`

खगराज अधिकारीको आरोप : सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्

Nepal One HD २२ असोज २०८२ १७:२९
नेकपा एमाले

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कुनै कदम चालिए कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिएका छन् । पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘केपी ओलीलाई छोयो वा गिरफ्तार गर्‍यो भने कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउँदै विशाल जुलुस निकाल्नेछ ।’

पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका चारै सुरक्षा निकाय ‘बिकेका’ दाबी गर्दै गम्भीर आरोप पनि लगाए । डिपस्टेट स्टेकहोल्डरहरू र विदेशी प्रभावका कारण अहिलेको राजनीतिक संकट उत्पन्न भएको उनको भनाई छ । अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको आरोप लगाए ।

अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परिस्थिति सिर्जना भएको बताएका हुन् । अधिकारी प्रमुख वक्ता रहेको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय समितिको बैठकका लागि सुझाव भन्दै कार्यकर्तालाई बोल्ने अवसर समेत दिइएको थियो । कार्यकर्ताले एमाले पनि सच्चिनुपर्ने र अब थप परिस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

नेता–कार्यकर्ताको सुझावसँगै वर्तमान परिस्थिति, त्यसको कारण र अबको रणनीतिबारे संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहेका अधिकारी बोलेका हुन् । ओलीका कारण नभई देशमा उत्तर–दक्षिण (चीन र भारत) ले खेलेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको अधिकारीको भनाइ थियो । पूर्व गृहमन्त्री समेत भएका कारण आफूलाई सूचना आउने दावी गर्दै नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।

‘यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नै पर्छ, यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिपस्टेट स्टेकहोल्डरबाट,’ अधिकारीको गम्भीर आरोप थियो । उनले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको तर्क गरेका छन् ।

स्थायी कमिटीमा भइसकेको, सरकारमा भइसकेको मान्छेले यस्तो किन बोल्यो भन्ने लाग्न सक्ने बताउँदै अधिकारीले डिपस्टेटका अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गर्नेहरूको संयुक्त प्रयास भएको जिकिर गरेका छन् । त्यति मात्रै होइन, अधिकारीले पार्टी नेतृत्वमा केपी ओलीलाई कसैले छोयो भने चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

‘नेतृत्वबाट केपी शर्मा ओलीलाई बाहिर फालेर त्यही डिपस्टेट होल्डरहरूले केही समुद्रपारिका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमाले हुन सक्दैन,’ अधिकारीले उत्तेजक अभिव्यक्ति दिए, ‘केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने छ । कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ, यहाँबाट सुरु गरौं । किनभने, भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’ चामत्कारिक हिसाबले यो घटना कसरी घट्यो भन्ने नेता–कार्यकर्तालाई लागेको हुनसक्ने बताउँदै उनले शृंखलाबद्ध रूपमा भएको जिकिर गरे । अहिले दक्षिण र उत्तरबीचको लडाईंमा नेपाल परेको उनको भनाइ थियो ।

कांग्रेस पहिलो दिनदेखि नै राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्तिको प्रभावमा परेको अधिकारीको आरोप थियो । शेखर कोइराला, गगन थापा समेतका साथीहरूले ओली सरकार ढाल्ने प्रतिवद्धता गरेको अधिकारीले बताए । अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि गम्भीर आरोप लगाएका छन् । प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुन्छु भनेर लागेको आरोप लगाएका छन् । ‘फेरि पनि राष्ट्राध्यक्ष ज्ञानेन्द्र र म प्रधानमन्त्री हुन्छु भन्नु भयो । उहाँमा प्रधानमन्त्री हुन्छु भन्ने यति धेरै धोको थियो, त्यो बाहेक उहाँले सोच्नु भएको छैन,’ अधिकारीको आरोप थियो ।

अधिकारीले आफू गृहमन्त्रालय सम्हालिसकेको व्यक्ति हुनाले पनि सुरक्षा निकाय बेखबर नभएको जिकिर गरे । जेनजी आन्दोलन र सम्भावित घटनाक्रमबारे प्रधानमन्त्री ओली पनि जानकार भएको उनको भनाइ थियो । उनले ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *