जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन् । आज (बिहीबार) भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमाले थोपरिदिएको परिचय भएको जिकिर गरे । ‘जेनजी हाम्रो परिचय होइन, पश्चिमाले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलले भने, ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो समाजलाई खलबल्याएर कसरी विभाजित गर्न खोजिदै छ भन्ने कुरा पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले पनि बुझाइरहेको छ ।’
समाज चलाउन सबै पुस्ताको संयोजन आवश्यक रहेको भन्दै पूर्वीय दर्शनले पनि त्यही भन्ने उनले उल्लेख गरे । ‘समाज चलाउने भनेको कुनै एउटा पुस्ताको लहडको विषय होइन, समाज चलाउने भनेको अनेक पुस्ताबीचको संयोजन हो,’ पोखरेलले भने, ‘हाम्रो पूर्वीय दर्शनले कुनै पनि समाजलाई सुव्यवस्थित गराउने हो भने चार पुस्ताको संयोजन आवश्यक हुन्छ भन्छ ।’
पोखरेलले भने, ‘२३ गतेको आन्दोलन एउटा सामाजिक सञ्जाल खुला गर्नुपर्ने र दोस्रो माग भ्रष्टाचार अन्त्य हुनुपर्ने । हाम्रो पुस्ता साइबर र सोसल मिडियामा उनीहरुको लगाब छ । तर सरकारले सामाजिक सञ्जाल बन्द गरेको थिएन । सोसल मिडिया दूरुपयोग भइरहेकाले उनीहरुलाई नेपालमा दर्ता गर्न खोजेको थियो । तर भ्रम सिर्जना गरेर युवालाई उत्तेजित बनाइयो । त्यो आन्दोलनमा पनि ३४ प्रतिशत फेक एकाउन्ट बनाएर आन्दोलनलाई उत्तेजक बनाउन भूमिका खेलेको अन्तर्राष्ट्रिय रिपोर्ट आइरहेको छ ।’
पोखरेलले नेपाल प्रहरी भीड व्यवस्थापनमा सक्षम रहे पनि २३ गते प्रहरी अधिकारी नै कसरी त्यस्तो हुन पुग्यो चकित बनेको र त्यो अवस्था सिर्जना भएको देखिएको उनले बताए । पोखरेलले १० वर्ष माओवादी आन्दोलनमा नभएको क्षति एक दिनमा भएको दाबी गरे । उनले अपराधीलाई दण्डित गर्न एमाले तयार रहेको छ ।