहरुका जायज मागमा साथ दिन्छौं तर उनीहरुलाई मोहोरा बनाएर विध्वंश मच्चाउनेहरुलाई कुनै पनि मानेमा साथ दिन सकिदैन । राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गए पनि छाडिने छैन, अपराधीले छुट पाउने छैन ।’
आन्दोलनपछि केही अन्यौलमा परिरहेको समयमा एमालेले बिस्तारै सबै जिल्लामा यसखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले देशभरका ७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलो पटक यति ठूलो प्रदर्शन गरेर देशव्यापी सन्देश दिएको जनाए । उनले एमाले कार्यकर्ताको बल अडिएको पार्टी भएकाले हरेक विषय वास्तविकतामा आधारित रहेर अघि बढ्न सुझाए । एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनु पर्ने बताए ।
आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए । उनले भने, ‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ ।धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’ मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए ।
अर्का केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताए । उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए । विश्वकर्माले भने, ‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’
