ओलीको अडान : कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।
‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’ अध्यक्ष ओलीले आफूले मात्रै देशको चिन्ता लिएर दुःख पाउनु परेको बताएका छन् । ओलीले आफूभन्दा धेरै आयु भएका व्यक्तिहरूले देशको बारेमा चिन्ता लिनुपर्ने बताए । आफू ७३ वर्ष उमेरको भइसकेको भन्दै आफैंले मात्रै दुःख पाउनुपर्ने ? भन्दै उनले प्रश्न गरे ।
‘देश मेरो मात्रै होइन नि त । म ७३ त पूरा भइसकें । मैले मात्रै दुःख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरो भन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’
उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति घृणा भएको स्वीकार गरेका छन् ।
‘नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ,’ उनले भने, ‘अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।’ उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ इंकित गर्दै कानुन पढेकाहरू मन्त्री प्रधानमन्त्री भएको बताए । ‘अनि कोही कानुन पढेर न्यायाधीश भएका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै अर्को मन्त्री हुने,’ ओलीले भने ।
