तेस्रो दिनको एमाले केन्द्रिय कमिटीको बैठक शुरु, आजै समापनको तयारी


काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । ललितपुरको भनिमण्डलमा बैठक बिहान साढे ८ बजेबाट शुरु भएको हो । केन्द्रिय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ । पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनकाअनुसार प्रत्येक केन्द्रिय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले धारणा राखेका छन् । साथै समसामयिक राजनीति, सरकारका गतिविधिका बारेमा पनि आफ्ना धारणा राखेको प्रमुख गौतमले बताए । एमाले केन्द्रिय समिति सदस्यहरुको संख्या ३५७ रहेको छ । प्रदेशगत अध्यक्षहरु १० जना जोडेर ३६७ जनाले आफ्ना धारणा राखेपछि बैठक सकिनेछ । संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्याउनु पर्ने विषय उठेको बताए ।
अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एक मात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए । सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताए ।