`

अध्यक्ष ओलीको प्रस्तावमाथि आज बाँकी सदस्यले धारणा राख्दै, वैठक लम्बिने संकेत

Nepal One HD ३० असोज २०८२ ७:४१
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दैछ । ललितपुरको भनिमण्डलमा बिहीबार बिहान ८ बजेदेखि दोस्रो दिनको बैठक सुरु हुने एमालेले जनाएको छ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रवन्ध गरिएको छ । यस हिसाबले भोलि बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।

यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ । बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोपतिर (‘ज्ञ’ बाट) पालो मिलाइएको छ । गौतमका अनुसार हिजोको बैठकमा ‘र’ बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तालिका छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने तयारी छ । हिजोको बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने र आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *