महेश बस्नेतको चेतावनी : केपी ओलीलाई छोए देशभर आगो बल्ने छ


काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमा देशभर आगो बल्ने चेतावनी दिएका छन् । आज (बिहीबार) भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका हुन् ।
‘केपी ओली पञ्चायतसँग र राजासँग लडेको आएको हो । अहिलेका नौटंकीले च्यालेन्ज गरेका छन्,’ बस्नेतले भने, ‘मैले हिजो पनि भनेको थिएँ, केपी ओलीलाई छोए देशभर आगो बल्ने छ ।’ एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आफूलाई पक्राउ गर्न सरकारले योजना बनाएको भन्दै बस्नेतले एमालेसँग नजिस्किन चेतावनी दिए ।
बस्नेतले असोज २५ गते काठमाडौंमा युवा संघले प्रदर्शन गरेर एमालेको शक्ति देखाउने बताए । अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भए कुलमान घिसिङबाट छानबिन शुरू गर्न उनले चुनौती दिए । ‘नेपालको नम्बर वान भ्रष्टाचारी कुलमानबाट छानबिन गर्नुस्, हामी छानबिनको दायरामा आउन तयार छौं,’ बस्नेतले भने । उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक–एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए ।
उनले अब एमालेले डिजीटल जेनरेसन फोर्स बनाएर देशव्यापी रुपमा उजुरी दिने त्यसको आधारमा कारबाही गर्न अनुरोध गरे । उनले भ्रष्टाचारको छानबिन गर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुवासीले जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘तपाईं आउनुहोस् हामी स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउँछौं ।’