म बिग्रिएको भए पो सप्रिनू : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको दावी गरेका छन् । आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नु पर्ने हो ? हो भने केपी ओलीले छोड्दैन ।’ उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाँहि सप्रिनु पर्ने ओलीको भनाइ छ ।
‘म हट्ने–नहट्ने फेसबुकले होइन, कमिटीले भन्नु पर्छ’
अध्यक्ष ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने बताएका छन् । उनले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए । ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नु पर्छ,’ उनले भने, ‘यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’