`

केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाकै काँधमै अडिएको बताएका छन् । भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसा समेत नदिने बदनाम स्थितिमा पुगिसकेको टिप्पणी गरे।

उनले भने, ‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’ उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनु पर्ने बताएका छन् । युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।

‘यो देश हाम्रो हो हामीले बनाउनु पर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्वहरूले जलाएका हुन्’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति संकेत गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नु पर्छ ।’

कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ओलीले हिम्मत नहारी, हरेस नखाई अघि बढ्न भनेको भेटमा सहभागी अनेरास्ववियुका एक नेताले जानकारी दिए । उनका अनुसार ओलीलाई भेट्न पार्टीका केन्द्रीय र जिल्ला तहका नेता एवं कार्यकर्ता पुगेका थिए । त्यस्तै, विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू पनि ओली निवास पुगेका थिए । उनीहरूसँग दसैँको शुभकामना आदानप्रदान गर्दै ओलीले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सहभागी ती नेताका अनुसार ओलीले जिम्मेवार नागरिकले देश कता जाँदैछ भन्ने बुझ्नुपर्ने तर्क गरेका छन् । उनले युवाहरू भिडको पछि नभई राष्ट्रप्रति जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले सामाजिक सञ्चालमार्फत तत्काल धारणा बनाउने प्रवृत्तिको अन्त्य गर्न सुझाव समेत दिएका थिए । ‘अहिले नयाँ पुस्ता विखण्डित हुन पुगेको छ । हामी एकतामा विश्वास गर्ने हौँ भनेर बुझाउनु छ,’ ओलीले कार्यकर्तामाझ भनेका छन्, ‘राष्ट्रिय सम्पत्ति र सम्पदाप्रति जवाफदेही पुस्ता बनाउनु अपरिहार्य छ ।’

बलिदान गरेर आएका दलहरुलाई निषेध गर्ने कुरा स्वीकार्य हुन सक्दैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (शुक्रवार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताएका हुन् ।

‘लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन। कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ । तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानीपूर्ण गरेका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन सक्दैन,’ उनले भने ।

उनले संविधानले नेतृत्वमा रहेका राजनीतिक दलहरूले मात्रै एकाधिकार प्राप्त गर्दछन् भन्ने कुरा परिकल्पना नगरेको पनि बताए । ‘नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो । त्यस अर्थमा नेकपा एमालेले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने ल्याउनका लागि संविधानले बाटो छेकेको छैन । नेपाली काँग्रेसले अघि सारेको नीति भन्दा राम्रो नीति ल्याउने सामथ्र्य कसैको छ भने संविधानले त्यो अधिकार कसैलाई रोकेको छैन,’ उनले भने ।
महासचिव पोखरेलले नव युवाहरुको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्र लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताए ।

चुनौती देखेर आत्तिनु र हतास हुनु पर्दैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि आफूहरुको देश बनाउने इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो चुनौती देखेर आत्तिनु र हतास हुनु पर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडि बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’ उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे ।

एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे । ‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्‍यौँ । ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडि आइपुगेको हो’, पोखरेलले भने ।

यो संविधान कसैले दान गरेको दिएको उपहार नभएर नेपाली जनताले वर्षौँ संघर्षपश्चात पाएको उपलब्धि रहेको समेत उनले बताए । संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्‍याउन नेपालीले गरेको संकल्पको दिवस रहेको समेत उनको भनाई छ । ‘जस्तोसुकै परिस्थिति आए पनि हामी यो राष्ट्रिय दिवसमा एकता भएर अगाडी बढ्छौँ’, उनले भने ।

 

च्यासलमा विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले आज संविधान दिवस मनाउँदै छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागेको हो ।

उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

निर्वाचितलाई अपदस्थ गरी अनागरिक सरकार गठन गरियो : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनताबाट निर्वाचित केपी ओली नेतृत्वको सरकार अपदस्थ गरेर अनागरिक सरकार गठन गरिएको टिप्पणी गरेका छन् । जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टी कार्यालय अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा दिएका छन् ।

नेता बादलले भने, ‘अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ । नागरिक सर्वोच्चताको प्रतीक संसद् हो । तर संसद्लाई विघटन गरिएको छ । नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरेको छ । संसद् विघटन गरिएको छ, अनागरिक सरकार असंवैधानिक ढंगले गठन गरिएको छ ।’ उनले पार्टी अब समीक्षा र ध्रुवीकरणको चरणमा रहेको जानकारी दिएका छन् । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएसँग अहिले ठूला राजनीतिक दलका नेताहरु विस्तारै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

नयाँपुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।

मनन गर्नुपर्ने कुरा भन्दै उनले नयाँ पुस्ताको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंशको भने विरोध गर्नुपर्ने बताएका छन् । ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ महासचिव पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ ।’

उनले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि बताएका छन् । ‘आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’

महेश बस्नेतको प्रश्न : चोर्न–लुट्न गएकाले १५ लाख पाउने, प्रहरीले चाँहि के पाउने ?

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई समान दृष्टिले हेर्न आग्रह गरेका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत उनले राज्यले प्रहरीको मनोबल उच्च बनाउन तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।

सरकारले ‘जेनजी स्मृति पार्क’ निर्माण गर्ने निर्णयलाई बस्नेतले सकारात्मक भन्दै ‘जेनजी’ नाम हिंसा, आगजनी र विध्वंशसँग जोडिँदै बदनाम भएको भन्दै यसको सट्टा ‘डीजी स्मृति पार्क’ नामकरण गर्न सुझाव दिएका छन् । बस्नेतले आन्दोलनकै क्रममा ज्यान गुमाएका प्रहरीहरूको सम्मानमा पनि छुट्टै स्मृति पार्क बनाउनु पर्ने बताउँदै भनेका छन्, ‘जेनजी आन्दोलनतर्फ मारिएका व्यक्तिलाई १५ लाख दिइने र ‘शहीद’ घोषणा गरिने निर्णय राम्रो कदम हो । तर, अन्य ५१ जनाको हकमा के हुन्छ ? प्रहरीलाई त्यही निर्णय लागू हुन्छ कि हुँदैन ? एउटै घटनामा ज्यान गुमाएका सबैलाई समान दृष्टिले हेर्नैपर्छ ।’

उनले चेतावनी भनेका, ‘कदाचित चोर्न, लुट्न र मान्छे मार्न गएका आन्दोलनकारीले १५ लाख पाउने तर राष्ट्र र नागरिकको सुरक्षार्थ खटिएका प्रहरीहरूले उचित सम्मान र राहत नपाउने अवस्था आयो भने, यसले भविष्यमा अर्को किसिमको द्वन्द्व निम्त्याउने निश्चित छ ।’ यसैबीच, नेपाल प्रहरीले आफ्नै संगठनभित्रबाट सराहनीय कदम चालेको छ । प्रहरी निरीक्षकदेखि माथिका पदमा रहेका सम्पूर्ण अधिकृतहरूको तलब कटौती गरेर मृत प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय गरिएको छ । बस्नेतले यसलाई उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

पार्टी छिटो पुनर्गठन गरौं : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बाँस्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ राजनीतिक दल विना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नु पर्ने महसुस गरेका छन् । जेनजी युवाको आन्दोलनपछि सत्ता खोसिएर अहिले फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन् ।

थापाको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन् । त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाइरहनु भन्दा त्यसबाट पाठ सिक्नु पर्छ । बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफै भूल गरेपछि मात्र सिक्छन् । अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन् ।’

एमाले महासचिव पोखरेलले कामको लामो अनुभव सँगालेका थापाको उक्त विचार अहिलेको सन्दर्भमा निकै सान्दर्भिक लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री सुशीला कोइरालाले तीन मन्त्री चयन गरेको दिन आइतबार राति एमाले महासचिव पोखरेलले यस्तो स्टाटस लेखेका हुन् ।

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख बनेकी पूर्व प्रधानन्यायाधीश (गैरसांसद) सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । मन्त्रीहरू पनि धमाधम गैरसांसद बन्ने देखिएको छ । अर्थात राजनीतिक दल निषेध देखिएको छ ।

नयाँ प्रधानमन्त्रीलाई दलाई लामाको बधाई नेपाल भूराजनीतिमा फसेको संकेत : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले दिएको बधाई र शुभकामना सन्देशले नेपाल भूराजनीतिमा फसेको संकेत दिएको दाबी गरेका छन् ।

जेनजी आन्दोलनले ओली सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदको शपथ खुवाएको भोलिपल्ट शनिबार तिब्बती धर्म गुरु दलाई लामाले बधाई दिँदै तिब्बती शरणार्थीको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकामा नेपाल र नेपालीप्रति आभार प्रकट गरेका थिए ।

यसलाई ‘आश्चर्यजनक बधाई’ भन्दै एमाले नेता बाँस्कोटाले मुलुकमा जटिल राजनीतिक बीजारोपणको संज्ञा दिएका छन् । ‘नयाँ तर उनकै स्पष्ट परिभाषाअनुसार संविधानले नचिन्ने प्रमलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकामना सन्देशले नेपाल भूराजनीतिको लाभामाथि तैरिरहेको सिधा संकेत दिएको छ । छिमेकीको व्यापार स्वार्थको कार्पेट डिप्लोमेसीले यसलाई छोप्न सकेन भने यो जटिल राजनीतिक, रणनीतिक संकटको बीजारोपण हो’, बाँस्कोटाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रधानमन्त्री नियुक्त गरी संसद विघटन गर्नु गलत : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुशासन र रूपान्तरणका कदममा जेनजीको माग सम्बोधन गर्न नसकेकोमा माफी मागेका छन् । उनले आज (शनिबार) सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै भट्टराईले एमाले चुकेको भन्दै माफी मागेका हुन् ।

‘भ्रष्टाचार देशको मुख्य बेथिति हो । भ्रष्टाचार सुशासनको पक्षमा राज्य संयन्त्रलाई जति रूपान्तरण गर्नुपथ्र्यो त्यसमा चुक्यौं । युवा, जनताको माग सम्बोधन गर्न चुकेका छौं,’ भट्टराईले भने, ‘जनताको अगाडि माफी पनि माग्न चाहन्छौं । जनता विना पार्टी टिक्दैनन् । एमाले युवाले बनाएको पार्टी हो । युवाले नेतृत्वलाई निरन्तर दिएर हामी अगाडि बढ्नु पर्छ ।’

अब एमालेको कार्यशैली फेरिने पनि उनले प्रष्ट पारेका छन् । ‘एमाले अब हिजो जस्तो हुँदैन । युवामैत्री, प्रगगितशील र गतिशील हुनेछ । संरचनागत सुधार हामी गर्छौं । हामीलाई विश्वास गर्नुस् । हाम्रो आफैमाथि पनि भ्रष्टाचार बेथितिको निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाको निम्ति एमाले तयार छौं’, भट्टराईले भने, ‘जेनजी पुस्ता हामीसँग किन आइरहेको छैन ? यतिबेला पार्टी पुनर्गठन हाम्रो महत्वपूर्ण जिम्मेवारी हुनेछ । अब नेतृत्व, संगठन र कार्यशैली पुनर्गठन गर्नैपर्छ ।’ पार्टीभित्र टुटेको मनलाई जोड्ने र सबैको अस्तित्वलाई स्वीकारेर जानुपर्ने उनको भनाइ छ ।

‘पार्टी सञ्चालनमा गल्ती कमजोरी भएको छ । मन टुटेका छन् । सबैको अस्तित्वलाई स्वीकारेर पार्टी पुनर्गठन हुनेछ । सबैले आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउनु पर्छ,’ भट्टराईले भनेका छन्, ‘हामी वातावरण बनाउँछौं । जो जहाँ हुनुहुन्छ । पार्टीको जिम्मेवारी र विशाल परिवारमा फर्किन अनुरोध गर्छौं ।’ भदौ २३ र २४ गतेको प्रदर्शनपछि देश संक्रमणमा रहेको उनको भनाइ छ । जेनजीको माग अनुसार सरकार बनाउनमा एमाले तयार भए पनि संवैधानिक प्रक्रिया मिच्न खोजिनुले नराम्रो सन्देश गएको उनी बताउँछन् ।

‘जेनजीको माग अनुसार सरकार बनाउनमा हाम्रो विमति थिएन, छैन । यो प्रक्रियालाई र संविधान र संसद्कै बाटोबाट अगाडि जाउँ भन्ने थियो । अहिलेको प्रक्रियालाई संसद्ले निकास दिन सक्थ्यो । त्यतातर्फ जान खोजिएन र संसद् विघटन गरियो । यो राम्रो भएन । संविधान खारेज भए अर्को बनाउन सम्भव छैन । सानो प्रयत्नबाट बनेको संविधान होइन । संविधानलाई लिकमा फर्काउन हामीले प्रयत्न गर्नुपर्छ । शान्त र सौम्य ढंगले यो काम गर्नुपर्छ ।’ आफूहरू राजनीतिक निकासका निम्ति तयार रहेको तर भागबण्डाको पक्षमा नभएको पनि उनको भनाइ छ ।

‘राष्ट्रपति र प्रमलाई भन्न चाहन्छौं, संविधानको बाटोमा भए मान्छौं र संविधानलाई मिच्ने भए राष्ट्रिय एकतालाई बचाउन सक्दैनौं । हामी राजनीतिक निकासमा बाधक छैनौं,’ भट्टराईले भने, ‘राजनीतिक भागबण्डामा चासो छैन । हाम्रो चासो संविधान र लोकतान्त्रिक बाटो हो ।’ उनले सुशीला कार्कीलाई संसदले पनि प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने आधार भ एपनि त्यसो नगरिएकोप्रति असहमति जनाएका छन् ।

उनले भने, सांसदभित्रबाटै विकल्प थियो तर त्यता जान खोजिएन । संसद् विघटन गरियो । यो सही निकास होइन । संविधानको सबैले पालना गर्नुपर्छ, संविधान खारेज भयो भने अर्को संविधान बनाउन सजिलो छैन । यो सानो प्रत्यत्नबाट बनेको होइन् । उनले स्थितिको सही मूल्यांकन गर्दै संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रयत्न गर्नुपर्ने बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको हर कदम संविधानको बाटोबाट हुनुपर्ने बताए । २३ गते जेनजीको प्रदर्शनका क्रममा अरु पक्षले नकारात्मक फाइदा उठाएको उनी बताउँछन् । यसैले २३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, भदौ २४ गते थुप्रै सार्वजनिक सम्पत्तिमाथि तोडफोड भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई गर्न भट्टराईले माग गरेका छन् ।

 

 

संसद् विघटन भएपछि शंकर पोखरेल : सतर्क रहौं

काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै संसद् विघटन भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्तक रहन आह्वान गरेका छन् । उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा मुद्दा हाल्ने र फैसला गर्नेहरूले नै अहिले प्रतिनिधि सभा भंग गराएको भनी कटाक्ष समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ ।’

जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मात्र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् । साथै प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहँदा दुई–दुईपटक संसद् विघटन गरेका थिए । पहिलो पटक २०७७ पुस ५ मा संसद् भंग गर्दा सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७ मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि अदालतले उल्टाइदिएको थियो ।

 

 

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आज उनले राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो । राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन ।’ ‘मरुभूमिको फ्याउरो दक्षिण एशियामा तीव्र बेगमा छ । हामी आफू सच्चिनु पर्छ र सच्याउनु पर्छ,’ उनले भने, ‘डेमोक्रेसी हाईज्याक हुन सक्दैन । देश दशकअघि वा शतकपछि ? त्यो समयले प्रष्ट गर्छ ।’

जेलका अपराधी उम्काउन जेनजीले आन्दोलन गरेका थिएनन् : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मुकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने टिप्पणी गरेका छन् ।

जेनजीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थ समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम हुँदा पनि सुरक्षा निकायको सतर्कता, सजगता र संयमता नदेखिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘देशमा सुशासन कायम होस, विकासको मूल फुटोस्, युवाले देशमा नै रोजगारीसहितको सम्मानित र सुरक्षित जीवन जिउने उज्यालो भविष्यको खोजी गर्न सकौँ भनी नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आउनु भएको थियो । तथापि भदौ २३ गते, एकातर्फ देश बन्नु पर्दछ भन्ने पवित्र उद्देश्य बोकेको जेनजीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयो भने अर्कोतिर सुरक्षा निकायको सतर्कता, सजगता र संयमता पनि देखिएन ।’

जेनजी बालकले जीवनका रंगीन सपना देख्नुपर्ने उमेरमा सडकमा प्राण गुमाउनुको पीडा केवल उसको परिवारको मात्रै नभई सिङ्गो राष्ट्रको साझा पीडा उनले बताएका छन् । यस परिस्थितिलाई नेपालको हित नचाहने विदेशी शक्ति, धमिलो पानीमा माछा मार्न खोज्ने तत्व, अपराध गरेर जेलजीवन भोगिरहेका अपराधीहरूले उम्किने अवसरको रूपमा बदल्ने कुरा प्रयास जेनजीको माग नभएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘तर विडम्बना प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि सिंहदरबार, संसद्, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैङ्क, व्यापारिक भवन र व्यक्तिका निजी सम्पत्ति छानिछानी जलाइयो, जुन कार्यको राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बने । यो कुरा धेरै नै डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय हो र रहिरहनेछ ।’

देशको संकट समाधान गर्न योगेश भट्टराईका १० प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले अब खरानीबाट उठेर देश पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत १० बुँदामा उनले अहिले मुलुक इतिहासकै गम्भीर संकटमा पुगेको बताउँदै संविधानको सर्वोच्चताबाट दायाँबायाँ नभइ अघि बढ्नु पने बताएका छन् ।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाउँमा पुर्‍याउँदैन ।’ उनले मुलुकमा विकसित घटनालाई राम्रोसित बिश्लेषण गर्न र आफूहरूबाट भएका कमजोरीको समीक्षा गर्दै गल्तीप्रति आत्मालोचित भई अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

यस्तो लेखेका छन् भट्टराईले :

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक : उपाध्यक्ष पौडेल

ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका सहरी क्षेत्रमा पनि सम्पर्क समिति बनाउनुपर्नेमा जोड दिए ।

उपाध्यक्ष पौडेलले महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी १५ जना पदाधिकारीसहित २५१ हुने र सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हदलाई हटाइएको उपाध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै, पार्टी सदस्यतामा पनि पार्टी सदस्य र सङ्गठित सदस्य गरी दुई खालको हुनुपर्ने उनको भनाइ थियो । प्रदेश अधिवेशन चार–चार वर्षमा, केन्द्रीय महाधिवेशन पाँच वर्ष हुने उपाध्यक्ष पौडेलले जवाफका क्रममा बताएका छन् ।

‘सही र सूचित नीति, भरोसायोग्य नेतृत्वलाई आधार बनाएर अगाडि बढौँ, एकताबद्ध भएर एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानका साथ अगाडि बढौँ, एउटै व्यक्ति पार्टी र जनसङ्गठनको सदस्य हुन पाउँछ, तर एउटा व्यक्ति एउटामात्रै जनसङ्गठनमा बस्न पाउँछ’, उनले भने ।

उपाध्यक्ष पौडेलले हरेक प्रदेशबाट एक जना केन्द्रीय प्रतिनिधि राख्ने कुरा राम्रो भए पनि विधानमा नै उल्लेख गर्न आवश्यक नरहेको बताए । समूहगत छलफलबाट प्रदेश र स्थानीय तहमासमेत नीति अनुन्धान प्रतिष्ठान बनाउन गरिएको प्रस्तावमाथि जवाफ दिनुहुँदै उपाध्यक्ष पौडेलले पार्टीको नीति तय गर्ने एउटामात्रै नीति अनुन्धान प्रतिष्ठान केन्द्रीय तहमा हुने र स्थानीय कमिटीले सुझाव दिन सक्ने बताए ।

उनले सहकारीलाई पार्टीको संरचनामा समेट्नु उपयुक्त नहुने धारणा राखे । उनले प्रदेश र स्थानीय कमिटीमा १५ प्रतिशत र आयोगका कमिटीमा १० प्रतिशत मनोनयनको व्यवस्था उचित समेत उल्लेख गरे । स्थानीय, प्रदेश र केन्द्रीय तहबाट हुने मूल्याङ्कनलाई व्यवस्थित र वैज्ञानिक बनाउन जरुरी रहेको चर्चा गर्दै उनले नेता तथा कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए ।

‘पार्टी अभ्यासमा भएको कमजोरीले कारबाहीमा समस्या भएको छ, अन्तरघातका सम्बन्धमा थाहा पाउनेबित्तिकै विधानको व्यवस्थाको कार्यान्वयन गरेर कारबाही गर्नुपर्छ, उत्पादन, विकास निर्माण, समृद्धि र जनताका सरोकारसँग जोडिएका कार्यकर्ता निर्माणका लागि ध्यान दिऔं’, उनले भने । उनले प्रदेश र स्थानीय कमिटीमा पूर्वअध्यक्ष वा निवर्तमान अध्यक्षलाई दोस्रो वरियता दिनु घातक हुन्छ र यसले समस्या सिर्जना गर्ने बताए ।

उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामबाट सृजना भएको पुँजीलाई जोगाएर मिसन–८४ मा निर्णायक शक्तिका रुपमा बदल्न आवश्यक रहेको पनि उल्लेख गरे । महाधिवेशनमा अब पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर आफ्नो प्रस्तुतीकरण गर्नेछन् । शुक्रबारदेखि सुरू भएको महाधिवेशन आज सम्पन्न हुने कार्यतालिका छ ।

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

ललितपुर । नेकपा (एमाले) को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस गरिएको छ । ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए ।

महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरुबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उनको भनाइ थियो । उनले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गरे ।

‘सात भूगोल र तीन गैरभूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नु भयो । दश वटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिनु भएको छ’, उनले भने ।

सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैरभूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताए ।

‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरु विरोध मात्रै गर्ने पात्र पुतली जस्ता भएका छन्’, प्रधानमन्त्री ओलीले भने ।

‘कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ’, उनले भने ।

सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गर्दै उनले भने, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ’, अध्यक्ष ओलीले भने । उनले असमानता कम गर्दै विभेद्लाई अन्त्य गर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै छलफलसहित प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्नेगरी पार्टी अघि बढिरहेको स्पष्ट गरे ।

सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए ।

महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए । उनले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिने समेत बताए । महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा युवा र जनसंगठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताए । ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन’, उनले भने ।

महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए । ‘महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन’, उनले जवाफ दिने क्रममा भने ।

महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताए । ‘पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्’, उनले भने । उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उनको भनाइ थियो । उनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले थप समूह नेताबाट छलफल गरेर केही हेरफेर हुनेसक्ने र पार्टी विधानमा हेरफेर नगरिकन महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अहिले छुटेका कुरालाई पछि समेटिने बताए।

ललितपुरको गोदवरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली लगायत पेस गरेका दस्तावेजमाथि समूहगत छलफल भएको थियो । ९ वटा समूहमा भएको छलफल निष्कर्ष सुनाउने काम सकिएपछि अहिले महासचिव शंकर पोखरेलले त्यसको जवाफ दिइरहेका छन् । एमालेले आजै विधान महाधिवेशन समापन गर्ने तयारी गरेको छ । अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले समग्र बिषयमा जवाफ दिएपछि महाधिवेशन टुंगिने छ ।

एमालेको विधान महाधिवेशनमा टोली नेताको ‘रिपोर्टिङ’ : तत्काल ओलीको विकल्प छैन

काठमाडौं । ललितपुरको गोदावरीमा जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अहिले समूहगत प्रस्तुतीकरण जारी छ । महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि नौवटा समूहले प्रतिनिधिका सुझावसहितको प्रस्तुतीकरण गरिरहेका छन् । कोशी प्रदेश र सुद्ररपश्तिम प्रदेशको प्रस्तुतीकरण भर्खरै सकिएको एक नेताले जानकारी दिएका छन् । कोशी र सुदूरपश्चिमपछि मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन् ।
सुझावका क्रममा समूहका नेताले भावी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आइतबार बिहान सनराइज सभाहल गोदावारी, ललितपुरमा पेश गर्दै समूहगत नेताहरुले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमा केही सुझावसहित निष्कर्ष सुनाइरहेका छन् ।

प्रतिवेदन पेश गर्दै सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ । अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निश्कर्ष हाम्रो समूहको ठहर हो ।’ त्यस्तै कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले भने, ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय हो । पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन ।’ लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् । त्यसैगरी गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताए ।

बागमतीका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको बताए । ढुंगेलले भने, ‘चीन भ्रमणका क्रममा लिपुलेक बारे चीनका राष्ट्रपतिसँग आफ्नो अडान राखेकाले राजनेता केपी शर्मा ओलीलाई हाम्रो समूहको तर्फबाट उच्च सम्मान गर्नुपर्छ भन्ने मत छ ।’

मधेश प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताए । ‘पार्टीमाथि देशी-विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट पुनः नेतृत्व दिनु पर्छ’, उनले भने ।

कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे । खतिवडाले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संबैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनु पर्दछ ।’

समूह नेताले आ–आफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गर्ने तयारी छ ।

यो विधान महाविधेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरिएका छन् । त्यस्तै केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन् ।

एमाले विधान महाधिवेशन : सकियो समूहगत छलफल

काठमाडौं । हिजो (शुक्रबार) देखि जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल आज (शनिबार) सकिएको छ । २,१२६ प्रतिनिधिलाई नौ वटा समूह बनाएर अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथी छलफल गराइएको थियो ।
समूहमा धेरैलाई बोल्न दिइएन । यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत प्रस्तुत गर्न नदिइए पनि प्रतिनिधिलाई वितरण भने गरिएको छ । अहिले ९ वटै समूहको छलफल सकेर भित्र सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । अब प्रतिनिधिहरूले दिएको सुझावलाई भोलि बस्ने बैठकमा समूह संयोजकले प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरेका थिए ।
त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिएको थियो । एमालेको शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन सुरु भएको हो ।
प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए । उनले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए । उनले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताए ।

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु

काठमाडौं । ललितपुरको गोदावरीमा जारी सत्तारुढ नेकपा एमाले विधान महाधिवेशनमा नौं समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । यसअघि १० समूह बनाउने भनिए पनि ९ वटा मात्र बनाएर केही बेरअघि छलफल थालिएको हो ।

विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सचिवालय बैठकमा दर्ता गराएका फरक मत पनि समूह छलफलमा पेस गर्ने यसअघि नै निर्णय भइसकेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ आयोजित एमाले विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ आयोजक सदस्य गरी कुल २,३४१ जना सहभागी छन् । एमालेले विधान महाधिवेशन आइतबारसम्ममा सक्ने तयारी गरेको छ ।

राजनीतिक प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा समिति

काठमाडौं । सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यी समिति बनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति घोषणा गरेका हुन् । अन्य सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल छन् ।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले जानकारी दिएका छन् । प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्दैछ ।

एमालेको विधान महाधिवेश ललितपुरमा जारी छ । आज प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूची छ । शुक्रबार सुरु एमाले विधान महाधिवेशनको आज दोस्रो दिन हो ।

पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए ।

आज बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ । आज निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेस भइरहेका छन् । यसपछि १० समूहमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल शुरु

काठमाडौं । सत्तारुढ नेकपा एमाले विधान महाधिवेशनको दोस्रो दिनको सत्र सुरु भएको छ । केही बेरअघि सत्र सुरु भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

हिजै प्रस्तुत भएका प्रतिवेदनमाथि समूह बनाएर छलफल हुने उनले जानकारी दिएका छन् । ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि हिजो बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ ।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आजै प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन शुरु भएको हो ।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन भोलि (आइतबार) सम्म सञ्चालन हुनेछ ।

एमाले विधान महाधिवेशन : आज तीन प्रतिवेदनहरूमाथि छलफल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) तीन प्रतिवेदन प्रस्तुत हुँदैछन् । ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु एमालेको विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २,३४१ जना सहभागी छन् ।

आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएको थिएन ।

आज तीन प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ । हिजो अधिवेशन उद्घाटनसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

त्यस्तै एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

एमालेले विधान महाधिवेशन भोलिसम्ममा सक्ने तयारी गरेको छ । हिजो उद्घाटन मन्तव्यको क्रममा पार्टी अध्यक्ष ओलीले आइतबारसम्म जसरी पनि अधिवेशन सक्नु पर्नेमा जोड दिएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले यो विधान महाधिवेशनमा आफू पनि सहभागी हुन जोडबल गरेकी थिइन् । तर, एमालेले भण्डारीको पार्टी सदस्यता नै रद्द गरेपछि भण्डारीसँगै उनी पक्षीय नेता–कार्यकर्ता रुष्ट छन् ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेपछि भण्डारी महाधिवेशनमा सहभागी हुनबाट बञ्चित भएकी हुन् । पार्टीको दोस्रो विधान अधिवेशनमा सहभागी हुनबाट आफूलाई वञ्चित गरिएको भन्दै भण्डारीले महाधिवेशनस्थलमै शुभकामना सन्देश बाँडेकी छन् । उनले आफ्नो चिठी अध्ययन गर्न पनि महाधिवेशनका प्रतिनिधिलाई आग्रह गरेकी छन् ।

एमालेको पार्टी सदस्य ६ लाख ६२ हजार : कुन प्रदेशमा कति ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टीमा ६ लाख ६२ हजार ९६१ सदस्य रहेको जनाएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा क्रियाशील सदस्य संख्या सार्वजनिक गरेका हुन् ।

महासचिव पोखरेलका अनुसार कोशीमा एक लाख १४ हजार ७१०, मधेशमा एक लाख ५६ हजार ४१, बागमतीमा एक लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२ सदस्य रहेका छन् । यस्तै, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७, सुदूरपश्चिममा ६३ हजार ११०, उपत्यका विशेष प्रदेश ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जीएसआइ’ मा समर्थन गरेका छैनौं : प्रधानमन्त्री

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट गरे ।
ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जीएसआइ) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गरे ।
‘एमालेप्रति जनताको विश्वास बढेको छ’
अध्यक्ष ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताएका छन् । अध्यक्ष ओलीले कोहीकसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताए । ‘नेपाली जनताले अप्ठ्यारो परिस्थितिमासमेत हामीलाई साथ दिएका छन्, नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिप्रति सदैव प्रतिबद्ध छौँ, भएन भन्न सजिलो छ, लामो बलिदानिमार्फत यहाँसम्म आइपुगेका छौँ, हामी उज्ज्वल भविष्यका लागि मिसन ८४ को अभियानमा छौँ’, उनले भने ।
एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई  सक्रिय भएर काम गरौँ ।’
‘सामाजिक न्याय र समानताका लागि हामी अभियानकर्मी हौँ, समाजमा परिवर्तन भएको छ, सामाजिक न्याय, समानता र विकासको अवस्था हिजोको जस्तो छैन, हाम्रो लक्ष्य समाजवादतर्फ हो, अपेक्षा गरिएजस्तो विकास भएको छैन होला, त्यसैले त परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका छौँ, देशमा परिवर्तन ल्याउनका लागि हिँडेका हौँ’, उनले भने ।
अध्यक्ष ओलीले भने, ‘हामी निर्णायक राष्ट्रिय शक्तिका रुपमा पुगेका छौँ, हाम्रो नीतिहरु नै राष्ट्रिय नीति हुन्, आज नेता तथा आमकार्यकर्ताले नेतृत्वप्रति विश्वास गरेका छन् । एमाले पार्टीमा ठूलो जमात महिलाको छ र पार्टीलाई जोगाउने काममा महिला साथीहरूको भूमिका विशेष छ । सबै मिलौँ, पार्टीलाई अझ सुदृढ, सशक्त र लोकप्रिय बनाऔँ ।’ उनले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए ।

रास्वपा लक्षित ओलीको टिप्पणी : जसको न इतिहास थियो, न अहिले छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) लाई लक्षित गर्दै इतिहास नभएको पार्टी भनेका छन् । पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले इतिहास न हिजो न आज छ भन्दै टिप्पणी गरेका हुन् ।

‘जसको न इतिहास थियो, न इतिहास छ । कसैले आरीबाट घोप्टाइ दिएका त्यस्ता तत्वको बहाब आएको छ,’ उनले भने,‘’के को बहाब आएको हो–ती तत्वको छानविन गर्दै जाने हो ।’ अध्यक्ष ओलीले रास्वपालाई लक्षित गर्दै ‘हाँडीबाट घोप्ट्याएपछिको भेल बाढी जस्तो’ भन्दै टिप्पणी गरेका छन् । ‘त्यस्ता तत्वको बहाव आएको छ रे !’ भनेर भ्रममा नपर्न उनले आग्रह गरे ।

‘के को बहाब ? यी तत्वहरूको छानबिन गर्दै जाने हो भने बिस्तारै प्रकट हुँदै जान्छन्, कस्ता तत्व हुन भनेर,’ उनले भने । त्यस्ता तत्व कस्ता हुन भनेर आफूले भनिरहनु नपर्ने पनि ओलीले बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, अदालतले भनिराख्या छ । अरु कुराले भनिराखेको छ ।’ एमाले जस्तो पंक्ति नेपालको इतिहासमा सबैभन्दा पुरानो धार रहेको उनले दाबी गरे ।

लिपुलेकबारे चीनमा मैले उठाएको विषय ‘भिडियो–अडियो’ मा रेकर्डेड छ : प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग स्पष्ट कुरा राखेको बताएका छन् । आज (शुक्रबार) बाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको दावी गरे । ‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’

राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रुपमा सल्ट्याउन भनेको उनले बताएका छन् । ‘चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिँदा हामी नेपालको सार्वभौमसत्ताको सम्मान गर्छौं, यसबाट तपाईंहरूलाई जुन आशंका हुन गएको छ त्यसमा हाम्रो ध्यान छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै राष्ट्रिय सार्वभौमसत्तामा तलमाथि हुन दिइने छैन । त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गर्छौं । यो भारत र नेपालको विषय हो तपाईंहरू वार्ताबाट समाधान गर्नु हुन्छ भन्ने आशामा छौं ।’ उनले सीमाबारे भारतसँग कुरा गरेर समस्याको समाधान गर्ने बताए ।

माधव नेपाल लक्षित ओलीको टिप्पणी : केहिले चोट लगाए, कार्याकर्ताले बचाए

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकटको बेला पार्टी जोगाउने कुरामा सबैभन्दा बढी हाल महिलाको भएको बताएका छन् । आजदेखि ललितपुरको सनराइज हलमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘मैले १०औँ महाधिवेशनमा धेरै स्पष्टताका साथ भनेको थिएँ, महिला दिदीबहिनीहरूको हात पार्टी जोगाउने कुरामा सबैभन्दा बढी छ । पुरुषहरूभन्दा महिला दिदीबहिनीहरूले अत्यन्तै स्पष्ट अडान राखेर पार्टीप्रतिको निष्ठा देखाउनु भयो’, अध्यक्ष ओलीले भने, ‘मैले पुरुष साथीहरूको योगदान छैन भनेको होइन, अवश्य छ, महिलाहरूले मात्रै होइन, पुरुषले पनि जोगाउनु भएको छ ।’

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितलाई पार्टीमा चोट पटक लगाएर गएको बताएका छन् । चोट लगाएर गए पनि कार्यकर्ता पंक्तिले त्यसलाई जोगाएको, बचाएको ओलीको भनाइ छ । ‘उनीहरूले केही चोट पटक लगाए, तर, कार्यकर्ता पंक्तिले बढो सजगताको साथ पार्टी जोगायो, बचायो । म कार्यकर्ता र नेतालाई धन्यवाद भन्न चाहन्छु, नेतृत्वप्रति सुदृढ विश्वास देखाउनु भयो,’ पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘त्यसबेला पार्टीप्रतिको निष्ठा, महिला दिदीबहिनीहरूले पार्टी जोगाउनु भयो । पुरुषको पनि योगदान छ । तर, महिलाहरूको अत्यधिक छ ।’

उनले पार्टीमा रहेका केही नेतालाई कुहिराको काग भएको टिप्पणी पनि गरेका छन् । ‘मुर्धन्य भनिएका नेता कुहिराको काग भए । नेताहरू कतिपय कहाँ–कहाँ पुगे । तर कार्यकर्ता त्यसरी बहकिएन्,’ उनले भने, ‘कार्यकर्ताले यो पार्टी बचाएर ल्याउनु भयो । तपाईहरूको आमत्मविश्वास देखेर मलाई आँट आएको छ । तपाईहरू भए पार्टी हाँक्न सक्छु । मलाई गर्व लाग्छ । मलाई केही भए पनि तपाईहरूले पार्टी हाक्नु हुन्छ भन्ने आत्मविश्वास ममा पलाएको छ ।’
पार्टीभित्र अहिले अनुशासन कम हुँदै गएको उनको भनाइ छ । ‘अहिले पार्टीभित्र अलिअलि अनुशासन कम हुँदै गएको छ । सक्रियतामा, आत्मविश्वासमा अलि कमी हुँदै गएको छ,’ उनले भने ।

हामी मिसन ८४ मा छौं, अबको निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कम्तीमा एकल बहुमत ल्याउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए । उनले भने, ‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गर्‍यौं भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं।’

उनले अहिले पार्टीको नीति अनुसार राष्ट्र अघि बढेकाले विरोधीहरूले प्रहार गरेको बताएका छन् । उनले थपे, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा भएर धाँधली रोक्नेछौँ दृढताको साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ ।’ उनले एमालेको विषयमा हल्ला फिँजाएपछि मध्यपहाडी लोकमार्ग यात्रा गरेर तथ्य जाँच गरेको पनि बताएका छन् ।

‘एउटा अभियान चाल्यौ । विरोधीहरूले हल्ला फिँजाए जस्तै हाम्रो अवस्था त्यस्तै भएको हो कि भनेर हामीले जाँच्न खोजेका थियौँ,’ उनले भने, ‘हामी जनताका बीचमा आशाका केन्द्र राष्ट्रियताका लागि, सुशासन र विकासका लागि हरेक पक्षमा हामी जनताको आशाका केन्द्र हौं । समानता र न्यायका लागि हामी अग्रगामी हौं ।’

उनले देशको अर्थतन्त्र समाजवाद उन्मुख भए पनि विकासशील भइनसकेको बताएका छन् । ‘हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख छ । समाजवदामा पुग्या छैन, हामी विकासशील भएका छैनौँ,’ उनले भने, ‘०८३ मंसिरमा हामी बल्ल विकासशीलमा पुग्छौँ ।’ उनले ०८४ सालको निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउने पनि दावी गरे । ‘मिसन ०८४ लाई हामीले निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउने छौँ । हाम्रा नीति नै राष्ट्रिय नीति हो’ उनले भने ।

प्रचण्डबारे ओलीको टिप्पणी : ‘म्याजिक नम्बर’ को भ्रमबाट मुक्त गराइ दियौं

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम पर्न थालेपछि एमाले मुक्त गरिएको बताएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘हामी ब्याक बेञ्चर जस्तो पछाडि बस्नु पर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, कांग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन । कि एउटा समर्थन गर्छ कि अर्काले । भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा । भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ ।’ उनले पार्टीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढेको बताए । उनले देशलाई समृद्धि बनाउने भन्दा ठुलो गन्तव्य अरू केही नभएको बताए ।

‘मलाई केही भए पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु’
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आफूलाई केही भए पनि पार्टी कार्यकर्ताहरूले संगठनलाई मजबुत रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कार्यकर्ताको निष्ठा र समर्पणले आफूलाई गर्व महसुस भएको बताएका छन् ।

एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले पार्टी कार्यकर्ताप्रतिको आफ्नो भरोसा प्रष्ट पारे । उनले भने, ‘मलाई केही भइहाल्यो भने पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु । तपाईंहरूको निष्ठा देखेर गर्व लाग्छ ।’
तर ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको कमजोरीप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले अनुशासनमा कमी आएको, कतिपय कार्यकर्तामा बेलगाम हुने प्रवृत्ति बढेको र आत्मविश्वासमा कमी देखिएको टिप्पणी गरे । उनले पार्टीको आगामी यात्रामा अनुशासन, निष्ठा र आत्मबल आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले महाधिवेशनले एमालेलाई अझ अनुशासित, अनुशासित मात्र नभई संगठनात्मक रूपमा सशक्त बनाउन निर्णायक योगदान दिने विश्वास व्यक्त गरे । उनले कार्यकर्ताहरूलाई पार्टीको भविष्य र मुलुकको स्थिरतामा आफ्नो भूमिका अझ मजबुत बनाउन आह्वान गरे । विधान महाधिवेशन आइतबारसम्म चल्नेछ । सो महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रतिनिधिहरूले यी सबै प्रस्तावमाथि समूहगत छलफल गर्नेछन् ।

भण्डारीको सदस्यताबारे ओलीले भने–यो महाधिवेशनसँग सम्बन्धित कुरा होइन

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषय मात्रै उठ्ने स्पष्ट पारेका छन् । आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयतर्फ इंकित गर्दै विधान महाधिवेशनमा यस्तो विषय नउठ्ने बताएका छन् । ‘केही विषयहरू उठेका छन् । ती विषयहरू विधान महाधिवेशन विधि र विधानसँग सम्बन्धित छैनन्,’ ओलीले भने । त्यस्ता विषयहरूमा अन्य कमिटीमा छलफल गर्ने ओलीले बताएका छन् ।

‘ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषयहरू हुन् । अरु कमिटीहरूमा छलफल गर्दै जानेछन्,’ ओलीले भने । विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढ्ने ओलीले जानकारी गराएका छन् । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् । त्यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् । ज्ञवाली र पाण्डेको फरक मतले विधान महाधिवेशनमा प्रवेश नपाउने बताइएको छ भने थापाको मतबारे पनि छलफल हुने एमालेले बताएको छ ।

एमाले विधान महाधिवेशन शुरु, अध्यक्ष ओलीद्वारा उदघाटन

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ । ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् । ओलीले राजनीतिक प्रस्ताव पेस गरेपछि अन्य प्रतिवेदन प्रस्तुतकर्ताहरूले प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि सबै प्रतिवेदनहरूमाथि छलफल हुने बताइएको छ ।

तस्वीरमा एमाले विधान महाधिवेशनस्थलको चहलपहल

ललितपुर । सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनस्थल सनराइज सभा हलमा उद्घाटनको चहलपहल सुरु भइसकेको छ । गोदावरीको मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गर्दैछन् । प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी रहने छन् । परम्परागत रूपमा उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम नहुने एमालेले जनाएको छ । उद्घाटन समारोह जम्मा १२ मिनेटको हुनेछ । यसअघि २०७८ सालमा एमालेले विधान महाधिवेशन गरेको थियो ।

उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ। उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने छन्। जसको लाइभभित्र हलमा पनि गर्ने तयारी छ ।

स्वयंसेवक, प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ । प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छैन । सञ्चारकर्मीहरुका लागि पर्खालसँगै जोडिएको मिडिया सेन्टर राखिएको छ । हलभित्र स्थायी, पोलिटब्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरुका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ ।

अहिले हलभित्र सरसफाई, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको धमाधम परिक्षण भइरहेका छन् । हलभित्र उपमहासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरिरहेका छन् । ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।

त्यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीर राखिएको छ । दायँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्वीर राखिएको छ । मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ । सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको झण्डा राखिएको छ ।

प्रत्यक्ष प्रशारणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ । हलको दाँया–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल बोर्ड राखिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने एमाले दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहलतिर अहिले सातदोबाटोबाट प्रतिनिधि, पर्यवेक्षक, पार्टी शुभचिन्तकहरु आउनेक्रम जारी छ । दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहनेछ । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

ललितपुर गोदावरीमा यसरी सिंगारियो एमाले विधान महाधिवेशनस्थल (तस्वीरहरु)

ललितपुर । सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

महाधिवेसनको डिजिटल प्रचारदेखि लिएर ब्यानर, फ्लेक्स र गेटमार्फत प्रचारप्रसार भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महाधिवेशनमा आउने सहभागी तथा पर्यवेक्षकका लागि स्वागत गेट बनाइएको छ । बाग्मती प्रदेश कमिटी र जिल्ला कमिटी ललितपुरको अगुवाईमा आफ्ना मातहतका कमिटीलाई स्वागतका निम्ति ठाउँठाउँमा ब्यानर , गेट र कम्युनिष्टको झण्डा तथा पार्टिको चुनाव चिन्ह अंकित झण्डा ठाउँ ठाउँमा राखिएका छन् ।

महाधिवेशनस्थल पुग्ने रुटमा गोदावरी नगर कमिटी मातहतका शाखा कमिटीले पोल पोलमा सूर्य र हसियाँ हतौडा अंकित झण्डा राखेका छन् । ललितपुर जिल्ला कमिटीले सातदोबाटोमा मूल गेट निर्माण गरेको छ । जिफन्ट, उपत्यका विशेष कमिटी , जनजाती महासंघ लगायतले पनि सहभागीहरुलाई स्वागतका निम्ति गेट बनाएको जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिएका छन् । उनका अनुसार महालक्ष्मी नगर कमिटीले हात्तीवनमा, गोदावरी नगर कमिटीले गोदावरीमै र वडा नम्बर १५ ले सातदोबाटोमा गेट बनाएका छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्ने स्थान र ललितपुर प्रवेश गर्ने बागडोल र बालकुमारीमा स्वागतका निम्ति सम्बिन्धत वडा कमिटी तथा ललितपुर महानगर कमिटीले स्वागत गेट बनाउनुका साथै आकाशे पुलमा ठूलो स्वागत ब्यानर राखेका छन् ।
‘आफ्नो पायक पर्ने स्थानमा स्वागत ब्यानर राखिएको छ’, ललितपुर जिल्ला प्रचार कमिटी प्रमुख राजेन्द्र न्यौपानेले भने, ‘महाधिवेशनस्थल गोदावरी प्रवेश गर्ने सातदोबाटो र महाधिवेशनस्थल नजिकै विशेष सजावटका साथ स्वागतद्धार बनाइएको छ । स्वयमसेवक कमाण्डका ललितपुर संयोजक समेत रहेका न्यौपानेले महाधिवेशन ललितपुरका लागि ठूलो अवसर भएको बताए । प्रेस चौतारी ललितपुरले पनि महाधिवेशनस्थल नजिकै प्रतिनिधि, पर्यवेक्षक र आगन्तुकलाई स्वागत र शुभकामनाका निम्ति ठूलो ब्यानर राख्न लागेको छ ।

भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र झण्डा चोकचोकमा राखेको छ । चन्द्रागिरी नगर कमिटीले उपत्यका प्रवेश गर्ने नागढुङ्गा नाकामा स्वागतद्धार राखीसकेको प्रेस चौतारी ललितपुरका कोषाध्यक्ष समिर थापाले बताए । दुई हजार ३४ जना प्रतिनिधिसहित २,३४९ जना सहभागी हुने विधान महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेका छन् । त्यसबेलाका प्रतिनिधी कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाहरूको सूची हटाइएको छ’, पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘तर ती रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दशौँ महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरू आयोजकको हैसियतमा रहनुहुन्छ ।’

महाधिवेशनमा पार्टि अध्यक्ष केपी शर्मा ओलीले राजनितीक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यस्तै केन्द्रिय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि पेश हुनेछ । पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ ।
सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्युआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम छ ।

‘पूर्व राष्ट्रपतिको सदस्यता विवाद होइन्, उहाँको आकांक्षा र पार्टी निर्णयबीचको अन्तर विरोध हो’

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय पार्टीभित्रको विवाद नभएर उनले त्यागेको सदस्यता पुनः प्राप्ती गर्ने आकांक्षा र पार्टीले गरेको निर्णयबीचको अन्तर बिरोध भएको बताएका छन् ।

राष्ट्रपति विदा भइसकेपछि के गर्ने ? भन्ने विषय पार्टी (एमाले) का लागि नयाँ कुरा भएको बताउँदै महासचिव पोखरेलले यसमा पार्टीको अहिलेसम्मको नीतिले नबोलेको बताएका छन् । यस अवस्थालाई सिष्टम निर्माण गर्न खोज्दा भएको निर्णयमा जनाइएको असहमतिलाई बाहिर निकै ठूलो भए जस्तो देखाइएको टिप्पणी गरेका छन् ।

‘उहाँ (विद्यादेवी भण्डारी) ले राष्ट्रपतिमा निर्वाचिन हुने बित्तिकै नेपालको संविधान अनुसार पार्टी सदस्यता त्याग्नु भएको हो’, पोखरेलले भने, ‘पूर्व राष्ट्रपतिको पार्टी सदस्यताको विषय एमालेभित्रको विवाद होइन् नयाँ नीति लागु गर्ने क्रममा राज्यको सर्वोच्च तहको भूमिकामा गइसकेको व्यक्ति पार्टीमा फेरि फर्कन खोज्नु र पार्टीले गरेको निर्णय बीच मेल नहुँदाको अन्तर बिरोध प्रकट भएको हो । तर कालन्तरमा यसले पार्टीलाई एउटा मूल्य र पद्धती अनुरुप स्थापित गर्छ ।’

एमाले नेपालको नीतिगत र विधिगत नेतृत्व गर्ने राजनीतिक शक्ति भएको उल्लेख गर्दै महासचिव पोखरेलले राष्ट्रपतिको व्यवस्था देशका लागि पहिलो अभ्यास भएको र पूर्व राष्ट्रपति भण्डारीले सक्रिय पार्टी राजनीतिमा पुनः सक्रिय हुन खोजेको कारण यो विषय नौलो जस्तो देखिएको स्पष्ट पारे । उप–राष्ट्रपतिलाई माओवादीले उपाध्यक्षको जिम्मा दिएको विषयप्रति संकेत गरेका पोखरेलले माओवादी राजनीतिक शिकारु भएकाले उसका नीतिले नेपाली राजनीतिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।

‘नेपालको प्रजातान्त्रिक प्रणालीमा नेकपा (एमाले) र नेपाली कांग्रेसले गर्ने निर्णयले अर्थ राख्छ । त्यसैले माओवादीले उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा सहज रुपमा ल्याउने कुरा स्वभाविक छैन्’ उनले भने, ‘राजनीति क्षेत्रमा चलेको परिपाटी भन्दा संवैधानिक व्यवस्था अनुसार नयाँ मूल्य स्थापना गर्ने एमालेको निर्णय नयाँ भएकाले त्यसको बुझाइमा आएको फरकपनका कारण केहि अन्तरबिरोध जस्तो मात्र देखिएको हो । पार्टीभित्र नीतिगत विवाद होइन् । यो निर्णयमा भएको सामान्य असहमति हो ।’

पार्टीले गरेको निर्णयविरुद्ध केहि नेताहरुले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा फरक मत राखेको बताएका पोखरेलले पार्टी विधानमा हुने व्यवस्थाको अन्तिम फैसला विधान महाधिवेशनले गर्ने जानकारी दिए । ‘ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा पार्टीले यसअघि गरेको निर्णय अनुसारको प्रस्तावमा प्रतिनिधिले आफ्ना मत राख्न सक्छन् । त्यसमा अहिलेको भन्दा फरक हुन सक्छ । तर अधिवेशनमा दुई वटा मत जाहेर भए त्यसको निर्णय बहुमतीय ढंगले हुने र बहुमतबाट पारित प्रस्ताव नै पार्टीको आधिकारिक निर्णय हुने भएकाले अहिले नैं एमालेले फरक मत राख्नबाट बञ्चित गर्‍यो भन्ने हल्ला सत्यमा आधारित छैन् । विधान अधिवेशन शुरु भएकै छैन् त कसरी फरक मत राख्न दिइएन भनेर भनिन्छ ?’ उनले प्रश्न गरे । उनका अनुसार दोस्रो विधान महाधिवेशनमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने प्रस्तावमा यसबारे घनिभूत छलफल गरिने छ ।

एमाले विधान महाविधेशनमा २,३४१ सहभागी हुने, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले यहि भदौं २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ। आज (बुधबार) पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल २,३४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनको भाद्र २० गते ११ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको गौतले बताए ।

अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने तय भएको छ । त्यस्तै बिभिन्न आयोगका संयोजकहरुले आफ्नो प्रतिवेदन पेश गर्ने र प्रतिवेदनमाथि समूहगत छलफल गरिने प्रचार बिभाग प्रमुख गौतमले बताए । पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीबारे केन्द्रीय कमिटी बैठकमा आएका फरक मत विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा गर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताएका छन् ।

पोखरेलले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको विषय भएको उल्लेख गर्दै परित्याग गरेको विषयमा पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको हकमा गरेको फैसलामा पार्टी कायमै रहेको स्पष्ट पारे । विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने एमालेले जनाएको छ ।

त्यस्तै, उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधन सम्बन्धी प्रस्तावमा ७० वर्षे उमेरहद नरहने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महाधिवेशनका लागि मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको बताइएको छ।

अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

त्यसै केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ । विधान महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि ८ वटा उपसमितिहरु निर्माण गरिएको बताइएको छ । केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूचि तयार गर्ने काम सम्पन्न भएको छ ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फॉट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन हुनेछ।

 

 

एमालेले बोलायो सचिवालय बैठक, के–के छन् एजेण्डा ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार, बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

यसअघि बोलाएर स्थगित भएको केन्द्रीय कमिटी बैठक भने अब नराखिने भएको छ । ‘केन्द्रीय कमिटी बैठक एकपटक बसिसक्यो, अब अर्को बस्ने सम्भावना छैन,’ उनले भने । विधान अधिवेशनको अन्य तयारी पनि चाँडै सक्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्न नसकिएको उनको भनाइ छ ।