सरकारलाई ओलीको प्रश्न : केमा मुद्दा लगाउने ? रिस उठ्यो भन्दैमा मुद्दा ?


काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार दिनदिनै आफूलाई कसरी पक्राउ गर्ने भनेर बैठक गरिरहेको बताएका छन् ।
आज (शनिबार) एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केमा मुद्दा लगाउने भनेर समेत प्रश्न गरेका छन् । ‘दिनैपिच्छे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश ?,’ ओलीले भने, ‘केमा मुद्दा लाउनु हुन्छ ? के मा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि कुनै आधार छ, कारण छ ?’
उनले आफू जनुसुकै समयको पनि सम्पति छानबिन गर्न तयार रहेको बताएका छन् । ‘हामीले भनेका छौँ, हाम्रो पार्टीले भनेको छ २००७ सालदेखिको छानबिन गर्नुछ भने पनि गरौँ,’ ओलीले भने, ‘२०४६ पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौं । २०६२÷०६३ पछिको छानबिन गर्नुपर्छ भने पनि गरौं ।’ ‘कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण, छानबिन गरौं,’ उनले भने ।