जेनजी आन्दोलनको विध्वंसको प्रमाण संकलन गर्न एमालेको ‘सूचना बैंक’
काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूको प्रमाण संकलन गर्न ‘सूचना बैंक’ स्थापना गरेको छ । पार्टीले देशभरका कार्यकर्तामार्फत भिडिओ, फोटो र अन्य डिजिटल प्रमाणहरू संकलन गरी केन्द्रीयस्तरमै सुरक्षित राख्ने तयारी गरेको जनाएको छ ।
पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार तत्कालीन समयमा सामाजिक सञ्जालमा प्रसारित टिकटक, फेसबुक र रिलका भिडिओहरू डाउनलोड गरेर सुरक्षित राख्ने कार्य सुरु गरिएको हो । उनका अनुसार पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाणहरू केन्द्रीय कार्यालयमा रहनेछन् र आवश्यक परे प्रहरीले समेत प्रयोग गर्न सक्ने गरी अभिलेख तयार पारिनेछ ।
एमालेका संगठन विभागका सचिव माधव ढुंगेलले अहिलेको सरकारले दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरे पनि ‘भोलि राजनीतिक दलको सरकार बनेपछि’ ती व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रमाणहरू संकलन गरिरहेको बताए । उनका अनुसार यो अभियान अन्तर्गत सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, प्रहरी चौकी तथा निजी सम्पत्तिमा भएका क्षतिको हरेक प्रमाण एक ठाउँमा भण्डारण गर्ने तयारी भइरहेको छ ।
पार्टी स्रोतका अनुसार प्रहरी अधिकारीहरूसँग समन्वय गरी सुरक्षाकर्मीको हत्या, हतियार लुटपाट, आगजनी र तोडफोडमा संलग्नहरूको विवरण पनि संकलन भइरहेको छ । आन्दोलनका बेला धेरै नागरिकले आफ्ना सामाजिक सञ्जालमा भिडिओ राखे पनि पछि तिनलाई हटाउने वा लुकाउने कार्य भएकाले एमालेको संरचनाले ती सामग्री डाउनलोड गरेर सुरक्षित राखेको जनाएको छ । नेता बस्नेतका अनुसार देशभरका डेढ सय बढी एमाले नेता–कार्यकर्ताको घरमा आगजनी र लुटपाट गर्नेहरूको पहिचान भइसकेको छ । ती प्रमाणका आधारमा भविष्यमा कसैलाई नछोडिने र ‘देशै छाडेर गए पनि प्रमाण रहिरहने’ उनले चेतावनी दिए ।
एमालेले संकलन गरिरहेका प्रमाणमा सहभागीहरूको पृष्ठभूमि, तिनको सम्बन्ध तथा सम्भावित विदेशी संलग्नता समेत केलाउने कार्य भइरहेको बताएको छ । पार्टीका नेताहरूका अनुसार अहिले प्राप्त भिडिओहरूमा नेपाली मात्र नभई विदेशी व्यक्तिहरू पनि संलग्न देखिएका छन् र सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइएको छ । बस्नेतले कलाकार, कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर र कमेडियनहरूको ठूलो संलग्नता देखिएको दाबी गर्दै केही चर्चित अनुहारहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुगेको प्रमाण रहेको बताए । उनका अनुसार गोकुल बास्कोटाको घरमा आगो लगाउन कमेडियन अपूर्व क्षितिज स्वयं पुगेको भिडियो बाहिर आएको छ भने विमलेन्द्र निधिको घरमा अभिनेता दीपकराज गिरी देखिएका छन् ।
२४ गतेको घटनाअघि निश्चल बस्नेत, सुमना श्रेष्ठ, दीपकराज गिरीलगायत केही चर्चित व्यक्तिहरूको बैठक बसेर योजना सर्कुलेट गरिएको एमाले नेताहरूले आरोप लगाएका छन् । उनीहरूले यसलाई ‘राज्य सम्पत्तिको खरानी अभियान’ भन्दै एनजिओ र वैदेशिक फण्डसँगको संलग्नताको परिणाम भएको टिप्पणी गरेका छन् । एमालेले भनेको छ, ‘अहिले बनेको अन्तरिम सरकार नै विदेशी प्रभावमा चलेको छ र त्यसको छायाँमा देशको सम्पत्ति नष्ट गर्नेहरूलाई जोगाउने प्रयास भइरहेको छ । पार्टीले आफ्नो ‘सूचना बैंक’ मार्फत प्रमाण सुरक्षित गरेर विध्वंसका अपराधीहरूलाई अन्ततः कानूनी कारबाहीको दायरामा ल्याइने’ चेतावनी दिएको छ ।
