`

एमाले सचिवालय बैठक अचानक स्थगित, गुण्डु जाँदै गरेकाहरु बाटैबाट फर्किए

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अचानक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले नेपाल जानकारी दिएका छन् ।

अचानक अध्यक्ष ओली अस्वस्थ भएको खबर आएपछि बैठकमा सहभागी हुन भक्तपुरको गुण्डु जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका छन् ।शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने रिमालले बताए । भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवले जानकारी दिए ।

ओलीको घोषणा : फागुन २१ पर्खदैनौं, संसद विघटनको विपक्षमा उभिन्छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र देशविरुद्धको कदम ठहर गर्दै संसद् पुनस्र्थापनाको पक्षमा तत्काल संघर्ष सुरु गर्ने संकेत दिएका छन् । भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले फागुन २१ को चुनावको पर्खाइमा नबस्ने स्पष्ट गरे । ‘फागुन २१ पर्खनु पर्ने केही छैन’, उनले भने, ‘संसद् विघटन गलत छ, असंवैधानिक छ, त्यसको प्रतिकार अब ढिलो गर्नु हुँदैन ।’

ओलीले संसद् पुनस्र्थापनाको मागमा जनआन्दोलन सुरु हुने विश्वास व्यक्त गरे । ‘जनता आँधीबेहरी बनेर आन्दोलनमा उत्रने छन्’, उनले भने । उनले दाबी गरे कि विघटन गर्नुको मुख्य कारण संविधान अनुसार समाधान खोज्न नचाहने प्रवृत्ति हो । ‘सबै पक्ष संसद कायम राखेर समाधान खोज्नेमा सहमत थिए, तर त्यहाँबाट विमुख भएर असंवैधानिक बाटो लिइयो’, ओलीले भने । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने अडानमा रहेको भन्दै त्यो बहानामा संसद् विघटन गरिएको उनको आरोप छ ।

‘कार्की आयोग एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जेनजी विद्रोहसम्बन्धी छानबिन आयोगलाई पूर्ण अस्वीकार गरेका छन् । उनको भनाइमा, आयोग गठनको उद्देश्य निष्पक्ष छानबिन होइन, राजनीतिक प्रतिशोधका लागि आधार बनाउने मात्र हो । ‘पहिल्यैदेखि ‘केपी ओलीलाई समात्नु पर्छ’ भन्ने मान्छेले छानबिन गर्छ भने निष्पक्षताको के ग्यारेन्टी ?’ उनले प्रश्न गरे ।

ओलीले यस्तो आयोगलाई एमालेले नमान्ने स्पष्ट घोषणा गरे । ‘यस्तो नाटक नेकपा एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’, उनले जोड दिए । कार्कीले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिलाई लिएर एमालेले पहिले नै आपत्ति जनाउँदै आएको थियो । ओलीको ताजा अभिव्यक्तिले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

 

षड्यन्त्रविरुद्ध सडकमा उत्रिन तयार रहनू : भानुभक्त ढकाल

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले पछिल्लो समय भएको षड्यन्त्रको प्रतिवाद गर्नको लागि पार्टीपंक्तिलाई आह्वान गरेका छन् । भक्तपुरमा आज (बिहीबार) आयोजित कार्यक्रममा बोल्दै व्यवस्था र राष्ट्रियतामाथि भइरहेको षड्यन्त्रप्रति जनतालाई सचेत गराउन अब ढिला गर्न नहुने बताए ।

उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा भएको कुप्रति जनतालाई सचेत गराउँदै हामीले खबरदारी गर्न अब विलम्ब गर्नु हुँदैन । षड्यन्त्र जारी रह्यो भने त्यसका निम्ति प्रतिवाद गर्नको निम्ति एमालेसँग आबद्ध जनवर्गीय संगठन, जनप्रतिनिधि र पार्टीका लाखौँ सदस्य पनि सडकमा उत्रिन तयार हुनुपर्छ ।’ उनले जेनजी आन्दोलनको लागि आगजनी र तोडफोडमा संलग्नहरूलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिएपछि पनि तोडफोड र आगजनी भएको भन्दै केपी ओलीविरुद्ध भ्रम फैलाइएको जिकिर गरे ।

‘एमालेलाई एकता चाहिएको छ, पुनर्गठनको बहस असान्दर्भिक’
एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् । ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निर्क्याैल हुने जिकिर गरे ।

‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ । यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर, अहिले पार्टीभित्र एकताको खाँचो छ’, ढकालले भने । पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । भदौ २०–२२ को दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेन–जी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने ढकालले बताए ।

सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नउत्ताउलिनू : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने चेतावनी दिएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिए । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे । उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको टिप्पणी गरे ।

‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिनँ । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने, देश चलाउने ख्याल ठट्टा होइन ।’

उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए । ‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’

ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नु भयो–संसद् विघटन भए मात्रै बन्छु, नत्र देशमा जेन–जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’ संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन–जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

‘संसद पुनर्स्थापनाको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ’
एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए । उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ । अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन् । देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन ।’ उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए ।

राजन भट्टराईको खबरदारी : मुलुक अफगानिस्तानको बाटोमा जान सक्छ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन् । भक्तपुरको गुन्डुमा आज (बिहीबार) आयोजित कार्यक्रममा उनले २३ भदौको घटना कास्टिङ मात्रै भएको बताए । मुलुकलाई जोगाउन एमाले एकताबद्ध हुनुपर्ने उनले बताए ।

यदि पार्टीभित्र एकताबद्ध नहुने हो भने मुलुक अफगानिस्तानको बाटोमा जाने भट्टराईले बताए । ‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ,’, उनले भने । भट्टराईले पार्टी नेतृत्वविरुद्ध विपक्षीले निकालेको निष्कर्षलाई प्रश्रय दिने काम गर्न नहुने पनि बताए ।

अहिलेको सरकार बलमिच्याइँले बनेको हो, संवैधानिक छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको दाबी गरेका छन् । आज (बिहीबार) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार संविधानअनुसार नभई बलमिच्याइँले बनेको बताए ।

‘अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ, किनभने अहिले देशमा सरकार छ, अहिलेको सरकार संविधानअनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ । उनले थपे, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नु भयो । तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु । त्यो सिफारिस लागु गर्नुपर्छ र संसद भंग गर्ने हो भने प्रधानमन्त्री हुन्छ । नत्र जेन्जीले देशमा आगो बाल्छ ।’ उनले थपे, ‘संसद भंग गर्ने पूर्व शर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता जनताको सर्वोच्च संस्था संसद र लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो ।’

ओलीले भने, ‘कार्कीलाई राम्ररी थाहा छ । नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो । के–के व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ । प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन । प्रधानमन्त्री मन्त्रीको कुरा छौडौं । तर उहाँ सुरिनु भयो । त्यो सुरिन २३ र २४ गते जेनजी भनेर सडकमा उत्रनु भयो । उहाँ के कामका लागि उत्रनु भयो ? चुनाव गराउन भन्ने त राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो । उहाँहरुको होइन ।’ उनले प्रधानमन्त्री हुनकै लागि कार्की २४ गते दिउँसो नै सडकमा उत्रिएको बताए ।

 

सरकार ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ, मान्यता पाउँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दलहरुलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको आरोप लगाएका छन् । ‘जबरजस्ती गरिने चुनाव असोज १८ पछि पूर्व राजाले गरेको नाटक जस्तै हुन्छ’ उनले भक्तपुरमा आज (बिहीबार) आयोजित एमालेको कार्यक्रममा उनले भने,’ जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’

उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातवरण बनाउनु पर्ने बताएका छन् । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा नलिँदासम्म चुनाव हुन सक्दैन’ उनले भने,’ चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ ।’ उनले भूमिगत गिरोहलाई ल्याउन राजनीतिक दललाई साइड लगाएर ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ । ‘यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र हो’ उनले भने ।

‘केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो कुप्रचार गरियो’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् । उनले षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर गरे । उनले भने, ‘सरकारबाट हामी हट्नु पर्‍यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौं । हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौं । जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’
उनले जनताको बीचमा गएर संविधानवादको युगतर्फ देशलाई फर्काउने बताए । उनले २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो कुप्रचार गरिरहेको टिप्पणी गरेका छन् ।

 

जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन् । आज (बिहीबार) भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमाले थोपरिदिएको परिचय भएको जिकिर गरे । ‘जेनजी हाम्रो परिचय होइन, पश्चिमाले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलले भने, ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो समाजलाई खलबल्याएर कसरी विभाजित गर्न खोजिदै छ भन्ने कुरा पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले पनि बुझाइरहेको छ ।’

समाज चलाउन सबै पुस्ताको संयोजन आवश्यक रहेको भन्दै पूर्वीय दर्शनले पनि त्यही भन्ने उनले उल्लेख गरे । ‘समाज चलाउने भनेको कुनै एउटा पुस्ताको लहडको विषय होइन, समाज चलाउने भनेको अनेक पुस्ताबीचको संयोजन हो,’ पोखरेलले भने, ‘हाम्रो पूर्वीय दर्शनले कुनै पनि समाजलाई सुव्यवस्थित गराउने हो भने चार पुस्ताको संयोजन आवश्यक हुन्छ भन्छ ।’

पोखरेलले भने, ‘२३ गतेको आन्दोलन एउटा सामाजिक सञ्जाल खुला गर्नुपर्ने र दोस्रो माग भ्रष्टाचार अन्त्य हुनुपर्ने । हाम्रो पुस्ता साइबर र सोसल मिडियामा उनीहरुको लगाब छ । तर सरकारले सामाजिक सञ्जाल बन्द गरेको थिएन । सोसल मिडिया दूरुपयोग भइरहेकाले उनीहरुलाई नेपालमा दर्ता गर्न खोजेको थियो । तर भ्रम सिर्जना गरेर युवालाई उत्तेजित बनाइयो । त्यो आन्दोलनमा पनि ३४ प्रतिशत फेक एकाउन्ट बनाएर आन्दोलनलाई उत्तेजक बनाउन भूमिका खेलेको अन्तर्राष्ट्रिय रिपोर्ट आइरहेको छ ।’

पोखरेलले नेपाल प्रहरी भीड व्यवस्थापनमा सक्षम रहे पनि २३ गते प्रहरी अधिकारी नै कसरी त्यस्तो हुन पुग्यो चकित बनेको र त्यो अवस्था सिर्जना भएको देखिएको उनले बताए । पोखरेलले १० वर्ष माओवादी आन्दोलनमा नभएको क्षति एक दिनमा भएको दाबी गरे । उनले अपराधीलाई दण्डित गर्न एमाले तयार रहेको छ ।

 

महेश बस्नेतको चेतावनी : केपी ओलीलाई छोए देशभर आगो बल्ने छ

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमा देशभर आगो बल्ने चेतावनी दिएका छन् । आज (बिहीबार) भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका हुन् ।

‘केपी ओली पञ्चायतसँग र राजासँग लडेको आएको हो । अहिलेका नौटंकीले च्यालेन्ज गरेका छन्,’ बस्नेतले भने, ‘मैले हिजो पनि भनेको थिएँ, केपी ओलीलाई छोए देशभर आगो बल्ने छ ।’ एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आफूलाई पक्राउ गर्न सरकारले योजना बनाएको भन्दै बस्नेतले एमालेसँग नजिस्किन चेतावनी दिए ।

बस्नेतले असोज २५ गते काठमाडौंमा युवा संघले प्रदर्शन गरेर एमालेको शक्ति देखाउने बताए । अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भए कुलमान घिसिङबाट छानबिन शुरू गर्न उनले चुनौती दिए । ‘नेपालको नम्बर वान भ्रष्टाचारी कुलमानबाट छानबिन गर्नुस्, हामी छानबिनको दायरामा आउन तयार छौं,’ बस्नेतले भने । उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक–एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए ।

उनले अब एमालेले डिजीटल जेनरेसन फोर्स बनाएर देशव्यापी रुपमा उजुरी दिने त्यसको आधारमा कारबाही गर्न अनुरोध गरे । उनले भ्रष्टाचारको छानबिन गर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुवासीले जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘तपाईं आउनुहोस् हामी स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउँछौं ।’

भक्तपुरमा एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्दै

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा आयोजना गरेको ओलीले विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारेका हुन् ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेललगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए। भक्तपुर जिल्ला कमिटीले बिहान ११ बजे भेटघाट कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्रीबाट राजीनामा दिएपश्चात अध्यक्ष ओलीले दसैं अगाडि युवा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए ।

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरेर कारबाही गरिनु पर्ने बताएका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उत्प्रेरक रहेको दाबी गर्दै उनले गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्ने बताएका हुन् ।

‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनु पर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन,’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेज छानीछानी नष्ट गर्ने, ब्यक्तिका घर, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् ।’

बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकी लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार समेत भएको आरोप लगाएका छन् । ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाण रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए,’ बर्तौलाले भनेका छन्, जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडी बढाइनु पर्छ ।’

 

अखिलको जाहेरी बुझिएन, युवराज सफलको हेर्दैछौँ : काठमाडौं प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । अखिलका पूर्व अध्यक्ष समिक बडाल, महासचिव दीपक धामी लगायत हिजो परिसरमै पुगेर जाहेरी बुझाएको थियो । उक्त जाहेरी दर्ता नगरी प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको थियो ।

अखिलले बुझाएको जाहेरी केरमेट भएका कारण बुझ्न असहज भएको परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जनाएका छन् । ‘केरमेट भएका कारण प्रष्ट हुन सकेनौं । केरमेट भएकाले हामीले त्यसलाई अघि बढाएनौं,’ भट्टराईले भने । अखिलले तीन वटा विषयलाई लिएर जाहेरी दिएको थियो । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको बडालले बताएका छन् । उनका अनुसार, अहिले अखिलका केही विद्यार्थी नेताहरू फेरि परिसरमा पुगेका छन्।

‘प्रहरीले नबुझेको बताएपछि अहिले हाम्रा केही नेताहरू छलफलका लागि परिसर पुगेका छन्,’ बडालले भने । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उक्त जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।

भट्टराईका अनुसार बालेन र सुधनविरुद्ध अर्को जाहेरी पनि आएको छ, जुन चर्चित अभियन्ता युवराज सफलले दिएका हुन् । उक्त जाहेरी पनि दर्ता भएको छैन । जेठ २३ र २४ को घटनासँग सम्वन्धित सबै जाहेरीहरु जाँचबुझ आयोगलाई पठाइने प्रहरीले बताएको छ । ‘अखिलको जाहेरी स्पष्ट नभएकाले हामीले त्यसमा केही गरेका छैनौं । अर्को सच्याएर ल्याउनु भयो भने आयोगमा पठाइदिन्छौं । युवराज सफलको अर्को जाहेरी आएको छ । त्यो लिएर हामी हेर्दैछौं,’ उनले भने ।

खगराज अधिकारीको आरोप : सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कुनै कदम चालिए कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिएका छन् । पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘केपी ओलीलाई छोयो वा गिरफ्तार गर्‍यो भने कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउँदै विशाल जुलुस निकाल्नेछ ।’

पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका चारै सुरक्षा निकाय ‘बिकेका’ दाबी गर्दै गम्भीर आरोप पनि लगाए । डिपस्टेट स्टेकहोल्डरहरू र विदेशी प्रभावका कारण अहिलेको राजनीतिक संकट उत्पन्न भएको उनको भनाई छ । अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको आरोप लगाए ।

अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परिस्थिति सिर्जना भएको बताएका हुन् । अधिकारी प्रमुख वक्ता रहेको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय समितिको बैठकका लागि सुझाव भन्दै कार्यकर्तालाई बोल्ने अवसर समेत दिइएको थियो । कार्यकर्ताले एमाले पनि सच्चिनुपर्ने र अब थप परिस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

नेता–कार्यकर्ताको सुझावसँगै वर्तमान परिस्थिति, त्यसको कारण र अबको रणनीतिबारे संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहेका अधिकारी बोलेका हुन् । ओलीका कारण नभई देशमा उत्तर–दक्षिण (चीन र भारत) ले खेलेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको अधिकारीको भनाइ थियो । पूर्व गृहमन्त्री समेत भएका कारण आफूलाई सूचना आउने दावी गर्दै नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।

‘यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नै पर्छ, यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिपस्टेट स्टेकहोल्डरबाट,’ अधिकारीको गम्भीर आरोप थियो । उनले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको तर्क गरेका छन् ।

स्थायी कमिटीमा भइसकेको, सरकारमा भइसकेको मान्छेले यस्तो किन बोल्यो भन्ने लाग्न सक्ने बताउँदै अधिकारीले डिपस्टेटका अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गर्नेहरूको संयुक्त प्रयास भएको जिकिर गरेका छन् । त्यति मात्रै होइन, अधिकारीले पार्टी नेतृत्वमा केपी ओलीलाई कसैले छोयो भने चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

‘नेतृत्वबाट केपी शर्मा ओलीलाई बाहिर फालेर त्यही डिपस्टेट होल्डरहरूले केही समुद्रपारिका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमाले हुन सक्दैन,’ अधिकारीले उत्तेजक अभिव्यक्ति दिए, ‘केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने छ । कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ, यहाँबाट सुरु गरौं । किनभने, भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’ चामत्कारिक हिसाबले यो घटना कसरी घट्यो भन्ने नेता–कार्यकर्तालाई लागेको हुनसक्ने बताउँदै उनले शृंखलाबद्ध रूपमा भएको जिकिर गरे । अहिले दक्षिण र उत्तरबीचको लडाईंमा नेपाल परेको उनको भनाइ थियो ।

कांग्रेस पहिलो दिनदेखि नै राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्तिको प्रभावमा परेको अधिकारीको आरोप थियो । शेखर कोइराला, गगन थापा समेतका साथीहरूले ओली सरकार ढाल्ने प्रतिवद्धता गरेको अधिकारीले बताए । अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि गम्भीर आरोप लगाएका छन् । प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुन्छु भनेर लागेको आरोप लगाएका छन् । ‘फेरि पनि राष्ट्राध्यक्ष ज्ञानेन्द्र र म प्रधानमन्त्री हुन्छु भन्नु भयो । उहाँमा प्रधानमन्त्री हुन्छु भन्ने यति धेरै धोको थियो, त्यो बाहेक उहाँले सोच्नु भएको छैन,’ अधिकारीको आरोप थियो ।

अधिकारीले आफू गृहमन्त्रालय सम्हालिसकेको व्यक्ति हुनाले पनि सुरक्षा निकाय बेखबर नभएको जिकिर गरे । जेनजी आन्दोलन र सम्भावित घटनाक्रमबारे प्रधानमन्त्री ओली पनि जानकार भएको उनको भनाइ थियो । उनले ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरे ।

एमालेले मधेश प्रदेश सरकारबाट फिर्ता लिंदै समर्थन

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिएका छन् । मुख्यमन्त्री सतीशकुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि पछाडि हटे । उनले संसद फेस गर्ने अडान लिएका छन् । जनमत संसदीय दलको निर्देशन नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ ।

एक साता अगाडि नेपाली कांग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ । २०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए । अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले, जनमत र लोसपाको गठबन्धनको सरकार बन्ने आन्तरिक सहमति भइसकेको छ । जसमा लोसपाले मात्र सहमति गरेको छैन । १०७ सदस्य मधेश प्रदेश सभामा नेकपा एमालेका २५ कांग्रेसका २२, जनमतका १३ र लोसपाको ९ सिट छ ।

बालेन र सुधनविरुद्ध देशभरबाट जाहेरी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध देशभरबाट जाहेरी दिएको छ । उपाध्यक्ष अञ्जना शिवाकोटीले अनेरास्ववियुका देशभरका समितिले आज एकै दिन किटानी जाहेरी दिएको जानकारी दिइन् ।

‘हाम्रा मतहतका सबै कमिटीले आज नजिकको प्रहरी कार्यालयमा गएर जाहेरी दिएका छन्,’ उनले भनिन्, ‘कुनै कमिटीले आफ्नै तरिकाले दिनु भएको छ । तर, अधिकांशले एउटै व्यहोरामा जाहेरी दिनु भएको छ ।’ अनेरास्ववियुले दिएको जाहेरीमा जेनजी आन्दोलनका बेला बालेनको योजनामा आगजनी भएको सुदन गुरुङ लगायतको समूहले त्यसलाई कार्यान्वयन गरेको आरोप लगाइएको छ ।

मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको खड्काले बताए । जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ । कैलालीका एसपी नरेन्द्र चन्दले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए । उनले भने, ‘केन्द्रमा पनि परेको छ । हामी अहिले बुझ्छौं केन्द्रमा कुरा गरेर अघि बढ्छौं ।’

महेश बस्नेतको चुनौती : हिम्मत भए ओलीलाई पक्रेर देखाऊ

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले वर्तमान सरकारलाई निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्रेर देखाउन खुला चुनौती दिएका छन् । उनले सरकारलाई भने, ‘तिमीमा हिम्मत छ भने ओलीलाई पक्राउ गरेर देखाऊ ।’

पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । केपी ओली दोषी हुनुहुन्छ र त त्यसो गरेर देखाऊ ।’ बस्नेतको यस्तो तीखो प्रतिक्रिया जेन–जी युवा आन्दोलनका अगुवाहरूले आफूविरुद्ध प्रहरीमा दिएको उजुरीपछि आएको हो । मंगलबार उनीमाथि उजुरी परेपछि, त्यसलाई सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो ।

‘दूधले नुहाएका छैनौं, तर भ्रष्टाचारी पनि होइनौं’
पत्रकार सम्मेलनमा बस्नेतले सत्ता पक्षप्रति आक्रोश मात्र होइन, स्वीकृति र चुनौती दुवै मिसिएको बयान दिएका छन् । उनले भने, ‘हामी दूधले नुहाएका छैनौं, तर त्यसले अरुले यत्तिकै भ्रष्टाचारी हो भन्ने आरोप लगाउन पाउँदैन । यदि म भ्रष्टाचारी हुँ भने कारबाही गर । होइन भने नाम लिएर हिनायो भने हामी किन चुप बस्ने ?’

खनाल र घिसिङमाथि पनि छानबिनको माग
सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन विषयमा बोल्दै बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङमाथि पनि छानबिन गर्नुपर्ने माग राखेका छन् । उनको भनाइ थियो, ‘युवाहरूको बलमा सत्तामा पुगेकाहरूका बारेमा पनि हेर्नुपर्छ, नत्र त यो एकपक्षीय हुन्छ ।’

‘एमालेले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्छ’
बस्नेतले आगामी दिनमा एमालेका शीर्ष नेताहरूले जेन–जी आन्दोलन र पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले २४ गते सचिवालय बैठक र २७ गते केन्द्रीय कमिटीको बैठकपछि एमालेको आधिकारिक धारणा बाहिर ल्याइने समेत जानकारी गराएका छन् ।

 

गृहमन्त्री ‘प्रतिशोध’ का मन्त्री बनेका : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल ‘प्रतिशोध’ को गृहमन्त्री बनेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारका गृहमन्त्री प्रतिशोध, झूट, भ्रम र बेइमानका सेवक भएको आरोप लगाएका हुन् । गृहमन्त्रीमाथि व्यक्तिगत र संस्थागतस्तरमा दबाब, डर र आतंक सिर्जना गर्ने योजनामा केहि व्यक्तिहरु सीधै संलग्न रहेको दाबी गर्दै बर्तौलाले सोहीका आधारमा गृहमन्त्रीको अभिव्यक्तिहरु आइरहेको बताएका हुन् ।

नेता बर्तौलाले गृहमन्त्री आफैं केही समूह र व्यक्तिलाई प्रयोग गरी सार्वजनिक शान्ति भङ्ग गर्ने, अनधिकृत र अराजक गतिविधि सञ्चालन गराउन उक्साउँदै आएको आरोप लगाए । राज्यका महत्वपूर्ण अंगका पदाधिकारी तथा सुरक्षा निकायका राष्ट्र सेवकहरूलाई धम्क्याउने र तिनको मनोबल तल झार्ने प्रयत्न भइरहेको नेता बर्तौलाको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता स्वतन्त्र संस्थाका नेतृत्व हटाउन दबाब सिर्जना गराउने, मिडिया ट्रायल र प्रायोजित भ्रम फैलाउने सामाजिक सञ्जालमा अभियान सञ्चालन गराउने क्रम चलिरहेको उनको दाबी छ ।

पूर्व प्रधानमन्त्री तथा केही मन्त्रीविरुद्ध झुठो तथा षड्यन्त्रपरक मुद्दा दर्ता गराउने, जेलभित्रका घटनाहरूको छानबिन प्रक्रिया प्रभावित पार्ने लगायतका कृत्यमा समेत गृहमन्त्रीको भूमिका रहेको नेता बर्तौलाको आरोप छ । उनले भनेका छन्, ‘देश र जनताको जिउधनको सुरक्षा जिम्मेवारी लिएर बसेको गृहमन्त्री आफैले भय, त्रास र प्रतिशोधको साम्राज्य खडा गरी शासन चलाउने सोचमा रहेको देखिन्छ ।’ उनले यस्ता क्रियाकलापले देशका लागि दीर्घकालीन नकारात्मक परिणाम ल्याउने चेतावनी समेत दिएका छन् । उनले लोकतान्त्रिक मूल्य र न्याय प्रक्रिया र स्वतन्त्रताको रक्षा गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह समेत गरेका छन् ।

महेश बस्नेतको प्रश्न : सम्पत्ति शुद्धीकरणको अनुसन्धान रामेश्वर खनाल र कुलमानबाट गर्ने कि नगर्ने ?

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउनेविरुद्ध देशव्यापी अभियान चलाइने बताएका छन् । दशैं सकिएकाले अब एमाले र कांग्रेसका भ्रातृ संगठन हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।

उनले भने, ‘अनेरास्वियू अब नेविसंघलाई साथ लिन्छ । तरुण दललाई साथमा लिएर राष्ट्रिय युवा संघ अगाडि बढ्छ । अब सँगै अगाडि बढ्छ ।’ उनले जेनजी नामको बदनाम भएकाले एमालेले डिजिटल जेनजीको रुपमा देश व्यापी अगाडि बढाउने उल्लेख गरे । बस्नेतले भने, ‘भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन्छौं । हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं । तपाईंहरुको उचालेर र घाइतेको रगतमा होली खेलेर सरकारमा गएकाको पनि छानबिन गर्नुपर्छ ।’

पूर्वमन्त्री बस्नेतले उर्जामन्त्री कुलमान घिसिङको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि छानबिन गर्नुपर्ने आवाज जेन्जीले पनि उठाउनु पर्ने बताएका छन् । यस्तै अर्थमन्त्री रामेश्वर खनालबाटै सम्पत्ति शुद्धीकरणको अभियान चलाउन सुरुवात गर्नुपर्ने माग गरे । उनले प्रचण्डलाई जेन्जीले केपी शर्मा ओली र शेरबहादुर देउवाविरुद्ध पो आन्दोलन गरेको भनेपछि मख्ख परेको र आन्दोलनमा साथ दिएको उल्लेख गरेका छन् ।

बालेनको योजनामा आफूसहित ओली र रमेश लेखकलाई पक्राउ गर्न षड्यन्त्र गरिँदै छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनामा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ आफूलाई पक्राउ गराउन हिंडेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको जिकिर गरे ।

उनले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन् । प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन् ।’ सुदनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ । उनले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरेका ।

उनले भदौ २३ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा सहयोग रहने बताउँदै अन्य घटनको पनि छानबिन माग गरे। ‘२३ गते मृत्यु भएको सन्दर्भमा जुन छानबिन समिति बनेको छ, त्यसले निष्पक्ष छानबिन गरोस्। निष्पक्ष छानबिन गर्नुहोस्, दोषी जो हुन्छ, त्यसलाई कारबाही गर्नुहोस्। हाम्रो पूर्ण समर्थन रहन्छ,’ बस्नेतले भने, ‘तर, आन्दोलनको नाममा सेनाको ज्याकेट लगाएर सार्फसुटर प्रयोग भएको छ कि छैन? त्यसको पनि छानबिन प्रयोग होस्। रवि लामिछानेलाई कारागारबाट मुक्त गराउने गएकाहरुको पनि छानबिन होस्।’

‘देशमा केही भएन भन्ने भाष्य विश्वप्रकाशले सुरू गरे, प्रचण्डले घ्यू थपे’
एमालेका नेता महेश बस्नेतले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने भाष्य नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुरू गरेको आरोप लगाएका छन् । यो भाष्य विश्वप्रकाशले सुरू गरेर माओवादीका अध्यक्ष प्रचण्डले त्यसमा घ्यू थपेको जिकिर गरे ।

उनले भने, ‘पछिल्लो समय रवि लामिछानेहरू ‘नो नट अगेन’ को नारा लिएर आउनु भयो । अरू शक्तिहरू पनि आए, स्वभाविक ढङ्गले मुलुक अघि बढेको भए पनि भ्रमको खेती सिर्जना गरियो ।’ उनले २३ र २४ गतेको जेनजी आन्दोलन हाइज्याक भएको पनि दाबी समेत गरेका छन् ।

 

एमाले नेता महेश बस्नेतले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सुदन गुरुङलगायत जेन–जी आन्दोलनकारीले पक्राउका लागि सरकारलाई दबाब दिइरहेका बेला नेकपा एमाले नेता महेश बस्नेतले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एक महिलाले साइबर ब्युरोमा उनीविरुद्ध दिएको उजुरीमाथि अनुसन्धान अघि बढेका बेला महेश बस्नेतलाई पक्राउ गर्न दबाब दिइएको छ । बस्नेतले ब्युरोमा गएर बयान समेत दिएका छन् ।

जेन–जी आन्दोलनमा आफ्नो घर आगजनी र लुटपाटपछि आक्रोशित बनेका बस्नेतले जेन–जीका नाममा आतंककारी गतिविधि गर्नेहरूको पहिचान गरेर कारबाही गर्ने बताएका थिए । त्यसयता उनको र सुदन गुरुङबीच आरोप–प्रत्यारोप चलिरहेको छ । बस्नेतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सबै विषय प्रष्ट पार्ने बताएका छन् । उनकै पहलमा एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बसिरहेका छन् ।

नयाँ चुनौतीको सामना गर्न निर्णायक राष्ट्रिय शक्ति निर्माण गरौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत उनले थपिएका नयाँ चुनौतीको सामना गर्नको लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको उल्लेख गरेका हुन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन ।’

बालेन र सुदनविरूद्ध जाहेरी लिएर प्रहरीमा पुग्यो अखिलको टोली

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध ‘काउन्टर’ जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन् । उनीहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोप लगाएका छन् ।

यता आजै ‘हामी नेपाल’ का संस्थापक गुरुङ लगायतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिए लगत्तै अनेरास्ववियुले काउन्टर दिएको हो ।

ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा पठाएको छ । जाहेरी लिएर पुगेकामध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ । २४ भदौमा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

बालेन र सुदनविरुद्ध जाहेरी लिएर प्रहरीमा जाँदै अखिल

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जाने तयारीमा छन् ।

अखिलका नेताहरूको बैठकले जाहेरी दिन जाने निर्णय लिएको स्रोतले जनाएको छ । सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको हो ।

अनेरास्ववियुका महासचिव दीपक धामीले अहिले ५ बजेभित्र किटानी जाहेरी दर्ता गराउने गरीको तयारीमा रहेको जनाएका छन् । हिजो सुदन गुरुङको समूहले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिने प्रयास गरेको थियो । तर, प्रहरीले जाहेरी दिन मानेन ।

यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर राति अबेरसम्म छलफल गरेकी थिइन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाहेरी दर्ताका लागि प्रधानमन्त्रीबाटै लिखित पत्र आउनु पर्ने सुझाव दिएको बताइएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै अदालत जाने तयारीमा एमाले, कांग्रेससँग छलफलमा

काठमाडौं । प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा भएपछि नेपाली कांग्रेस र एमाले सर्वोच्च अदालतमा जाने भएका छन् ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते शुक्रबारबाट प्रतिनिधि सभा विघटन गरिएकाले बदरको माग गर्दै सर्वोच्च अदालतमा जानका लागि नेकपा एमाले र कांग्रेस आन्तरिक छलफलमा जुटेका हुन् ।

आउँदो निर्वाचन २०८२ साल फागुन २१ गते गर्ने गरी सोमबार निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । तर, नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले संविधान र लोकतन्त्र रक्षाका लागि दलहरुबीच छलफल हुनु स्वभाविक भएको बताउँछन् । गौतमले असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन भएकाले त्यसविरुद्ध अदालत जान छलफल चल्नु स्वभाविक भएको बताए ।

‘कांग्रेस र एमालेबीच सर्वोच्च अदालतमा जानका लागि छलफल भइरहेको छ । यो स्वभाविक पनि हो । दुई दलबीच छलफल गरेर सहमतिका आधारमा दलहरुलाई साथमा अगाडि बढ्छौं । कानुन व्यवसायीसँग पनि परामर्श गर्छौं’, गौतमले भने, ‘संविधान पक्षधर दलहरूसँग अन्य दलसँग पनि कुरा भइरहेको छ ।’

गौतमले दलहरुबीच सहमति भएर निष्कर्ष निकालेपछि कुन दिने अदालत जाने भन्ने विषय टुंगिने बताएका छन् । उनका अनुसार अदालत जाने मोडेलको विषय भने टुंगिन बाँकी छ । गौतमले भने, ‘अहिले हामी छलफलको चरणमा नै छौं । कसरी जाने, कहिले जाने भन्ने निष्कर्ष निकालेपछि बाँकी काम अगाडि बढ्छ ।’

जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च अदालत, विशेष अदालत र जिल्ला अदालतहरूमा क्षति पुगेको छ। हाल सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण सुनुवाइ मात्र सुरु गरेको छ । सर्वोच्च अदालतले सर्भरको समस्याले गर्दा नियमित पेशीको काम कारबाही गर्न अझै समय लाग्ने जनाएको छ ।

यस अगाडि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित ८ दलले वर्तमान प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण र असहमति रहेको जनाएका थिए । उनीहरुले प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न उनीहरूको माग थियो ।

राजनीति र समाज कुनै एक पुस्ताको मात्र हुँदैन : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्दैन ।’

खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु हुँदैन ।’

देश भू–राजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको टिप्पणी गरेका छन् । तर, देशलाई ढिलोचाँडो लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्काइने उनले बताएका छन् ।

आज (सोमबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी सार्वजनिक गर्दै उनले एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिवद्ध रहेको जनाएका छन् । सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नव युवाहरूको विश्वास जित्न नसकिएको पोखरेलले स्वीकार गरेका छन् ।

‘उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं । तर, यसको अर्थ नेपाललाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन’, पोखरेलले लेखेका छन् ।

नेपालको राष्ट्रिय शक्तिलाई कमजोर बनाउने विदेशीको खेलबाट देशलाई जोगाउन नसकिएको पोखरेलको भनाइ छ । ‘हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो’, पोखरेलले लेखेका छन् ।

जेनजी आन्दोलनपछि पहिलाे पटक एमाले सचिवालय बैठक गुण्डुमा {तस्वीरहरु}

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको छ । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपल्ट बसेको एमालेको यो औपचारिक बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

बालकोटस्थित निवासमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डु सरेकाले उनकै निवासमा बैठक बसेको हो । भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि ओली राजीनामा दिन बाध्य भएका थिए ।

बैठकमा जेनजी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ । आन्दोलनले जबर्जस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रुपान्तरणको विषयले एमालेको बैठकमा पनि प्रवेश पाउने एक पदाधिकारीले जानकारी दिएका छन् ।

आजको बैठकले गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । आज बस्ने सचिवालय बैठकका यी दुई प्रमुख एजेण्डा मात्र रहेको उनको भनाइ छ ।

आजको सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीलाई पद छाड्न स्पष्टरूपमा आग्रह गर्ने तयारी गरेका छन् । योबीचमा ओलीले नेताहरूलाई बोलाएर गरेको वान टू वान वार्तामा पनि केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका छन् ।

तर, ओली भने अहिले छाड्ने पक्षमा देखिँदैनन् । उनी अहिले नेतृत्व छाड्नु भनेको अपराधी करार हुने भएकाले कुनै हालतमा छाड्ने पक्षमा छैनन् । बरु महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको विधिमा जान उनी सकारात्मक छन् । अराजनीतिक ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरू परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पंक्तिको रक्षा र आन्दोलन जोगाउँदै अघि बढ्नुपर्ने विषय आजको बैठकमा राख्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो ओलीको विकल्प खोज्न नहुने पक्षमा रहेको पार्टीको तलदेखि माथिको पंक्ति विकसित घटनाक्रम र आन्दोलन तथा विध्वंसपछिको स्थिति बुझेर सम्मानजनक बहिर्गमनको पक्षमा उभिएका छन् । सँगै विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार हुनुपर्ने विषय पनि दोहोर्‍याउने तयारी छ ।

स्वकीय सचिवको सुविधाले लोकतन्त्र बदनाम : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले लोकतन्त्र र संसदीय व्यवस्थालाई बदनाम पार्ने एउटा कारण स्वकीय सचिवको सुविधा भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘संसद्को अभिलेख हेर्दा हुन्छ, ९० प्रतिशत सांसदले स्वकीय सचिवमा आफ्ना छोरा–छोरी, श्रीमान–श्रीमती, साला–साली, भाइ–भतिजा आदि आफन्तको नाम राख्छन् ।’ राज्य कोषको यो दुरुपयोग सधैँका लागि रोकिनुपर्ने माग उनको छ ।

जेनजी आन्दोलनपछि आज पहिलो पटक एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । जेनजी आन्दोलनपछि आज (आइतबार) पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आज दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओलीको डेरामै सचिवालय वैठक बस्ने भएको हो ।

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री ओलीले शनिबार पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उपस्थित भएर पहिलो पटक सार्वजनिक भाषण दिएका थिए ।

उनले सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको भनी आलोचना गरेका थिए । उनले देशलाई अघि बढाउने पार्टी एमाले नै भएको जिकिर समेत गरेका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली त्यसबेलादेखि नेपाली सेनाको सुरक्षामा थिए । त्यसको ९ दिनपछि यही असोज २ गते सेनाको ब्यारेकबाट बाहिरिएर उनी भक्तपुरको गुन्डुस्थित डेरामा सरेका हुन् ।

 

ओलीले गुन्डुमै बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका छन् । भोलि गुन्डुस्थित आफ्नै निवासमा बस्ने गरी बैठक बोलाएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । बैठकमा जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नु पर्ने आवाज पार्टीभित्रबाटै उठ्न थालेको छ । भोलिको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ ।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली भेटघाट कार्यक्रममा उपस्थित भएका छन् । बडादसैँका अवसरमा आज (शनिबार) भक्तपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनी सहभागी भएका हुन् । त्यसक्रममा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको थियो । ओलीको सम्बोधनपछि कार्यक्रम सकिएको थियो ।

ओलीको दाबी : देशलाई सही बाटोमा फर्काउने एमालेले मात्रै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा फर्काउन एमाले बाहेक अरूले नसक्ने दाबी गरेका छन् । सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता कार्यकर्तालाई हरेस नखान आग्रह गरे ।

उनले भने, ‘देश बनाउने एमालेले नै हो । त्यसैले तपाईहरूले हरेस नखानुहोस् । सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस् । राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु ।’ उनले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

जेनजीलाई ओलीको प्रश्न : खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । आज (शनिबार) युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

गन २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेका थिए । त्यसयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओली आजमात्रै बाहिर निस्किएर अभिव्यक्ति दिएका हुन् ।

‘जेनजी घरैपिच्छे छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनु भएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ उनले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?’ उनले आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गरे । ‘तपाईंहरू आवेगमा आउने होइन,’ ओलीको सुझाव छ ।

प्रधानमन्त्रीबाट आफ्नो राजीनामाबारे यस्तो छ ओलीको भनाइ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

आज (शनिबार) भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उनले २३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ । त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे’, ओलीले भने ।

उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन् । ‘गोली कसरी चल्यो ? गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने, ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो ।’ उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए ।

‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ । म सोच्दैछु यस्तो किन भइरहेको छ । कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु । जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ ।’

भोलिपल्ट २४ भदौका दिनपनि अघिल्लो दिन जस्तो घटना नहोस् भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दुःखेसो छ । भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए ।

एमाले यो धर्तीमा छ, बालेनहरूको खेल सफल हुन दिंदैनौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले यस्तो काम सफल हुन नदिने दाबी गरेका छन् । आज (शनिबार) भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ उनले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने समेत बताए । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने ।

उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाएका छन् ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनु भयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

ओलीको प्रश्न : पासपोर्ट रोक्ने रे, यो ‘हाहुँ’ सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन् ।सत्ताच्युतपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको आरोप लगाएका छन् ।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दैनौं । हामी सबै पारदर्शी ढङ्गबाट गर्छौ ।’

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरेका छन् । उनले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दैछु । के ठानेको छ । यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौं ? हामीले यो देश बनाउनु पर्नेछ । फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं ।’

अध्यक्ष ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन् ।

उनले सुशासन र विकासमा एमालेले ध्यान केन्द्रित गरेको उल्लेख गरे । उनले मनमोहनको पालादेखि २०७४ र अहिले पनि सरकारमा जाँदा धेरै राम्रा काम गरेको बताए । पूर्व प्रधानमन्त्री ओलीले भ्रष्टाचार उन्मूलन नभए पनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे । उनले जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको बताए । उनले देशभक्ति र देशको पक्षमा बोल्दा झोले भन्ने ट्रेन चलाइएको भन्दै आपत्ति जनाए । उनले राष्ट्रको हितको पक्षमा उभिदा विरोधीहरु सल्बलाएको धारणा राखे ।

ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो, दिएपछि ध्वस्त पारियो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि मात्रै देशमा ध्वंस मच्याइएको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित युवा संघको कार्यक्रमस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देश ध्वस्त बनाइएको टिप्पणी गरे । उनले भने, ‘भ्रष्टाचारविरुद्ध भनेर जेनजी भाइबहिनीहरूलाई उचालियो । तर त्यहाँ ठुलो अन्तर्राष्ट्रिय चलखेल र खुपिया एजेन्सीहरूको समेत लगानी भएको कुरा भएको छ । केपी ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो । उहाँले राजीनामा दिएपछि देश ध्वस्त पारियो ।’

उनले २३ गते २१ जनाको हत्या भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र भोलिपल्ट ५४ जनाको हत्या भएको विषयमा पनि बेग्लै छानबिन हुनुपर्ने बताए । उनले आजको शान्तिपूर्ण र सामान्य भेटघाट मात्र आयोजना गरिएको जानकारी दिएका छन् । उनले भने, ‘अहिलेको मन्त्रीहरूले आफूलाई सेलिब्रेटी भनेर घोषणा गर्दै हिँडेका छन् । त्यो खालको देखिँदैन । जनता केही दिनमै पछुताउने छन् ।’

पार्टी वा नेतृत्वको भविष्य एजेण्डामा निर्भर रहन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहने बताएका छन् । जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेलामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहन्छ’, उनले भनेका छन्, ‘विगतमा असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो । किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेण्डामा विभाजित र अन्योलग्रस्त थिए । तर माघ १९ पछि उनीहरूले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ।’

राजनीतिक दलहरू एजेण्डामा एकताबद्ध भएको परिणामस्वरूप जनता सार्वभौम बनेको र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको स्मरण गरेका छन् ।

सचिव योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले पार्टी पुनर्गठनको अपिल गरेका छन् । भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका सम्मानसहित पुनर्गठनको अफिल गरेका छन् ।

भट्टराईले लामो लिखित र भिडिओ सन्देश जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन् । उनले पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले) लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न ।’ पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाई–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’

फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौँ । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

हेर्नुस् यस्तो छ भट्टराईको अपिल

ढिलो होला, सधैं अँध्यारो भइरहँदैन : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले ढिलो भए पनि सधैं अँध्यारो भइ नरहने बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले १७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको बताएका छन् ।

सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेन–जी नै भदौ २३ गते सडकमा निस्किएका बताउँदै रिजालले २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारेको जिकिर गरेका छन् । रिजालले भने, ‘कुनै दिन यिनी लुटेरा र नेपालका दुश्मनको नकाव उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ । ढिलो होला, सधैं अँध्यारो भइरहँदैन ।’

 

एमालेमा युवाहरूले सुरु गरे ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान

कैलाली । नेकपा एमालेका युवाहरूले पार्टी सुधार र पुनर्गठनका लागि ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान थालेका छन् । ‘पार्टी रिफर्म रिभोल्युसन’ नाम दिइएको उक्त अभियानको उद्देश्य पार्टीभित्रको विकृतिप्रति खबरदारी गर्दै नयाँ गति दिने रहेको संलग्न युवाहरूले जानकारी दिएका छन् । आत्मालोचना बिना रुपान्तरण सम्भव नभएको भन्दै उनीहरूले सुधारको बाटो खोजीका लागि आव्हान गरेका छन् ।

निर्वाचनमा टिकट वितरणदेखि अवसरसम्म योग्य व्यक्तिको तुलनामा पैसा र आफन्तको मोह बढी प्रभाव जमाउने गरेको भन्दै आगामी दिनमा त्यस्तो नहोस् भन्नका लागि यो अभियान सुरू गरिएको अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटीले जानकारी दिए । ‘हामीले पार्टीको विरोध वा नेतृत्वको विकल्प खोजेका होइनौँ, तर गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘अहिले कैलालीबाट सुरु गरेका छौँ । हामी सबै जिल्लामा यो अभियानमा युवाहरूलाई जोडिरहेका छौँ ।’

एमालेमा भ्रष्टाचारको अभियोग लागेकाहरू, सामाजिक रूपमा अयोग्य ठहरिएका र नैतिक आचरणविपरीतका क्रियाकलापमा संलग्नलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘लामो समयदेखि एउटै व्यक्तिलाई अवसर दिनु हुँदैन भन्ने हाम्रो माग हो,’ बोगटीले भने, ‘पार्टीको आन्तरिक निर्वाचनदेखि आम निर्वाचनसम्म पनि खर्चिलो भइरहेको छ, त्यसलाई रोक्नु पर्छ ।’

उनले पार्टीविरुद्ध भएको आन्दोलनपछि फेरि उठेका विभिन्न राष्ट्रका घटनाक्रमलाई अध्ययन गर्दै पार्टीलाई क्रियाशील र गतिशील बनाउन तथा पुनः जनताको लोकप्रिय पार्टी बनाउन अध्ययन सामग्री पनि तयार भइरहेको बताए । त्यो सुझावले पनि एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

विमानस्थलदेखि कार्यक्रम स्थलसम्म पार्टी नेताहरूलाई गरिने जयजयकार अन्त्य गरी सादा, सरल र उपयुक्त कार्यक्रम बनाउनुपर्ने अभियानमा लागेको युवाहरू बताउँछन् । ‘पछिल्लो समय पार्टीभित्रका गतिविधिका कारण समाजमा पार्टीप्रति केही वितृष्णा पैदा भएको छ । बहुदलीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छन् । तर, पार्टीभित्रका केही गलत परम्परा अन्त्य गर्न आवश्यक छ,’ उनले भने, ‘अहिले हामीले एमालेभित्र यो अभियान सुरु गरेका छौँ, पछि सबै पार्टीभित्र यस्तो अभियान ल्याउन आवश्यक छ ।’

एमालेका केही नेताहरू, विद्यार्थी नेता तथा युवाहरू सक्रिय रूपमा यो अभियानमा जोडिएका छन् । अहिले उनीहरूले सामाजिक सञ्जालमार्फत नै ‘पार्टी रिफर्म रिभोल्युशन’ अभियान चलाइरहेका छन् । केही समयपछि विभिन्न अन्तरक्रियामार्फत यसलाई अझ व्यापक रूपमा अघि बढाउने तयारी भइरहेको बोगटीले जानकारी दिए ।