ओलीको घोषणा : फागुन २१ पर्खदैनौं, संसद विघटनको विपक्षमा उभिन्छौं


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र देशविरुद्धको कदम ठहर गर्दै संसद् पुनस्र्थापनाको पक्षमा तत्काल संघर्ष सुरु गर्ने संकेत दिएका छन् । भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले फागुन २१ को चुनावको पर्खाइमा नबस्ने स्पष्ट गरे । ‘फागुन २१ पर्खनु पर्ने केही छैन’, उनले भने, ‘संसद् विघटन गलत छ, असंवैधानिक छ, त्यसको प्रतिकार अब ढिलो गर्नु हुँदैन ।’
ओलीले संसद् पुनस्र्थापनाको मागमा जनआन्दोलन सुरु हुने विश्वास व्यक्त गरे । ‘जनता आँधीबेहरी बनेर आन्दोलनमा उत्रने छन्’, उनले भने । उनले दाबी गरे कि विघटन गर्नुको मुख्य कारण संविधान अनुसार समाधान खोज्न नचाहने प्रवृत्ति हो । ‘सबै पक्ष संसद कायम राखेर समाधान खोज्नेमा सहमत थिए, तर त्यहाँबाट विमुख भएर असंवैधानिक बाटो लिइयो’, ओलीले भने । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने अडानमा रहेको भन्दै त्यो बहानामा संसद् विघटन गरिएको उनको आरोप छ ।
‘कार्की आयोग एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जेनजी विद्रोहसम्बन्धी छानबिन आयोगलाई पूर्ण अस्वीकार गरेका छन् । उनको भनाइमा, आयोग गठनको उद्देश्य निष्पक्ष छानबिन होइन, राजनीतिक प्रतिशोधका लागि आधार बनाउने मात्र हो । ‘पहिल्यैदेखि ‘केपी ओलीलाई समात्नु पर्छ’ भन्ने मान्छेले छानबिन गर्छ भने निष्पक्षताको के ग्यारेन्टी ?’ उनले प्रश्न गरे ।
ओलीले यस्तो आयोगलाई एमालेले नमान्ने स्पष्ट घोषणा गरे । ‘यस्तो नाटक नेकपा एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’, उनले जोड दिए । कार्कीले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिलाई लिएर एमालेले पहिले नै आपत्ति जनाउँदै आएको थियो । ओलीको ताजा अभिव्यक्तिले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।