महेश बस्नेतको चुनौती : हिम्मत भए ओलीलाई पक्रेर देखाऊ


काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले वर्तमान सरकारलाई निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्रेर देखाउन खुला चुनौती दिएका छन् । उनले सरकारलाई भने, ‘तिमीमा हिम्मत छ भने ओलीलाई पक्राउ गरेर देखाऊ ।’
पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । केपी ओली दोषी हुनुहुन्छ र त त्यसो गरेर देखाऊ ।’ बस्नेतको यस्तो तीखो प्रतिक्रिया जेन–जी युवा आन्दोलनका अगुवाहरूले आफूविरुद्ध प्रहरीमा दिएको उजुरीपछि आएको हो । मंगलबार उनीमाथि उजुरी परेपछि, त्यसलाई सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो ।
‘दूधले नुहाएका छैनौं, तर भ्रष्टाचारी पनि होइनौं’
पत्रकार सम्मेलनमा बस्नेतले सत्ता पक्षप्रति आक्रोश मात्र होइन, स्वीकृति र चुनौती दुवै मिसिएको बयान दिएका छन् । उनले भने, ‘हामी दूधले नुहाएका छैनौं, तर त्यसले अरुले यत्तिकै भ्रष्टाचारी हो भन्ने आरोप लगाउन पाउँदैन । यदि म भ्रष्टाचारी हुँ भने कारबाही गर । होइन भने नाम लिएर हिनायो भने हामी किन चुप बस्ने ?’
खनाल र घिसिङमाथि पनि छानबिनको माग
सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन विषयमा बोल्दै बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङमाथि पनि छानबिन गर्नुपर्ने माग राखेका छन् । उनको भनाइ थियो, ‘युवाहरूको बलमा सत्तामा पुगेकाहरूका बारेमा पनि हेर्नुपर्छ, नत्र त यो एकपक्षीय हुन्छ ।’
‘एमालेले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्छ’
बस्नेतले आगामी दिनमा एमालेका शीर्ष नेताहरूले जेन–जी आन्दोलन र पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले २४ गते सचिवालय बैठक र २७ गते केन्द्रीय कमिटीको बैठकपछि एमालेको आधिकारिक धारणा बाहिर ल्याइने समेत जानकारी गराएका छन् ।