महेश बस्नेतले भने–जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौं


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनु पर्ने उनले बताएका छन् । उनले भने, ‘संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११ औं महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ । विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द्व बढाउन नलागौं ।’
ओलीको विकल्प खोज्ने नेताहरू अध्यक्षको विकल्प खोज्दै प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा रहेको पनि उनले टिप्पणी गरेका छन् । उनले भने, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नुपर्छ । जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ ।’
असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र असंवैधानिक संसद् विघटनविरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरे । असंवैधानिक सरकार निरंकुशतातर्फ अघि बढेको र निर्वाचनतर्फ ध्यान नदिएकोले स्वतन्त्र निष्पक्ष र धाधलिरहित र शान्तिपूर्ण चुनाव हुने वातावरण बनाउन जनसङ्घर्ष र दबाब लिनुपर्ने बताए ।
उनले देश, एमाले र पार्टी अध्यक्षमाथि प्रहार हुँदा आफूहरूले ढाड थापेर बचाएको बताएका छन् । उनले भने, ‘समग्र चुनौतीको सामना गर्न सक्ने पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेका छन् । कार्यकर्ताहरूले पनि बुझिसकेका छन् । तर, अझै धेरै नेताहरूले यो बुझ्न सकेका छैनन् किन ?’