ओलीको प्रश्न : श्रृंखला खतिवडालाई हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो र ?
काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तक्र्रिया गरेका छन् । काठमाडौंमा भएको अन्तक्र्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए । सो क्रममा ओलीले जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनको प्रसङ्गमा पनि कुरा राखेका थिए ।
त्यसबेला सामाजिक सञ्जालमा नेपोबेबीबारे चर्चा थियो । त्यसतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले श्रृंखला खतिवडाको प्रसङ्ग कोट्याए । खतिवडा मिस नेपाल २०१८ हुन् । उनको घरमा पनि जेनजी पुस्ता आन्दोलनका क्रममा आगजनी भएको थियो । ‘श्रृंखला खतिवडालाई के गरेका थिए र उनका बाआमाले ? हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो र ?,’ ओलीले प्रश्न गरे । उनले नेपोबेबी भन्ने कुरा नमान्ने पनि बताएका छन् । ‘म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ, यसलाई मेरो अहंकार भन्नुस् या जे सुकै भन्नुस्,’ उनले भने । भदौ २४ गते क–कसको घरमा आगो लगाउने भन्ने तोकेर आगो लगाइएको उनको भनाइ थियो । ‘कसले लगायो आगो?,’ उनले प्रश्न गरे ।
