सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नउत्ताउलिनू : ओली


काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने चेतावनी दिएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिए । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे । उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको टिप्पणी गरे ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिनँ । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने, देश चलाउने ख्याल ठट्टा होइन ।’
उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए । ‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’
ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नु भयो–संसद् विघटन भए मात्रै बन्छु, नत्र देशमा जेन–जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’ संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन–जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।
‘संसद पुनर्स्थापनाको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ’
एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए । उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ । अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन् । देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन ।’ उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए ।