ज्यान जोखिममा राखेर सत्य बोलिरहेको छु : ओली


काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन् । जेन–जी आन्दोलनपछि सरकार छोडेका उनले पहिलो पटक सम्पादकसँगको संवाद गर्दै सो कुरा गरेका हुन्। ‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ उनले भने, ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा छु ।’
जेनजीलाई धोका दिएर विरोध प्रदर्शन हिंसात्मक भएको उनले दाबी गरे । ‘जेनजीले उठाएका जम्मा तीनवटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन,’ ओलीले थपे, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ ।’
सम्पादकहरुलाई ओलीको प्रतिप्रश्न : तपाईंहरुले आत्मालोचना गर्नु भयो ?
एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरुले पनि आत्मआलोचना गर्नुपर्ने बताएका छन् । आइतबार संवादकहरुसँगको संवादमा यत्रो क्षति हुँदा पनि किन आत्मआलोचित नभएको भन्ने प्रश्न उनलाई गरिएको थियो । त्यसको जवाफमा ओलीले पत्रकारहहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मलोचना तपाईंहरुले पनि गर्नुभयो होला भनेर प्रतिप्रश्न गरे ।
‘अरुले आत्मआलोचना गरे, सम्पादकज्यूहरुले पनि गर्नु भयो होला,’ ओलीले भने, ‘अशान्तिको वातावरण बनाएकोमा, हिंसाको वातावरण बनाएकोमा पक्कै पनि महसुस गर्नु भएको होला भन्ने ठान्छु म । प्रोभोकेसन जुन गर्नु भएको थियो, सबैलाई भन्दिनँ जसले गर्नु भएको थियो उसैले सम्झिनु होला भन्ने ठान्छु ।’ उनले आफूमा अहंकार नभइ सत्य बोल्ने बानी भएको उल्लेख गरे। ‘पक्कै पनि हेर त दम्भव, अहंकार भन्नु हुन्छ । यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी छ,’ ओलीले भने ।