राष्ट्रपतिलाई आवश्यक कदम चाल्न सिफारिस गरेकै हुँ, सुशीलाको नाम थिएन : ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको स्पष्ट पारेका छन् । सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको स्वीकारोक्ति उनले गरे । आज सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले लेखेको सिफारिसको भाषा पनि सुनाएका थिए । त्यसमा कतै पनि सुशीलाको नाम नभएको उनको दावी छ ।
उनले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति दिएका छन् । उनले भने, ‘मैले लेखेको भाषामा सुशीला कार्की कतै सुन्नु भयो ? यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन । मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन । कुनै बेला निस्किएला नि ।’
‘मेरो मोवाइल फोन सिज गरिएको थियो’
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले यस्तो बताएका हुन् । ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहें । तपाईंहरुले जेसुकै संज्ञा, विश्लेषण दिन सक्नु हुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो मोवाइल फोन सिज गरिएको थियो । त्यस बेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने ।
